कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सपुतको गृहजिल्लामा ‘बसन्त’को शुभ-मुहूर्त्त

भाद्र २२, २०८१
सपुतको गृहजिल्लामा ‘बसन्त’को शुभ-मुहूर्त्त

बागलुङ — गायक तथा कलाकार प्रकाश सपुतको लेखन, निर्देशन र अभिनयमा निर्माण हुन लागेको चलचित्र ‘बसन्त’को उनकै गृहजिल्ला बागलुङमा शुभ-मुहूर्त्त गरिएको छ ।

बागलुङ कालिका मन्दिरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले शनिबार चलचित्रको शुभ-मुहूर्त्त गरेका हुन् । सपुतले शुक्रबार तीजको अवसर पारेर फेसबुकमार्फत चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए ।

यो चलचित्रको अधिकांश छायांकन बागलुङमा हुनेछ । सपुतको जन्मगाउँ बागलुङको धम्जामा यो चलचित्रको धेरै भाग छायांकन हुनेछ भने यहाँका सा‌ंस्कृतिक प्रस्तुतिहरु समावेश हुनेछन् । ‘गीत संगीत र संस्कृतिको विविधता भएकाले यहाँका कथा र संस्कृतिलाई चलचित्रमा समावेश गरिनेछ,’ सपुतले भने, ‘समाजको आँसु, रोदन, मुस्कान र बास्तविकता कथामा उतार्ने प्रयास हुनेछ ।’ समाजका विविध आयामको पात्र र प्रवृत्तिमा खेल्न पाउँदा कलाकार हुनुमा गर्व लागेको उनले सुनाए ।

यसअघि गायको छविमा रहेका सपुतले आफैंले चलचित्र बनाउन लागेका हुन् । धम्जादेखि बागलुङ बजार, पोखरा हुँदै काठमाडौंसम्मको यात्रामा भेटेका, देखेका र भोगेका कथालाई उनेर उनले चलचित्र निर्माण गर्न लागेका हुन् । ‘चलचित्रमा यहाँको कालिका मन्दिरदेखि बजारका गल्लीका कथा पनि उनिनेछन्,’ उनले भने, ‘चैतेदसैं मेलादेखि बागलुङका यानिमाया, सोरठी, झाम्रे, सालैजो र घाटु तथा लोकगीत र लोकदोहोरी पनि पर्दामा देख्न पाइनेछ ।’ उनले साहित्य, गीत संगीत र सिर्जनाबाट समाज चित्रण गर्न लागेको पनि बताए ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका उपाध्यक्ष निशान खड्काले कलाकारलाई स्वागत गरे । आगामी चैत २२ गते प्रदर्शनका लागि मितिसमेत तोकेरै यसको शुभमुहूर्त्त गरिएको हो । कथा निर्देशक, लेखन र चलचित्रमा अभिनेताका रुपमा उनी स्वयं देखिने छन् । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली रहेका छन् । सपुतका भाइ सुनिल विक मुख्य सहनिर्देशकको भूमिकामा हुनेछन् ।

चलचित्रमा स्वस्तिमा खड्का मुख्य अभिनेत्रीका रुपमा देखिने छिन् । सपुतको 'बसन्त' कथाभित्रकी शान्ति शर्माको भूमिकामा खड्का रहनेछिन् । खड्गबहादु पुन (खबपु) ले सत्यबहादुर मगर, सपुतले बसन्त विक, शिभान्सी श्रीषले सपना विक र प्रभात पाल ठकुरीले प्रेमआर क्षेत्रीको भूमिका गर्ने शुभ-मुहूर्त्तको समयमा कार्यकारी निर्देशक दिल श्रीषले बताए । समाजमा रहेको विभेद र असमानताले दलितलाई पिँधमा पार्दा शान्ति शर्माहरु पनि अप्ठ्यारोमा परिरहेको कथा देखाइनेछ । प्रेमिल र गुणी समाजलाई विभेदमा पार्दाको समस्या र नेपाली समाजका संस्कृतिहरुलाई संरक्षण गर्ने काममा चलचित्र बढी केन्द्रित हुने फिल्म युनिटले जनायो ।

कलाकारसहित प्रोडक्सन, प्राविधिक लगायतको झण्डै ५० जनाको टोली शुक्रबार राति बागलुङ आएको हो । शनिबार शुभ-मुहूर्त्त गरेर टोली छायांकनस्थल धम्जा पुगेको छ । त्यसअघि सपुतसहितका कलाकारको सम्मानमा कालिका भगवती गुठी र स्थानीयले भजनकीर्तनसहित शान्ति पदयात्रा गरेका थिए ।

प्रकाशित : भाद्र २२, २०८१ १२:१४
x
×