कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिन्दगी अर्थात् संयोगको पुञ्ज 

सबइन्स्पेक्टरलाई आकस्मिक रूपमा पलाएको करुणा भावले म मृत्युको मुखबाट जोगिएँ । मानिस संयोगले मर्न सक्दो रहेछ, संयोगले बाँच्न पनि सक्दो रहेछ ।
हेलिकोप्टर जमिनमा बजारियो । हामी अलिअलि घाइते भयौं । यदि हेलिकोप्टर रूखमा नठोक्किई आफ्नै वेगमा झरेको भए बाँच्ने सम्भावना हुने थिएन । 
केपी शर्मा ओली

मानिस संयोगै संयोगमा बाँचेको हुन्छ । जन्मनु संयोग हो । हुर्कने र बाँच्ने कुरा पनि संयोगै हो । त्यसो त बाल्यावस्थामा मानिस अरू कसैको योजनामा बाँचेको हुन्छ । किनभने उसले आफैं योजना बनाउन सक्दैन । उसको लालनपालन, शिक्षादीक्षा आदि आमाबाबु वा अभिभावकको योजनामा हुन्छ ।

जिन्दगी अर्थात् संयोगको पुञ्ज 

तर सबै कुरा योजनामै हुन्छ भन्ने छैन । कहिले एउटा संयोगले कता पुर्‍याइदिन्छ, कहिले अर्को संयोगले कता हुत्याइदिन्छ । के बन्न हिँडेको मानिस के बन्न पुग्छ । जुन गन्तव्य सोचेको हुन्छ, कुनै संयोगले त्यहाँ पुग्न पाउँदैन । बीचमै बाटो बदलिन्छ र गन्तव्य फेरिन्छ ।

कतिपय स्थितिमा सुरुका गन्तव्य कच्चा ठहरिन्छन् । त्यसकारण गन्तव्य कहिले बढाउनुपर्ने हुन्छ, कहिले घटाउनुपर्ने हुन्छ । सपनाहरू कहिले खुम्चिन्छन्, कहिले फैलिन्छन् । योजना मुख्य कुरा त हुँदै हो । तर कहिलेकहिले आकस्मिकता, भवितव्य वा संयोगले मानिस सोचेको बाटो हिँड्न पाउँदैन । फरक बाटो हिँड्नुपर्ने बाध्यता हुन्छ । सोचेको स्कुल, कलेज, विश्वविद्यालयमा पढ्न पाउँदैन । सोचेको पेसा वा व्यवसाय अपनाउन पाउँदैन ।

अतीततिर फर्केर हेर्दा म संयोगै संयोगले राजनीतिमा लागें । त्यसमा मलाई कसले प्रेरित गर्‍यो, यसै भन्न गाह्रो छ । म र मेरो साथी कुनै समारोहमा आकस्मिक रूपमा सहभागी भयौं । त्यसको आयोजना अरू कसैले गरेका थिए । हाम्रो खासै भूमिका थिएन । अझ भनौं, भूमिकाविहीन थियौं । त्यतिखेर हाम्रो उमेर पनि जिज्ञासु थियो । हामी जम्मा १३–१४ वर्षका थियौं । के होला ? कसो होला ? यसो किन हुन्छ ? त्यसो किन भएन ? इत्यादि जिज्ञासा थिए । त्यसले नै हामीलाई चिन्तन र बहस गर्ने ठाउँमा पुर्‍यायो । बिस्तारै जुलुस, विचार र कविता गोष्ठीमा रुचि जाग्न थाल्यो । जुलुसमा सहभागी भएर त्यहाँ लगाइएका नाराको अर्थ र महत्त्वको खोजी गर्न थाल्यौं । आफ्नो बुताले भ्याएसम्म जान्दै गयौं, बुझ्दै गयौं ।

गाउँमा साथीहरू मिलेर फुटबल खेल्थ्यौं । एउटा साथी कपडा व्यापारीको छोरा थियो । गद्दा ओछ्याएर बस्थ्यो । त्यसमा बस्दै गर्दा एउटा साथीले प्रश्न उठायो– ‘यो ठाउँमा कम्युनिस्ट र कांग्रेस को धेरै छन् ?’ अर्कोले भन्यो– ‘कांग्रेस धेरै छन् ।’ मैले पनि प्वाक्क भनें– ‘होइन कहाँ हुनु ? कम्युनिस्ट धेरै छन् ।’ कालान्तरमा कांग्रेस र कम्युनिस्ट को धेरै छन् भनेर प्रश्न गर्ने, कांग्रेस धेरै छन् भन्ने र कम्युनिस्ट धेरै छन् भन्ने हामी तीनै साथी वामपन्थी धारमै लाग्यौं । त्यतिखेर ठूलाठालु भनिएका मानिस बढ्तै कांग्रेस देखिएका थिए । गरिब धेरै छन्, त्यसैले कम्युनिस्ट धेरै छन् भन्ने मेरो तर्क अलिक फितलो थियो ।

