२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

ग्रामीण क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

सर्लाही — नेपाली सेनाले सर्लाहीको ग्रामीण भेगमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सात सयभन्दा बढी नागरिकले स्वास्थ्य परीक्षण गराएका छन् । 

ग्रामीण क्षेत्रमा सेनाको स्वास्थ्य शिविर

आर्थिक विपन्नताका कारण स्वास्थ्य जाँच गराउन नपाएका उनीहरु सेनाको शिविरबाट लाभान्वित भएका हुन् । सर्लाहीको नवलपुर पाँचकुमारीस्थित भैरवीदल गणले शनिबार चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल परिसरमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो । सेनाको फिल्ड अस्पताल बर्दिवाससहित गाउँपालिका तथा विभिन्न स्वास्थ्य संस्थासँगको समन्वयमा गरिएको एक दिने शिविरमा ७ सय ८ जनाले स्वास्थ्य परीक्षण गराएका सेनाले जनाएको छ ।

शिविरमा सबैभन्दा बढी २ सय ३९ बालबालिकालाई बालरोगसम्बन्धी उपचार गरी घर पठाइएको छ । शिविरमा आएका गाउँलेले आर्थिक अवस्था कमजोर रहेकाले रोग लुकाएर बस्नुपर्ने बाध्यताबीच यस्ता स्वास्थ्य शिविरले सहयोग पुगेको बताए ।

शिविरमा प्रसूति तथा स्त्री रोगका ८० जना महिला, दन्त रोगका ८५ जना, हाडजोर्नी तथा नशा रोगका ८० जना, नाक, कान, घाँटीका ७० जनाले परीक्षण गराएका छन् । यस्तै मधुमेह तथा उच्च रक्तचापका १३ जना, मनोरोगका ७ जना, आँखा समस्या भएका ५५ जना तथा ८० जनाले भिडियो एक्स-रे सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच गराउन आएका गाउँलेलाई निःशुल्क स्वास्थ्य परीक्षणसहित औषधि पनि वितरण गरिएको भैरवी दल गणका निमित्त गणपति एवं सेनानी पवन विष्टले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ५, २०८१ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?