कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

मेरा साना साथी

बालबालिका र मेरो बीचमा एउटा गजबको ‘केमिस्ट्री’ छ । अव्यक्त वा मौनतामै पनि हाम्रो ‘फ्रिक्वेन्सी’ चलिरहेको हुन्छ । मानवजातिको भविष्यप्रति मेरो सजगता, बोध, माया, ममता र वात्सल्य बालबालिकाले बुझ्छन् । त्यसकारण बालबालिकाले मलाई मन पराउँछन्, म बालबालिकालाई मन पराउँछु ।
केपी शर्मा ओली

प्रकृति भनेको जीवनको नाम हो । जीवन निरन्तरताको नाम हो । परिवर्तनको नाम हो । विकासको नाम हो । रूपान्तरणको नाम हो । बच्चाबच्ची, पाठापाठी, बाच्छाबाच्छी, पाडापाडी, टुसा–मुना–पालुवा आदि सबै जीवनका अस्तित्व हुन् । निरन्तरताका प्रतीक हुन् । अस्तित्व सुरक्षाका प्रत्याभूति हुन् ।

मेरा साना साथी

नयाँ टुसा नपलाउने हो भने संसारमा कुनै बोटबिरुवा हुने छैनन् । नयााँ भुरा नजन्मने हो भने पानीमा माछा देखिने छैनन् । नयाँ हिउँ नपर्ने हो भने हिमाल हुने छैनन् । नयाँ पानी नपर्ने हो भने मूल फुट्ने छैनन्, नदीनाला हुने छैनन् । बालबालिका नहुने हो भने केही वर्षपछि मानिस मासिनेछन् । पृथ्वीमा मानवजातिको अस्तित्व नै रहनेछैन ।

सृष्टिको अर्थ जीवनमा छ । जीवनको महत्त्व चलायमान प्राणीहरूमा छ । त्यसमा पनि विशेषतः मानिसमा छ ।

मानिसको महत्त्व मस्तिष्कमा छ । त्यस्तो बुद्धिमान् र ज्ञानवान् जीवको अस्तित्व रहेन भने धर्तीको पनि खासै अर्थ हुनेछैन । धर्तीको अर्थ छैन भने यो ग्रह या सौरमण्डलको अर्थ हुनेछैन । सौरमण्डल अर्थ छैन भने आकाशगंगाको अर्थ हुनेछैन । आकाशगंगाको अर्थ छैन भने ब्रह्माण्डकै पनि अर्थ हुनेछैन । यी सबैको अर्थ र महत्ता बुझ्दा न हुने हो । त्यो बुझ्नका लागि मानिस चाहिन्छ । मानिसको अस्तित्वको निरन्तरता भनेकै बालबालिका हुन् ।

हाम्रा कर्म, उद्देश्य, उपलब्धि, निर्माण, प्राप्तिहरूको उत्तराधिकार र त्यसलाई अगाडि बढाउने अभिभारा नयाँ पुस्ता अर्थात् बालबालिकामा जान्छ । यसै पनि सुन्दर सृष्टिलाई मन पराउनु र माया गर्नु स्वाभाविक हो । म प्रकृतिलाई मन पराउँछु । ढुंगा, माटो, रूखविरुवा, जीवजन्तु र मानिसलाई मन पराउँछु । त्यसमा पनि बालबालिकालाई विशेष मन पराउँछु किनभने हाम्रो आशा, भरोसा र भविष्य तिनै हुन् ।

