कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

धोकेबाज नेताहरू

भाद्र १०, २०८१

सत्ता बहिर्गमनपछि पानीबाहिर निकालिएको माछोजस्तै बन्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र पनि दबाबमा पर्न थालेपछि यतिबेला उनी राजनीतिको कठिन मोडमा आइपुगेको बुझ्न सकिन्छ । उनका राजनीतिक सहकर्मी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एक ठाउँमा उभिन पुगेपछि यात्रामा सँगै हिँडेका सहयात्रीले बीच बाटैमा छोडेर बिचल्ली परेको यात्री जस्तै बनेका दाहाल आगामी राजनीतिको अवस्थाप्रति दोधारमा परेको देखिन्छ ।

यसै ओरालो लागेको माओवादी केन्द्र झनै पार्टीभित्रकै विवादकै कारण आगामी निर्वाचनसम्म कस्तो अवस्थामा पुग्ने हो र निर्वाचनमा कसरी सहभागी हुने हो भन्ने भयले पनि प्रचण्डलाई डसेको अनुमान गर्न सकिन्छ । यसअघिका दुईवटा निर्वाचनमा दुई ठूला दलसँगै मिलेर निर्वाचनमा जाँदासमेत तेस्रो स्थानबाट उक्लन नसकेको माओवादी केन्द्रलाई आगामी निर्वाचनमा यसअघि साथ दिएका दुवै दल (कांग्रेस र एमाले) ले साथ देलान् जस्तो देखिँदैन ।

यस्तो अवस्थामा आफ्नो निर्वाचन क्षेत्र नै स्थायी जस्तो नभएका प्रचण्डका लागि ठूलै समस्या पर्लाजस्तो देखिन्छ । यस्तो जटिल अवस्थामा पुगेका दाहालले आागमी निर्वाचनमा कुनै न कुनै दलसँगको गठबन्धन गर्नैपर्ने आवश्यकता महसुस गरेकै छन् ।

नेपाली कांग्रेसभित्र निर्वाचन अगाडि कुनै दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय विवादित बनिरहेको अवस्थामा दाहाल भने एमालेभन्दा कांग्रेसतिरै नरम भएको भन्ने समाचार आइरहेका छन् । कांग्रेसले निर्वाचन अगाडि अन्य दलसँग गठबन्धन नगर्ने भन्ने औपचारिक निर्णय त गरिसकेको छैन । तथापि उसले यो विषयलाई अनुमोदन गर्‍यो भने दाहाल देउवाप्रति जतिसुकै नरम भए पनि त्यो बेकार हुनेछ । कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा ल्याएको प्रस्ताव भएकाले यसले पार्टीको संस्थागत मान्यता पाउला भन्ने त देखिँदैन । तैपनि सबै दल एक्लाएक्लै निर्वाचनमा जाऊन् भन्ने जनताको चाहना हो ।

धेरै नबोल्ने तर आफूलाई लागेको कुरा पूरा गरेरै छाड्ने देउवाको स्वभाव बुझेका दाहालले आगामी निर्वाचनमा पुनः देउवालाई आफ्नै ढोक्सामा पार्न सकिन्छ भन्ने पनि बुझेकै होलान् त्यसैले उनी हिजोआज एमाले अध्यक्ष ओलीप्रति जति आक्रामक बन्ने गरेका छन् त्यसैगरी देउवाप्रति नरम नै देखिन्छन् । माओवादी संसदीय राजनीतिमा आइसकेपछि मुख्य राजनीतिक शक्ति बन्न पुगेका कांग्रेस, एमाले र माओवादीले एकअर्कालाई धोकेबाजको आरोप बारम्बार लगाउँदै आएका छन् ।

सबैभन्दा बढी धोका दिनेमा त दाहाल नै पर्दछन् । यद्यपि उनी अरूलाई पटक पटक धोका दिएको आरोप लगाइरहन्छन् । आफूले अरूलाई धोका दिएको नदेख्ने तर आफूलाई अरूले दिएको एकाध धोकालाई बारम्बार धोका दिएको मानिरहने दाहालको आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रो देख्ने प्रवृत्तिले फाइदा कसलाई पुगिरहेको छ ? त्यतातिर ध्यान दिए हुने थियो कि ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : भाद्र १०, २०८१ ११:००
x
×