२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

ती तीन मृत्यु, जसले मलाई छोएर गए

केपी शर्मा ओली

आज म ७१ पूरा भएर ७२ वर्ष लाग्दै छु । मैले आजसम्म बाँचिसकेका दिनहरूभन्दा अब बाँच्ने दिन थोरै छन् । उसै पनि म धेरै पटक ‘मरें–मरें’ भनेर बाँचेको मान्छे हुँ । हुन त सबैको जीवनमा मृत्यु सँगसँगै हिँडिरहेको हुन्छ, अझ भनौं त्यो जीवनको निकै नजिक भएर हिँडिरहेको हुन्छ ।

ती तीन मृत्यु, जसले मलाई छोएर गए

जीवनलाई टिपूँटिपूँ, लिऊँलिऊँ र खोसूँखोसूँझैं गर्दै हिँडिरहेको हुन्छ । फूलबारीमा घुमिरहेको एउटा व्यक्तिलाई फूल टिपूँटिपूँ लागेझैं मृत्युलाई पनि जीवन टिपूँटिपूँ लागिरहेको हुन्छ ।

म मृत्युको बारेमा खासै धेरै सोच्दिनँ । किनकि, मर्नलाई कुनै योजना बनाउनुपर्दैन । मर्नु भनेको अन्धकारले छोप्नुजस्तै हो । मर्नु अज्ञानताजस्तै हो, अज्ञानी हुन कुनै मिहिनेत गर्नुपर्दैन । ज्ञानी हुनलाई पो मिहिनेत गर्नुपर्छ ।

मृत्युले कहिले नजिकैबाट झम्टिएको भान दिन्छ, तर त्यसले जितिसकेको हुँदैन । कहिलेकाहीँ केही पनि गरेजस्तो गर्दैन, तर झम्टिरहेको हुन्छ । मेरो जिन्दगीमा धेरै पटक यस्तो घटना भएको छ । कैयौं पटक मृत्यु मेरो नजिकैबाट गुज्रिएको छ । त्यसले मलाई धेरै पटक जबर्जस्ती घिच्याएर आफूसँगै लैजान पनि खोजेको छ ।

डरपोकहरू मृत्युको कुरा गर्न सक्दैनन् । र, त्यस्ता मानिसहरू मृत्युले समाउन खोजेका बेला उम्कन पनि सक्दैनन् । मलाई लाग्छ, मृत्युलाई बुझेर नै मानिस बढी बाँच्न सक्छ । मृत्युसँग डराएन भने त्यसले झम्टिहाल्न सक्दैन । मैले जीवनमा एक दर्जनभन्दा बढी पटक मृत्युलाई नजिकैबाट नियालेको छु, साक्षात्कार गरेको छु । तीमध्ये तीन वटा घटना आज म सम्झन चाहन्छु ।

हेलिकोप्टर दुर्घटना

२०५२ साउन २९ गते । हामी चढेको हेलिकोप्टर ५ हजार फिट माथिबाट एक्कासि तल खस्न थाल्यो । हेलिकोप्टर तल झर्न थालेपछि अब बाँचिँदैन भन्ने लागेको थियो । त्यो तल झरुन्जेल छोटो समयका लागि भयानक पीडा भयो । यस्तो लाग्थ्यो, मृत्यु आँखैअगाडि उभिएको छ । हेलिकोप्टर जति जमिन नजिक जान्थ्यो, मृत्यु त्यति नै नजिक आइरहेको भान हुन्थ्यो । उडिरहेको हेलिकोप्टर भुइँमा बजारिन ११ सेकेन्डजति लागेको थियो ।

भुइँमा बजारिएपछि हेलिकोप्टर कोल्टो परेको थियो । ढोका माथितिर अर्थात् आकाशतिर फर्किएको थियो । आफूलाई जिउँदो पाउँदा एक पटक हातखुट्टा चलाउन मन लाग्यो, सद्दे छन्/छैनन् भनेर जाँच्न । तिनलाई सद्दे पाउँदा आश्चर्य लाग्यो । भुइँमा बजारिएको हेलिकोप्टरभित्र धेरैबेर बस्दा आगो लाग्छ, पड्कन सक्छ भन्ने डर थियो । घाइते अवस्थामा बाहिर निस्कन सजिलो पनि थिएन । तर हामी जसोतसो हेलिकोप्टरबाट बाहिर निस्कियौं ।

