कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

आमाको सम्झनामा ढुंगैढुंगाको घर

भाद्र ३१, २०८१
आमाको सम्झनामा ढुंगैढुंगाको घर

Highlights

  • १६ करोड लागतमा बन्दैछ ‘हिरा महल’

बागलुङ — गाउँमा ढुंगामाटोको एउटा घर बनाउन कति खर्च होला ? बढीमा ५ देखि १० लाख लगानी गर्दा ढुंगामाटोको भनेजस्तो घर बन्छ । तर यहाँ एउटा घर १६ करोडमा बन्दैछ । घरको जगदेखि धुरीसम्म ढुंगा मात्रै जडान गरेर बनाएको घर १६ करोड रुपैयाँमा पूरा हुर्ने लक्ष्य राखिएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानका भीमबहादुर घर्ती क्षेत्रीले ढुंगैढुंगाको घर बनाउन लागेका हुन् ।

पछिल्लो ७ वर्षदेखि यो काम निरन्तर छ । बिहानदेखि बेलुकीसम्म ७८ वर्षीय भीमबहादुर र उनकी पत्नी सुमित्रा घर बनाउने काममै व्यस्त देखिन्छन् । इटा, सिमेन्ट, काठलगायतका सामग्रीबाहेक ढुंगाको मात्रै बनिरहेको घरमा धेरैको चासोमा परेको छ ।

ढुंगाले मात्र बनाउँदा एउटै घरको काम सकिन यतिका वर्ष लागेको हो । घर्तीले आफ्नी आमाको सम्झनामा यो घर बनाइरहेका हुन् । उनले आमा हिरादेवी घर्ती क्षेत्रीको स्मृतिमा घरको नामाकरण ‘हिरा महल’ राखिसकेका छन् ।

८० वर्षअघि भीमबहादुरका बाबु धनबहादुरले ७ पत्नी विवाह गरेका थिए । ती मध्येकी जेठी थिइन्, हिरा । ६ वटी सौता खेपेर पनि उनले धनबहादुरलाई जीवनभर साथ दिएकी थिइन् । ८१ वर्षको उमेरमा २०५८ मा हिराको निधन भएको थियो । बाबु धनबहादुर ९६ वर्षको उमेरमा २०७१ सालमा बितेका थिए । ६ जना सौता भएर पनि सहनशील बनेकी आमाको स्मृतिमा स्मारकको रुपमा रहने गरी हिरा महल बनाउन लागिएको भीमबहादुरले बताए । उनले एक कोठामा बाबुआमाको स्मृतिमा संग्राहलय बनाउने तयारी गरेका छन् भने बाँकी कोठा उपयोगका लागि खुला हुनेछन् ।

धनबहादुरका ७ दाजुभाई छन् । उनीहरुले बाबुआमाकै नाममा यहाँ जनता माविलाई २२ वर्षअघि १५ लाख रुपैयाँ सहयोग दिए । त्यसपछि तत्कालीन ऐननियम अनुसार विद्यालयको नामनै जनताधन बन्यो । यहाँका अन्य विद्यालयमा पनि फर्निचर, कम्प्युटर ल्याबलगायतको सुधारमा जिसी परिवारले सहयोग गरेको छ ।

अब भने १६ करोड बढी लगानी गरेर हिरा महल बन्दैछ । यो महलमा झ्यालढोका पनि ढुंगाका छन् । दलिनदेखि पलंग समेत ढुंगा खोपेरै बनाइएको छ । सानाठूला गरी २४ बेड ढुंगाका बनिसकेका छन् । दुई तले भवनको भित्रबाहिर ती पलंग सजाएर राखिएको छ । दराज, सामान राख्ने र्‍याक, भान्छाघर, शौचालय र हात धुने बेसिन समेत ढुंगा खोपेरै बनेका छन् । आठ रोपनी जमिनमा बनेको यो घरको बाहिर पनि ढुंगानै छापिएको छ । दुईवटा व्याडमिन्टन कोर्ट पनि ढुंगाकै बनेका छन् । पर्खालदेखि छानासम्म ढुंगाको बनेको हो ।

