कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

मैले बुझेको नेतृत्व शैली

नेतृत्व लिने व्यक्ति सदैव सही विचार र सत्यमा अडिनुपर्छ । देश, जनता र समग्र मानवजातिको बृहत्तर हितमा समर्पित हुनुपर्छ । परिस्थिति अनुसार लचकता पनि चाहिन्छ । तर लचकताका नाममा राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतामा कुनै पनि सम्झौता गर्न सकिँदैन ।
केपी शर्मा ओली

समाजको गति कहिले मात्रात्मक ढंगले अघि बढ्छ भने कहिले गुणात्मक ढंगले । सामान्य विकासको प्रक्रिया ‘इभोलुसन’ हो भने छिटछिटो परिवर्तन हुने प्रक्रिया ‘रिभोलुसन’ । रिभोलुसनलाई हामी क्रान्ति भन्ने गर्छौं । तर हिंसा वा रक्तपातलाई मात्र क्रान्तिको अर्थमा बुझ्नु हुँदैन ।

मैले बुझेको नेतृत्व शैली

हरित क्रान्ति, कृषि क्रान्ति, औद्योगिक क्रान्ति आदि शीघ्रातिशीघ्र हुने परिवर्तन पनि क्रान्ति हुन् । अर्थात्, अर्थपूर्ण परिवर्तन नै क्रान्ति हो । त्यसले समाजमा गुणात्मक परिवर्तन ल्याउँछ ।

गुणात्मक परिवर्तनका लागि जहिलेसुकै नेतृत्वको अहम् भूमिका हुन्छ । हामी नीति प्रधान हो भन्छौं । अवश्य पनि नीति प्रधान कुरा हो तर नीति आफैं वर्षामा पानी वा आकाशबाट असिना बर्सिने जस्तो कुरा होइन । परिस्थितिको सही विश्लेषण गरेर मौजुदा अवस्थालाई कसरी बदल्ने र त्योभन्दा उन्नत कसरी बनाउने भन्ने नीति निर्माणमा नेतृत्वको विशेष आवश्यकता हुन्छ ।

कहिलेकाहीँ देशको राजनीति र समाजलाई पछाडि फर्काउने प्रयास पनि नहुने होइन । त्यस्ता नकारात्मक प्रयासहरूको पनि कसै न कसैले नेतृत्व गरेकै हुन्छ । २००७ सालपछि त्यस्ता केही प्रयास भएकै हुन् । निर्णायक ढंगले पछि फर्काउने काम २०१७ सालमा भयो र त्यसको नेतृत्व राजा महेन्द्रले गरे । २०५९ असोज १८ र २०६१ माघ १९ मा पनि त्यस्तै दुष्प्रयास भए । त्यसको नेतृत्व तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरे । तर यहाँ परिचर्चा गर्न चाहेको नेतृत्व देशलाई नकारात्मक दिशातिर धकेल्ने नभई सकारात्मक, अग्रगामी र ऊर्ध्वगामी विकासका लागि सदैव गुणात्मक परिवर्तनको सम्भावना खोज्ने, संगठित गर्ने र साकार पार्ने खालको हो ।

हरेक युगमा युगनायकहरू जन्मन्छन् । नेता, चिन्तक, दार्शनिक, वैज्ञानिक आदिले समाज परिवर्तनका लागि नयाँ खोज, अध्ययन, अनुसन्धान अनि कार्यान्वयनको अगुवाइ गर्छन् । १० हजार वर्षअघिको मानवजातिको इतिहास हेर्दा जंगली अवस्थाबाट पशुपालन र कृषियुगमा प्रवेश गर्दा शिवजस्ता नेताहरू निस्के । त्यसपछि नै मानवजाति आधुनिकतातर्फ प्रवेश गरेको हो ।

