कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

विश्वकप क्रिकेटरको सम्मानमा वृक्षरोपण

मोहन बुढाऐर

धनगढी — धनगढीस्थित एसपीए कलेजले हालै सम्पन्न ट्वान्टी–२० पुरुष विश्वकपमा नेपाली क्रिकेटरले गरेको प्रदर्शनमा ३ हजार ४ सय ७० बिरुवा रोपेको छ । शुक्रबार कलेजले हरेक रनमा १० र विपक्षी टिमविरुद्ध लिएको हरेक विकेटमा २० बिरुवा रोप्ने पूर्वघोषणाअनुरूप त्यति बिरुवा रोपेको हो । 

विश्वकप क्रिकेटरको सम्मानमा वृक्षरोपण

कलेजले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘ग्रिन क्लिन धनगढी’सँगको सहकार्यमा धनगढी उपमहानगरपालिकाको हरित धनगढी कार्यक्रममा सहयोग पुर्‍याउने उद्देश्यका साथ शारदा मावि बैयाबेहेडीले धनगढी–२ स्थित नल्काघाटमा उपलब्ध गराएको जग्गामा वृक्षरोपण गरेको हो ।

वृक्षरोपण कार्यक्रममा राष्ट्रिय यू–१९ टोलीका पूर्वकप्तान राजु रिजालले क्रिकेट र क्रिकेटरलाई प्रोत्साहन गरिएको सम्मानजनक वातावरण प्रवर्द्धन कार्यमा सरिक हुन पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

धनगढी उप–महानगरपालिका–२ का वडा अध्यक्ष धर्मराज ओझाले क्रिकेटरको हौसला बढाउँदै धनगढी उपमहानगरको हरित धनगढी कार्यक्रमसमेत सहयोग पुग्ने बताए । कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बिरुवा उपलब्ध गराई सहयोग गर्ने डिभिजन वन कार्यालय धनगढी तथा पर्यावरणको प्रवर्द्धनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोगी भूमिका खेल्नु सम्पूर्णमा आभार प्रकट गरेका छन् ।

वृक्षरोपण कार्यक्रममा यू–१९ टोलीका पूर्वकप्तान राजु रिजाल, यू–१९ का विश्वकप टोलीका विपिन रावल, नेपाल ‘ए’ टिमका नारायण जोशी, यू–१९ टिमका सदस्य वसन्त सिंह, पूर्व सुदूरपश्चिम क्रिकेट टोलीका भोजराज भट्ट र पूर्वसदस्य विजय रानालगायतका क्रिकेटर सहभागी थिए ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले गरेको प्रदर्शनका आधारमा वृक्षरोपण गर्ने घोषणा गरेको एसपीए कलेजले यसअघि वातावरण संरक्षणमा दुई पटक अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ ।

प्रकाशित : श्रावण ११, २०८१ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×