कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

'सोक पिट' को फोहोर तालमा बरिलै...

भाद्र २१, २०८१
'सोक पिट' को फोहोर तालमा बरिलै...

Highlights

  • ‘सोक पिट’ को फोहोर मोटरले तानेर फेवामा फ्यालिएको विषयमा कतै सुनुवाई नभएपछि तीज गीतबाट लेकसाइडका आमा समूहले विरोध गरेका हुन् ।

पोखरा — बेगनासबाट विहे गरेर बैदाम आएपछि ऋषिमाया पहारीलाई उनका सासुससुराले सुनाएका थिए, ‘हामीले फेवातालबाटै बोकेर पानी पिउँथ्यौं ।’ अहिले उनलाई तालको पानी पिएको घटना दन्त्य कथाजस्तो लाग्छ । 

जब ठूलो पानी पर्छ, तब लेकसाइडका होटल तथा रेस्टुरेन्टले ‘सोक पिट’ (भान्सा र बाथरुमबाट जम्मा हुने फोहोर पानी सोस्ने खाडल) मा मोटर जोड्छन् । सडकमा भल बग्न थाल्छ । सोक पिटको फोहोर मोटरले तानेर भलमा मिसाइन्छ । त्यही भल फेवाताल पुग्छ ।

यसरी मिसाइने ढलले बर्खाको बेला दूर्गन्ध बढ्दा लेकसाइडका स्थानीय आजित छन् । सोक पिटको फोहोर फेवामा मिसिँदा ताल पनि दूर्गन्धित बनेकोमा लेकसाइडका आमा समूहले शुक्रबार तीज गीत मार्फत चिन्ता व्यक्त गरे । सोक पिटबाट मोटरले फोहोर तानेर भलमा बगाएको गुनासो महानगरमा पटकपटक गरे पनि सुनुवाइ नभएको उनीहरुले बताए ।

फेवाताल किनार बाराहीघाटमा शुक्रबारदेखि तीज सांस्कृतिक महोत्सव चलिरहेको छ । आयोजक पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महोत्सवमा तीज गीत प्रतियोगिता पनि समावेश गरेको छ । प्रतियोगिताकै पहिलो सहभागीका रुपमा मञ्चमा लेकसाइडकै अन्नपूर्ण आमा समूहका कलाकारले आफ्ना प्रस्तुति राखे । उनीहरुले पोखरा पर्यटनको राजधानी घोषणा भए पनि त्यसअनुरुप काम नभएकोमा तीज गीतमार्फत खबरदारी गरे । पोखराको वर्णनसँगै अस्तव्यस्ततालाई उजागर गरे ।


गीतको शब्द आमा समूहकी कोषाध्यक्ष ऋषिमाया पहारीले उतारेकी थिइन् । प्रतियोगितामा सहभागी हुनकै लागि शुक्रबार उनी बेगनासबाट हतारमा बैदाम फर्किएकी थिइन् । गीतमा फेवातालको पानीको शुद्धतामाथि उनले प्रश्न उठाइन् ।

‘बाउबाजेले तालको पानी खान्थे अरे पहिले त,

सोक पिट जस्तै देखिन थाल्यो अहिले त,

साचो कुरा भन्दा पनि अझैं उल्टै रिसाउनी,

पानी पर्न नपाउँदै ढल मिसाउनी’

अहिले तालको पानीले नुहाउन पनि नसकिने उनले सुनाइन् । ‘होटल, रेस्टुरेन्ट ठूलो बनाउने तर सोक पिट सानो बनाउने गर्दा चाडै भरिँदो रहेछ,’ उनले भनिन्, ‘सफा गर्ने गाडी बोलाएर सोक पिट सफा गर्नुभन्दा मोटर लगाएर भलमा बगाइदिए खर्च जोगिन्छ भनेर यसो गर्छन् ।’

बैदामकै पुरानो हो, अन्नपूर्ण आमा समूह । २०४६ सालमै स्थापना भए पनि आधिकारिक रुपमा ०५२ मा दर्ता भयो । अध्यक्ष थिइन्, बद्रिका लामिछाने । अहिले रेनु लामिछाने आमा समूहकी अध्यक्ष छिन् ।

आमा समूहले बैदाममा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्छ । लेकसाइडका पर्यटनसँग सम्बन्धित संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन्छ । बर्खाको भलमा ढल मिसाएको विषय कतैबाट सुनुवाइ नभएपछि टेवानको तीज सांस्कृतिक महोत्सवमा गीतकै रुपमा प्रस्तुत गरेको समूहकी उपाध्यक्ष गोमा पंगेनीले बताइन् ।


बाराही टोल सुधार समितिकी अध्यक्ष समेत रहेकी उनले केही वर्ष पहिला त्यसरी मोटरले फोहोर तानेर भलमा मिसाउने होटलको फोटो नै खिचेर वडा कार्यालयमा बुझाउँदा पनि कारवाही नभएको बताइन् । ‘केही होटलले जरिवाना पनि तिरे तर फेरी उस्तै छ,’ उनले भने, ‘पानी पर्दा लेकसाइडका गल्ली गन्हाएर बसिसाध्य हुँदैन । महानगरमा पनि भन्यौं तर कतै सुनुवाई नभएपछि तीज गीतबाटै भन्नपर्छ भन्ने लाग्यो ।’

तीज गीतमा फेवाताल प्रदूषणको विषय मात्रै छैन, अतिक्रमण रोक्न पनि आग्रह गरिएको छ ।

‘यी नेताको बानीलाई कुन तुलोमा जोख्ने हो,

फेवातालको अतिक्रमण कहिले रोक्ने हो,

वर्षैपिच्छे फेवाताललाई कति बजेट आ’को छ,

थाहा छैन अहिलेसम्म कसले खा’को छ’

आमा समूहले हालसालै पोखरा पर्यटनको राजधानी घोषणा भए पनि त्यसअनुसार पर्यटक नआउँदा व्यवसायमा पनि संकट पैदा भएको विषय जोडे । अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुको कारण गीतमार्फत खोजे ।

‘पर्यटकको व्यवस्थालाई ठूलै बने घर पनि,

सबैं बैंकले खान्छ कि लाग्छ डर पनि,

जुनै नेता आए पनि देशको बत्ति बलेन

अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन ?’

तीज गीतमै उनीहरुले सत्ताको छिनाझपटि, राजनीतिक दलभित्रै हुने गुटबन्दीमाथि पनि व्यंग्य कसे ।

‘कुन नेताले के गरेछन् सबको काम हेरियो,

छ महिनामा सरकार किन फेरियो,

पालोपालो मन्त्री हुने दाउपेचमा लाका छन्,

जनतालाई झुक्याएर भत्ता खाका छन्

यो पार्टी र त्यो पार्टी भन्दै लाउँछन् दोषदोष

आफ्नै पार्टी भित्र पनि कुर्ची खोसाखोस’

टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कलालाई पर्यटनसँग जोड्न गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिरहेको बताइन् । शनिबारसम्म चल्ने महोत्सवमा सांस्कृतिक तीज गीत प्रतियोगितासँगै खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् ।

शनिबार तीजको सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा संवाद हुने छ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपा नेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहने छन् ।

कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका २२ टोली सहभागी छन् । पर्यटन प्रवर्द्धन र महिला उद्यमशीलताका विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गरेका छन् । प्रतियोगितामा पहिलो हुने टोलीले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार र सान्त्वना १० टोलीले ५/५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताइन् ।

प्रकाशित : भाद्र २१, २०८१ २१:१०
x
×