कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

विश्वास गुमाउँदै निगम

भाद्र ११, २०८१

नेपालीहरूको महत्त्वपूर्ण चाडपर्व नजिकिँदै छन् । देश, विदेशमा रहेका नेपाली आफ्नो जन्मथलो फर्कने सपना बुन्दै छन् । तर त्यही समय नजिकिँदै गरेको अवस्थामा नेपाल वायुसेवा निगम भने मर्मतको नाममा फेरि कोमामा जाने तयारीमा छ । उसको वाइडबडी जहाज ‘अन्नपूर्ण’ मर्मतका लागि ६० दिनदेखि अलपत्र छ भने अर्को जहाज एक महिना अगाडि नै मर्मतका लागि जाँचमा जानुपर्नेमा आजसम्म जान सकेको छैन ।

मर्मतमा गएर यी जहाजले पुनः सेवा दिने भनेको धेरै टाढाको कुरा भएको छ । आफ्नो स्थापनाकालदेखि नै लगभग घाटामा गएको राजनीतिक भर्ती केन्द्रको रूपमा चिनिएको यो संस्थाको लगभग औचित्य सकिइसकेको छ । अहिले पनि दैनिक करोडौं घाटामा गइरहँदा यसका जिम्मेवार व्यक्तिलाई सरकार कुनै कारबाही गर्ने पक्षमा देखिँदैन । एउटा जहाज मर्मतका लागि दुई महिनादेखि अलपत्र किन पारियो र अर्को जहाज मर्मतका लागि भनेर राखिएको एक महिना बित्दा पनि सरकार किन मौन छ ?

अबको दिनमा यो संस्था फेरि उठ्ला, यसले आम नागरिकलाई उसैगरी सेवा देला भनेर आश्वस्त हुने आधार पनि देखिन्न । विदेशी कम्पनीले लाने व्यापार ल्याउँला भन्नु दिउँसै सपना देख्नु बराबर भइसकेको छ । तिर्नुपर्ने दायित्व तिरेर यो भ्रष्टाचारको पिरामिडलाई अब भत्काइदिएकै बेस ! सधैं सरकारले ऋण दिएर चलाउनुपर्ने संस्थाले आम नागरिकलाई सुविधा होइन धोका दिएको छ ।

मर्मत र व्यवस्थापनको कमजोरीले पटकपटक जहाज दुर्घटना हुनुले निगमप्रतिको विश्वास पनि टुटिसकेको छ । यत्तिको जनधन क्षति भइसक्दा पनि गम्भीर भएर सरकारले किन सोच्न नसकेको ?
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौं

प्रकाशित : भाद्र ११, २०८१ १०:३२
x
×