कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

चम्किँदो संविधान, चर्किंदो संविधान

आश्विन ३, २०८१

चन्द्रकिशोर

चन्द्रकिशोर कान्तिपुरका नियमित स्तम्भकार हुन् ।

चम्किँदो संविधान, चर्किंदो संविधान

Highlights

  • संविधान आयो तर पनि सबैको संविधानका लागि लडाइँ जारी छ । आजको दिन लोकको शक्तिमा भरोसा राख्ने सबैका लागि आत्मनिरीक्षण र परीक्षणको अवसर हो ।

जनकपुरधामले आफ्नो पुरानो पहिचान बिर्सेको पनि छैन, नयाँ पहिचान समग्रतामा आत्मवरण पनि गर्न सकेको छैन । यो सत्ताको सहर पनि हो, संस्थापनविरुद्धको सहर पनि । कुनै पनि सहरलाई चिन्न त्यसका विभिन्न आयाम चिन्नुपर्ने हुन्छ । कुनै समाजको चालक शक्तिहरूलाई बुझ्न तिनका विमर्शका विषय र विकासलाई सम्झिनुपर्ने आवश्यकता त हुँदै हो ।

सँगसँगै अतीतलाई पछ्याउन छाड्नु हुँदैन । जनकपुरियाहरू सधैं दाबी गर्छन्— यो नगर सामान्य मान्छेहरूले असामान्य उपलब्धि हासिल गरेको अभिलेख हो । यसो भनिरहँदा उनीहरू बताउन बिर्सिंदैनन् कि सत्ताले जहिले पनि जनकपुरधामको मानस ठम्याउन चुक गरिरहन्छ । जनकपुरियाहरू आफ्नो समयको संघर्ष, स्वप्न र सौन्दर्यलाई आकार दिने खुबी जुन दिन बिर्सिन्छन्, त्यो दिन जनकपुर हुनुको ओज गुम्छ ।

मधेश प्रदेशको ‘राजधानी’ जनकपुरधामले पाएको नव पगडी हो । यसैसाता यहाँ जनकपुर उद्योग वाणिज्य संघको चुनाव सम्पन्न भयो । चुनावी रापतापले सहरका प्रत्येक चोक र बिसौनी तातेको थियो । गुह्य कुरा थियो, कुन दलले कब्जा गर्ने । पछिल्ला दिन व्यावसायिक संस्थाहरूमा हुँदै गरेको दलीयकरणको अच्छा उदाहरण हो यो निर्वाचन । नेपाली कांग्रेस र नेकपा एमालेबीचको प्रतिस्पर्धामा एमालेले जित्यो । संविधान कार्यान्वयनकालमा एमालेका लागि मधेश प्रदेशमा विजयकाल भएको छ । एमालेगण पूरै आत्मविश्वासमा मग्न छ कि आगामी आम निर्वाचन यस प्रदेशमा तिनका लागि सर्वोत्कृष्ट प्रदर्शनकाल हुनेछ । काठमान्डुबाट आइपुग्ने रिसर्चरहरू पनि त्यस्तै रिपोर्ट तयार गर्दै फर्किन्छन् । सबै कुरा ठीकठाक छ ।

