कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

गणेशमानको अन्तिम लडाइँ

आश्विन २, २०८१
गणेशमानको अन्तिम लडाइँ

Highlights

  • गणेशमानको अन्तिम लडाइँ कुनै धर्मयुद्धभन्दा कम थिएन । खासमा त्यो लडाइँ राजनीतिमा नैतिकताको सर्वोच्चता स्थापना होस् भन्ना हेतु थियो । आफ्नै पार्टीलाई खबरदारी गर्नु, पार्टीले खबरदारीको बेवास्ता गरपछि विद्रोहका लागि हिम्मत गर्नु चानचुने कुरा थिएन ।

नेपाली राजनीतिले २००७, २०४६, २०६२/६३ सालमा ठूलाठूला कोल्टे फेर्‍यो । गणेशमान सिंह २००७ र २०४६ मा क्रान्ति र आन्दोलनको केन्द्रमा थिए । २०६२/६३ गणेशमानले देख्न पाएनन्, तर निर्धक्क भन्न सकिन्छ कि गणेशमानले प्रजातन्त्रको जुन समस्या देखे, आज पनि ती ज्युँका त्युँ छन् ।

गणेशमानको २८ औं स्मृति दिवस मनाउँदै गर्दा उनको वीरता र त्यागभन्दा पनि उनको जीवनको आखिरी लडाइँ ज्यादा सान्दर्भिक बनेर आएको छ । गणेशमानले कांग्रेसको पार्टी सभापति नबनीकन र देशको प्रधानमन्त्री नबनीकन दुर्लभ राजनीतिक उचाइ प्राप्त गरे । यो लेख उनको आखिरी लडाइँ २०४८–०५४ को समयमा ज्यादा केन्द्रित रहनेछ ।

काठमाडौंको सम्भ्रान्त परिवारमा जन्मिएका गणेशमान बडाकाजी रत्नमानको पुलपुलिएको नातिका रूपमा हुर्किएकाले होला हक्की, निडर, जोधाहा लडाकु स्वभावका थिए । दरबार हाईस्कुलबाट निष्कासित हुनु कालान्तरमा उनका लागि वरदान सावित भयो । उनी काठमाडौंबाट भागेर कलकत्ता पुगे । हजुरबुबा चाहन्थे— काठमान्डु हुँदा जे जे उपद्रव गरे पनि कलकत्ता पुगेको नातिले केहि राम्रो गरोस्, पढोस् । नभन्दै गणेशमानले कलकत्ताको विद्या चन्द्र स्कुलबाट प्रथम श्रेणीमा मेट्रिक पास गरेर अभिमानपूर्वक काठमान्डु फर्किएको वर्णन ‘मेरो कथाका पानाहरूमा’ गरेका छन् ।

उनको जीवनको उद्देश्य नै शिक्षा वा जागिरमा अडिनेभन्दा राणा शाहीको खिलापमा लाग्नेतर्फ केन्द्रित हुन गयो । गंगालाल श्रेष्ठसँग भेट भएपछि राणा शाही फ्याँक्न खोलिएको भूमिगत संगठन प्रजा परिषद् खोज्दै हिँडेको कुरा आजका पुस्तालाई एकादेशको कथा लाग्छ । गणेशमानले गंगालालसँग छुट्दाको अन्तिम बचन– ‘गणेशमान, डन्ट फर्गेट माई ब्लड’– लाई सधैं शिरोपर गरे । उनको अन्तिम लडाइँ तिनै सहिदको रगत र सहादतको सपनातर्फ लक्षित थियो ।

गणेशमान १९९७ सालमा प्रजा परिषद् काण्डमा नख्खु जेल चलान भए । जेल तोडेर भाग्न सफल भएको घटना भने काठमाडौंको बन्द समाजका लागि एउटा जीवित किंवदन्ती बन्यो । बनारस, कलकत्ता, दार्जिलिङ हुँदै अनेक सहरमा नाम फेरेर अर्ध भूमिगत जीवन बाँचेका उनका लागि बीपी कोइरालासँगको भेट निर्णायक हुन पुग्यो । उनको जस्तै सम्लक्ष्य भएका बीपी मित्र मात्र बनेनन्, उनको पनि नेता बने । गणेशमान चार दशकसम्म बीपीको राजनीतिक लाइनसँग एकाकार भएर हिँडे । पार्टीले कुनै निर्णय गर्नु अगाडि हमेशा आफ्नो मत जाहेर गरे पनि अन्तिम निर्णय भने बीपीकै शिरोधार्य गरे ।

