कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

ताङ्लीचोक स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि पुगेका चिकित्सकमाथि दुर्व्यवहार र कुटपिट

आश्विन १, २०८१

गोरखा — गण्डकी गाउँपालिका–१ स्थित मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलीपकुमार कुशवाहलाई कुटपिट र दुर्व्यवहार भएको छ । बिरामी जाँच्दै गर्दा टिकटको विषय निकालेर पूर्ववडाध्यक्ष देउबहादुर गुरुङ नेतृत्वको समूहले आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको कुशवाहले बताए ।

‘भित्र बिरामी जाँच्दै थिएँ, शिविर भनेर किन पैसा लिएको भनेर बाहिर अर्को साथीसँग विवाद भइरहेको रहेछ, म बाहिर आएर बिरामी जाँच्न अप्ठ्यारो भयो भनेर कुरा राखेँ, यसै विषयमा ठूलो चर्काचर्की भयो,’ उनले भने, ‘यत्तिकैमा यहाँ बस्ने वातावरण भएन भन्ने लागेर वाइक चढ्दै थिएँ, नजिकै रहेका एक जनाले मुक्का प्रहार गरिहाले ।’

आफूमाथि अपशब्द प्रयोग भएको उनको आरोप छ । ‘एक त लोकल ठाउँ, फेरि सीसी क्यामेरा पनि थिएन, वाइक चढेर जानै लाग्दा नाकमा हान्नुभयो, दुई/तीन चोटि आक्रमण भएपछि मैले पनि हेलमेटले हानेको हुँ,’ उनले भने, ‘दुई जना स्टाफले छुट्याएर अल्ली माथि लानुभयो, मैले गाउँपालिकामा र प्रहरीमा खबर गरेँ ।’

प्रहरी, गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत, वडाध्यक्षसहित सोमबार नै स्वास्थ्य संस्थामा छलफल भएको थियो । ‘मैले पहिले हातपात गरेको थिइनँ, तर मेरो पक्षमा बोल्ने पब्लिक भएन, छलफलमा मलाई माफी मगाउन लगाइयो, माफी मागेर म फुत्किएँ,’ उनले भने ।

पूर्ववडाध्यक्ष गुरुङले विवादको सुरुवात गरेको उनको आरोप छ । ‘पूर्ववडाध्यक्षले हात छाड्नुभएको त होइन, उहाँसँगै रहेका अर्का व्यक्तिले पिट्नुभएको हो, उहाँलाई म चिन्दा पनि चिन्दिनँ,’ उनले भने ।

कुशवाहको दाहिने हात, नाक र कानमा चोट लागेको छ । पूर्ववडाध्यक्षसमेत रहेका गुरुङले भने डाक्टरबाटै पहिले हातपात भएको बताए । ‘मैले ताङ्लीचोक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीसँग बिरामीहरुलाई शिविर भनेर खबर पुगेछ, नियमित चेकजाँच भनेको भए टिकट लिएर आउनु हुन्थ्यो नि भनेर कुरा राख्दै थिएँ, उहाँ एक्कासि बाहिर आएर मलाई डिस्टर्ब भयो, उता गएर गफ गर्नुस्,’ उनले भने, ‘यही विषयमा विवाद हुँदै थियो, अब बिरामी जाँच्न सक्दिनँ भनेर बीचमै हिँड्न लाग्नुभयो, छलफल हुँदै थियो । उहाँले नै पहिले हेल्मेटले प्रहार गर्नुभएको हो, एक जनाको त भेस्ट पनि च्यातिएको छ, उहाँको बोली पनि राम्रो रहेन ।’ कुशवाहले सरोकार नै नभएको विषयमा बाहिर निक्लिएर विवाद सुरु गरेको उनको दाबी छ ।

गाउँपालिकाले संचालन गरेको घर/घरमा डक्टर कार्यक्रमअन्तर्गत वडा २ को ताङलीचोक स्वास्थ्य चौकीमा सेवा दिन पुगेका कुशवाहमाथि ड्युटीको समयमा हमला भएको मंगलबार मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले निकालेको विज्ञप्तीमा उल्लेख छ । मेडिकल अधिकृत कुटपिटको विरोधमा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले सेवा प्रवाह बन्द गरेका छन् । ‘जनतालाई सेवा दिने उद्देश्य राखी आफ्नो स्वास्थ्य संस्था छाडेर घर दैलोसम्म सेवा दिँदा पनि यसरी आक्रमण हुँदा संस्थाका कर्मचारी असुरक्षित महसुस गरेका छौं,’ विज्ञप्तीमा भनिएको छ । वातावरण सहज नभएसम्म र ज्यानको सुरक्षाको प्रत्याभूति नहुन्जेलसम्मका लागि स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने बिमा रिफर तथा अन्य सेवाहरु ठप्प रहने पनि विज्ञप्तीमा उल्लेख छ ।

आपसी छलफलबाटै विवादको समाधानको प्रयास भइरहेको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए । घटनाको प्रकृति हेर्दा दुवै तर्फबाट कुटपिट भएको पाइएको उनको भनाइ छ । ‘हिजो नै दुवै पक्षलाई राखेर समझदारीको प्रयास पनि गर्‍यौं,’ उनले भने, ‘दुवै पक्षले एकले अर्कालाई पहिले हातपात भएको भन्नुभएको थियो, पब्लिकले आफ्नो फेवरमा बोल्ने नै भयो, डक्टर साप पनि आवेगमा आउनुभएको बुझेका छौं ।’ सोमबार भीडभाड पनि बढी भएकाले सामसुम बनाएर विवाद समाधानको प्रयास भएको उनले बताए । ‘डक्टर साप आज काठमाडौं जानुभएको छ, उहासँग पनि छलफल गर्छौं, विवाद समाधानको प्रयासमै छौं,’ उनले भने ।


प्रकाशित : आश्विन १, २०८१ १६:२४
x
×