यो प्रसंग पञ्चायती व्यवस्थाको चरम अवस्था अर्थात् २०२२–२३ सालतिरको हो । को वामपन्थी, को दक्षिणपन्थी ? बुझ्दै जाँदा मलाई कम्युनिस्ट सिद्धान्त मन पर्‍यो । तर संयोगले पूर्णकालीन कार्यकर्ता बनेको हुँ । पछि विभिन्न दर्शन, सिद्धान्त, राजनीति, अर्थतन्त्रबारे अध्ययन गर्ने मौका पाएँ । ती विषय योजनाअन्तर्गत नै पढें । त्यसक्रममा मैले संयुक्त राष्ट्रसंघको बडापत्र, मानवअधिकारको घोषणापत्र पढ्न पाएँ । मैले आफूलाई संयुक्त राष्ट्रसंघको स्वयंसेवकजस्तो महसुस गरें । यति मात्र होइन, मार्क्सवादी दर्शन, लेनिनको सिद्धान्त, माओका क्रान्तिका सिर्जनात्मक दस्ताबेज पढें । त्यसले मलाई विद्रोही स्वभावतिर लग्यो ।

एकपल्ट म बिरामी भई दुई दिन अस्पताल बसें । डाक्टर हामीभन्दा सिनियर थिए । तर साथीभाइजस्तै व्यवहार गर्थे । उनी भूतप्रेतको कथा सुनाउँथे र वैज्ञानिक हिसाबले भूतप्रेतबारे बुझाउँथे । अस्पतालबाट डिस्चार्ज हुने बेला भनें, ‘मलाई डाक्टर बन्ने इच्छा थियो । दुई दिन अस्पताल बस्दा तपाईंको हालत देखें । अब म डाक्टरी पढाइतिर जान चाहन्नँ । मेरो सोचाइ बदलियो ।’

म त स्वतन्त्र ढंगले चल्नुपर्ने मानिस । एकै ठाउँमा बाँधिएर बस्न मलाई अलिक गाह्रो हुन्छ । धेरैतिर फर्किएर हेर्नुपर्ने, बिहान–साँझ अलिक रमाइलोसँग बिताउनुपर्ने, जस्तोसुकै अप्ठ्यारो परिस्थिति होस्, रमाइलोमा ढाल्नुपर्ने, हाँसेर बाँच्नुपर्ने । मेडिसिन पढ्नु, डाक्टर हुनु वा बिरामीलाई उपचार गरेर निको पार्नु पक्कै राम्रो काम हो । तर त्यो मबाट नहुने काम रहेछ । मैले डाक्टरको जस्तो अवस्था देखें, त्यस ढंगले काम गर्न सक्छुजस्तो पटक्कै लागेन । अस्पतालको दुईदिने बसाइमै मलाई छटपटी भयो ।

बाल्यावस्थामा मैले देखेका ठूला मानिस भनेका शिक्षक नै थिए । त्यसैले शिक्षक बनुँजस्तो लाग्थ्यो । त्यो अत्यन्त महत्त्वपूर्ण काम हो । मलाई सिक्न र सिकाउन आनन्द लाग्छ । विभिन्न आकस्मिकताले म शिक्षणतिर जान सकिनँ । क्याम्पस छाडें, पढाइलाई निरन्तरता दिन सकिनँ । त्यतिखेर म साहित्य गोष्ठी पनि धाउँथें । साहित्यकार वा कवि बन्ने रहर जाग्थ्यो । कविशिरोमणि लेखनाथ पौड्यालका कविता पढ्थें । तिनमा ज्ञानगुन कुरा हुन्थे । लक्ष्मीप्रसाद देवकोटाको ‘‘मुनामदन’’ पढ्थें । त्यसको विरहमा डुब्थें । माधवप्रसाद घिमिरेको ‘‘गौरी’’ खण्डकाव्य पढ्थें । पीडाको मनस्थितिमा एउटा कवि कतिसम्म गहिराइमा जाँदो रहेछ भन्ने कुरा थाहा पाउँथें । त्यसले कहिलेकाहीं बहकाउँथ्यो र आफूतिर तान्थ्यो ।

