कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२७

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

मुख्यमन्त्री सोडारीसँग छलफल नभएको एमालेको दाबी, प्रदेशसभा बैठक अनिश्चित
अर्जुन शाह

धनगढी — मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले तयार नभएपछि सुदूरपश्चिममा शनिबार बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन शुक्रबार बोलाएको प्रदेशसभा बैठक अन्तिम समयमा स्थगित गरी शनिबार सारिएको थियो । तर शनिबार पनि एमालेले आनाकानी गरेपछि प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएको, बझाङमा उपचुनावबाट नवनिर्वाचित सदस्यले शपथ नै नलिएको, केन्द्रीय नेतृत्वसँग छलफल नभएकोलगायत कारण देखाउँदै विश्वासको मत दिन आनाकानी गरेका हुन् । शनिबार पनि उस्तै कारण बताएर उनी बिहानै काठमाडौं हिँडेका थिए । आफ्नै समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका सोडारीलाई विश्वासको मत दिन एमाले तयार नहुनुले सत्ता गठबन्धनभित्र आशंका बढेको छ ।

नेता रावलले छलफल नभएको दाबी गरे पनि एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल उपस्थित सत्ता गठबन्धनको वैशाख १८ को बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । यही वैशाख ६ मा नियुक्त भएका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिन अझै दुई साताको समय छ । तर, पहिलो चरणमा मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीले सोडारीलाई मुख्यमन्त्री बनाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आइतबार भएकाले सम्भावित जोखिमको आकलन गर्दै त्यसअगावै विश्वासको मत लिने तयारी उनले गरेका थिए । तर एमालेको असहयोगपछि उनको प्रयास विफल भएको छ ।

एमालेका एक सांसदका अनुसार मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनेबारे एमाले प्रदेश संसदीय दलमा पनि कुनै छलफल भएको छैन । ती सांसद भन्छन्, ‘हाम्रो तहमा त छलफल/बैठक केही भएकै छैन । माथिकै निर्देशनमा यो सबै भएको हो । बाहिर मुख्यमन्त्रीले छलफल नगरेको भन्नुपरे पनि भित्री कारण केही थाहा छैन ।’ एमाले विश्वासको मत दिन तयार नहुनुको अर्थ सोडारीलाई मुख्यमन्त्रीमा नरुचाएको र विश्वासको मत दिनैपर्ने बाध्यात्मक अवस्थामा पनि एकीकृत समाजवादीलाई गलाउन चाहेको प्रदेशसभाका स्वतन्त्र सदस्य तारा जोशी बताउँछन् । ‘यसले गठबन्धनमै गम्भीर संकट उत्पन्न हुन थालेको स्पष्ट हुन्छ,’ सोडारीलाई मुख्यमन्त्रीको दाबी पेसमा समर्थन गरेका जोशीले भने । ‘एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको इगो पनि एउटा प्रमुख कारण हो,’ उनको भनाइ छ ।

मुख्यमन्त्रीलाई समर्थन गरेका माओवादी सांसद ओमविक्रम भाट पनि ओली र नेपालको व्यक्तिगत इगोकै कारणले पछिल्लो परिस्थिति उत्पन्न भएको दाबी गर्छन् । ‘प्रधानमन्त्रीले पहल गरिरहनुभएको छ, मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्छ,’ उनले भने । मुख्यमन्त्री सोडारीले पनि प्राविधिक कारणले शुक्रबार र शनिबारको तालिका परिवर्तन गर्नुपरे पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए ।

सोडारीको मुख्यमन्त्री नियुक्तिमा पनि एमालेले आनाकानी गरेको थियो । केन्द्रीय सत्ता गठबन्धनमै दरार उत्पन्न हुने अवस्था आएपछि मात्र सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार भएको थियो । समाजवादीको सचिवालय बैठकले संसदीय दलका नेता सोडारीलाई नै मुख्यमन्त्रीमा अघि बढाउने औपचारिक निर्णय गरेपछि एमाले पछि हटेको थियो । सोडारीलाई एमाले, माओवादी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसदको समर्थन थियो । त्यसबेलाका समर्थक दल तथा सांसदहरूको संख्याका आधारमा सोडारीले २८ मत पाउने अवस्था छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न २७ सांसदको आवश्यकता पर्छ ।

प्रकाशित : वैशाख २३, २०८१ ०५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?