कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

के हो ‘प्राइमरी इलेक्सन’ ?

भाद्र ३०, २०८१

केशव दाहाल

केशव दाहाल राजनीतिक विश्लेषक हुन् ।

के हो ‘प्राइमरी इलेक्सन’ ?

Highlights

  • प्राथमिक निर्वाचन पार्टी सदस्यलाई अधिकार सम्पन्न र सार्वभौम बनाउने निकै शक्तिशाली विधि हो । जसले पार्टीको आन्तरिक लोकतन्त्रलाई गतिशील बनाउँछ र शीर्ष नेतालाई तानाशाही बन्नबाट जोगाउँछ ।

रानीतिक पुनर्गठन समकालीन नेपाली राजनीतिको महत्त्वपूर्ण एजेन्डा हो । र, त्यो एजेन्डाभित्रको महत्त्वपूर्ण विषय हो ‘प्राइमरी इलेक्सन’ । अर्थात्, ‘प्राथमिक निर्वाचन’ । यो पक्का छ कि यथावस्थामा नेपालका कुनै पनि राजनीतिक दलले नयाँ परिणाम दिने छैनन् ।

असफल नेता, परम्परागत विचार, बासी एजेन्डा, प्रश्नहीन कार्यकर्ता र भ्रष्टाचारको भारी बोकेर दलहरू नयाँ गन्तव्यमा पुग्छन् कसरी ? अतः सबै पार्टीहरूमा (?) पुनर्गठन आवश्यक छ । तर दलहरूभित्र यति धेरै मुर्दाशान्ति छ कि सबै चुपचाप । खटपटी कतै छैन । प्रश्न, आलोचना, असन्तुष्टि र विद्रोह कतै छैन । यद्यपि, यो नीरव शान्तिका बीचमा नेपाली कांग्रेसभित्र भने एउटा बहस चलिरहेको छ । जसका मुख्य प्रश्न छन्, कस्तो हुनुपर्छ अबको राजनीति ? कस्तो हुनुपर्छ अबको कांग्रेस ? र, कस्ता हुनुपर्छ अबका एजेन्डाहरू ?

कांग्रेसभित्र जमेर बसेको गतिहीनतालाई तोड्न (के सम्भव होला ?) महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र साथीहरू जसरी बहसमा लागेका छन्, त्यो निकै सुन्दर छ । र, त्यो बहसको एउटा (धेरैमध्ये) महत्त्वपूर्ण विषय छ– ‘प्राइमरी इलेक्सन’ । नेपाली कांग्रेसमा झैं अन्य पार्टीहरूमा पनि ‘प्राथमिक निर्वाचन’ बहसको एक महत्त्वपूर्ण एजेन्डा बनोस् र आन्तरिक लोकतन्त्र गतिशील होस्, यही अभिप्रायका साथ यो लेखमा ‘प्राइमरी इलेक्सन’ र यसको औचित्यमाथि संक्षिप्त छलफल गरिन्छ ।

निर्वाचनका किस्सा ?

पार्टीभित्र उम्मेदवारहरू कसरी छनोट गरिन्छ ? केही प्रचलित किस्साहरू सुनौं । भनिन्छ के भने, एक पटक नेपाली कांग्रेसका कुनै नेता सांसदको टिकटका लागि पार्टी सभापतिको आँगनमा पुगे । जिल्लाबाट समेत सिफारिस भएका उनी टिकट हात लाग्नेमा ढुक्क थिए । त्यसैले उत्साहित थिए । उनी दिनभर पार्टी सभापतिको आँगनमा बसे । ढोकामा चियाए, नेतालाई बरन्डामा देख्दा दर्जनौं पटक झुकेर स्वस्ति गरे । टिकट पाउने निश्चित भएपछि उनले धेरैको बधाई खाए । धेरैलाई आश्वासन पनि दिए । निर्वाचन क्षेत्रका सहयोगीहरूलाई फोन गरे । तर जब साँझ भयो, अनि मात्र थाहा पाए कि टिकट त पछाडिको ढोकाबाट छिरेर कुनै बहादुरले अघि नै उछिट्याइ पो सकेछ । जब त्यो बहादुर उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर लिएर जिल्लातिर उड्यो, उनी जिल्ल परे ।