मैले जान्दै नजान्ने भनेको वाद्यवादन हो । त्यसैले गीत, संगीत र वाद्यवादनले चुम्बकले जस्तै तान्छन् । बाजा बजाएको सुनेर बस्न पाएँ भने दिन बितेको थाहापत्तो पाउँदिनँ । सुमधुर स्वरलहरीमा बाँधिएका गीत सुनेर बस्न पाएको समय मलाई निकै छोटो लाग्छ । अभिनयमध्ये नृत्य मलाई सबभन्दा बढी मनपर्छ । नर्तक वा नृत्यांगनाको भावभंगिमा, हाउभाउ, कटाक्ष, आँखा, शरीर र औंलाको सांकेतिक भाषा अद्भुत लाग्छ । टाउको हल्लिएको अवस्था होस् वा खुट्टाको चाल अत्यन्त सम्मोहक लाग्छ । तर, त्यतातिर लाग्ने मौकै मिलेन ।

जातीय विभेदसम्बन्धी एउटा बाल्यकालीन घटना पनि मेरो मानसपटलमा छ । एउटा छिमेकी साथी थियो, सँगसँगै स्कुल जाने, पढ्ने र खाजा खाने । एक दिन उनकी आमाले भनिन्– ‘साना, तिमीले अब कोदाको रोटी खानु हुँदैन । तिम्रो दाँत फुक्लिसक्यो ।’ मलाई अचम्म लाग्यो । दाँत साटिएपछि कोदाको रोटी खान किन नहुने ? पहिले किन खान मिल्यो, अब किन खान नमिल्ने ? मेरो साथी विश्वकर्मा थरको थियो ।

घर गएर हजुरआमालाई सोधें– ‘कोदोको रोटी खानु हुँदैन भन्नुभयो काकीले, हो त ?’ हजुरआमाले भन्नुभयो– ‘हो त मैले भन्न बिर्सेको । ऊ सानो जातको हो । त्यसैले हाम्रो घरमा पस्दैन नि तेरो साथी ।’ मेरो साथी सानो जातको हो भन्ने सुनेर म छक्क परें । हाम्रो घरभित्र मुसा पसेको छ, बिरालो पसेको छ, मच्छड पसेको छ । के मेरो साथी मुसा, बिरालो वा मच्छडभन्दा पनि सानो हो ? मलाई निकै पीडाबोध भयो । त्यसको भार मेरो छातीले थाम्न सकेन । सामाजिक विभेद र असमानताको सन्दर्भले मलाई झन् विद्रोही बनायो ।

मलाई गुरुजीले श्रीपञ्चमीको दिन अक्षरारम्भ गराउनुभएको थियो । फलेकमा रातो धूलो माटो भरेर, हातले मिलाएर सिमलीको डाँक्लो घोटेर कपुरी क लेख्न सिकाएको अझै सम्झन्छु । उहाँले राम्रा अक्षर लेख्ने सूत्र पनि सिकाउनुभएको थियो । सीधा अक्षर लेख्ने । माथिको डिक र तानिएको डिक बराबर राख्ने । गोलाइ र उचाइ बराबर बनाउने । पहिलो अक्षर छड्के अक्षर बनाइयो भने सबै अक्षर छड्के बनाउने इत्यादि । उहाँ गुरु भन्ने थाहा मात्र थियो । पछि थाहा भयो ‘ढुंगेल ब्राह्मण’ हुनुहुँदो रहेछ । त्यसरी सोचेकै रहेनछु । त्यतिबेलासम्म मैले दर्शन बुझेको थिइनँ । मैले त कथालाई नै दर्शन मानेको रहेछु । मलाई हजुरआमाले स्वर्ग, नर्क, भगवान्, राक्षस आदि चिनाउनुभयो ।

राम, सीता, लक्ष्मण, हनुमान, महादेव, पार्वती आदि पनि चिनाउनुभयो । अचम्म त के भने मानिसले भूतप्रेत बनाउँछ, मसान बनाउँछ अनि आफैं डराउँछ । कुनै चराको बच्चालाई मसानले किन खाँदैन ? मसानले बँदेल वा हरिणको पाठोलाई किन खाँदैन ? मानिसबाहेकका जीवहरू यथार्थको पछि लाग्छन्, कथाको होइन । मान्छेले आफैंले कुँदेर मूर्ति बनाउँछ, अनि त्यहीसँग आशीर्वाद माग्छ । सत्य युगसँग जोडेर ढुंगाको इतिहास पनि आफैं लेख्छ । किशोरावस्थामा म यथार्थभन्दा फिक्सनतिर विश्वस्त हुन थालेको रहेछु । बिहानबिहानै नुहाउँथें । पाञ्चायन पुज्थें । पूजाआजा नगरी केही खाँदैनथें । पढ्नुभन्दा अघि सरस्वती स्त्रोत्र पाठ गर्थें । किताब पढ्नुअघि र पढिसकेपछि ढोग्थें । किताब नाघेर हिँड्दैनथें । कथंकदाचित् खुट्टाले छोइए किताबसँग माफी मागेर ढोग्थें । मलाई आफ्नो क्षमता र मिहिनेतमा भन्दा आशीर्वादमा बढ्ता विश्वास हुन्थ्यो । खासमा म कथानक वा फिक्सनको विश्वासमा परेर लट्ठिएको रहेछु ।

