कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हैजा रोकथामका लागि द्रुत प्रतिकार्य टोली परिचालन

रासस

कैलाली — कैलालीको धनगढी उपमहानगरपालिका–१ का दुई महिलामा हैजाको सङ्क्रमण पुष्टि भएपछि रोगको रोकथामका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ ।


जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले हैजा फैलिन नदिन गर्नुपर्ने प्रतिकार्यका लागि प्रभावित क्षेत्रमा टोली परिचालन गरिएको जानकारी दिए । उनले भने, 'वडा नं १ मा थप दुई बालकमा हैजाको आशङ्का गरिएको छ, यसको पुष्टि हुन भने बाँकी छ ।'

हैजाबाट पीडितलाई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएको छ । द्रुत प्रतिकार्य टोलीले प्रभावित क्षेत्रका बासिन्दाले उपभोग गरिरहेको खानेपानीको नमूना लिने कार्यका साथै अन्य प्रतिकार्यको काम थालेको छ ।

नेपाल खानेपानी संस्थान, खानेपानी डिभिजन कार्यालय र सङ्घीय खानेपानी आयोजनाको कार्यालयलाई वितरित खानेपानीको शुद्धीकरण गर्ने/गराउने कार्यका लागि लिखित अनुरोध गरिएको श्रेष्ठले बताए।

दूषित खानेपानीका साथै झिँगा तथा दूषित खानेकुराको उपभोगबाट हैजा फैलिन सक्ने भएकाले यस्ता खानेकुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । हैजाको पुष्टि भएको टोलमा भइरहेको सडक निर्माणबाट खानेपानीको पाइप फुटेको र सोही कारणबाट खानेपानी दूषित भएको आशङ्का गरिएको छ ।

प्रकाशित : श्रावण ११, २०८१ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×