२००७ फागुन ७ मा काठमाडौंमा प्रजातन्त्र जिन्दावादको अलावा तीन व्यक्तिको नाममा जिन्दावादको नारा लाग्यो– राजा त्रिभुवनको, बीपीको अनि गणेशमानको । कुनै समयको हुल्याहा, भगौडा हुँदै अनेक परिचयबाट सर्वथा अलग क्रान्ति नायक बनेर गणेशमान अन्तरिम सरकारको मन्त्रीका रूपमा काठमान्डु आइपुगेका थिए । अब गणेशमानको जीवनमा मात्र होइन काठमान्डुसहित नेपालकै जीवनमा आमूल परिवर्तन भएको थियो । उनी क्रान्तिका प्रयोक्ता बनेका थिए । तर उनको जीवनको खास लडाइँ भर्खर सुरु भएको रहेछ ।

२०१२ सालमा भएको कांग्रेसको छैटौं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका गणेशमान सुवर्णशमशेरबाट पराजित बन्न पुगे । प्रथम आमनिर्वाचन २०१५ मा काठमान्डुबाट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई पराजित गर्दै सांसद पदमा निर्वाचित बने । पञ्चायतविरुद्ध कांग्रेसले गरेको दोस्रो हिंसात्मक संघर्षबारे गणेशमानले फरक बयान दिए । बीपीले नैतिक जिम्मा लिए तर गणेशमानले इन्कार गरे । गणेशमानको चिन्तन नै पृथक् थियो । उनले जनमत संग्रहमा ससर्त भाग लिनुपर्ने मत जाहेर गरे पनि त्यो पार्टी लाइन बन्न सकेन ।

एकै पटक २०३९ मा बीपीको निधनपश्चात् गणेशमानको नेतृत्वको परीक्षण सुरु भयो । बीपीपछि २००७ सालको क्रान्तिको वारेस अब उनको काँधमा सरेको थियो । २०४२ सालको सत्याग्रह आन्दोलनमा गणेशमानको नेतृत्व कौशलको प्रथम प्रयोग भयो । उनी नेतृत्वको पहिलो परीक्षामा खरो उत्रिए । उनको नेतृत्वको सुझबुझ रातारात बनेको भने थिएन भलै बीपीको उपस्थितिमा त्यो सधैं ओझेल परेको भने थियो । कांग्रेसले आह्वान गरेको राजनीतिक कार्यक्रममा कम्युनिस्ट घटकका नेताहरू मनमोहन अधिकारी, साहना प्रधानलगायतले गिरफ्तारी दिएर आन्दोलनमा सरिक भएका थिए, ऐक्यबद्धता जनाएका थिए । गणेशमान पार्टी सभापति थिएनन्, तर कांग्रेसको नेतात्रयमध्ये उनको लाइनअनुसार बाँकी नेता चल्ने पुष्टि भयो । कम्युनिस्टले कांग्रेसको नेतृत्व स्वीकार गरेका थिए, अर्कोतर्फ वाम एकता र संयुक्त जनआन्दोलनका लागि मार्गप्रशस्त भएको थियो ।

२०४६ सालको जनआन्दोलनको आह्वान गणेशमानको घरको आँगनबाटै भएको थियो । यसरी गणेशमान कांग्रेसलाई एकढिक्का बनाई वाम एकतालाई अभिप्रेरित गर्न थाले । संयुक्त जनआन्दोलनको नेतृत्व गर्दै आन्दोलनको सर्वोच्च कमान्डर बन्न पुगे । २०४६ को आन्दोलनको सफलता उनको जीवनको उत्कर्षको क्षण थियो । लगत्तै राजाबाट प्रस्ताव गरिएको प्रधानमन्त्री पद अस्वीकार गरेर उनले झन् ठूलो र अप्रतिम उचाइ हासिल गरे । गणेशमानको जीवनको लक्ष्य यतिमै रोकिनेवाला थिएन । समय र नियतिले उनलाई अझ अर्कै लडाइँका लागि तयार गर्दै थियो ।