हाम्रोमा टिकट बाटैमा हराउने घटना मात्र हुँदैनन्, बिक्रीका घटनाहरू पनि हुन्छन् । कहिलेकाहीं यस्तो पनि भइदिन्छ कि एक जना व्यापारी पार्टी अध्यक्षको हवेलीमा आउँछ । ऊ एकछिन अध्यक्षसँग एक्लै बसेर गुफ्तगु गर्छ । ऊसँग एउटा कालो रङको ब्याग हुन्छ । फर्किंदै गर्दा ऊ त्यो ब्याग मेडम अध्यक्षलाई (निजी सचिव पनि हुन सक्छ) बुझाउँछ र जान्छ । अर्को दिन पार्टीको उम्मेदवार सूची सार्वजनिक हुँदा सबैभन्दा माथि उही व्यापारीको नाम हुन्छ । कस्तो आश्चर्य ? एकदिन अगाडिसम्म पनि नादान पार्टी कार्यकर्ता टिकट आफैंले पाउनेमा मक्ख हुन्छ । ऊ मनमक्ख हुँदै टीभीमा अन्तर्वार्ता दिन्छ । रेडियोमा बोल्छ । घोषणापत्र लेख्छ । चुनाव खर्च जोहो गर्छ । तर हेर्दाहेर्दै टिकट चम्पट पार्छ कुनै जखमले व्यापारीले । हिजो संविधानसभाको निर्वाचनमा होस् या त संघीय र प्रादेशिक निर्वाचनमा होस्, यस्तो पटक पटक भएको छ । मेयरको टिकट बूढानीलकण्ठ वा बालकोटले बाँड्ने र अपजस बोक्नुपर्ने स्थानीयले । यस्तो भएको छ र भइरहनेछ । यस्तो लाग्छ कि, यथावस्थालाई जस्ताको तस्तै छोड्ने हो भने पार्टीका कार्यकर्ताहरू फगत निर्वाचनको प्रचारप्रसारमा ब्यानर बोक्ने बफादार कामदार मात्र रहनेछन् र टिकट पड्काउनेछ अर्कैले । पैसाका अगाडि असली राजनीतिले हार्नुपर्ने कस्तो विडम्बना !

यो के भएको होला ? दुर्भाग्यवश, आज प्रायशः सबै पार्टीमा यस्तै भइरहेका छ । पार्टीमा काम एउटाले गर्छ, टिकट अर्कैले पाउँछ । सदस्यहरू बीचमा लोकप्रिय एउटा छ, नेताको प्रिय बन्छ अर्कै । कहिले टिकट बिक्री हुन्छ, कहिले टिकट उपहारमा जान्छ । कहिले मूलढोकाबाट व्यापारी छिर्छ, कहिले छट्टु मान्छेले झ्यालबाट टिकट पड्काउँछ । विकृति यतिमात्र छैन । हामीले देखेका छौं, नेताले आफ्नै पत्नी र प्रेमिकालाई टिकट दिएको । देखेका छौं, गुन्डानायके र भ्रष्टहरूले टिकट पाएको । चाहे निर्वाचनमा उम्मेदवार तोक्दा होस् वा समानुपातिकको बन्दसूची बनाउँदा होस्, सर्वत्र स्वार्थको गाईजात्रा । सर्वत्र पैसाको चलखेल ।

यो सबै भइरहँदा खासमा टिकट मात्र बिक्री भइरहेको हुँदैन, बिक्री भइरहेको हुन्छ, राजनीतिक निष्ठा, नैतिकता र लोकतन्त्र । यसले पार्टी र नेतालाई मात्र बदनाम गरिरहेको हुँदैन, बदनाम गरिरहेको हुन्छ हाम्रो निर्वाचनलाई । यसले इमानदार र योग्य कार्यकर्तालाई मात्र अवसरबाट वञ्चित गरिरहेको हुँदैन, मतदाताको स्वतन्त्र विवेकलाई समेत अवमूल्यन गरिरहेको हुन्छ । यसरी पार्टीको आन्तरिक लोकतन्त्र कमजोर हुन्छ । बिस्तारै गुट र लुट प्रभावशाली हुँदै जान्छ । र, आखिर लोकतन्त्र नेतातन्त्रमा फेरिन्छ । पार्टी सदस्यहरू फगत सेवक बन्छन् र पार्टी बन्छ अध्यक्षको निजी कम्पनी । आज भइरहेको यही नै हो ।

