कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

इसिडी शिक्षा सुधार गर्न माइतीघरमा उभिएर सरकारलाई दबाब

काठमाडौँ — प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधारको माग राख्दै नेपाल समाजबादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले ४ दिनदेखि दैनिक ८ घण्टा काठमाडौंको माइतीघर मण्डलामा उभिएर सरकारलाई दबाब दिइरहेका छन् । शनिबार पनि बिहान १० बजे देखि ५ बजेसम्म माइतीघरमा चापागाईं उभिएका थिए ।

इसिडी शिक्षा सुधार गर्न माइतीघरमा उभिएर सरकारलाई दबाब

गत बुधबारदेखि उनले उभिएर दबाबस्वरुप धर्ना थालेको सहयोगी रेखी गुरुङले बताए । उनको मागमा ऐक्यवद्दता जनाउँदै डा. बावुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीले देशभरका विभिन्न स्थानीय तहमा उभिएर धर्ना दिन थालेको छ ।

समाजबादी विद्यार्थी युनियन उक्त पार्टीको भातृसंगठन हो । शिक्षामन्त्री सुमना श्रेष्ठलाई खुलापत्र लेखेर ध्यानार्कषण गराउँदा इसिडी शिक्षा सुधारका लागि सुनुवाइ नभएपछि दबावमूलक कार्यक्रम थालनी गरिएको गुरुङले बताए । ‘३२ घण्टा सम्म उभिएर धर्ना दिँदा सरकारले कुनै सम्बोधन गरेको छैन । दैनिक ८ घण्टा चर्को घाममा उभिँदा नेत्र चापागाईं सरको खुट्टा सुनिने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ,’ उनले भने ।

चापागाईंले सरकार सामु ६ बुँदे माग समेत अघि सारेका छन् । इसिडीका बालबालिकालाई दिने दिवा खाजाको रकम वृद्धि गर्नुपर्ने, इसिडी शिक्षकको शैक्षिक योग्यता र मासिक पारिश्रमिक वृद्धि गर्नुपर्ने, सामुदायिक र निजी विद्यालयमा सञ्चालित इसिडी कक्षाका एकरुपता कायम गर्नुपर्ने, इसिडी शिक्षकको दरबन्दी कायम गरिनुपर्ने लगायतका माग अघि सारिएको छ ।

‘दिवा खाजा खान इसिडीका बालबालिकालाई दैनिक १५ रुपैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । त्यो रकमले एउटा अण्डा पनि आउँदैनन् । कम्तिमा दैनिक ५० रुपैयाँ दिनुपर्छ,’ गुरुङले भने । इसिडी शिक्षकलाई दिने पारिश्रमिक समेत वृद्धि गर्नुपर्ने माग चापागाईंले राखेका छन् ।

केन्द्र सरकारले शिक्षकलाई मासिक ८ हजार रुपैयाँ मात्रै पारिश्रमिक दिने गरेको छ । केही स्थानीय तहले रकम थप गरेर दिने गरेका छन् भने कतिपयमा ८ हजारमै मासिक काम गर्नुपर्ने बाध्यता छ । एसईई उत्तीर्ण शैक्षिक योग्यता भएकालाई इसिडी शिक्षकमा नियुक्ति गरिन्छ । चापागाईंले एसईई भन्दा माथिल्लो शैक्षिक योग्यता भएकालाई मात्रै इसिडी शिक्षकमा नियुक्त गर्ने र दरबन्दी कायम गरि उचित सेवासुविधा दिनुपर्ने माग राखेका हुन् ।

इसिडी शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने माग राखिएको छ । इसिडीका बालबालिकाका लागि बालमैत्री कक्षाकोठाको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ । कक्षाकोठामा खेल्दै, सिक्ने वातावरण हुनुपर्ने औंल्याइएको छ ।

सामुदायिक र निजी विद्यालयमा प्रारम्भिक बालविकासको फरक/फरक अभ्यास रहेकाले त्यसमा एकरुपता ल्याउनुपर्ने माग अघि सारिएको छ । ‘सरकारी विद्यालयमा एक वर्षको इसिडी कक्षा सञ्चालन हुन्छ भने निजी विद्यालयले ३ वर्ष सम्मको पूर्वप्राथमिक कक्षा चलाउँदै आएका छन्,’ गुरुङले भने, ‘सरकारले नीति बनाएर एकरुपता ल्याउनुपर्छ । फरक/फरक शिक्षा प्रणाली हुनुहुदैंन । पाठ्यक्रमबाट यसलाई सम्बोधन गर्ने व्यवस्था गरिनुपर्छ ।’

चापागाईंले सरकारले माग पूरा नगरेसम्म दैनिक माइतीघरमा ८ घण्टासम्म उभिएर दबावमूलक कार्यक्रम जारी राख्ने बताए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x