कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लमजुङमा बाढीपहिरो पीडितलाई राहत सहयोग

आश गुरुङ

लमजुङ — विभिन्न सिलसिलामा हङकङमा बसोबास गर्दै आएका लमजुङले मातृभूमि लमजुङमा बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।

लमजुङमा बाढीपहिरो पीडितलाई राहत सहयोग

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाएका ५ जनाका परिवार, घाइते, घरबारविहीन तथा विस्थापितलाई सहयोग गरेको हो । लमजुङ सेवा समिति हङकङमार्फत पठाएको रकमबाट मृतक परिवार १ जना बराबर १ लाख रुपैयाँका दरले पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

पहिरोबाट घर पूर्ण रुपमा क्षति भएका परिवारलाई १/१ लाख रुपैयाँ, आंशिक क्षति भएकासहित पहिरोका कारण विस्थापित परिवारलाई ४०/४० हजार रुपैयाँ, घाइतेलाई २३/२३ हजार रुपैयाँ, जोखिमका कारण विस्थापितलाई २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

सम्पर्क समिति लमजुङका अध्यक्ष मीना गुरुङका अनुसार लमजुङ घर भई विभिन्न सिलसिलामा हङकङकमा रहेका १ सय २७ जनाले संकलन गरी पठाएको ११ लाख २३ हजार ५ सय ४० रुपैयाँ पीडित परिवारलाई शुक्रबार हस्तान्तरण गरिएको हो । गत असार ११ गते रातिको पहिरोले पुरिएर क्व्होलासोंथार गाउँपालिका ३, बगुममा ४ जना र दोर्दी गाउँपालिका ९, हिलेटक्सारमा १ जनाको निधन भएको थियो ।

पहिरोमा परेर निधन भएका ३७ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी छोरी ५ वर्षीय निष्मा गुरुङ, निष्माका हजुरबुवा ७० वर्षीय रुद्रमान गुरुङ र आफन्त ९ वर्षीया इच्छा गुरुङको निधन भएको थियो । यस्तै, दोर्दी गाउँपालिका ९, हिलेटक्सार धैरेनी सुनारगाउँका १६ वर्षीय विकल सुनारको मृत्यु भएको थियो । बाढीपहिरोमा परेर बगुमका भीमबहादुर घले र धैरेनी सुनारगाउँका मिलन सुनार घाइते भएका थिए ।

बाढीपहिरोका कारण बगुममा ३ घर पहिरोले बगाएको थियो । दोर्दीमा एउटा घर पहिरोको उच्च जोखिममा रहेको र क्व्होलासोंथारमा ५ घर जोखिममा परेपछि परिवार विस्थापित भएका छन् । क्होलासोंथारकै डुलुमाया गुरुङ पहिरोको जोखिममा परेपछि विस्थापित भएको भन्दै उनलाई २० हजार रुपैयाँ सहयोग गरिएको छ । राहत वितरण गरी बाँकी रहेको १७ हजार ५ सय रुपैयाँ परिवार र घर दुवै गुमाएका बगुमका निरज गुरुङलाई प्रदान गरिएको छ ।

पीडित परिवारलाई दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको रोहवरमा लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङका संरक्षक जमिन्द्रमान घले, अध्यक्ष मीना गुरुङ, सचिव मेघेन्द्र पोखरेल, लमजुङ सेवा समिति हङकङका सहसचिव दिनेश गुरुङ, कार्यसमिति सदस्य पुष्पादेवी गुरुङ, पूर्वकार्यसमिति सदस्य तिलकबहादुर क्षेत्रीलगायतले राहत रकम हस्तान्तरण गरेका थिए ।

लमजुङ सेवा समिति हङकङका पूर्वसल्लाहकार रामबहादुर गुरुङले आफू हङकङ गएपछि विस्तारै लमजुङेहरु हङकङ आउन थालेको र लमजुङेले सेवा समिति गठन गरेको बताए । ‘हामीले सुरु गरेको संस्थाले आपतविपदमा परेका, असहाय, बिरामीलाई सहयोग सुरु गरेका छौं,’ उनले भने ।

क्व्होलासोंथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबिर गुरुङ र दोर्दी गाउँपालिका ९ का वडाअध्यक्ष आशीष तामाङले प्राप्त सहयोगबाट पीडित परिवारलाई ठूलो राहत मिलेको बताए ।


प्रकाशित : श्रावण ११, २०८१ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×