आन्दोलनको सर्वोच्च कमान्डर उचाइसँगै एउटा ऐतिहासिक भारी बिसौनीमा आइपुगेको थियो । तर ‘गार्जियन एन्जल’ मा मात्र खुम्चिएर इतिहासले दिएको भारी वा दायित्वबोध पूरा नहुने महसुस गरी जोखिमले भरिपूर्ण प्रजातन्त्रको सक्रिय ‘वाच डग’ को भूमिकामा अग्रसर बने । त्यो लडाइँमा उनका लागि कोही श्रेय पनि थिएन, प्रेय पनि थिएन । बीपीबाट २०३९ सालमा २००७ को क्रान्तिको वारिस लिएका उनी २०४६ को आन्दोलनको आत्मा जोगाउन सबै आफ्नाविरुद्ध समेत उठ्नुपर्‍यो । गणेशमानको अन्तिम लडाइँ कुनै धर्मयुद्धभन्दा कम थिएन । खासमा त्यो लडाइँ राजनीतिमा नैतिकताको सर्वोच्चता स्थापना होस् भन्ना हेतु थियो, त्यो दिशामा एउटा आह्वान थियो । आफ्नै पार्टीलाई खबरदारी गर्नु, पार्टीले खबरदारीको बेवास्ता गरेपछि विद्रोहका लागि हिम्मत गर्नु चानचुने कुरा थिएन । पार्टी पद्धतिमा सुधारका अलावा प्रजातन्त्र स्थापनासँगै आर्थिक विकास अनि त्यो विकासमा उपेक्षित समूह र वर्गको साझा हिस्सेदारी उनको लडाइँका मुख्य मन्त्र थिए ।

२०४६ को आन्दोलन सफलतापछि गणेशमानले जुन समस्या पहिल्याए र त्यसका लागि अन्तिम साससम्म निरन्तर लडे, त्यो लडाइँ मौलिक लडाइँ थियो, जुन लड्नका लागि कुनै बनीबनाउ मोडल पनि थिएन । त्यो उनको अन्तरात्माको लडाइँ थियो, जो लोकहितका लागि थियो, त्यसको केन्द्रमा प्रजातन्त्र थियो र भुइँ मानिस थिए । साथै पिछडा, उत्पीडित र दमित वर्ग थियो, जसले पछि आदिवासी, जनजाति, दलित, महिला आदि आन्दोलनको रूप लियो । अहिले त्यो लडाइँको सुखद परिणति राज्यका सबै निकाय र अंगमा समावेशी समानुपातिक प्रतिनिधित्वको आकार ग्रहण गर्न पुगेको छ ।

रूपमा उनी गिरिजाप्रसाद कोइरालासँग लडे, किसुनजीसँग लडे अनि लडे सिङ्गै कांग्रेस पार्टीसँग । कांग्रेससँग आधा शताब्दीको लगानी सार्थक परिणतिमा पुगोस् भनेर लडे । तर, सारमा नेपाल बदल्न ६ दशकभन्दा बढी समय लडे । त्यो लडाइँ प्रजातन्त्रको प्रजालाई सक्षम र सबल बनाउनका लागि थियो । कांग्रेसलाई नै त्यो लडाइँको सार बुझ्न समय लाग्यो र अझै पनि गणेशमानको त्यो आन्दोलनको औचित्य सकिएको छैन, उल्टो अपरिहार्य हुँदै गएको छ ।

सत्ताको चकाचौधमा तिलमिलाएको कांग्रेसका अगाडि गणेशमानको अन्तिम लडाइँ उनको जीवनकालमा अरण्य रोदन बन्न पुग्यो । तर, इतिहासको एउटा महसुर योद्धाले लडेको लडाइँलाई परिवारवाद, जातिवादको संकीर्ण लाञ्छना लाग्यो । त्यो त तत्कालीन सत्ताका अंशियारहरूले चलाएको प्रोपागान्डा मात्र थियो । प्रजातान्त्रिक शासकहरूले काम गर्ने शैली नबदल्ने हो भने प्रजातन्त्र संकटउन्मुख छ भन्ने पूर्वाभाष भएर नै गणेशमानले ती कुरा बोलेको पुष्टि केही वर्षभित्रै अर्थात् २०५८ मा नै हुन पुग्यो । सत्ताका राप र तापमा गणेशमानको जनजागरण अभियान ओझेल पर्‍यो, गति लिन सकेन तर त्यो निस्तेज हुने कुरा थिएन । उनका सहयोगी, जसले २०४८–५४ को लडाइँमा साथ दिए, ती समेत सत्ता राजनीतिको कोपभाजनमा परे ।

