कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अमेरिकामा काम, गाउँमा लाखौँ सहयोग

भाद्र ३०, २०८१
अमेरिकामा काम, गाउँमा लाखौँ सहयोग

बागलुङ — २२ वर्षअघि अमेरिका पुगेका बागलुङ नगरपालिका–१४ का गंगाबहादुर घर्ती त्यहाँ वकालत पेशामा छन् । उनले अमेरिकाबाटै हरेक वर्ष आफ्नो गाउँमा निरन्तर सहयोग गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएर पढ्न लेख्न नपाएको दुःख सम्झेर घर्तीले अमेरिकाबाट निरन्तर सहयोग पठाउने गरेका हुन् ।

घर्तीले गाउँमै आफ्नी आमाको नाममा ‘चन्द्रकला स्मृति ट्रस्ट’ स्थापना गरेका छन् । उक्त कोषबाट वडाभित्रका विद्यालयका बालबालिकालाई पोशाक, छात्रवृत्ति, खाजालगायतमा सहयोग गरेका छन् । ट्रस्टमा तोकिएको रकम छैन ।

उनले वर्षेनि आवश्यकताको आधारमा पैसा राखेर विद्यालयमा सहयोग गर्दै आएका छन् । यहाँको जनताधन मावि, गणेश मावि, कोलपाटा आधारभूत विद्यालय र कृष्णगण्डकी क्याम्पसमा निरन्तर सहयोग गरिरहेका छन् ।

त्यस्तै, उनकै नाममा ‘गंगाबहादुर डम्बरकुमारी कल्याणकारी कोष’पनि स्थापित छ । १ करोड रुपैयाँको कोषले वर्षेनि वडाभर कोही भोकै बस्न नपर्ने र कोही अभिभावकविहीन बन्नु नपर्ने उद्देश्य राखिएको छ । दुइ वर्ष अघिबाट सुरु कोषबाट वर्षमा कम्तीमा ७ लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

वडाध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षतामा रहने समितिमा कोषाध्यक्षसहितको संयुक्त हस्ताक्षरमा कोष संचालन गरिने स्थानीय सामाजिक अगुवा कमलकुमार जिसीले बताए । भोकालाई भोजन, बिपन्नलाई औषधि भन्ने नारासहित घर्तीले पठाएको रकमबाट यहाँका बासिन्दालाई खाद्यान्नबाहेक जिविकोपार्जनका लागि बाख्रापालन, कुखुरा पालनलगायतको काम गर्न पशुधन समेत सहयोग गरिएको हो ।

जिसीकै अगुवाइमा घर्तीले अन्य सामाजिक काममा पनि लाखौं लगानी गरेका छन् । वडा १४ मै जेष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापनाका लागि घर्तीले ३५ लाख सहयोग जुटाएका छन् । उक्त रकमले सभाहल, भजन केन्द्र, पाहुना कोठा र शौचालय समेत बनाइदिएका छन् । बागलुङ नगरपालिकाले उक्त भवनमा ६० वर्ष नाघेका जेष्ठ नागरिकलाई दिवा सेवा केन्द्र संचालनमा ल्याउने भएको छ ।

‘दिनभर जेष्ठ नागरिकहरु बस्न, रमाउन मिल्ने भवन छ, त्यहाँ दिउसोको खाजा र चियाको व्यवस्थापन नगरपालिकाले गर्नेछ,’ वडाध्यक्ष चक्रबहादुर खत्रीले भने, ‘घर व्यवस्थापन गर्ने काममा घर्तीकै लगानी जुटेको छ ।’ त्यसबाहेक विकास निर्माण कार्यमा जिसीले अगुवाई गरेका छन् । नजिकैको कृष्ण गण्डकी क्याम्पस संचालनमा उनले ५ लाख सहयोग गरेका थिए ।

जनताधन मावि र गणेश माविमा पनि ५/५ लाख सहयोग गरेका छन् । त्यसबाहेक विद्यार्थीलाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्रीमा पनि सहयोग गरेका हुन् । उनले गाउँका किसान मजदुर र बिपन्न बस्तीमा पनि निरन्तर सहयोग जुटाएका छन् । कतिपय किसानले तरकारी खेती गर्न चाहेपछि प्लाष्टिकका टनेल किनेर पनि दिइएको जिसीले बताए ।

पहिलो वर्ष कोषबाहेक परिवारका सदस्यले ४ लाख लगानी गरेर थालेको काममा गतवर्ष ७ लाखको सामग्री वितरण भएको थियो । स्थानीयलाई चामल, नुन, तेल, साबुन र चिनी समेत कोषबाट प्रदान गरिएको हो । घर्तीकै कोषबाट दीर्घ रोगी भए नगद १० हजार औषधि खर्च, बिपन्न परिवारको विद्यार्थीलाई ८ हजार नगद छात्रवृत्ति, दुर्घटनामा परेकालाई काजकिरिया खर्चसमेत उनैले पुर्‍याइदिएका छन् ।

वडाध्यक्षको संयोजकत्वमा गठित समितिमा सामाजिक अगुवा सोबेन्द्र खत्री सचिव र बिष्णु खड्का कोषाध्यक्ष छन् । वडा समितिको बैठकको निर्णयपछिको सिफारिसमा उक्त सहयोग हस्तान्तरण गरिएको जिसीले बताए । यो सहयोगले घर खर्च चलाउन पाएर खुसी भएको स्थानीय नन्दकली सार्कीले बताइन् । खर्चको पारदर्शीता गरेर कोषको अडिट समेत गराउने व्यवस्था मिलाइएको जिसीले बताए ।

प्रकाशित : भाद्र ३०, २०८१ १९:२४
x
×