कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

उड्न सकेन गिद्ध

आश्विन २, २०८१
उड्न सकेन गिद्ध

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गको मनाङ घुमेर फर्किने क्रममा भक्तपुरकी मनिषा थापाले भदौ ८ गते लमजुङ सीमा म्यार्दी क्षेत्रमा एउटा गिद्ध भेटिन् ।

उनले काठमाडौं फर्किने क्रममा लमजुङको मर्स्याङदी गाउँपालिका-३ खुदीमा रहेको प्रहरीलाई गिद्ध बुझाइन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र भेटिएकोले प्रहरीले नजिकै सिम्पानी बगैंचामा रहेको पर्यटक जाँच केन्द्रमा बुझायो ।

एक्यापका अनुसार हिमाली क्षेत्रमा पाइने यो गिद्ध हिमाली गिद्ध हो । यो कम चासो तर, दुर्लभ प्रजातिमा गनिन्छ । यसलाई अंग्रेजीमा हिमालयन भल्चर भनिन्छ । यसको वैज्ञानिक नाम जिप्स हिमालयनसिस हो । यो वयस्क नभइसकेको (बचेरा) रहेको एक्यापले बताएको छ ।

एक्यापका पर्यटन सहायक बालकृष्ण घलेका अनुसार उड्न नसक्ने अवस्थामा गुँडबाट खसेको हुनसक्छ । ‘केहीले यही क्षेत्रमा एउटा गिद्धा मरेको भनिरहेका छन्, यदि त्यसो हो भने त्यो गिद्ध यसको माउ हुन सक्छ,’ उनले भने ।

उनका अनुसार मर्स्याङ्दी गाउँपालिका पशु विकास शाखाका डाक्टरसहितका प्राविधिक तथा गिद्धको उपचार गराइरहेका चिकित्सकहरुसँगको परामर्शमा स्यहार गरिराखिएको छ । गिद्धलाई दैनिक आधा किलो कुखुराको मासु खुवाउने गरिएको छ ।

गिद्ध तंग्रिन थालेपछि आइतबार प्रहरी, एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति, स्थानीयको रोहबरमा प्राकृतिक बासास्थानमा लगेर छाडियो । ‘अलि तंग्रिएपछि उड्ला जस्तो भयो । हामीले नजिकै बगैंचाको जंगलमा छोड्यौं । भोलिपल्ट (सोमबार) बिहान हेर्न जाँदा त्यहीँ रहेछ । उड्न सकेन । असुरक्षाको महसुस गरी कार्यालयमै ल्यायौं । अहिले यसैको पालनपोषण र स्यहारमा लाग्नु परेको छ,’ उनले भने ।

एक्यापका वरिष्ठ रेन्जर वासुदेव न्यौपानले अहिले गिद्धको उमेर करिब २ महिना जतिको हुन सक्ने बताए । ‘यहाँ राखेर नै ३ साता कट्यो । यसले उड्ने प्राक्टिस नै पाएन, त्यसैले उड्न सकिरहेको छैन,’ उनले भने, ‘बुझ्दै जाँदा ३ महिनामा उड्नुपर्छ भन्छन् । अझै १ महिना राख्नुपर्ने होला ।’ उनका अनुसार सुरुमा राख्दा भन्दा अहिले ठूलो भएको छ । ‘सानैमा आमासँग छुट्टियो, उड्न सिकेन । आमा पनि मरेको भन्ने सुन्नमा आएको छ,’ उनले भने । उनले गिद्ध अनुमानित ४ किलो रहेको बताए ।

एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले माउसँग छुट्टिएको अवस्थामा, आत्तिएको अवस्थामा भेटिएको बताए । ‘यो गिद्ध चाइल्ड भल्चर रहेछ । हामीले ३ सातापछि प्राकृतिक बासास्थानमा छाड्यौं । तर, उडन सकेन । फेरी ल्याएर पालेका छौं ।’ उनका अनुसार १ महिना राखेमा उड्न सक्ने डाक्टरहरुको सुझाव छ । प्राकृतिक बासास्थानमै पठाउने या कहाँ पठाउने भन्नेबारे एक्यापको प्रधान कार्यालयसँग छलफल भइरहेको उनले बताए ।

मस्याङ्दी गाउँपालिका पशु विकास शाखा प्रमुख पशु चिकित्सक डा. अञ्जु गुरुङले गिद्धको स्वास्थ्य अवस्था राम्रो रहेको बताइन् । ‘उड्न नसक्ने अवस्थामा भएपछि बिरामी हो कि भन्ने पनि भयो । हेर्दै जाँदा सानै रहेछ, बच्चा नै रहेछ भन्ने बुझियो । हामीले औषधि उपचार गरायौं,’ उनले भनिन् । उनका अनुसार बाहिर छोड्दा पनि उड्न नसक्ने भएपछि अहिले एक्यापले पुनः कार्यालयमै ल्याएर राखेको छ । ‘सम्भवतः १ महिनामा उड्न सक्ला,’ उनले भनिन् ।

प्रकाशित : आश्विन २, २०८१ १०:०९
x
×