म विगतको इतिहास र गौरव मन पराउँछु । त्यसलाई निरन्तरता दिइएन भने सारा गौरवगाथा नासिएर जान्छन् । हाम्रो गौरवको निरन्तरता, अभिवृद्धि र श्रीवृद्धि गर्ने बालबालिका नै हुन् । बालबालिका र मेरो बीचमा एउटा गजबको ‘केमिस्ट्री’ छ । त्यो पनि भाषामा होइन, अव्यक्त वा मौनतामै पनि हाम्रो ‘फ्रिक्वेन्सी’ चलिरहेको हुन्छ । भेटेका र देखेका बालबालिकाले मलाई मन पराउनु स्वाभाविकै हो । तर नभेटेका र नदेखेका बालबालिकाले समेत मलाई मन पराउँछन् । त्यसको कारण के हो भने म उनीहरूमा भविष्य देख्छु । मैले बालबालिकालाई मन पराउनु र माया गर्नु ठीकै हो । तर बालबालिका त अबोध हुन्छन् । उनीहरूले मैले जसरी विश्लेषण गरेका हुँदैनन् । मानवजातिको भविष्यप्रति मेरो सजगता, बोध, माया, ममता र वात्सल्य बालबालिकाले बुझ्छन् । त्यसकारण बालबालिकाले मलाई मन पराउँछन्, म बालबालिकालाई मन पराउँछु ।

बालबालिका र मबीच कसले कसलाई बढी मन पराउँछ भनेर तुलना गरिरहन आवश्यक छैन । तुलनै गर्ने हो भने सायद मैले नै बालबालिकालाई बढी मन पराउँछु किनभने म सचेत छु । मैले बालबालिकालाई मन पराउने चेतना र विश्लेषणबाट हो । तर बालबालिकाले मलाई भावनाबाट मन पराउँछन्, ‘इन्ट्युसन’ (अन्तर्प्रज्ञा) बाट मन पराउँछन् ।

बालबालिकामा प्रिय र अप्रिय, विश्वास र अविश्वास, आकर्षण र विकर्षणका कुरा बहुत स्वाभाविक ढंगले आउँछन् । मान्छेको मात्र होइन, अरू जीव वा जनावरका बच्चाबच्चीले पनि थाहा पाउँछन् । अन्तर्ज्ञान यस्तो कुरा हो, जसले प्राकृतिक अनुमान गर्न सक्छ । जस्तो ः गाईको सानो बाच्छो ठूलठूला सिङ भएको राँगो वा भैंसीलाई पहिलो पटक देख्दा पनि डराउँदैन । तर सिङै नभएको, मुडुलो टाउको भएको, हेर्दा पनि भैंसीजस्तो चिल्लो–कालो होइन, चिटिक्क परेको, मायालाग्दो, सुमसुम्याउन मन लाग्ने, राँगेपाटे र बुट्टा भरेको जस्तो बाघ वा चितुवा देख्दा टाढैबाट डराउँछ । त्यो बाच्छोलाई फलानोसँग डराउनु वा ढिस्कानोसँग नडराउनु कसले भनिदियो ? कुन गुरु वा गुरुमाले सिकाए ? त्यो कसैले सिकाएको हुँदैन । तर उसले यो मेरा लागि शत्रु हो, त्यो मेरा लागि शत्रु होइन भन्ने थाहा पाउँछ ।

यसमा ‘जेनेटिक मेमोरी’ ले काम गरेको हुन्छ । अन्तर्ज्ञानले काम गरेको हुन्छ । त्यसै गरी, आफूलाई माया गर्ने र नगर्ने व्यक्ति बालबालिकाले सहजै थाहा पाउँछन् । उनीहरू मलाई मनको भावना जोडिएको जस्तो व्यवहार गर्छन्, म पनि उनीहरूसँग त्यस्तै व्यवहार गर्छु । मनैदेखि माया गर्छु । उनीहरूका आमा र ममा केही फरक अवश्य छ । आमाले उनीहरूलाई धेरै स्याहारसम्भार र स्तनपान गराएका हुन्छन् । त्यसबाहेक मलाई लाग्छ, म पनि उनीहरूलाई आमाले जस्तै माया गर्छु ।