बाहिर निस्किएर हेरेपछि ढुक्क भयो– वरिपरि मृत्यु थिएन । त्यसले हामीलाई केही घाउचोट भने दिएको थियो । थप्पड हानेको थियो, कसै–कसैको करङ भाँचिदिएको थियो । कसैको हात मर्काइदिएको थियो । तर मृत्यु भने हामीलाई आक्रमण गरेपछि आफैं टाढाटाढा भागेको थियो । मृत्युको त्यो आकस्मिक झम्टाई वास्तवमै खतरनाक थियो । बाघले बरु त्यसरी झम्टिँदैन होला, मृत्युले त्यसरी झम्टेको थियो हामीलाई त्यसबखत ।

एपेन्डिसाइटिस अपरेसन

२०७६ मंसिर महिनाको एक दिन मलाई अचानक पेट दुख्यो । खप्नै गाह्रो भएपछि मलाई अस्पताल पुर्‍याइयो । एपेन्डिसाइटिस भएको रहेछ । मेरो आन्द्रामा इन्फेक्सनसमेत भएको देखियो । त्यसले गर्दा आन्द्रा सुन्निएको थियो । पीप निस्केर आन्द्रातिर फैलिएको थियो । आन्द्रामा इन्फेक्सन भएपछि त्यसले झन् छिटो पीप निकालेको र पेटभरि फैलिएको पत्ता लाग्यो । तर पीप रक्तनलीमा प्रवेश गर्न पाएनछ । डाक्टरहरूले हतारहतार मेरो अपरेसन गर्नुभयो । शल्यक्रियापछि मेरो ब्लडप्रेसर स्वाट्टै घटेछ । यसरी घटेछ कि मलाई बचाउनै सकिँदैन कि भन्ने आशंकामा डाक्टरहरू पुग्नुभएछ । प्रेसर बढाउने तेस्रो डोज औषधि दिँदा पनि बढेनछ । स्थितिमा कुनै सुधार आएनछ । डाक्टरहरूले त माया नै मार्नुभएछ ।

मलाई अब्जर्भेसनमा राखिएको थियो । म नबाँच्नेजस्तो भएपछि अपरेसन गर्दा चिरिएको घाउ नसिलाईकन त्यत्तिकै छोड्ने कि भन्ने पनि कुरा भएछ । तर अपरेसन पूर्ण गर्नुपर्छ भनेर घाउ सिलाइएछ । केही समय अब्जर्भेसनमा राखेपछि म बौरिएँ अर्थात् बाँच्ने अवस्थामा पुगें ।

होस खुल्दा भेन्टिलेटरमा थिएँ । डाक्टरले मतिर हेरिराखेको देखें । मेरो मुखमा केही राखिएको थियो, जसले गर्दा बोल्न मिलेन । हातखुट्टा चलाउन खोजें, एनेस्थेसियाको प्रभावले गर्दा त्यो पनि चलेन । आँखा डाक्टरतिर फर्काउन खोजें, त्यसो गर्न पनि सकिनँ । डाक्टरको धमिलो आकृति देखें । मैले केही भन्न खोजेको डाक्टरले बुझ्नुभयो सायद, एक जना डाक्टरले भन्नुभयो, ‘मुखमा भेन्टिलेटरको पाइप राखिएको छ । तपाईंको फोक्सो आफैं सास फेर्न सक्ने भएपछि त्यसलाई हामी निकाल्छौं । त्यसपछि भने तपाईं बोल्न सक्नुहुन्छ ।’

अस्पतालमा मलाई पटकपटक होस खुलेजस्तो हुने तर नखुल्ने भयो । धेरै पटक त्यस्तो भयो अनि बल्ल होस खुल्यो । मैले आँखा खोलें, डाक्टरहरू धेरै खुसी हुनुभएको देखें । बल्ल उहाँहरूलाई म बाँच्छु भन्ने लाग्न थालेछ ।

