कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

'जिरो वेस्ट' अभियानमा बागलुङ नगर

भाद्र २२, २०८१
'जिरो वेस्ट' अभियानमा बागलुङ नगर

बागलुङ — बागलुङ नगरपालिकाले तीन तहका फोहोर संकलन गरेर ‘जिरो वेस्ट’ अर्थात सबै फोहोरको उचित सदुपयोग गर्ने अभियान थालेको छ । डेढ दशकदेखि नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएको थियो । यो अभियान चलाउने भएपछि नगरपालिकाले यसअघिको सबै फोहोर माटोमा पुरेर डम्पिङ साइटलाई खाली बनाएको छ ।

उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने र सीसाजन्य लगायतका खतरा फोहोरको व्यवस्थापन गर्न लागेको हो । नगरपालिकाले चालु वर्ष १ करोड रुपैयाँ खर्चेर उक्त परियोजना संचालनमा ल्याएको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

उक्त रकमबाट हाल फोहोर व्यवस्थापनका लागि संरचना निर्माण र व्यवस्थापन गरिनेछ । त्यसपछि कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने, नकुहिने फोहोर संकलन गरेर बिक्री गर्ने व्यवस्थापन मिलाइएको हो । अस्पताल जन्य फोहोर, सीसा समेतलाई शून्य बनाउने कोरियाली प्रविधिको मेसिन भित्राउने लक्ष्य समेत राखेको नगरप्रमुख श्रेष्ठले बताए ।

‘अब हरेक घरमा ३ वटा बाल्टी दिइने छ, कुहिने, नकुहिने र सीसाजन्य वस्तु त्यसमा संकलन हुनेछ,’ श्रेष्ठले भने, ‘हरेक दिन तीन थरी फोहोरलाई छुट्टाछुट्टै गाडीले संकलन गरेर व्यवस्थापन पनि गरिने छ ।’ त्यसका लागि नगरपालिकाले वितरण गर्ने रातो, निलो र हरियो बाल्टी जस्तै फोहोर संकलन गर्ने गाडी पनि तीन रंगको बनाउन लागेको हो ।

सडक छेवैको डम्पिङले दुर्गन्ध फैलिँदा स्थानीयले सास्ती खेपेका थिए । अब भने दैनिक फोहोरको व्यवस्थापन भएपछि डम्पिङ साइटमा दुर्गन्धरहित हुनेछ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकोले नगरपालिकाले तीनवटै फोहोर संकलन गर्ने स्थानमा पनि भूइँ ढलान गरेर जस्तापताले छाउने तयारी छ ।

२०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । वडा १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको फोहोरको डंगुर पनि खाली गराइएको हो । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने प्लाष्टिक जन्यलाई पुन प्रयोगमा पठाउने र अन्य फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो ।

कोरियाको वातावरण विभाग अर्न्तगतको ‘एएलके इसीओ’ कम्पनीसँग पनि नगरपालिकाले प्रारम्भिक सम्झौता गरिसकेको छ । मेसिनमा फोहोर जलाउँदा मासिक २० देखि ३० युनिट बिजुली मात्रै खर्च हुने र धुँवारहित हुने बताइएको छ । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्दा ३ वर्ष निशुल्क सर्भिस दिने र प्राविधिक कोरिया पठाएर मेसिन चलाउने तालिम समेत दिनेछ ।

केही समय कोरियाका प्राविधिकले फिल्डमै आएर मेसिन चलाउने तालिम समेत दिनेछन् । दैनिक १ टन प्लाष्टिक जन्य वस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टन सम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँसम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् । हाल थुपारिएको फोहोरमाथी माटो राखेपछि दुबो रोपेर हरियाली पार्क बनाउने योजना पनि नगरपालिकाको छ । त्यसपछि कुनै दुर्गन्ध नआउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए ।

प्रकाशित : भाद्र २२, २०८१ १६:०३
×