प्राथमिक निर्वाचन

आज संसारभर नै लोकतन्त्रलाई कसरी गहिरो, व्यापक र विस्तारित गर्ने भन्ने बहस जारी छ । टिकटको अपचलन कसरी रोक्ने र कसरी निर्वाचनलाई प्रभावकारी बनाउने भन्ने बहस आज राजनीतिको मुख्य बहस बनेको छ । त्यसका लागि अनेक प्रयोग र प्रबन्धनहरू भइरहेका छन् । ‘राइट टु रिजेक्ट’ वा ‘नो भोट’ त्यसका लागि गरिएको प्रबन्धन हुन् भने, अर्को प्रस्ताव वा प्रबन्धन हो ‘प्राइमरी इलेक्सन’ ।

के हो, प्राइमरी इलेक्सन ? कुनै राजनीतिक दलले सार्वजनिक पदका लागि आफ्नो उम्मेदवार छान्ने प्राथमिक निर्वाचन हो, यो । जसमा पार्टी सदस्यले (मतदाता) आफ्नो दलको आधिकारिक उम्मेदवार चयन गर्छन् । जो प्राथमिक निर्वाचनमा सर्वाधिक लोकप्रिय हुन्छ, उही उम्मेदवार । मानौं, कुनै व्यक्ति संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार बन्न चाहन्छ भने, ऊ पहिले आफ्नो निर्वाचन क्षेत्रभित्र हुने प्राथमिक निर्वाचनमा सहभागी हुनुपर्छ । त्यहाँ उसले सदस्यको (मतदाताको) भोट लिनुपर्छ । जसले सबैभन्दा धेरै भोट पाउँछ, उही नै आधिकारिक उम्मेदवार । यो उम्मेदवार बन्न चाहनेहरू बीचको योग्यताको प्रतिस्पर्धा हो ।

यसमा न त पार्टी सभापतिको आशीर्वाद लाग्छ, न त टिकट लिलामीमा राखिन्छ । यो प्रक्रियाले एकातिर राजनीतिक दललाई उम्मेदवार चयन गर्न सहयोग पुर्‍याउँछ, अर्कोतिर उम्मेदवार स्वयं सदस्य वा मतदाताप्रति उत्तरदायी हुन्छ । यसले टिकट खरिद बिक्री रोकिन्छ । पार्टीभित्र गुटको रजगज र मोलमोलाइ बन्द हुन्छ । दलभित्रको सिन्डिकेट अन्त्य हुन्छ । यो पार्टी सदस्यलाई अधिकार सम्पन्न र सार्वभौम बनाउने निकै शक्तिशाली विधि हो । जसले पार्टीको आन्तरिक लोकतन्त्रलाई गतिशील बनाउँछ र शीर्ष नेतालाई तानाशाही बन्नबाट जोगाउँछ ।

अभ्यास र अनुभव

‘प्राइमरी इलेक्सन’ को अभ्यास गर्ने देशहरूमध्ये अमेरिकाको अभ्यासलाई संसारकै प्रभावकारी अनुभव मानिन्छ । जो सुरु हुन्छ सन् १८९० बाट । लगभग १९ औं शताब्दीको प्रारम्भबाट नै अनौपचारिक रूपमा काउन्टी, स्टेट र संघीय तहमा यसको अभ्यास प्रारम्भ गरिएको मानिन्छ । पछि डेमोक्रेटिक पार्टीले जब यसलाई आन्तरिक लोकतन्त्रको महत्त्वपूर्ण विधिका रूपमा अवलम्बन गर्ने निर्णय गर्‍यो, त्यसपछि यो अभ्यास व्यापक बन्यो । डेमोक्रेटिक पार्टीको निर्णयसँगै रिपब्लिकनहरू पनि दबाबमा परे र यसलाई अंगीकार गरे । र, सन् १९०४ बाट यसलाई कानुनतः लागू गरियो ।