यी सबै कुरा मलाई निको भएपछि डाक्टरहरूले नै सुनाउनुभएको हो ।

‘यो मरिसक्यो, अब फर्किंदैन’ भनेर सबैले आस मारेको मेरो आफ्नै कथा त मैले कैयौं पटक सुनेको छु । तर यस पटकको यो कथा सुन्दा अलि रोमाञ्चक जस्तो लाग्यो । अचेत अवस्थामा भएका कुरा सुन्दा अचम्म लाग्छ तर त्यो पीडादायी हुँदैन । मृत्युले समाउन खोज्दै गर्दाचाहिँ अलिकति नरमाइलो अनुभव हुने रहेछ ।

कारागारबाट निकालेर मार्न लैजाँदा

२०३० मंसिर ३ गते । रमरम साँझ, अँध्यारो फैलने क्रममा थियो । हामीलाई गौर थानाबाट बाहिर निकालियो र गाडीमा हालियो । त्यो गाडीमा गैंची र कोदालो पनि राखिएका थिए ।

थानामा सब–इन्स्पेक्टर थिए– मोहनप्रसाद अधिकारी र हबलदारको नाम शिव थियो । ती हबलदारको थर बिर्सिएँ मैले । थानामा ‘माथि’ बाट एउटा पत्र आएको थियो । त्यो पत्रमा हामीलाई ‘अड्डा सार गरी माथि पठाइदिनू’ भनी लेखिएको रहेछ । अड्डा सार भनेको ठाउँ सार्ने अनि माथि पुर्‍याइदिनू भनेको चाहिँ मारिदिनु । अर्थात्, पत्रमा हामीलाई ठाउँ सारेर मारिदिनू भन्ने लेखिएको थियो ।

हामीलाई राखिएको गाडी अगाडि बढ्यो । केही अघि पुगेपछि चोक जस्तो ठाउँ आयो । सब–इन्स्पेक्टर मोहनप्रसादले आदेश दिए, ‘गाडी दायाँ मोडेर लैजाऊ ।’ आदेश पाएपछि ड्राइभरले भन्यो, ‘बाटो त बायाँ हो सर ।’

मोहनप्रसादले थपे, ‘मलाई थाहा छ । दायाँ लैजाऊ ।’ त्यति नै बेला शिव हबलदार बोले, ‘तयारी देब्रेको छ, सर !’ त्यसपछि मोहनप्रसाद कड्किए, ‘म अफिसर हुँ, चुप लागेर बस् । नत्र ठीक हुन्न ।’

गाडी दायाँ मोडेर लगियो । पछि थाहा भयो, गाडी देब्रेतिर मोडेको भए हामीलाई मार्न तयारी गरिएको ठाउँ पुगिने रहेछ । त्यहाँ हामीलाई गोली हानी मार्ने मान्छे तयारी अवस्थामा राखिएको थियो । मारेर पुर्न खाल्डोसमेत खनिसकिएको रहेछ । दाहिने मोडिएको केही घण्टापछि हामी चन्द्रनिगाहपुर पुग्यौं, चकमन्न रातमा ।

दुई महिनादेखि हामीले एक छाक पनि पेटभरि खान पाएका थिएनौं । चन्द्रनिगाहपुरमा हामीलाई खाना खान दिइयो । लामो समयपछि खान पाएकाले त्यसबखत खाना यसरी खायौं कि, आफैंलाई लाज लाग्यो । तर भोकका अघिल्तिर लाजको के अर्थ र ! हामीले धेरै पटक खाना थप्यौं ।

त्यो दिन हामीलाई बायाँतिर मोडेर लगिएको भए गोली खाएर ढलिरहेका हुन्थ्यौं । कोही हामीलाई खाल्डोमा पुरिरहेका हुन्थे । तर गाडी दाहिने लाग्दा खाल्डामा पुरिने बेला हामी थपीथपी मासुभात खाइरहेका थियौं । त्यसरी खान पाउँदा बडो आनन्द आएको थियो ।

आनन्द मभित्र धेरैबेर टिक्न पाएन, एउटा कुराले पिरोल्न थाल्यो मलाई– अब यो सब–इन्स्पेक्टरको हालत के हुन्छ ? हामी त थप केही घण्टा बाँचौंला । तर उसको जिन्दगी के हुन्छ ?

