कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

डेंगी परीक्षणका लागि किट अभाव 

आश्विन १, २०८१
डेंगी परीक्षणका लागि किट अभाव 

बागलुङ — भदौ लागेदेखि यहाँको धौलागिरि अस्पतालमा दैनिक ५० देखि १ सय जनासम्म ज्वरोका बिरामी आइरहेका छन् । उनीहरूलाई अन्य समस्या भए पनि डेंगी परीक्षण अनिवार्य गरिएको छ ।

इमरेजेन्सीमा आएका ९० प्रतिशत बिरामीको डेंगी परीक्षण गरिएको अस्पतालकी सूचना अधिकारी शान्ति शर्माले बताइन् । केही दिनदेखि किट अभावले अस्पतालमा बिरामीको रगत परीक्षणमा समस्या थपिएको छ । अस्पतालले भदौ महिनामा मात्रै १ हजार ५ सय बढी किट खर्चेको छ । ती मध्येबाट ८१ जना डेंगीका बिरामी पत्ता लागेका थिए । त्यसबाहेक जिल्लाका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र र केही नगर अस्पताल समेतबाट गरी १ सय ७४ जना डेंगीका बिरामी भेटिएका थिए । उनीहरू उपचाररत छन् ।

अधिकांश बिरामीको डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र शरीर दुख्ने लक्षण भएकाहरू धेरै आउने गरेका छन् । जसका कारण शंकास्पद देखेर किट खर्च भइरहेको हो । त्यसो त अस्पतालले गत साता १ हजार किट आन्तरिक स्रोतबाट किनेको छ । दैनिक आउने बिरामीको संख्या हेर्दा त्यो पनि छिटै सकिने लक्षण देखिएको शर्माले जानकारी दिइन् । ‘अहिले देखिनै थप किटको व्यवस्थापन गर्नु परेको छ,’ शर्माले भनिन्, ‘त्यसका लागि प्रशासनिक पहल गरिदिन भनेका छौं ।’ उनले प्रमुख जिल्ला अधिकारी मार्फत समस्या सरकारसम्म लगिदिन आग्रह गरिन् ।

अस्पतालले गण्डकी प्रदेश सरकारमा पनि डेंगी परीक्षणको किट उपलब्ध गराउन माग गरेको छ । स्वास्थ्य कार्यालय बागलुङकी मलेरिया निरीक्षक कमला थापाले प्रादेशिक अस्पतालले प्रदेश सरकारबाटै माग्न सक्ने भएकोले ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र र नगर अस्पताललाई मात्र किट दिएको बताइन् ।

‘किट त स्वास्थ्य कार्यालयमा पनि अभाव छ, स्वास्थ्य संस्थामा अड्कलेर दिएका छौं,’ थापाले भनिन्, ‘सदरमुकाम भन्दा गलकोट र बडिगाडमा झन बढी संक्रमण छ ।’ किटलाई अत्यावश्यक अवस्थामा मात्र प्रयोग गर्न आग्रह समेत गरिन् ।

पछिल्लो समय बिद्यालय उमेरका बालबालिकामा पनि डेंगी समस्या बढी देखिएको छ । डेंगी देखिएका बालबालिकामा प्लेटिलेस समेत कम भएको बाल रोग बिशेषज्ञ डा. किरण तिवारीले बताए ।

‘सुरुवातमा प्राय सबैलाई डेंगी परीक्षण गरे पनि किट अभाव भएपछि एकसाता देखि गम्भीर भएका बिरामीको मात्रै परीक्षण गर्न थालेका छौं,’ उनले भने, ‘बालबालिकाको हकमा पहिलो प्राथमिकता दिएर अन्यलाई रोगको पहिचान नभएमा मात्रै डेंगी परीक्षण गरेका छौं ।’

उनले डेंगीसहित ज्वरो, रुघाखोकी र भाइरलका बिरामीले अस्पताल भरिएको बताए । धौलागिरि अस्पतालमा दैनिक ३ सय ५० देखि ४ सय बिरामी आउने गरेका छन् ।

प्रकाशित : आश्विन १, २०८१ १६:०८
x
×