बालबालिकाले हेर्नेबित्तिकै थाहा पाउँछन्– यो मेरो मित्र हो, यो मेरो मित्र होइन । त्यसैले कुनै पनि बालबालिका मसँग बोल्न डराउँदैनन् । मलाई बिलकुलै साथीजस्तो व्यवहार गर्छन् । बालबालिकाले मलाई नमस्कार गर्दैनन्, ‘हाई–हेलो’ भन्छन् । सायद मभित्र आफ्नो साथी देख्छन् र आत्मीय व्यवहार गर्छन् । उनीहरू मलाई नमस्कार गर्नुपर्ने मान्छे ठान्दैनन्, खेल्ने साथीजस्तो ठान्छन् । उनीहरू आफ्ना आमाबाबुलाई कहिल्यै नमस्कार गर्दैनन् । नमस्कार अरूलाई गर्ने हो भन्ने उनीहरूलाई थाहा छ । उनीहरूले मलाई अरू मान्छे ठान्दै ठान्दैनन् । यो उनीहरूको आत्मीयता हो । उनीहरू मेरा समकालीन व्यक्तिको छेउमा जानसमेत डराउँछन् । तर पछाडिबाट खुइँखुइँ आएर मेरो काखमा थपक्क बसिदिन्छन् । कहिलेकाहीँ त म बोल्दै गरेको ठाउँमा उभिएर आफ्नै तरिकाले बोल्न थाल्छन् ।

म बालबालिकालाई ‘साथी’ भनेर बोलाउँछु । ‘साथीको खबर के छ ?’ भनेर सोधीखोजी गर्छु । उनीहरू पनि मलाई ‘साथी’ नै भन्छन् । ‘साथीको खबर के छ नि ?’ भनेर सोध्छन् । बालबालिकाले साधारणतया सबैलाई ‘साथी’ भन्दैनन् । उनीहरूलाई थाहा छ, उनीहरूका आमाबाबु, हजुरबा–हजुरआमाले पनि मलाई आदर–सम्मानसाथ बोल्छन् । तर उनीहरू मलाई त्यो दूरी राखेर व्यवहार गर्दैनन् । मससँग बिनादुरीको व्यवहार गर्छन् । उनीहरूमा बिलकुल सकारात्मक भावना हुन्छ ।

म बालबालिकाको कुनै अर्थसहित नाम राख्छु । त्यसमा अविस्मरणीय घटना वा सन्दर्भ जोडिएको हुन्छ । त्यसले एउटा जमाना वा जीवनको एउटा कालखण्डलाई सम्झाइरहन्छ । उनीहरूले आफू ठूलो हुन्जेल पनि सम्झिरहेका हुन्छन् । त्यसको एउटा पात्र म पनि भइरहेको हुन्छु । त्यो कुनै कठिन प्रयासबाट होइन, मौलिक र प्राकृतिक ढंगले हुन्छ ।

बालबालिकासँग जोडिने ठ्याक्कै विधि हुँदैन । कसैले हप्ता, १५ दिन प्रयास गरे पनि त्यो खेर जान्छ । मलाई लाग्छ, बालबालिकाको नजरमै ‘एक्स–रे’ मेसिन हुन्छ । उनीहरूका नजरले ‘एक्स–रे’ लगाउँछन् र हेर्छन् । उनीहरूले कसैलाई भेट्नेबित्तिकै मन र मस्तिष्क पढ्न सक्छन् । प्राकृतिक अनुमानबाट जे सन्देश प्राप्त गर्छन्, त्यसबाट आफ्नो धारणा बनाउँछन् । मलाई लाग्छ, बालबालिकासँग जबर्जस्ती जोडिन सकिँदैन ।

यसलाई बालबालिकाप्रति मेरो अतिरिक्त अनुराग भने पनि हुन्छ । अहिलेको बालबालिका भनेको आउँदो सय वर्षसम्मको कुरा हो । उनीहरूले प्राप्त गर्ने हौसला, स्नेह र आत्मविश्वासले अर्को दुई शताब्दी काम गर्छ । म उनीहरूसँग कुनै नक्कली व्यवहार गर्दिनँ । उनीहरूलाई नसुहाउँदो, नमिल्दो वा अप्ठ्यारो लाग्ने व्यवहार पनि गर्दिनँ । स्वाभाविक स्नेह मात्र प्रकट गर्छु । बालबालिकासँग ठूलठूला ज्ञान वा शास्त्रका कुरा गर्नुको के अर्थ हुन्छ र ? उनीहरूकै तह र भाषा अनुसार कुरा गर्‍यो भने मात्र उनीहरूले कुरा बुझ्छन् । म उनीहरूसँग ख्यालठट्टा गर्न रुचाउँछु । त्यो उनीहरूलाई असाध्यै रमाइलो लाग्छ र जीवनभर सम्झिरहन्छन् । यो त मैले भेटेका, देखेका वा बुझेका साथीको कुरा भयो । देशविदेशमा पनि मैले नभेटेका वा नदेखेका यस्ता थुप्रै साथी छन् ।