गणेशमानको त्यो लडाइँ नेपालमा अहिलेसम्म कसैले लडेको छैन । राणा शासनविरुद्ध थुप्रैले लडे, पञ्चायतसँग पनि थुप्रैले लडे, जीवन आहुति दिए । गणेशमानको त्यो लडाइँ इतिहासमा गान्धीले स्वतन्त्र भारतमा नेहरूसँग लडेको भन्दा जटिल थियो । गान्धी यस मानेमा भाग्यमानी थिए, उनलाई त्यो अप्रिय लडाइँ ज्यादा लामो लड्नुपरेन, आजादीको एक वर्ष नपुग्दै धर्मान्ध नाथुराम गोड्सेले हत्या गरेर मुक्ति दिए ।

गणेशमानका लागि २०४८ देखि २०५४ का एक एक दिन र वर्षहरू ज्यादा कष्टकर थिए । ती जति कष्टकर थिए, त्यति नै प्रिय पनि । उनले सम्झौता गर्ने कुरा थिएन । व्यावहारिक राजनीतिले सिद्धान्त, विचार र निष्ठाको राजनीतिलाई सर्लक्क निल्दै गरेको समय थियो । प्रजातान्त्रिक नेतृत्वले लोकतान्त्रिक गुण र चरित्रबाट आफैंलाई विमुख र वञ्चित गरेको समय थियो । अन्तरमनको आवाज बोलेर सबल लोकतन्त्रका लागि संविधानको पालन मात्रले पुग्दैन भनेर उनले भनिराखे । त्यति बेला आजका प्रचण्ड जंगल पसेर सत्ता विप्लवको तानाबाना बुन्दै थिए, केपी शर्मा ओली पार्टीभित्र व्यूह रच्दै थिए अनि एक पटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवा अलमस्त थिए । उनीहरू कसैलाई पनि त्यो लडाइँ रुचिकर थिएन ।

आजको राजनीति अभिभावकत्वविहीन बनेको छ । गणेशमानको जस्तो आलोचनात्मक अभिभावकत्व गणतन्त्र नेपालसँग छैन । हामीले आज सामना गरेका समस्याको निदानका लागि यदि कसैले मोडल दिएको थियो र लडेको थियो भने त्यो गणेशमानले लडेका थिए । नेपालको राजनीतिलाई अझ धेरै जनमुखी बनाउने संकल्प लिएका जो कोहीले गणेशमानको अन्तिम र सुदीर्घ संघर्षबाट शिक्षा अनुशीलन नगरी सम्भव छैन । प्रजातन्त्रका लागि लड्नु र लोकतन्त्र सुधार्न लोकतन्त्रसँग लड्नु नितान्त फरक कुरा हुन् । यसका लागि नैतिक उचाइ, आँट र ल्याकत चाहिन्छ । र, चाहिन्छ आधिकारिकता । त्यस्ता रोल मोडल आधुनिक नेपालमा कोही हुन् भने गणेशमान नै हुन् ।

बीपीले लोकतन्त्रका लागि लड्ने मोडल दिए, गणेशमानले त्यसको सुदृढीकरण कसरी गर्ने मार्ग देखाए । जसरी हिन्दु संस्कारमा श्री गणेशाय नमः बिना कुनै धार्मिक कार्यको शुभ मुहूर्त हुँदैन, आज गणतन्त्रको उन्नयनको प्रथम डेग गणेशमानको अन्तिम संघर्षको आलोकबिना अगाडि गुड्न सक्दैन । गणतान्त्रिक जनजागरण अभियान आज सबैको ध्येय बनोस् ।

प्रकाशित : आश्विन २, २०८१ ०७:०२
x
×