हामी सबैलाई थाहा छ, अमेरिकामा मुख्यतः दुई ठूला पार्टी डेमोक्रेटिक र रिपब्लिकन (यद्यपि त्यहाँ अरू पनि धेरै पार्टी छन्) प्रतिस्पर्धामा छन् । तर ती पार्टीका अध्यक्ष को हुन् ? आमरूपमा हामीलाई थाहा छैन । हामीलाई थाहा छ, पार्टीबाट उठेका उम्मेदवार र निर्वाचित राष्ट्रपति को थिए । कसरी थाहा पायौं हामीले ? यसकारण कि पार्टीको आधिकारिक उम्मेदवार हुन उनीहरू सहभागी भएका अनेकौं प्राथमिक निर्वाचन र बहस हामीले सुनेका छौं । विचार गरौं त ओबामा, ट्रम्प, बाइडेन र कमलालाई कसले उम्मेदवार बनायो ?

ओबामा युवा उमेरमै त्यति लामो इतिहास भएको डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बन्न कहाँबाट आइपुगे ? अथवा व्यापारिक पृष्ठभूमिका ट्रम्प एकाएक रिपब्लिकन पार्टीबाट राष्ट्रपति हुन कसरी आइपुगे ? पार्टी सभापतिको आशीर्वादबिना उनीहरूलाई उम्मेदवार हुन कसरी सम्भव भयो ? के उम्मेदवार हुन उनीहरूले पार्टीको शक्तिशाली सभापतिलाई कुनै नजराना तिर्नु परेन ? रोचक के छ भने त्यस्तो केही पनि भएन । उनीहरू आफ्नै उत्प्रेरणाले प्राथमिक निर्वाचनमा सहभागी भए । सदस्यहरू बीचमा आफू राष्ट्रपतिको उम्मेदवार हुन योग्य रहेको सावित गरे । प्राथमिक निर्वाचनमा सदस्यहरूले उनीहरूको परीक्षण गरे । प्रश्न–उत्तर भए, संवाद भए । नैतिक परीक्षण भयो । क्षमताको परीक्षण भयो । र, अन्ततः प्राथमिक निर्वाचन जितेपछि उनीहरू राष्ट्रपतिको आधिकारिक उम्मेदवार भए ।

लोकतान्त्रिक अभ्यासका प्रारम्भिक दिनहरूमा कुनै पनि पार्टीले उम्मेदवार उठाउँदा सम्बन्धित पार्टीको तहगत समितिले बन्द कोठाभित्र बसेर निर्णय गर्नु स्वाभाविक र लोकतान्त्रिक नै मानिन्थ्यो । जस्तो नगर समितिले नगरको उम्मेदवार तय गर्ने । क्षेत्रीय समितिले निर्वाचन क्षेत्रको उम्मेदवार तय गर्ने । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको निर्वाचन हो भने, त्यसका लागि कुनै पनि पार्टीको संघीय समितिले उम्मेदवारको निर्णय गर्ने । यद्यपि नेपालमा यसलाई पनि संकुचित गरिएको छ ।

किनभने हामीकहाँ अझै तलबाट आएका निर्णय वा सिफारिसलाई इन्कार गर्ने वा गोजीबाट उम्मेदवार बनाउने अधिकार भने पार्टीका सभापति वा अध्यक्षलाई छ । तर यसको विकल्पमा जब हामी विस्तारित र गहिरो लोकतन्त्रको आवश्यकताबारे बहस गर्दछौं, तब प्रश्न आउँछ के उम्मेदवार बनाउन हामीले अवलम्बन गरेको अलोकतान्त्रिक अभ्यास अब फेर्नु पर्दैन ? अवश्य नै पर्छ । किनभने भन्नलाई पार्टीका सदस्यलाई सार्वभौम भन्ने, तर उम्मेदवार नेताको गोजीबाट छान्ने कसरी हुन्छ ? भन्नलाई स्वच्छ निर्वाचन भन्ने, तर टिकट खरिदबिक्री गर्ने कसरी हुन्छ ? भन्नलाई पार्टी सदस्यहरूलाई अधिकार सम्पन्न सदस्य भन्ने तर स्वयं सदस्यहरू

उम्मेदवार छान्ने प्रक्रियाबाट वञ्चित हुने कसरी हुन्छ ? जब लोकतन्त्रलाई विस्तारित, उत्तरदायित्वपूर्ण र अझ गहिरो बनाउनुपर्छ भन्ने बहस चल्छ, त्यससँग अभिभाज्य हुन आइपुग्छ प्राथमिक निर्वाचन । आजका दिनमा प्राथमिक निर्वाचन मतदाताको भूमिकालाई बढाउने एक महत्त्वपूर्ण विधि हो । जहाँ उनीहरूले उम्मेदवार छनोटदेखि नै आफूलाई संलग्न गर्दछन् ।