जनकपुरको यो सौभाग्य हो कि उसले अद्यावधि रेलसेवा प्राप्त गरिरहेको छ । जनकपुर पुग्ने जोकोही पनि एकपटक मिथिला पेन्टिङले सुसज्जित रेलवे स्टेसन हेर्न पुग्छन् । गंगासागरमा गरिने सन्ध्या आरती र रेलवे स्टेसन तट गन्तव्य बनेका छन् यतिखेर । रामानन्द चोकको एक चिया जमघटमा कसैले सुनाए । कथा पुरानो हो । रेलवे नजिक कुनै मठका एक साधुलाई ट्रेनको इन्जिनसँग असीम प्रेम भयो रे । जबजब ट्रेन त्यहींबाट गुज्रिन्थ्यो, उनी इन्जिन हेर्न ‘सियावर रामचन्द्र की जय’ भनेर दगुर्थे । एक दिन उनका चेलाले सोधे– ‘यसरी इन्जिन हेर्न किन दगुरेको ?’ उनले भनेछन्– ‘मलाई यो इन्जिनसँग एक प्रकारको प्रेम भयो, त्यसैले आँखाले भ्याएसम्म यसलाई हेरूँहेरूँ लाग्छ । नयन तृप्त नै हुँदैन ।’ अनि प्रेम किन नि ? यसको पहिलो कारण हो, ट्रेनको इन्जिनले आफ्नो गन्तव्यसम्म पुगेर नै विश्राम लिन्छ । दोस्रो, यसले प्रत्येक डिब्बालाई सँगै लिएर हिँड्छ । तेस्रो, यसले स्वयं आगो (पहिला कोइलाले ट्रेन चलाइँदा) खान्छ, डिब्बाहरूलाई खान दिँदैन । चौथो, यो कोरिएको लिकभन्दा बाहिर हिँड्दैन । कथा सुनाउने अभियन्ताले यसको वर्तमानिक सन्देश अर्थ्याए— संविधान कार्यान्वयन गर्ने नेता ट्रेनको इन्जिन जस्तै हुनुपर्ने हो । तर, उनीहरू यो कसौटीमा खरो उत्रिएनन् । हामीलाई बहुदलीयता चाहिएको हो, दलहरूको दलदल होइन ।

यो संविधान जारी भएको दिन कसैका लागि उत्सव हो, कसैका लागि उत्सर्ग । बन्दुक तेर्स्याएर कसैलाई उत्सव मनाउन बाध्य पार्न सकिँदैन । संविधान उल्ट्याउन चाहने, अन्तर्वस्तु सच्याउन चाहनेहरूभन्दा जो जसले संविधान ल्याए तिनको चाल–चरित्रले संविधानमाथि खतरा छ । उनीहरू आफूलाई सुधार्न चाहँदैनन् बरु पञ्चे शैलीमा उत्सवको कर्मकाण्ड रच्न खोज्दै छन् । संविधानलाई सबल, सार्थक र सिर्जनात्मक बनाएर सबैको स्वीकार्य बढाउन सक्नु असली उत्सव हो । कुन दलले कतिखेर कालो दिन भन्यो, कुनै पात्रले बतासा बान्टे भन्दा यसले विश्वास आर्जन गर्न सक्यो कि सकेन ? आत्म अवलोकनको दिन हो आज । लोकतन्त्रमा जनताद्वारा निर्मित संविधानले आगतका तनावहरूको निष्पादन, वर्तमानका घर्षणहरूको निकास र साझापनको माहोल विकसित गर्नुपर्ने हो । हाम्रो गणतान्त्रिक संवैधानिक यात्राले के गर्‍यो ? मधेशी, थारूलगायत किनारा पारिएको समुदायलाई पराजयको अवस्थामा राखेर प्राप्त गर्न खोजिने कुनै पनि विजय क्षणभंगुर नै रहेको समयले प्रस्ट्याउने छ । मधेश आधारित शक्तिहरू मधेश आश्रित शक्तिमा अनूदित हुँदैमा आन्दोलनको सम्भावना टर्दैन ।

लोकतन्त्रलाई तिनले मात्र रच्दैनन्, जो चुनाव जित्छन् । चुनाव हार्नेहरूले पनि यसलाई आकार दिन सक्छन् । लोकतन्त्रले सबैभन्दा कमजोरलाई तागत दिने काम गर्छ । जो कमजोर छ, संख्यामा पनि कम छ, तिनलाई तिनकै भरोसामा छाडिदिनु लोकतन्त्र होइन । लोकतन्त्र कसैको अनुकम्पा होइन । मराठी लेखिका शान्ता गोखलेको नाटक ‘अविनाश’ को एक पात्रले भन्छ कि उसका ठूल्दाजुलाई जुन अवसाद छ, त्यो सिंगो रूपमा कुनै जन्मजात आदतको नतिजा हुन सक्दैन । यसको जरो अर्थव्यवस्था, सामाजिक संरचना र राजनीतिक व्यवस्थामा पनि हुन सक्छ । यो सुनेर यसप्रति पात्रका पिताले भन्छ– ‘यस कुरासँग राजनीतिको के लेनादेना छ ? तपाईं जो हो, त्यो तपार्इंको भाग्यको नतिजा हो ।’