बालबालिकासँग जोडिन कुनै विचार, दर्शन, दल वा राजनीति चाहिँदैन । अति निर्बोध, पवित्र र निष्पक्ष प्राकृतिक भावनाका साथ उनीहरूको जिन्दगी सुरु हुन्छ । बालबालिकाको मन बडो निष्पक्ष र स्वतन्त्र हुन्छ । बालबालिकाले राजनीतिक रङ वा अरू कुरा हेर्दैनन् । पछि समाज वा परिवारले सिकाउने हो, अरू कुरा ।

बालबालिका कसरी हुर्काउने ?

लालयेत् पञ्च वर्षाणि दश वर्षाणि ताडयेत् ।

प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्रवदाचरेत् ।।

प्रस्तुत शास्त्रीय सूक्तिको भावार्थ हुन्छ– आफ्ना सन्तानलाई पाँच वर्ष हुन्जेल पुलपुल्याएर लालनपालन गर । १० वर्षसम्म असल संस्कार देऊ । १६ वर्षको भएपछि भरोसा गर्नलायक साथी समान व्यवहार गर ।

म हिजोआज देख्छु– कतिपय आमाबाबु वा अभिभावक बालबालिकासँग झूटो व्यवहार गरिरहेका हुन्छन् । बालबालिकाले खल्तीमा भएको पैसा देखिरहेका हुन्छन् तर अभिभावकले छैन भनेर सरासर झूटो बोल्छन् । पछि बालबालिकाले त्यही झूटो बोल्ने बानी सिक्छन् । कतिपय आमाबाबुको बानी कस्तो हुन्छ भने बच्चाले मागेको कुरा सुरुमा नदिने तर बच्चाले झगडा गर्न थालेपछि दिने । मेरो विचारमा बालबालिकालाई दिन मिल्ने चीज छ भने सरक्क दिइहाल्नोस् । दिन मिल्ने चीज छैन र दिनु हुन्न भन्ने लाग्छ भने आफ्नो अडानमा कायमै रहनुस् । झगडा गरेपछि मात्र दिने हो भने बालमनोविज्ञानमा बेस्सरी दबाब नदिईकन भनेको कुरा पाइँदैन भन्ने पर्छ र हातखुट्टा फाल्ने, लडीबुडी खेल्ने, रुने–कराउने, तमासा गर्ने गरेर उधुम मच्चाउँछन् ।

