कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

स्वास्थ्य संस्था 'ईएमआइएस' प्रणालीमा

प्रकाश बराल

बागलुङ — जैमिनी नगरपालिकाको १० वटा वडामा रहेका स्वास्थ्य चौकीले दैनिक कति बिरामीको स्वास्थ्य परीक्षण भयो ? कुन रोगका बिरामी आए ? भन्ने समेत छुट्टाएर प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउँछन् । केन्द्रले पनि दैनिक उपचारमा आएका बिरामीको बर्गीकरण सहित नगरपालिकाको स्वास्थ्य शाखामा रिपोर्टिङ गर्छ ।

स्वास्थ्य संस्था 'ईएमआइएस' प्रणालीमा

यो प्रक्रिया सुरु भएको झण्डै एक वर्ष भयो । केही समय अघिसम्म कागजमा राखेको रेकर्ड पठाइन्थ्यो । तर अब भने नगरपालिकामा बसेर उक्त डेटा सहजै पत्ता लगाउन सकिन्छ ।

हरेक दिनको डेटा पालिकामा आएपनि स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन पनि पठाउने गरेका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख गोबिन्दप्रसाद शर्मा आचार्यका अनुसार हरेक स्वास्थ्य संस्थामा मासिक ३ सय र प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीसेरामा मासिक १ हजार १ सय जनासम्म बिरामीले सेवा पाइरहेका छन् ।

नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा ईएमआइएस प्रणाली लागू गरेपछि नगरबासीको स्वास्थ्य अवस्था क्षणभरमै अध्ययन गर्न सकिने भएको छ । ईएमआइएस प्रणालीले रोगको प्रकृतिको अनुसन्धान, उपचार पद्दतिको बिकास तथा आवश्यक श्रोत साधनको खोजी गर्न सहज भएको आचार्यले बताए ।

‘हरेक स्वास्थ्य संस्थामा दुइजना तािलम प्राप्त स्वास्थ्यकर्मी तयार छन्’ उनले भने, ‘ल्यापटप र इन्टरनेटको पनि सुविधा पुगेको छ ।’ नगरपालिकाले सफ्टवेयर खरिद गरेर सबै स्वास्थ्य संस्थामा पुर्‍याएको उनले बताए । यस अघि वर्षभरिको कागजी प्रतिवेदन बनाएर मात्र पेश गरिंदा समस्या बारे अनुसन्धान हुने थिएन ।

उता गलकोट नगरपालिकाले पनि यो प्रणाली लागू गरेको छ । नगर अस्पतालमा दैनिक १ सय ५० देखि १ सय ८० जना सम्म बिरामीको स्वास्थ्य परीक्षण गरेको रिर्पोटसहित हरेक स्वास्थ्य शाखाको प्रतिवेदन पनि बुझाउने गरेको नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।

अस्पतालमा जम्मा भएर नगर स्वास्थ्य शाखामा आएको डेटा हरेक दिन प्रविष्टी गरेर मात्रै स्वास्थ्य शाखाका प्रमुख शुसिल पौडेल बाहिरिन्छन् । यो डेटाले हरेक दिनको बिरामीको प्रकृति र उपचारको अवस्थाबारे अध्ययन गर्न पाएको उनले बताए ।

टिकट काट्ने बित्तिकै बिरामीको विवरण र रोगको प्रकृति अनलाइनमा प्रविष्टी गर्ने गरी यहाँका दशवटै पालिकामा डिजिटल विधि सुरु भएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । अनलाइन प्रणालीबाट रिपोर्टिङ र व्यवस्थापन गर्न थालेपछि राज्यको साधान श्रोतसाधनको सहज सदुपयोग भएको शर्माले बताइन् ।

‘सूचना एकीकृत भएको छ, अब एउटै सिस्टममा पुगेर जिल्लाभरको डेटा खोजी गर्न सकिन्छ,’ शर्माले भनिन्, ‘प्रदेशमा बसेर पनि सबै वडा तहको बिरामीको अबस्था अध्ययन गर्न सकिने भएको उनले बताइन् । झण्डै दुइवर्ष अघिदेखि सुरु भएको यो विधिले पूर्णता पाएको उनले बताइन् ।

यो विधि अपनाएका सबै स्वास्थ्य संस्थामा औषधी बिक्री तथा टिकट शुल्कपनि अनलाइन बिलबाट काटिन्छ । यो विधिले स्वास्थ्य संस्थामा पारदर्शिता समेत बढेको हो । ‘बिशेषगरी औषधी पठाउने काममा यो विधि धेरै उपयोगी भएको छ’ शर्माले भनिन्, ‘अघिल्लो महिनाको समीक्षाबाट कुन प्रकृतिको औषधि कति चाहिन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।’ जिल्लामा रोगको प्रकृति र मौषम अनुसार हुने असर बारेपनि अध्ययन गर्न सहज भएको उनले बताइन् ।

गलकोट नगर स्वास्थ्य शाखाले त एकवर्षको तथ्यांकको अनुसन्धान समेत गरिसकेको छ । नगरस्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलका अनुसार पछिल्लो समय ४० प्रतिशत प्रेसरका बिरामी उपचारमा आउने गरेको भेटिएको हो । नगर अस्पतालमा नियमित डाक्टर बस्दा पोष्टमार्टम सेवा पनि गाउँ तहमै भएको छ ।

गलकोट, बुर्तिवाङ, कुश्मीसेरा लगायतका स्थानमा पोष्टमार्टम सेवा पुग्दा घटनास्थलबाट शव बोकेर सदरमुकाम पुग्न नपरेको गलकोट नगरपालिका ७ का अध्यक्ष राज थापाले बताए । हजारौं खर्चेर पोष्टमार्ट गराउनु पर्दा पीडित परिवारमा आर्थिक बोझ हुने समस्या अहिले हटेका छन् । अनावश्यक औषधी ल्याएर खेर फाल्ने देखि आवस्यक परेको ठाउँमा नपुग्ने समस्या पनि हटेको हो ।

प्रकाशित : जेष्ठ ५, २०८१ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×