बागलुङ नगरपालिका–१३ पैयुपाटामा ढुंगा किनेर उनले घरमा छाप्न ल्याएका छन् । उनले काटेका ढुंगा १२ फिट लम्बाइ र १० फिट चौडाइसम्मका छन् । पर्खालमा लगाएका ढुंगा पनि काटेर चिटिक्क बनाइएको छ । ‘भूकम्पले पनि नभत्कने, हजार वर्षसम्म केही नहुने गरी घर बनाएको छु,’ जिसीले भने, ‘हामी सबै मरेर गए पनि घर पुस्तौंपुस्तासम्म जिवित रहनेछ ।’

सुरुवातमा यो घरको लागत स्टिमेट ९ करोड थियो । तर काम गर्दागर्दै बढेर अहिले १६ करोड खर्च हुने अनुमान पुगिसकेको उनले बताए । अहिलेसम्म १२ करोड बढी भुक्तानी भैसकेको भीमबहादुरले बताए । पत्नी सुमित्राले पहिला त यति महंगो घर नबनाउन सल्लाह दिइन् । तर घर बनाएर आफूमात्र बस्ने योजना नभइ आमा हिराको नाममा स्मारक जस्तै बनाउने भनेपछि उनले पनि सहमति दिइन् । भीमबहादुर र सुमित्राका २ भाइ छोरा र ३ छोरी छन् । यो अभियानमा २ छोरा, ३ छोरी, पतिपत्नी र दुई नाती र एक नातिनी समेत गरी १० जनाले लगानी गर्ने गरी काम भैरहेको हो ।

अहिले यहाँ लगानी गर्ने मध्ये भीमबहादुरका दम्पती मात्रै छन् । अरु सदस्य फर्केर आउने, बस्ने सम्भावना पनि कम छ । तर निर्माणमा भने लगानी गरेका छन् । भीमबहादुर भारतीय सेनामा काम गर्थे । ७ वर्षपछि उनी भारतीय तेल निगम (आइओसी)मा लागे । २८ वर्ष आइओसी समेत गरी ३५ वर्ष भारतमा रोजगारीबाट निवृत्त भएका भीमबहादुर आर्थिक रुपमा आँफैमा सक्षम भएका थिए । जेठा छोरा भोजबहादुर क्यानडामा कम्प्यूटर इन्जिनियर र कान्छो छोरा धर्मबहादुर सिंगापुरमा पानीजहाजका क्याप्टेन छन् ।

छोरीहरुले पनि पढेलेखेर उन्नती गर्न थालिसकेको उनले बताए । यो घरलाई नियमित सजाउन पाहुना बस्ने घरको रुपमा उपयोग गर्ने योजना छ । ‘पहिला त्यस्तो सोचेर काम थालेको होइन, हेर्न आउनेहरुले पर्यटक घरको रुपमा विकास गर्न सुझाव दिएका छन्,’ भीमबहादुरले भने, ‘नियमित पर्यटक आएर बस्ने गरेमा घर सफाइ पनि हुने, बसाइँमा नयाँ अनुभव पनि लिन सकिन्छ ।’

यो घर निर्माण नसकिँदै पर्यटकको रुपमा हेर्न आउनेहरु बढेका छन् । विश्वकै दोस्रो अग्लो बञ्जीजम्पदेखि २ किमी दुरीमा यो घर बन्दै छ । यहाँ आएका पर्यटकलाई होमस्टेको रुपमा लगेर राख्न सकिने गरी भवन बनेको छ । ‘सिधै व्यवसायिक भवन होइन, तर पाहुना बस्न चाहेमा न्यूनतम शुल्कमा राख्ने व्यवस्था गर्छौं,’ जिसीले भने, ‘तस्बिर खिच्ने र ढुंगाकै सामग्री हेर्न पनि धेरै आउन थालिसकेका छन् ।’ यो भवन बनाउने काममा पनि ७ वर्षदेखि स्थानीय कालीगढले रोजगारी पाएका छन् । ढुंगा काट्ने काम गरेकी देवी नेपालीले छोरालाई डाक्टर पढाएको बताइन् ।

प्रकाशित : भाद्र ३१, २०८१ २०:१०
x
×