कतिपय अभिभावक बच्चाले बामे सर्दै पिँडीको डिलमा पुग्दादेखि नै बालबालिकालाई ‘बदमास’ भन्न थाल्न्छन् । कतिपयले पाई गरिदिन्छु भनेर प्याट्टपुट्ट पनि पार्छन् । आमाबाबुलाई नै आफ्नो सन्तान सज्जन छ भन्ने विश्वास छैन भने अरूले कसरी बदमास होइन भनेर पत्याउँछन् ? विश्वास छ भने न विश्वास कायम राख्ने हो । नचाहिने झगडा गर्छ भनिरहे उसले झगडा गर्छ । ध्यान दिएर पढ्छ भने पो ध्यान दिएर पढ्छ । त्यसकारण बालबालिकाप्रति हरेक अभिभावकले साँचो, मानवीय, स्नेहपूर्ण र आत्मीय व्यवहार गर्नुपर्छ । उसलाई झूटो नबोलेबापत दण्ड दिनु हुँदैन, साँचो बोलेबापत जतिसुकै क्षति वा नोक्सानी बेहोर्नु किन नपरोस् । कतिपय बालबालिका अभिभावकले व्यवहार गर्न नजानेर पनि बदमास हुन्छन् । जीवनको प्रथम पाठशाला, आदर्श संसार भनेको घर नै हो । आफ्ना छोराछोरीसँग चर्को बोली नगर्नुस् । झर्कोफर्को नगर्नुस् । गालीगलौज नगर्नुस् । अशिष्ट व्यवहार नदेखाउनुस् । कतिपय अभिभावकमा पछाडि कुरा काट्ने बानी हुन्छ । तर अगाडि पर्दा उसैलाई नमस्कार र स्वागत–सत्कार गर्छन् । ऊ हिँडिसकेपछि फेरि कुरा काट्न थाल्छन् । त्यसबाट बालबालिकाले अगाडि मीठो कुरा गर्नुपर्दो रहेछ, पछाडि नराम्रो कुरा गरे पनि हुने रहेछ भन्ने सोच्न सक्छन् ।

कतिपय घरमा मैले देखेको छु– बाबुआमाको झगडा बालबालिकाले छुट्याइरहेका हुन्छन् । बालबालिकासामु कहिल्यै झगडा नगर्नुस् । तपाईंको झगडाले बच्चाको मनमा के पर्छ ? एकछिन सोच्नुस् र पर्खिनुस् । झगडा नगरी नहुने छ भने पनि स्कुल पुर्‍याएर आउनुस्, फर्केर झगडा गर्नुस् । कृपया बालबालिकाको जीवनमा नौबत नल्याइदिनुस् । तपाईंका कारण बालमनोविज्ञानमा गलत कुराले जरो गाड्न नपाओस् । जन्माएर, खुवाएर वा पियाएर मात्र असल अभिभावक बन्न सकिँदैन । बच्चाप्रति संवेदनशील, होसियार र जिम्मेवार हुनैपर्छ ।

कतिपय बालबालिका घरका अभिभावक र विद्यालयका शिक्षकसँगै डराउँछन् । अभिभावक वा गुरु भयावह वा त्रसित बनाउने कुरा होइन । यो भनेको घर वा विद्यालयमा धेरै नराम्रो व्यवहार रहेछ भन्ने पुष्टि हो । बालबालिका जोकोहीसँग किन डराउँछन् ? अभिभावक वा गुरुजनसँग घुलमिल हुन सकेन, मनका भावना पोख्न सकेन वा स्नेह पाउँछु भन्ने विश्वास गर्न सकेन भने ठीक वा बेठीक छुट्याउन सक्दैन । उसले फुल्ने, फल्ने र फैलिने अवसर पाउन सक्दैन । गुरुजन त अझ आमाजस्तै हुनुपर्छ । पक्कै पनि आमाबाबुले आफ्ना सन्तानको कुभलो चिताउँदैनन् । तर आमाबाबुले कस्ता साथीसँग संगत गर्ने, कस्तोसँग नगर्ने भन्ने कुरा पनि निर्धारण गरिदिनुपर्छ । राम्रो बच्चाले यस्तो गर्छ, नराम्रो बच्चाले यस्तो गर्छ, राम्रो हुन यसो गर्नुपर्छ । तिमी ‘गुड ब्याय’ हुने हो, तिमी ‘गुड गर्ल’ हुने हो भनिरहनुपर्छ ।

म आफैंले पनि एउटा प्रयोग गरेर हेरेको छु । हिजोआज दुई–तीन वर्षको सानै उमेरमा विद्यालय पठाउने चलन छ । मेरी एउटी नातिनी स्कुल जाने बेला जहिल्यै रुने, कराउने, चिच्याउने गर्थिन् । खाना खान नमान्ने, स्कुल जान नमान्ने नातिनीको बानी देखेर मैले उनका आमाबाबुलाई फुर्सद भएको दिन बच्चा लिएर मकहाँ आऊ अनि मसँगै छाडिदेऊ भनें । मैले नातिनीसँग दुई घण्टाजति बच्चाजस्तै भएर खेलें । उनी र मैले केही गीत सँगै गायौं ।