गाउँमा भागवत् पुराण चलिरहेको थियो । पण्डितजीले श्रद्धालुको बीचमा बसेर कथावाचन गरिहेका थिए । संयोगवश त्यो कथा मैले पनि पढ्ने गरेको थिएँ । मैले पण्डितजीलाई सोधें– ‘के यसो हुनु सम्भव छ र ?’ आँखाले ज्वाला फ्याँकेझैं गरेर उनी तीन बित्ता उफ्रिए– ‘शास्त्रमाथि शंका गर्ने यो दुष्ट कसको छोरो हो ?’ त्यसबाट मेरो बुबालाई निकै घोचेछ क्यारे । उहाँले भन्नुभयो– ‘पण्डितजी, तपाईंसँग यसको जवाफ छ भने दिनुस्, नभए भैगो । बाउ किन चाहियो ? म सम्झाऊँला । म हुँ यसको बाबु । तपाईंले शास्त्रार्थ गर्न खोजेको हो कि ज्ञानको परीक्षा लिन चाहेको ?’ त्यसपछि ती पण्डितजी चुप लागे । छक्क परें, प्रश्न गर्दा म कसरी दुष्ट भएँ ? कसरी शास्त्रमाथि विश्वास नगरेको ठहरियो ? त्यसपछि मैले शास्त्रलाई सन्देहपूर्ण ढंगले पढ्न थालें । शास्त्र पढ्दा पण्डितको अनुहार झलझली आउन थाल्यो ।

त्यस दिन म निकै खिन्न भएको थिएँ । बेलुकी घर गएर बुबालाई सोधें । उहाँले सम्झाउनुभयो– ‘शास्त्र भनेको कथा हो । पण्डितजी कथावाचक हुन्, वैतरणी तार्ने डुंगा बोकेर आएका व्यक्ति होइनन् । कथामा विम्ब, प्रतीक, उपमा र दृष्टान्त हुन्छन् । तर त्यसलाई शास्त्र, ज्ञान, धर्म वा यथार्थ भनेर बुझ्नु हुँदैन । साहित्यमा अतिशयोक्तिको प्रयोग सामान्य हो । महाभारत, रामायण, पुराणमा यस्ता कुरा थुप्रै छन् । साहित्यलाई गहन बनाउन यस्ता काम गरिन्छन् ।’ उसो भए के पण्डितजीले विद्वताको कमी भएर यस्तो गरेका हुन् त ? मलाई त्यो प्रश्नले छाडेन ।

त्यस प्रकरणपछि ममा दर्शनप्रति रुचि बढ्यो । मिथ के हो ? फिक्सन के हो ? इतिहास के हो ? कथा के हो ? यथार्थ के हो ? कथानक के हो ? परिकल्पना के हो ? वास्तविकता के हो ? छुट्याएर हेर्न थालें । विज्ञानतिर पनि मेरो झुकाव बढ्यो । पहिले म ब्रह्माण्डलाई भगवान् बस्ने ठाउँ सोच्थें । पछि अन्तरिक्ष, तारापुञ्ज, ब्रह्माण्डबारे जानें । विज्ञान र दर्शनसम्बन्धी चेतना फरक पर्दै गयो ।

मैले जुन ज्ञान पाएँ, त्यो समाजलाई दिनुपर्छ । जुन कुरा समाजमा अभाव छ, त्यसको परिपूर्ति गर्दै जानुपर्छ । चाहे त्यो तन्त्र, प्रणाली, संस्था, चिन्तन होस् वा व्यवहार । समाजमा केही कुरा जड भएर बसेका छन् भने गति दिनुपर्‍यो । समाजले मानव जातिको सुखका लागि खोजेको योजना बनाउनुपर्‍यो । आन्दोलन भनेको योजनाकै परिणाम त हो । अहिले म आफूलाई दुष्ट भन्ने पण्डितजीप्रति पनि कृतज्ञ छु । उनले मलाई निर्भीकतापूर्वक खोज्ने चेत दिए । उनको थर्काइमा कुनै निष्कर्ष थिएन, घृणा वा लाञ्छना मात्र थियो । कहिलेकाहीं भनिएका वा लेखिएका शब्दको अर्थ र अभिप्राय फरक हुने रहेछन् । यसरी मेरो जीवनमा विभिन्न आकस्मिकता जोडिँदै गए, योजनाहरू बन्दै गए । म समाज परिवर्तनको प्रारूप वा खाका बनाउँदै गएँ ।

