कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सहकारी ठगीमा श्रीमतीलाई साझेदार बनाउने प्रवृत्ति

भाद्र ३१, २०८१

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

सहकारी ठगीमा श्रीमतीलाई साझेदार बनाउने प्रवृत्ति

Highlights

  • सहकारी अपचलनमा जोडिएका व्यक्तिहरूले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका विवरणहरू छरपस्ट भएका छन् । तर, हिनामिनाको आरोप लागेका हरेकजसो व्यक्तिहरूको कथा उस्तै छ भने त्यो स्वाभाविक होइन भन्न सकिन्छ ।

कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा मुछिएसँगै यस क्षेत्रसँग जोडिएको अस्वाभाविक तथ्य सार्वजनिक भइरहेका छन् । आफूमाथि आरोप लागेपछि गुरुङले श्रीमती ज्योति गुरुङसँग २०७६ सालमै सम्बन्धविच्छेद गरेको खुलाएका छन् ।

यसअघि पनि सहकारी अपचलनमा जोडिएका व्यक्तिहरूले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका विवरणहरू छरपस्ट भएका छन् । तर, हिनामिनाको आरोप लागेका हरेकजसो व्यक्तिहरूको कथा उस्तै छ भने त्यो स्वाभाविक होइन भन्न सकिन्छ । यसमाथि थप अनुसन्धान पनि आवश्यक हुन्छ ।

जसरी विवाह दुई व्यक्तिबीच सहयात्राको अधिकार हो, त्यसैगरी सम्बन्धविच्छेद पनि स्वतन्त्रता हो । यसबीचमा दुईबीच कतिञ्जेल सँगै रहने वा नरहने निर्णय उनीहरूले आफ्नो सार्वभौमिकताको प्रयोगमार्फत गर्न पाउँछन् । यो अत्यन्त व्यक्तिगत सन्दर्भ पनि हो । तर सहकारी सञ्चालकहरूले यही विषयलाई दुरुपयोग गर्दै आएका छन् । उनीहरूले सहकारीमा बचत भएको रकम अपचलन गरेर विभिन्न संस्थामा लगानी गर्दै आर्थिक लाभको अर्को तह निर्माण गर्ने र आफ्नो बदमासीको खुलासा भई कारबाही भोग्नुपर्ने सम्भावना बढेपछि भने श्रीमतीसँग सम्बन्धविच्छेद गर्ने गरेका छन् । खासगरी अनियमितताको जगमा सिर्जना गरिएको सम्पत्ति जोगाउन श्रीमतीका नाममा पास गर्ने र सम्बन्धविच्छेदको उपाय रचेको देखिन्छ ।

भरत महर्जन यस्तै उपाय रच्ने एक जना सहकारी सञ्चालक हुन् । सुमेरु सहकारीका तत्कालीन सञ्चालक उनीमाथि चार वटा शाखा कार्यालयमा ३४ हजार ७ सय ७८ बचतकर्ताले बचत गरेको १० अर्ब ३४ करोड रुपैयाँको ठूलो मात्रा हिनामिना गरेको आरोप छ । विडम्बना के छ भने, हिनामिनाबाट आर्जित सम्पत्ति उनले श्रीमतीका नाममा सारिदिए । अपचलनले सहकारीमा समस्या आउने र महर्जन फस्ने निश्चित थियो । त्यसपछि उनीहरूले अदालत पुगेर सम्बन्धविच्छेद गरे । अझ अनौठो, उनै महिलासँग विवाह गरेको कागजपत्र बनाएर उनी परिवारसहित बेलायत पलायन भए । सहकारी सञ्चालकहरू जीबी राई, सुधीर बस्नेत, इच्छाराज तामाङहरूको कथा यस्तै छ । फरक यति मात्रै हो, अरूले पुनः विवाह गरेको सार्वजनिक भएको छैन । तर कतिपय भने सम्बन्धविच्छेद गरेर ‘वैवाहिक सम्बन्ध’ लाई निरन्तरता दिइरहेका छन् । त्यसैले पनि उनीहरूको सम्बन्धविच्छेद ‘कागजी’ मात्रै हो भन्न गाह्रो छैन ।

धनराज गुरुङले पनि अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको एक वर्षपछि सहकारीबाट कर्जा लिँदा हकवाला श्रीमती ज्योतिलाई बनाएको विवरण सार्वजनिक भएको छ । उनले २०७६ फागुन २९ मा श्रीमती ज्योतिसँग सम्बन्धविच्छेद गरेको भनेर भन्दै आएका छन् । तर २०७७ फागुन ३ मा उनैलाई हकवाला राखेर मितेरी सहकारीबाटै १२ लाख ऋण लिएका थिए । यो त्यही सहकारी हो, जहाँ ज्योति महाप्रबन्धक रहेका बेलामा १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको आरोप लागेको छ । त्यसैले पनि उनीहरूले ‘कागजी’ सम्बन्धविच्छेद गरेका हुन् भन्ने सहकारी सञ्चालककै दाबी छ ।

अर्को प्रवृत्ति प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र श्रीमती अञ्जला कोइराला मुछिएको घटनाले उजागर गर्छ । सभापति पोखरेल श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका छन् । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अञ्जला कोइरालासहित सञ्चालक कालोसूचीमा परेका छन् । अहिले पीडितले नामै तोकेर उजुरी दिएका छन् । मोरङको उमागौरी कृषि सहकारी संस्थाको सञ्चालक रहेकी कोइराला सहकारीमा संकट आउन थालेपछि बाहिरिएकी थिइन् । पछिल्लो समय सार्वजनिक यी दुई घटनाका विस्तृत विवरणहरू खुल्दै जालान् । तर, प्रायः पुरुषले सहकारीको रकम हिनामिनामा श्रीमतीलाई आर्थिक अपराधको साझेदार बनाउने साझा प्रवृत्ति देखिन्छ ।

हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण अनेक कोणबाट समस्याग्रस्त रहेको ऐतिहासिक आधार छन् । विगतमा जस्तो महिलालाई सामूहिक र संस्थागत रूपमै मानवोचित अधिकारबाटै वञ्चित गर्ने परिस्थिति त अहिले छैन । तर पनि समस्याहरू छन् । खासगरी समान अवसर उपलब्ध नगराइने, निर्णय प्रक्रियामा समान सहभागिता नगराइने, आर्थिक अधिकार दिन नचाहने प्रवृत्ति राजनीतिक संस्था र राजनीतिक व्यक्ति मात्रै होइन, नेपाली समुदायको आम चरित्र नै बनेको छ । तर, सहकारीका सञ्चालकको प्रवृत्ति भने भर्त्सनायोग्य छ । किनकि, उनीहरूले वैवाहिक सम्बन्धको प्रतिबद्धतालाई सहकारी ठगी छोप्ने औजार बनाइरहेका छन् । अधिकार दिने ठाउँमा पछि पार्ने तर अपजस लिने ठाउँमा अघि सार्ने यस्तो प्रवृत्ति चिन्ताको विषय हो ।

प्रकाशित : भाद्र ३१, २०८१ ०६:२३
x
×