त्यति बेलाका नेतृत्वकर्तालाई मानवबाट महामानव अनि नायकबाट महानायक हुँदै भगवान्का रूपमा सम्बोधन हुन थाल्यो । आराध्यदेव, प्रेरणापुञ्ज र पुजनीय व्यक्तित्व मानियो । हाम्रो समाजमा दुई थरी पूजा हुन्छन् । एउटा पुर्खाको, अर्को प्रकृतिको । प्रकृतिबिना जीवन सम्भव छैन र त्यसैले जीवनलाई बढी अनुकूल बनाउन अगुवाहरू चाहिन्छन् । ती पुर्खाहरू जसले नायकत्व लिए, तिनलाई हामी अद्यापि भगवान्का रूपमा पूजा गरिरहेका छौं, ती चाहे स्त्री होऊन् वा पुरुष वा प्रकृति ।

समाज विकासका क्रममा नेतृत्व गर्ने सन्दर्भमा हाम्रो भूभाग सदैव अग्रभागमा रहँदै आयो । पछिल्ला दुई–तीन सय वर्षमा भने हामी पछाडि पर्‍यौं । जनतालाई अशिक्षा, अन्धकार अनि यथास्थितिमै जकडेर राख्न चाहने शासकहरूले नक्कली नायकत्व लिएकाले समाज अघि बढ्नै सकेन । नेतृत्व भनेको पद वा ओहदाको पगरी होइन । कुनै संस्था, दल वा सरकारको सर्वोच्च पदमा बस्दैमा नेतृत्व मानिँदैन । यथास्थितिमा कुर्सी थाम्नु वा शासक हुनु नायकत्व होइन । श्री ५, श्री ३, राष्ट्रप्रमुख, राजा हुनु वा नायबी लिनु पनि नायकत्व होइन । सिर्फ शक्ति हासिल गर्नु नायकत्व होइन । शक्ति त बन्दुक वा तरबारले पनि हासिल गर्न सक्छ । तर बुद्धि र नीति बन्दुकले पनि पैदा गर्न सक्दैन, तरबारले पनि पैदा गर्न सक्दैन । सत्य भनेको बेग्लै कुरा हो । नेताले पत्ता लगाउने भनेकै सत्य हो ।

नायकत्व समस्या पैदा गर्नु होइन, सही समाधान निकाल्नु हो । हरेक समस्यामा सही दृष्टिकोण अगाडि सार्नु, आफ्ना विचार अरूसम्म विस्तार गर्नु, योजनाबद्ध कार्यक्रम बनाउनु र जनपरिचालनमार्फत परिणाम निकाल्नु नै नायकत्व हो । कहिलेकाहीँ तुरुन्तातुरुन्तै परिणाम नआउन सक्छ । जस्तो— कार्ल मार्क्सको विचारको परिणाम त्यही समय आइसकेको थिएन, तथापि उनले भावी पुस्ताका लागि ठूलो विचार दिएर गए ।

नयाँ खोज, अध्ययन र अनुसन्धान नगरीकन परिवर्तन सम्भव हुँदैन । त्यसका लागि मानिस नै सबभन्दा निर्णायक हो । उसलाई सचेत तुल्याउनु, संगठित गर्नु र परिचालन गर्नु आवश्यक हुन्छ । जसले जनपरिचालनबाट परिवर्तन साकार पार्न सक्छ, सक्कली नायक उही हो । नेतृत्वको कुरा गर्दा, वेद (विज्ञान) हाम्रै भूभागमा पैदा भयो । त्यसलाई एकत्रित गर्ने, स्मृतिमा राख्ने अनि पुस्तान्तरण गर्ने अनन्त सिलसिला चलिरहेकै छ ।

शास्त्रहरूका अनुसार, शिवले सप्तर्षिलाई अघि राखेर शिक्षा प्रारम्भ गरे । योग, ध्यान साधना र जीवनका बारेमा शिक्षा दिए । त्यसबाटै गुरु–शिष्य परम्परा थालनी भएको मानिन्छ । त्यसयता यहाँ गुरुकुल, पाठशाला, विश्वविद्यालय इत्यादि खुले । शास्त्रहरूमा लेखिएको, भग्नावशेष भेटिएको तक्षशिला विश्वविद्यालय त्यसको पुस्ट्याइँ हो । त्यहाँबाट उत्पादित शिक्षार्थीले चेतनाको ज्योति छर्दै गए । न्याय, शिक्षा, संगीत, खगोल, भूगोल, ब्रह्माण्डका बारेमा अनेकन् चिन्तन गर्दै गए ।