मैले सब–इन्स्पेक्टरलाई सोधें, ‘आखिर हामीलाई त मारिहाल्छन्, तपाईंले यत्रो जोखिम किन मोल्नुभयो ?’

उनले उत्तर दिए, ‘मलाई मारिहाल्दैनन् । हुन त तपाईंलाई पनि अब मार्दैनन् होला । मैले आफूलाई मार्नुपर्ने गरी केही गरेको छैन । गए यही एउटा जागिर जान्छ । गाउँमा मेरा बा–आमाले जोगाएर राखेको खेतबारी छ, जोतेर खान पुग्छ, छोरा–छोरी पढाउन पुग्छ । मैले तपाईंहरूको कुरा सुनेको छु । तपाईंहरूले दिएको बयान पढेको छु । म देशभक्तहरूको हत्यामा आफ्नो कुनै पनि किसिमको संलग्नता जनाउन चाहन्नँ, जेसुकै सजाय भोग्नुपरोस् । म देशमा परिवर्तन होस्, जनताले सुख पाऊन् भन्ने चाहन्छु । मैले सेवा गर्न जागिर खाएको हुँ, यस्तो कुकर्म गर्न होइन । बरु म जागिर खान्नँ । मेरो चिन्ता नलिनुस् । अलिकति दुःख देलान् तर म सुरक्षित छु ।’

उनी निरन्तर बोलिरहेका थिए, ‘भोलि–पर्सि तपाईंहरूलाई यो सरकारले मार्न सक्छ । षड्यन्त्र भनेको यस्तो कुरा हो जसमा एक मिनेट बाँच्न सकियो भने त्यो पात्रको हातमा त्यही परिस्थिति हुँदैन । षड्यन्त्र यस्तो चीज हो, तपाईंले एउटा खाल्डो फड्किनुभयो भने अर्को षड्यन्त्र नबन्न पनि सक्छ । यसबाट जोगिएपछि तपाईं जोगिएको जोगियै हुन पनि सक्नुहुन्छ ।’

उनले भनेजस्तै भयो, हामी जोगिएका जोगियै भयौं ।

त्यो दिन मलाई लाग्यो, यस धरतीमा दुई प्रकारका मान्छे हुने रहेछन् । एउटा शिव हबलदारजस्ता, जोसँग मेरो कुनै दुस्मनी थिएन तर २०३० असोज २३ गते गिरफ्तार परेको दिनदेखि मलाई उनले राम्रो व्यवहार कहिल्यै गरेनन् । किन उनले मलाई त्यस्तो गरे होलान् ? किन उनले हामीलाई मार्न उक्साए होलान् ?

दोस्रो प्रकारका मानिस हुन्, सब–इन्स्पेक्टर मोहनप्रसादजस्ता । मैले उनलाई पहिला कहीँकतै चिनेको थिइनँ, कहिल्यै केही गुन लगाएको पनि थिइनँ । तर सरकारबाट पाउने मानपदवीको आस मारेर, जागिर धरापमा पारेर, अझ भनौं ज्यान नै जोखिममा राखेर उनी असल र मानवीय व्यवहार देखाउँदै थिए ।

०००

साँच्चै !

अहिलेको राजनीतिमा म यसो हेर्छु– दुई प्रकारका मान्छे देख्छु । पहिलो, शिव हबलदारजस्ता र दोस्रो, सबइन्स्पेक्टर मोहनप्रसादजस्ता ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुभव र स्मरण आउँदो पुस्तालाई सुनाउन युट्युब च्यानल ‘बा’ सुरु गरेका छन् । यो लेख उक्त च्यानलमा राखिने पहिलो भिडियोको सम्पादित अंश हो ।

प्रकाशित : फाल्गुन ११, २०७९ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?