कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

महाभियोग : बेमौसमको बाजा !

भाद्र २७, २०८१
महाभियोग : बेमौसमको बाजा !

समाज सेवा गरेबापत दर्जनौं प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकी उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाएर हटाउने तयारी भइरहेको समाचार आएपछि जनता ठूला दलसँग रुष्ट हुन पुगेका छन् । ठूला दलद्वारा गठित वर्तमान सरकारले गर्नुपर्ने मूल काम छाडेर अरूतिर हात हालिरहेको छ ।

यसले सरकारको ठूलो योजना र उद्देश्य नै छैन जस्तो देखाउँछ । नत्र जनतालाई कसरी राहत दिने, देशलाई विकासमा लैजान के गर्ने भन्ने सवालमा सर्वदलीय छलफल हुन्थ्यो । सयौं अनाथ बालबालिकालाई आश्रय दिएर पढाउने लेखाउने, करोडौंको सम्पत्ति समाज सेवामै लगाउने रानाजस्ता व्यक्ति समाजमा धेरै कम छन् ।

यस्ता समाजसेवीलाई दलहरूले सम्मान र प्रोत्साहन गर्नुपर्ने हो । उल्टै हतोत्साही गराउने र पदबाट हटाउन मरिमेटेर लाग्ने जुन दृश्य देखिएको छ, वर्तमान सरकारका लागि सुहाउने काम होइन । उनलाई महाभियोग लगाउने प्रपञ्ज बेमौसमको बाजाबाहेक केही होइन ।

ठूला दलले कस्तो आदर्श स्थापना गर्ने ? कस्तो मानक बनाउने ? स्पष्ट गर्न जरुरी छ । अपराधी, चोर, डाका, गुन्डाहरूलाई राजकीय पदमा राख्ने, मन्त्री बनाउने, गुन्डा मन्त्रीबाट जनता शासित हुनुपर्ने हो कि असल, इमानदार र समाजमा राम्रो छवि बोकेको व्यक्तिलाई प्रोत्साहन गर्ने ? यदि दलहरूले रानाको विपक्षमा मत हाल्न भनेर ह्विप नलाउने हो भने पक्कै पनि महाभियोग प्रस्ताव कुनै हालतमा पास हुँदैन ।

किनकि संसद्भित्र करुणामय महिला सांसद अनगन्ती छन् । निश्चय नै उपसभामुख रानाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका व्यक्तिलाई भिसाका लागि अन्तर्वार्ता मिति अगाडि सारिदेऊ भनेर अमेरिकी दूतावासलाई आफ्नै लेटरहेडमा पत्र लेख्नु गल्ती हो । तथापि उनले उक्त पत्र करुणामय भावले लेखेको, कुनै गलत उद्देश्यले नलेखेको भनेर स्पष्टीकरण दिइसकेकी छन् । पत्रमा केवल भिसा अन्तर्वार्ता मिति अगाडि सारिदिनु भन्ने थियो न कि भिसा नै दिनु भन्ने । यसर्थ यसलाई तिलको पहाड नबनाऔं ।

मानवीय गल्ती जो कसैसँग हुन सक्छ । एउटा सानो गल्तीलाई ठूलो बनाएर व्यक्तिको तमाम असल गुणमाथि आँखा चिम्लनु मानवीयता होइन । महाभियोगको प्रकरण त्यतिबेलै सेलाइसकेको थियो तर अहिले पुनः ब्युँताइएको छ । यसका पछाडि सत्ता र राजनीति छ । ठूला पार्टीहरूले आफ्नो मान्छेलाई संवैधानिक अंगहरूमा नियुक्ति दिन उपसभामुख बाधक बन्ने डरले उनलाई हटाउन खोजेको बुझ्न गाह्रो छैन ।

किनकि पदको हिसाबले उनी संवैधानिक परिषद्को सदस्य हुन्छिन् । ओली र देउवालाई यो ठूलो टाउको दुखाइको विषय थियो, छ । यसर्थ ठूला नेताको स्वार्थका लागि उपसभामुखलाई बलिको बोका बनाउन खोजिएको हो ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र २७, २०८१ ०७:३२
×