छैटौं शताब्दीको प्रारम्भमै आर्य भट्टले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाए । त्यसलाई बाह्रौं शताब्दीमा आएर भास्कराचार्यले व्यवस्थित गरे । वैदिक कालमै आयुर्वेदको सुरुआत भयो । जीवन कसरी चल्छ ? आयुवृद्धि कसरी हुन्छ ? रोगको पहिचान कसरी गर्ने ? बिमारी कसरी निको पार्ने ? मानव शरीर पञ्चतत्त्वबाट निर्मित छ र पञ्चतत्त्वबाटै मानवका शारीरिक समस्या समाधान हुन्छन् भनी आयुर्वेदले पत्ता लगायो । त्यो कुरा पत्ता लगाउनुको अर्थ नेतृत्व गर्नु हो ।

विश्वइतिहासमा समाजलाई व्यवस्थित र उन्नत बनाउन अनेकन् प्रयोग भए । जंगली अवस्थाभन्दा दासयुग उत्तम थियो । तर दासयुग न्यायोचित थिएन । त्यसकारण इसापूर्व ७० वर्षअघि स्पार्टाकसले ग्रीसमा ठूलो विद्रोह गराए । त्यो सानोतिनो नायकत्व नभएर महानायकत्व थियो । त्यस समय दासतालाई अस्वीकार गर्नु वा न्याय र समानताको कुरा गर्नु मानव चेतना र जागरणका निम्ति नयाँ युगको प्रारम्भ थियो ।

समाज परिवर्तनका सिलसिलामा नेतृत्व एउटा विषयमा मात्र हुन्छ भन्ने छैन । वैज्ञानिक, आर्थिक एवं औद्योगिक क्रान्तिको नेतृत्व विभिन्न युगपुरुषले गरेका छन् । विज्ञानका क्षेत्रमा कुनै समय आइन्स्टाइनले नेतृत्व गरे । प्रकृति र विकासका सन्दर्भमा कुनै समय डार्बिन र मोर्गेनले नायकत्व लिए । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमार्फत समाजमा देखिने गरी युगान्तकारी परिवर्तनको नेतृत्व कार्ल मार्क्सले गरे । यसमा अज्ञानतावश कसैको चित्त नबुझ्न सक्छ, कसैको विमति रहन सक्छ, तर विज्ञानले त्योभन्दा उन्नत दर्शनको खोज र अनुसन्धान गर्न सकेको छैन । ब्ल्याक होल अनि क्वान्टम सिद्धान्तको आविष्कार पनि त्यस्तै नायकत्वका दृष्टान्त हुन् ।

मैले यस लेखमा केन्द्रित गर्न खोजेको विषय भने राजनीतिक नेतृत्व हो । नेतृत्वको भूमिकाबिना देशले विकासको गतिमा वेगवान् र उथलपुथलकारी तीव्रता लिन सक्दैन । नायकत्व भनेको सहज, गतिशील वा गुणात्मक परिवर्तनमा लाने कुरा हो । सामान्य परिवर्तनमा प्रकृति आफैंले नेतृत्व गरेको हुन्छ वा बाध्य बनाइरहेको हुन्छ, तर संख्यात्मक परिवर्तनलाई गुणात्मक परिवर्तनमा लैजान नेतृत्वको अनिवार्य आवश्यकता हुन्छ ।