खाना खाने बानी राम्रो

खान्नँ भन्ने नराम्रो

स्कुल जाने बानी राम्रो

जान्नँ भन्ने नराम्रो

मुसुमुसु हाँस्ने बानी राम्रो

पिलपिल रुने नराम्रो ।

खेल खेलिसकेपछि अन्तिममा उनले भनिन्, ‘बा, अब म खाना खान्छु, म रुन्नँ, म स्कुल जान्छु, म पढ्छु ।’ उनलाई मैले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ केही पनि भनेको थिइनँ । भोलिपल्ट उनले बिर्सिन्छिन् कि भन्ने लागेको थियो । तर स्कुल जाने बेला आमासँग ‘म स्कुल जानुपर्छ, मलाई लुगा लगाइदेऊ’ भनिछन् । बस चढाइमागेर हाँसीखुसीसाथ स्कुल गइछन् र खुसीसाथ फर्किछन् । मेरो एकछिनको उत्प्रेरणाले उनको बानीमा सुधार आयो । उत्प्रेरणामा त्यस खालको तागत हुन्छ । ताकि अन्तर्मनले भविष्यसम्मको बाटो देखाओस् । त्यसको अमिट छाप उसको मनमा रहिरहोस् । त्यसकारण बालबालिकालाई कसरी उत्प्रेरित गर्ने भन्ने कुरा निकै महत्त्वपूर्णर् छ । कतिपय आमाबाबुले बालबालिकालाई भौतिक सुख दिएर राखेका हुन्छन् । बामे सर्नासाथ मोबाइल, ट्याबलेट, ल्यापटप आदि ग्याजेटको संगत गराउँछन् । गेम खेल्न लगाउँछन् । खाना खाँदा पनि गेम नै खेल्नुपर्ने । बच्चाले खालि गेम, गेम, गेम भनिरहेको हुन्छ । कार्टुन, कार्टुन, कार्टुन भनिरहेको हुन्छ । जंकफुड खाँदै कार्टुन हेर्दै हुर्केको बच्चा ‘डिप्रेस्ड’ जस्तो हुन्छ । त्यसले कलिलो मस्तिष्कलाई विषाक्त बनाइदिन्छ । सामाजिक व्यवहार सिक्न सक्दैनन् । आवश्यक समयमा मात्र यस्ता कुरा दिनु उपयुक्त हुन्छ ।

अन्त्यमा,

मलाई उहिलेदेखि नै काम छाडेर बच्चाबच्चीसँग खेलेर बस्छ भन्ने आरोप लाग्थ्यो । हो, म धेरै महत्त्वपूर्ण भनिएका काम बिसाएर पनि बालबालिकासँग खेलेर बसिदिन्छु । कामप्रति गम्भीर लगाव भएका कतिपय मान्छेले त्यस कुरालाई त्यति रुचाउँदैनन् । त्यो मेरो मनको कुरा हो, मलाई त्यसो गर्न रमाइलो लाग्छ । म अलिअलि काम छाडेर पनि बालबालिकासँग खेल्छु । नत्र उनीहरूसँग खेल्ने वा कुरा गर्ने मौका नै कहाँ मिल्छ र !

म बालबालिकालाई मन किन पराउँछु भने उनीहरूको मन, माया र मित्रता जति पवित्र केही छँदै छैन । संसारमा पवित्रताको कुनै सर्वोत्कृष्ट चीज छ भने त्यो बालबालिका हो, बालबालिकाको मनै हो । उनीहरूसँग लुकाउने कुरा केही हुँदैन । छलकपट जानेका हुँदैनन् । यस्तो निश्चलता, पवित्रता र निष्कपटतालाई कसरी व्यापक बनाउने भन्ने कुरा अहिलेको शिक्षाको चुनौती हो ।

प्रकाशित : आश्विन १२, २०८० ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?