नयाँ पुस्तासामु आफ्नो समय, अनुभव र संघर्षका कुरा गर्ने क्रममा यसअघि मैले जीवन र मृत्यु, अनि जेलजीवनबारे केही सन्दर्भ स्मरण गरेको थिएँ । यस पटक आफ्नो अध्ययन, ज्ञानप्राप्ति, जिज्ञासा र सिकाइजस्ता कुराको चर्चा गर्नेछु । त्यसो त राजनीतिक बन्दीका रूपमा गोलघरमा थुनिँदा समय बिताउनकै लागि पनि अध्ययन गर्थें । त्यहाँ रहँदा आफूले गरेको अध्ययन र सिकाइ अरूमा हस्तान्तरणको प्रयास पनि गर्थें ।
यो आलेखमा म जेलबारे कुरा गर्दै छु । जेलबारे चर्चा त पछि पनि होला । तर हाम्रोजस्तो अनुभवचाहिँ अब पछिल्लो पुस्ताले गर्न पाउनेछैन । समयले अब समाजलाई त्यस स्थितिमा फर्कन दिँदैन । समाज धेरै अघि बढिसकेको छ । तसर्थ, भोगाइको हिसाबले हाम्रो पुस्ता नै अन्तिम हो भन्दा हुन्छ ।
आज म ७१ पूरा भएर ७२ वर्ष लाग्दै छु । मैले आजसम्म बाँचिसकेका दिनहरूभन्दा अब बाँच्ने दिन थोरै छन् । उसै पनि म धेरै पटक ‘मरें–मरें’ भनेर बाँचेको मान्छे हुँ । हुन त सबैको जीवनमा मृत्यु सँगसँगै हिँडिरहेको हुन्छ, अझ भनौं त्यो जीवनको निकै नजिक भएर हिँडिरहेको हुन्छ ।