हाम्रै देशको कुरा गर्दा, पृथ्वीनारायण शाहले आधुनिक नेपाल एकीकरणको नेतृत्व गरे । त्यसपछिको बाइसी–चौबिसी राज्य एकीकरणको नेतृत्व उनका उत्तराधिकारीहरूले गरे । एवंरीतले लोकतन्त्रका लागि नेतृत्व नागरिकको तहमा भयो । विश्वइतिहास पढ्दा चिनियाँ समाजले सन यात सेन, माओ त्सेतुङ, तङ स्याओपिङ हुँदै सी चिनफिङको नायकत्व पायो भने भारतले गान्धी, नेहरू, जिन्ना, सरदार बल्लभभाई पटेल हुँदै मोदीको नायकत्व पाइरहेको छ । दक्षिण अफ्रिकी महाद्वीपलाई रंगभेदमुक्त गर्न नेल्सन मन्डेला, रोबर्ट मुगाबेजस्ता नेताको असाधारण भूमिका रह्यो । अमेरिकामा मार्टिन लुथर किङजस्ता व्यक्तित्वले नेतृत्व गरे ।

अब प्रश्न रह्यो, नेतृत्वको कार्यशैली । कोही व्यक्ति जालझेल, षड्यन्त्र र तिकडम गरेर नेतृत्वमा पुग्ला तर आफूलाई दिएको साथ बिर्सेर होच्याउने, मान्छे नगन्ने, ‘म को हुँ चिन्या छ’ भन्ने खालको घमन्ड चढ्यो भने त्यो सहजै स्वाहा हुन्छ । मस्तिष्कमा घमन्ड पस्नेबित्तिकै विनम्रता कोसौं टाढा भागिसक्छ । त्यसले अरू केही चिज सहीसलामत रहन दिँदैन ।

नेतृत्व भनेको शिथिलता होइन, क्रियाशीलताको अर्को नाम हो । जिज्ञासाशून्यता र आलस्यले नेतृत्वको विकास हुँदैन । अद्यावधिक नगरिएको पुस्तक पुरानो हुन्छ । उहिले सुब्बा कृष्णलाल अधिकारीले लेखेको ‘मकैको खेती’ जस्तो पुस्तक । राताटाउके र कालाटाउके कीराले मकै खेती बिगार्छ भन्ने पढेर अहिले बालीविकास गर्न सकिँदैन । आजको जमानामा बाली उत्पादनका क्षेत्रमा थुप्रै खोज र अनुसन्धान भइसकेका छन् ।

अब हामीले समयको आवश्यकता अनुसार आफ्नो सिकाइलाई अद्यावधिक नगरी सुखै छैन । सब थोक पर्याप्त भयो भन्नु पनि एक खाले भ्रान्ति हो । विगतको सफलता र सम्मानमा रमाएर बस्ने नेता ‘बूढो’ हुन्छ । उमेरले होइन कि चिन्तन र कार्यशैलीले बूढो हुन्छ । नेता ‘बूढो’ हुनु र ‘जीवन बूढो’ हुनु नितान्त फरक कुरा हो । हामीले गुरुमन्त्र मात्र उच्चारण गरेर पुग्दैन । गुरुले आफ्नो समयको ज्ञान मात्र सिकाएको हुन्छ, अब हामीले आफ्नो समयको ज्ञान पनि विकास गर्नुपर्छ । सही नीति, सही दृष्टिकोण, सही कार्यक्रम र योजनाबद्ध अथक प्रयासबाट मात्र नेतृत्व सफल हुन सक्छ ।

सामान्यतः सामन्ती व्यवस्थामा राजाको छोरा नै राजा हुन्छ । त्यो पनि जेठो छोरा वा जेठी छोरी । राजवंशका त्यस्ता सदस्यमा म भोलि शासक हुनेछु भन्ने भावना होला । आम जनताका छोराछोरीले नेतृत्व गर्नुपर्छ, शासक हुनुपर्छ भन्ने सोचेकै हुँदैनन् । काम गर्दै जाँदा परिस्थिति र समाजको आवश्यकता अनुसार कुनै विचारको अन्वेषण, संवर्द्धन र कार्यान्वयनका सन्दर्भमा कुनै व्यक्ति नेतृत्वमा उदाउँदै, खारिँदै, माझिँदै र स्थापित हुँदै जानु अलग कुरा हो ।