संविधान कार्यान्वयनको कालखण्डले भुइँमान्छेहरूलाई आत्मसन्तुष्टिबाट जगाएको छ । ‘यो देशमा यसैगरी बाँच्ने हो’ भन्ने विलयको मनोविज्ञानबाट तिनीहरू ब्युँझेका छन् । ‘सबैभन्दा ठूलो वाद दाजुवाद हो’ भनेर नोटिस गरिएको छ । अंग्रेजीमा एक आहान छ– इट म्याटर्स हु स्पिक्स फर यु । यो महत्त्वपूर्ण हो कि तपार्इंको ‘आवाज’ को बन्दै छ । संविधान वास्तवमा के हो, कस्तो हो, कोही बताउन चाहँदैनन् । स्वयं सरकार पनि यसप्रति उदासीन छ । संविधानमा समाजवाद, संघीयता, समावेशी लेखेको देखाएर चटकेले जस्तो नक्कली दन्तमञ्जन बेच्ने उद्यम कुन शक्तिले गरिरहेको छ ? अब जनकपुरका गल्ली र चोकहरूमा बढी खोजबिन गर्नु पर्दैन ।

यो संविधान गयो भने लोकतन्त्र बच्दैन । लोकतन्त्र र संविधानको अभिन्न नाता छ । यो संविधानसभाबाट यस्तो संविधान चाहिएको थियो प्रथमतः जो आन्दोलनहरूको दस्तावेज बनोस् । जसले विविधतालाई जोड्ने अभिरेखांकन गरोस् । जसले सम्भावनाको लिक कोरोस् । नेपाली समाजको भावी परिकल्पना गरोस् । कोही विजेता र कोही विजितका रूपमा आफूमा विभक्त नरहुन् । यसले दिशानिर्देश गरोस्, जो जहाँ छ लोकतन्त्रको मूल्यलाई उन्नत गरोस् । तर, सोचेजस्तो भएन । जो शक्तिहरू संविधानप्रति असन्तुष्ट थिए, उनीहरू यतिखेर विभाजित छन् । केके सच्याउनुपर्ने त्यसमै अलमल र अन्योल छ । तर, एउटा ठूलो समुदायमा पराजयको मनोविज्ञानबाट उन्मुक्तिका लागि लोकतान्त्रिक भनिएको राज्यले गर्नुपर्ने आधारभूत दायित्व पनि पूरा गरिदिएन । त्यसैले घाउ आलै छ ।

के यो संविधान केवल कागजमा मात्रै हो ? होइन । हामीकहाँ जुन पोलिटिकल कम्युनिटी छ, त्यसमा कुनै विरोधी पक्ष नै छैन । सिंगो राजनीति नै वैचारिक रूपले एक छ । यसले नैराश्य थप्यो । नयाँ–पुराना सबै उस्तैउस्तै देखिए । भारतीय संविधानका निर्माता भीमराव अम्बेडकरले भनेका थिए, जो हाम्रो सन्दर्भमा समेत मननीय छ । ‘म ठान्दछु कि संविधान चाहे जति नै राम्रो होस्, त्यो खराब हुन सक्छ । यदि त्यसको अनुसरण गर्ने वालाहरू खराब भए । एउटा संविधान चाहे जति नै खराब होस्, त्यो राम्रो सावित हुन सक्छ यदि त्यसको पालन गर्नेहरू असल भए भने । संविधानको प्रभावशीलता पूरै त्यसको प्रकृतिमाथि निर्भर हुँदैन ।’