केपी शर्मा ओलीका अन्य लेखहरू पढ्नुहोस् :

म आकस्मिक रूपमा गिरफ्तार भएँ । तरिका जानेको भए गिरफ्तार नहुन पनि सकिन्थ्यो । मभन्दा पछि भूमिगत भएका साथीहरू तरिका मिलाएर गिरफ्तार भए वा जोगिए । त्यसले मेरो जिन्दगीमा लामो समयसम्म असर पार्ने खालको मोड ल्यायो । मजस्तो स्वतन्त्र ढंगले विचार गर्ने मान्छेलाई चार वर्ष गोलघरमा थुने । १४ वर्ष जेल राखे । सबइन्स्पेक्टर मोहनप्रसाद अधिकारीलाई आकस्मिक रूपमा पलाएको करुणा भावले म मृत्युको मुखबाट जोगिएँ । मानिस संयोगले मर्न सक्दो रहेछ, संयोगले बाँच्न पनि सक्दो रहेछ ।

एउटा अर्को संयोग पनि छ । नेपालगन्जको राँझा विमानस्थलबाट हामी उडेको हेलिकोप्टर पाँच/सात मिनेटको अन्तरालमै बाँके, शमशेरगन्जको दक्षिण भेगमा खस्यो । संयोग कस्तो पर्‍यो भने हेलिकोप्टर सोझै झरेन, अलिकति घुमेर झर्‍यो । त्यो पनि झ्याम्म परेको रूखमाथि । त्यसका ससाना हाँगा भाँचिए । हेलिकोप्टरको धक्कामुक्काले गर्दा रूख दुई फ्याक भयो । एक फ्याक हेलिकोप्टरसँगै झर्‍यो भने अर्को फ्याक रूखले बोकेरै बस्यो । हेलिकोप्टर जमिनमा बजारिएर पल्टियो । हामी अलिअलि घाइते भयौं । यदि हेलिकोप्टर रूखमा नठोक्किई आफ्नै वेगमा झरेको भए कोही पनि बाँच्ने सम्भावना हुने थिएन ।

यति मात्र होइन, तेह्रथुम जाँदा म चढेको गाडी सडकमै पल्टियो । डिलमुनि गएको भए मेरो जीवन त्यहीं समाप्त हुन्थ्यो । म मोटरसाइकल दुर्घटनामा पनि संयोगवश बाँचेको छु । संयोग मिहिनेत होइन, परिश्रम होइन । तर प्रगति वा सफलताका काम योजनाबद्ध हुन्छन् । सफलता इमानदारी, मिहिनेत र परिश्रमले मात्र प्राप्त हुन्छ ।

मेरो बिहे लभ पनि होइन, एरेन्ज पनि होइन । साथीहरूले बिहे गरे हुन्थ्यो भनिहाले । राधिका र मैले यसो कुरा गर्‍यौं । पहिलो भेटमै कुरा टुंगियो । ओहोरदोहोर केही पनि भएन । आकस्मिक ढंगले बिहे भयो । अहिले त बिहे भएको पनि ३६ वर्ष नाघिसक्यो । हाम्रो एरेन्ज बिहेसमेत आकस्मिक भयो । कहिलेकहिले आकस्मिक रूपमा भएका कुराले पनि राम्रो परिणाम दिँदो रहेछ ।

हामीले बाँचेका संयोगलाई सदुपयोग गर्ने हर्दम कोसिस गर्नुपर्छ । कहाँ पुग्ने भन्ने गन्तव्य तोकेर, योजना बनाएर जिन्दगीलाई अघि बढाउनुपर्छ । मर्ने कुराको तयारी गर्नुपर्दैन । मृत्यु भनेको जीवनको अन्तिम बिसौनी हो । त्यो संयोगवश नै आइहाल्छ । संयोग कहिलेकाहीं मात्र सकारात्मक हुन्छ । तर योजनाबद्ध काम कहिलेकाहीं मात्र असफल हुन्छ । योजनाबद्ध कामले सफलता दिलाउँछ, दिलाउँछ । तसर्थ योजनाबद्ध काममै विश्वास गरौं ।

प्रकाशित : फाल्गुन ११, २०८० ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?