अहिले हामी पुरानो सामन्ती युगमा छैनौं । भोलिको राष्ट्रप्रमुख को हुन्छ भन्ने तय छैन । फलानो घराना ईश्वरको वंश हो वा फलानो विष्णु वा नारायणको अवतार हो भन्ने जमाना छैन । केही अन्धविश्वास, केही धर्मभीरुता, केही त्रास वा आतंकका कारण राजतन्त्रको छिटफुट वकालत हुनु बेग्लै हो । विश्व मानचित्रमा जहाँजहाँ राजा छन्, ती शासक होइन, सम्मानित संस्था मात्र हुन् ।

आजको लोकतान्त्रिक विश्वमा राजा शासक हुनै सक्दैन । त्यस्तो राजा कतै छ भने अब सम्मानित संस्थामा बदलिन मन्जुर गर्नुपर्छ । उसले जनताको शक्ति, आधुनिक चेतना र प्रणालीसँग सम्झौता गर्नुपर्छ । राजाले कतै पनि नेतृत्व गरेको छैन । अबको नेतृत्व भनेको न्यायपूर्ण र समृद्ध समाज निर्माणका लागि हो, जनतालाई यथास्थितिमा जकडेर राख्नका लागि होइन । कुनै जमाना थियो, गाथगादी ताकेमा फाँसी वा जेलको सजाय हुन्थ्यो । त्यो पनि कुनै चिह्न वा संकेतका भरमा ।

लोकतान्त्रिक पद्धतिमा नेतृत्वले झूट र नक्कली कुरा गरिरहनै पर्दैन । उसले परिस्थितिबारे बोल्छ । परिवर्तनको आवश्यकता र औचित्यबारे बोल्छ । त्यसनिम्ति जनतालाई सचेत, संगठित र आन्दोलित गर्छ । म आफ्ना निम्ति अनुकूल कानुन, सहुलियतपूर्ण नियम वा नरम अनुशासन, अरूका लागि प्रतिकूल कानुन र कडा अनुशासन हुनुपर्छ भन्ने मान्यता राख्दिनँ । सबैका लागि समान नियम, समान कानुन, समान अनुशासन अनि समान नैतिकता हुनुपर्छ भन्नेमा विश्वास गर्छु ।

विभिन्न समयमा विभिन्न कारणवश कहिलेकाहीँ बहुमत स्वेच्छाचारी हुन सक्छ । कहिलेकहिले जनता भीडमा परिणत हुन्छन् । सही र गलत छुट्याउन सक्दैनन् । कुनै तत्त्वले जनतालाई अनेक ढंगले बहकाउँछ । समयले जनतालाई सचेत बनाउने अवसर उपलब्ध गराएको हुँदैन । ग्रीसमा २६ सय वर्षअघि जनफैसलाबाट सुकरातजस्ता युगान्तकारी चिन्तकले सत्यका निम्ति विषको प्याला पिउनु परेको दृष्टान्त छँदै छ । सुकरातले त्यो अवधि र अवसर पाएनन् । सुकरात मारिए तर उनको विचार मरेन ।

विचारकै कारण कार्ल मार्क्स देशनिकाला गरिए । लेनिन निर्वासित भए । हाम्रै देशका बीपी कोइराला, पुष्पलाल आदि नेता पनि निर्वासित भए । तर तिनका विचार न कैद भए, न निर्वासित भए, न त मारिए । ती फेरि जागेर आए । १९९३ सालमा प्रजातान्त्रिक चेतनाको बीजारोपण भयो । १९९७ सालमा चार सपूत मारिए, टंकप्रसाद आचार्य, रामहरि शर्मा, गणेशमानजीलाई सर्वस्वहरणसहित जेल हालियो । तर उनीहरू सही कुराबाट पछि हटेनन् । सही कुराले हरदम जितिरहन्छ भन्ने होइन, तर अन्ततोगत्वा जित्छ ।