संविधानलाई पूजा अर्चनाको वस्तु बनाइने उपक्रम तीव्र बनाइएको छ । सत्ता पुरुषहरूलाई लाग्छ, यसले लोकतन्त्रविरोधी छाललाई छोप्न सकिन्छ । संविधानले राजनीति र समाजको अपेक्षित कायाकल्प गरिदिएन । सामाजिक बदलावको गति तीव्र बनाएन । विभिन्न संघर्षको साझा उपलब्धिका रूपमा आफूलाई खडा गरेन । तर, यसको अर्थ संविधान च्यात्ने मनसुबालाई हौसला बढाउन सकिँदैन । प्रतीक्षा गर्नु पनि एक कला हो । केही मान्छेहरू यसरी आनन्दले प्रतीक्षारत रहन्छन् कि प्रतीक्षा गर्नु जिन्दगीको गीत हो । र, त्यसलाई बिस्तारै गुनगुनाइरहेका हुन्छन् । संविधानले नागरिक बलियो बनाउने बाटो देखाउँछ, बाटोमा छेकवार लगाउँदैन । यसका लागि साझा प्रयत्न चाहिन्छ । संविधान संशोधनको कुनै पनि प्रयास अँध्यारो कोठाबाट हुनुहुँदैन । अतार्किक बहस र अन्धश्रद्धाले उत्पन्न अराजक भीडको दबाबमा हुन सक्दैन । संविधान संशोधनको अनुष्ठान लोकतन्त्रलाई अझ गहिरो र उन्नत बनाउने लक्ष्यका साथ हुन्छ ।

यो सत्य हो, संविधान चर्किंदो छ । विभिन्न वर्चश्वशाली शक्तिहरूको शरणालय बनेको छ यो । यो एक गुपचुप सम्झौता हो । आम नेपालीलाई चाहिएको छ सस्तो, सुलभ र शीघ्र न्याय । तीनवटै संवैधानिक संस्था लँगडो भएर हिँड्दै छन् । तिनका धमनीहरूमा आस्थाको रगत निरुपित गर्नु लोकतन्त्रका लागि आवश्यक छ । संविधान एक उर्वर भूमि हो । त्यसमा प्रत्येक पाँच वर्षमा जनविश्वासको बालीको बीज छरिन्छ । मतदाता किसान हुन्छन् । खुसी हुन्छन् त्यतिखेर जब बाली पाकेपछि सुदिन आउँछ । यो संविधान उत्कृष्ट कहलिएर पनि सबैभन्दा कठिन र चुनौतीपूर्ण यात्रामा छ । यो एक प्रकारले विशाल क्यानभास वा कक्षाकोठाको ब्ल्याकबोर्ड बन्नुपर्ने हो । जसमाथि कुनै उज्यालो मान्यता लेख्न सकिन्छ । अफशोच, तिनीहरूका कण्ठमा संविधानको वाचन त छ, कर्ममा होइन ।

संविधान आयो तर पनि सबैको संविधानका लागि लडाइँ जारी छ । आजको दिन लोकको शक्तिमा भरोसा राख्ने सबैका लागि आत्मनिरीक्षण र परीक्षणको अवसर हो । कथाको त्यो सिसिफसले कैयौं पटक ढुंगालाई पहाडबाट तल झर्दै गरेको हेर्‍यो होला । नागरिक अधिकार अभ्यासको सिसिफियन चरित्र एउटा यस्तो उद्यम जो प्रायः एउटा ढुंगालाई हजारौं पटक पहाडमाथि धकेल्दै लैजान्छ । तर कहिल्यै पनि शीर्षमा पुग्न सक्दैन । हो, नेपाली लोकतन्त्रको लडाइँ सकिएको छैन । जो मान्छे–समुदाय ठान्दछन् कि मुक्ति एक्लै सम्भव छ, त्यो यसरी हुँदैन । मुक्ति जब भेटिन्छ, त्यो सामूहिक यत्नबाट नै हुन्छ ।

कस्तो अन्तरविरोध छ । जुन समुदाय पहुँच, प्रतिनिधित्व र प्रभुत्वमा अझै पछाडि रहे, यतिखेर उनीहरू संविधानका प्रति ज्यादै बफादार छन् । नेपाली लोकतन्त्रको सबैभन्दा ठूलो विरोधाभास छ कि जसलाई लोकतन्त्र र संविधानले सबैभन्दा बढी लाभ दियो, उनीहरू संविधानको सम्मान गर्दैनन् । यो संविधान फगत कागजको दस्तावेज होइन, यसलाई परिवर्तनको नागरिक दस्तावेज बनाउन अझै स्वप्नशील हुन जरुरी छ । अब आआफ्नो डफली र आआफ्नो राग छाडौं । यतिबेला खिचडी पकाउने समय होइन ।


प्रकाशित : आश्विन ३, २०८१ ०७:३४
x
×