कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

तीजले सम्झाएको समाजको कथा–व्यथा 

भाद्र २१, २०८१

डिला संग्रौला

प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

तीजले सम्झाएको समाजको कथा–व्यथा 

लोकप्रिय गायिका विष्णु माझीको ‘आइनँ आमा, यो तीजमा’ बोलको गीतले छोटो समयमै संसारभर रहेका नेपालीको मन मात्रै जितेको छैन, दशकौंदेखि नेपाली महिलाको पीडा र वेदनालाई अभिव्यक्त पनि गरेको छ । समयसँगै तीजको परिभाषा परिवर्तन हुँदै गएको छ, तर महिलाले दुःख, पीडा र व्यथा गीतमार्फत पोख्ने यो प्रचलन रोकिएको छैन र रोकिने पनि छैन । 

तीज धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण छ । परापूर्वकालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पतिका रूपमा प्राप्त गर्न व्रत बसेको कथाबाट तीजको उत्पत्ति भएको मानिन्छ । प्रारम्भिक कालमा तीजले माइतीसँग पुनर्मिलनको अवसर प्रदान गर्थ्यो । जब महिला कम उमेरमा विवाह गर्थे र माइती टाढा हुन्थ्यो, तीजको महत्त्व अझै बढी थियो । त्यतिबेला अहिलेको जस्तो सञ्चार र सामाजिक सञ्जाल नभएकाले माइतीसँग भेटघाट गर्न र दुःखपीडा बिसाउन तीज नै कुर्नुपर्ने बाध्यता महिलालाई थियो । अहिले तीज भेटघाट, रमाइलो र शुभकामना आदानप्रदान गर्ने पर्वका रूपमा विकास हुँदै गएको छ । तीजलाई महिला सशक्तीकरणको सुदृढ माध्यमका रूपमा पनि लिन सकिन्छ । यो पर्वलाई महिलामाथि सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा दशकौंदेखि हुँदै आएका दमन र शोषणविरुद्ध आवाज उठाउने तथा सचेत पुरुष वर्गको समर्थन जुटाउने अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।

तीजले महत्त्व पाउनुका केही कारण छन् । परिवारका लागि व्रत, उपासनामार्फत दीर्घायुको कामना गर्ने विषयलाई धार्मिक प्रसंगसँग जोड्न सकिन्छ । व्रत बस्नु स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । तीज केवल धार्मिक पक्षबाट मात्र नभई सांस्कृतिक परम्पराका रूपमा पनि महत्त्वपूर्ण छ । आजको सन्दर्भमा तीजले सांस्कृतिक पक्षलाई जोगाइराख्न, भेटघाट गर्ने अवसर दिन र हाम्रो पहिचानलाई संरक्षण गर्ने माध्यमका रूपमा भूमिका निर्वाह गरिरहेको छ । सामाजिक रूपान्तरणसँगै तीजको स्वरूप पनि फेरिएको छ । सञ्चारको विकाससँगै माइत र घरबीचको दूरी घटेको छ । शिक्षामा पहुँच बढेसँगै सहरी क्षेत्रका महिला आफैं सक्षम हुँदै गएका छन् । तीजका गीत पनि परिवर्तन भएका छन् । पहिलेका तीज गीतहरू धेरैजसो दुःख, पीडामै सीमित हुन्थे, अहिले रमाइलो गर्ने खालका र महिला सशक्तीकरणका विषयमा केन्द्रित पनि छन् ।

संवैधानिक रूपबाटै महिलाका अधिकार सुरक्षित त गरिएका छन्, तर पर्याप्त छैनन् । संविधानले महिला अधिकारलाई मौलिक हकका रूपमा राखेको छ । विश्व श्रम संगठनको अध्ययनअनुसार, नेपाली महिलाले घरमा गर्ने काम पुरुषको तुलनामा झन्डै ६ गुना बढी छ । यसबाहेक, नेपाली महिलाले ज्याला नलिएर घरभित्र र घरबाहिर गर्ने श्रमको आर्थिक मूल्य मुलुकको कुल गार्हस्थ्य उत्पादनको झन्डै ४२ प्रतिशत बराबर छ । तर, त्यसबापत न महिलाले कुनै आर्थिक प्रोत्साहन पाउँछन् न त समाजले त्यसलाई महत्त्व दिन्छ । महिलाले जति काम गरे पनि श्रमको उचित मूल्य नपाउने, शोषण–दमन भोगिरहने अवस्था विद्यमान छ । विगतमा जस्तो छोरा नै चाहिन्छ भन्ने मान्यता क्रमशः हट्दै गएको छ । छोरीले नै बाबुआमाको किरिया गर्ने परिपाटी सुरु भएको छ, जसलाई सामाजिक रूपान्तरणको संकेतका रूपमा लिन सकिन्छ ।