जहाँजहाँ प्राथमिक निर्वाचनको अभ्यास छ, ती अभ्यासहरूले भन्छन्, नेताको गोजीबाट टिकट खोसेर कार्यकर्ताको हातमा पुर्‍याउने एउटा उन्नत र लोकतान्त्रिक विधि हो प्राथमिक निर्वाचन । जहाँ उम्मेदवार हुन चाहने व्यक्तिले कुनै पार्टीको अध्यक्ष, सभापति वा गुटको नेतालाई रिझाउन पर्दैन । तर उसले पार्टीका सदस्य वा प्राथमिक निर्वाचनका मतदातालाई भने सन्तुष्ट बनाउनै पर्छ । यो उम्मेदवार छनोटको यस्तो प्रक्रिया हो, जसले उम्मेदवार चयन प्रक्रियालाई सदस्यहरूको साझा सरोकारको विषय बनाउँछ । जसले टिकट वितरणलाई सुसंस्कृत, लोकतान्त्रिक, उत्तरदायी र प्रतिस्पर्धात्मक बनाउन योगदान गर्दछ ।

प्राथमिक निर्वाचनमा मुख्यतः दुइटा तरिका अवलम्बन गरिन्छ । एउटा खुला प्राथमिक निर्वाचन र अर्को बन्द प्राथमिक निर्वाचन । ‘ओपन प्राइमरी इलेक्सन’ लाई अप्रत्यक्ष प्रकृतिको ‘प्राइमरी इलेक्सन’ भनिन्छ । त्यसैगरी, बन्द ‘प्राइमरी इलेक्सन’ लाई प्रत्यक्ष प्रकृतिको ‘प्राइमरी इलेक्सन’ भनिन्छ । खुला अभ्यासमा पार्टीभन्दा बाहिरका मतदाताहरूले पनि उम्मेदवार छनोटमा भोट हाल्न पाउँछन् तर उनीहरूले त्यही प्रयोजनका लागि आफ्नो नामांकन दर्ता गर्नुपर्छ । बन्दमा भने पार्टी सदस्यले मात्र भोट हाल्छन् ।

के नेपालमा यो सम्भव छ ? सम्भव छ । हाम्रो निर्वाचन प्रक्रियामा सबैभन्दा धेरै भ्रष्टाचार हुने ठाउँ हो टिकट वितरण । तर जब प्रारम्भिक निर्वाचनको विधि अवलम्बन गरिन्छ, भ्रष्टाचार रोकिन्छ । टिकट खरिदबिक्री रोकिन्छ । यसले उम्मेदवारलाई आम सदस्यप्रति उत्तरदायी बनाउँछ । ‘प्राइमरी इलेक्सन’ मा हुने स्वस्थ प्रतिस्पर्धा र बहसले लोकतन्त्र र अन्तरपार्टी लोकतन्त्र जीवन्त हुन्छ । मतदाताहरू एक व्यक्ति वा निश्चित शक्तिकेन्द्रबाट छानिएको नभई आफैंले छानेको उम्मेदवारलाई भोट हाल्न पाउँछन् ।

यसले पार्टीको एकतालाई बलियो बनाउँछ । र, पार्टीभित्र हुने गुट, सिन्डिकेट र व्यक्तिको मनोमानीलाई नियन्त्रण गर्छ । मुख्य कुरा आम निर्वाचनमा सही उम्मेदवारलाई भोट हाल्न पाउनु मतदाताको सार्वभौम अधिकार हो, प्राथमिक निर्वाचनले धेरै हदसम्म त्यसको सुनिश्चितता प्रदान गर्छ । र, आम रूपमा प्राथमिक निर्वाचनले गलत मान्छेलाई सत्तामा पुग्नबाट रोक्छ । जुन हाम्रो सन्दर्भमा एक महत्त्वपूर्ण राजनीतिक ‘डिपार्चर’ हो ।

प्रकाशित : भाद्र ३०, २०८१ ०७:३३
x
×