नेतृत्व वस्तुनिष्ठ देखिने भनेकै इमानदारीबाट हो । उसले सत्य र निष्ठालाई आफ्नो जीवनपद्धति बनाउनुपर्छ । उसले नयाँ कुरा जान्न वा अध्ययन गर्न खोज्नुपर्छ । विचार प्रणाली र प्रवृत्तिलाई बुझ्नुपर्छ । सही विचार ठम्याउन सक्नुपर्छ । सही कार्ययोजना बनाउन सक्नुपर्छ । बिनासक्रियता त्यो कार्यान्वयन हुन सक्दैन । नेतृत्वले क्षमता पनि वृद्धि गर्नुपर्छ ।

नेतृत्वमा सत्यप्रतिको निष्ठा, वस्तुतथ्यप्रतिको निष्ठा, ज्ञानप्रतिको निष्ठा, सक्रियता र क्षमताप्रति निष्ठा चाहिन्छ । उसमा विनम्रता, शालीनता र मिहिनेतका अतिरिक्त संगठन, सिद्धान्त, इतिहास र दर्शनसम्बन्धी बहुआयामिक ज्ञान चाहिन्छ । कम्पनीको म्यानेजरले आफ्नो एउटा कम्पनी चलाए पुग्छ, तर हजारौं कम्पनी कसरी चलाउने भन्ने नीति चाहिँ एउटा नेताले तय गर्छ । एउटा किसानले आफ्नो बाली वा पशुपालनको मात्र राम्रो ज्ञान पाए पुग्छ, तर एउटा नेतामा कृषिको विकास कसरी गर्ने, औद्योगिकीकरणको विस्तार कसरी गर्ने, रोजगारी कसरी सिर्जना गर्ने, अबको शिक्षा कस्तो हुने आदि धेरै थरी ज्ञान चाहिन्छ । उसले कुनै एक विषयमा ‘सुपर स्पेसलाइजेसन’ नगरे पनि त्यस क्षेत्रलाई कसरी अघि बढाउने भन्ने दिशानिर्देश गर्न सक्छ । उसले क्षेत्रविशेषको मात्र होइन, आम राष्ट्रिय समस्या समाधानको मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्छ ।

हाम्रो भूराजनीति अत्यन्त संवेदनशील छ । कहिलेकाहीँ हाम्रो तराजुमा बाहिरबाट खुट्टा ल्याएर थिच्ने परिपाटी छ । त्यसले आन्तरिक राजनीति असन्तुलित हुन पुग्छ । कुनै

शक्तिले सकारात्मक मित्रभावले पनि त्यो काम गर्न सक्छ, आफ्नो प्रभाव विस्तारका लागि पनि गर्न सक्छ । जसरी पनि आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्नुपर्छ भन्ने मान्यता गलत हो । त्यो अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुकूल अनि न्यायोचित हुनु जरुरी छ । ‘मीतको टाउको बेलैसरि’ भन्ठान्न मिल्दैन । नेतृत्व लिने व्यक्ति सदैव सही विचार र सत्यमा अडिनुपर्छ । देश, जनता र समग्र मानवजातिको बृहत्तर हितमा समर्पित हुनुपर्छ । परिस्थिति अनुसार लचकता पनि चाहिन्छ । तर लचकताका नाममा राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डतामा कुनै पनि सम्झौता गर्न सकिँदैन । राष्ट्रिय हितलाई कहिले पनि तिलाञ्जलि दिन सकिँदैन ।

सदैव सत्तास्वार्थमा रुमलिएर सही गन्तव्यलाई धरापमा पार्ने व्यक्तिले मुलुकको नेतृत्व गर्न सक्दैन । जनताको सुख, शान्ति, निर्भय र सम्मानपूर्ण जीवनयापनका निम्ति निरन्तर लागिरहनु नै नेतृत्वको गुण हो । नेतृत्वका निम्ति पार्टी संगठन र सरकार माध्यम मात्र हो, गन्तव्य होइन । जनताको सुख नै हाम्रो अन्तिम गन्तव्य हो । त्यसकारण नै हामीले ‘समृद्ध नेपाल सुखी नेपाली’ को एजेन्डा अघि सारेका हौं ।

केपी शर्मा ओलीका अन्य संस्मरणात्मक लेखहरू:

प्रकाशित : मंसिर १८, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?