भारतमा गरिएको एक अध्ययनले सरकारले छात्राहरूलाई विद्यालय जान निःशुल्क साइकल उपलब्ध गराएपछि ‘ड्रप आउट’ दर घटेको र सन् २००७ देखि सन् २०१७ सम्म साइकल चढेर विद्यालय जाने छात्राको संख्या झन्डै दोब्बरले बढेको छ । बीबीसीका अनुसार भारतमा मात्रै हैन कोलम्बिया, केन्या, मलावी र जिम्बावे जस्ता मुलुकमा पनि छात्रालाई विद्यालय जान निःशुल्क साइकल उपलब्ध गराइएपछि उनीहरूको भर्नादर मात्रै बढेन, पढाइमा निरन्तरता पनि बढ्यो ।

नेपालमा मधेश प्रदेश सरकारले केही वर्षअघि ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत आठ कक्षामा अध्ययन गर्ने छात्राका लागि हजारौं साइकल खरिद गरेको थियो । तर साइकल खरिदमा करोडौं भ्रष्टाचार गरिएको आशंका गर्दै अख्तियारले छानबिन सुरु गरेपछि उक्त कार्यक्रम अलपत्र हुन पुग्यो । यसबाट हातमा डाडुपन्यु हुनेहरू वास्तवमै महिला सशक्तीकरणभन्दा पनि आफ्नै निहित स्वार्थ पूरा गर्नबाट प्रेरित छन् भन्ने देखिन्छ । यो त एउटा उदाहरण मात्रै हो । महिलालाई साँच्चै अगाडि बढाउने हो भने नीतिनिर्माण तहमा महिलाको उपस्थिति आवश्यक छ । निर्वाचनमा महिलाको उम्मेदवारी सुनिश्चित नहुँदा समानुपातिक प्रणालीमा सीमित रहनुपर्ने अवस्था छ । सकारात्मक विभेदको नीतिअनुसार महिलाका लागि आरक्षण क्षेत्र छुट्याएर नीति निर्माण तहमा उनीहरूको उपस्थिति सुनिश्चित गर्नुपर्छ ।

महिलालाई शिक्षासँगै सीप अहिलेको प्रमुख आवश्यकता हो । सीप सिकेपछि उद्यम गर्न सहुलियत ऋण सरकारले उपलब्ध गराउनुपर्छ र बजार खोज्न सहयोग गर्नुपर्छ । छात्राहरूलाई सूचना प्रविधिलगायतका क्षेत्रमा समेत अगाडि बढ्न प्रेरणा दिनुपर्छ । महिलालाई आत्मनिर्भर बनाउन सरकारले सबलीकरण र सशक्तीकरणका कार्यक्रम ल्याउनुपर्छ । महिला र पुरुषबीच समानताको भावना आउँदा तथा दुवैको शक्ति र बुद्धि लगाउँदा मात्र मुलुक समुन्नत र समृद्धिशाली बन्न सक्छ । तीजले महिला हिंसा अन्त्य, आर्थिक सबलीकरण, छोरा र छोरी दुवै बराबरी, समान अवसर, समान दायित्व र राज्यको हरेक तहमा ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्नेजस्ता सन्देशहरू बोक्न आवश्यक छ ।

तीजले सांस्कृतिक, धार्मिक, सामाजिक र राजनीतिक रूपमा महत्त्व राख्ने कुरामा कुनै द्विविधा छैन । तीजलाई धार्मिक र सांस्कृतिक पर्वका रूपमा मात्र होइन, महिलाको जागरण, चेतना र सशक्तीकरणको पर्वका रूपमा विकास गर्न आवश्यक छ । तीजले महिला हिंसा अन्त्य, आर्थिक सबलीकरण र महिलाको समान प्रतिनिधित्वको पक्षमा आवाज उठाउनुपर्ने समय आएको छ । त्यसो भयो भने मात्रै गायिका विष्णु माझीले भने जस्तै यो तीजमा माइत जान नपाएकी चेली आउँदो तीजमा भने हँसिलो मुहार लिएर माइत जान पाउनेछिन् ।

– पूर्वसांसद संग्रौला कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख हुन् ।

प्रकाशित : भाद्र २१, २०८१ ०७:१३
x
×