कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

‘न्याय’ दिने त्यो ताउलो

भाद्र २९, २०८१
‘न्याय’ दिने त्यो ताउलो

Highlights

  • रीतिथिति व्यवस्थापन समितिको ‘भदौ सभा’ सम्पन्न

लमजुङ — गाउँको बीचमा ठाँटी छ, जहाँ गन्यमान्य बसेका छन् । बीचमा एउटा टेबुलमाथि तामाको ताउलोभित्र खुकुरी र पाती राखिएको छ । घरमूलीहरू पालैपालो आउँदै त्यही ताउलो अघिल्तिर उभिन्छन् । गन्यमान्यले पालैपालो राखेको जिज्ञासाको जवाफ दिन्छन् । अन्तिममा सबैले ताउलो छुँदै भन्छन्, ‘यसभन्दा बढी गल्ती भए–गरेमा मलाई पाप लागोस्, नगरेमा मेरो जय–जय होस् ।’

२ हजार बढी जनसंख्या भएको क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा ३ सय ६० बढी घर–परिवार बस्छन् । गन्यमान्यबाट प्रत्येक घरमुलीको नाम बोलावट भएपछि उनीहरू पालैपालो ठाँटीमा आएर त्यसरी नै सोधेका प्रश्नको जवाफ दिन्छन् । गत वर्ष बनाइएका नीतिनियम उल्लंघन गरे–नगरेको स्वघोषणा गर्छन् । उल्लंघन गरे तोकिएबमोजिम जरिवाना बुझाउँछन् । त्यसपछि पाती र खुकुरी राखिएको ताउलो छोएर कसम खान्छन् । त्यसो गर्दा आफूहरूले अदालतको कठघरामा उभिएर बयान दिइरहेको महसुस हुने उनीहरू बताउँछन् ।

भुजुङमा यसअघिको मुखिया प्रथालाई हटाउँदै २०५४ देखि रीतिथिति व्यवस्थापन समिति बनाइएको थियो । यस समितिले हरेक वर्ष भदौ अन्तिम साता ‘भदौ सभा’ गर्दै आएको छ ।

२०४३ को निर्वाचनमा उपप्रधानपञ्च बनेका कालबहादुर गुरुङ अहिले यहाँको रीतिथिति व्यवस्थापन समितिको अध्यक्ष छन् । उनको निर्देशन अनुसार सभा सञ्चालन हुँदै आएको छ । सभा सञ्चालनका लागि गुरुङ पुरोहितसँग दिन हेराइन्छ । पुरोहित अड्कजंग गुरुङले सुझाएको दिन अनुसार भदौ २४ देखि यस वर्षको भदौ सभा सुरु भएको थियो । भदौ २६ सम्मका लागि तोकिएको सभा एक दिन लम्बियो र भदौ २७ मा सम्पन्न भएको छ । अध्यक्ष गुरुङका अनुसार यस वर्ष गाउँले सबैले सक्रिय सहभागिता जनाए । सभामा सहभागी नहुनेले जरिवाना तिर्नुपर्छ । घरमा पुरुष नभएका, पुरुष विदेश रहेका, विशेष कारणले उपस्थित हुन नसक्ने अवस्थामा महिला पनि सभामा उपस्थित हुन्छन् । महिलाले भने तामाको भाँडा छोएर कसम खानु पर्दैन । भुजुङमा आयोजित भदौ सभा ।

‘सभामा हामी वकिलजस्तै हौं । तामाको ताउलो न्यायाधीशजस्तै हो । न्यायाधीशले फैसला गर्छ । ताउलो छोएर झूट बोलेमा पाप लाग्छ, फलिफाप हुँदैन, पुस्तौंसम्म पिर्छ भन्ने मान्यता छ,’ रीतिथिति व्यवस्थापन समिति अध्यक्ष गुरुङले भने । ताउलो छोएर झूट बोलेमा कालान्तरसम्म ‘पोल्ने’ दाबी उनको छ ।

‘भदौ सभा’मार्फत भुजुङबासीले चालु वर्षका लागि नियम पनि बनाएका छन् । पुराना केही नियमलाई संशोधन गरेका छन् । उपाध्यक्ष फटकबहादुर गुरुङका अनुसार सभामा गत वर्ष निर्माण गरिएका नियमको समीक्षा गर्दै चालु वर्षका लागि नीति नियम बनाएर सर्वसम्मत पारित गरिएको हो । सभामा हरेक घरका घरमुली साधारण सदस्य हुन्छन् । सभाको पहिलो दिन गत वर्ष निर्माण गरिएका नियमको समीक्षा गरिएको छ । पहिलो दिन साथै दोस्रो र तेस्रो दिन गाउँका १० वटै टोलका घरमुलीले स्वतःस्फूर्त आफू र परिवारका तर्फबाट गत वर्ष लागू गरिएका नियम उल्लंघन गरेको अवस्थामा जरिवाना तिरेका छन् । उनीहरूले थप नियम उल्लंघन नगरेको भन्दै खुकुरी र पाती राखेको ताउलो छोएर कसम खाएका छन् । यसलाई यहाँ ‘धर्म समात्ने’ भनिन्छ ।

तेस्रो दिन चालु वर्षमा लागू गर्ने नयाँ नियमका लागि हरेक टोललाई प्रस्ताव गर्न आह्वान गरिएको थियो । उक्त प्रस्तावमाथि छलफल गरी सभाको अन्तिम तथा चौथो दिन बिहीबार बाँकी छुटफुटले धर्म समात्दै चालु वर्षमा लागू गरिने प्रस्तावित नियममाथि छलफलसहित निर्णय पारित गरे । सभाले नियमको उल्लंघन, बारबन्देज तथा दैनिक उपभोग्य तथा खाद्यवस्तुको मूल्य निर्धारण गरेको छ ।

अध्यक्ष गुरुङका अनुसार सामाजिक, आर्थिक तथा सांस्कृतिक मूल्य मान्यतालाई एकरूपता ल्याउन, गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न हरेक वर्ष भदौ सभा गरिन्छ । वर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयमा भदौ महिनामा सभा गरिने भएको हुँदा यसलाई भदौ सभा भनिएको उनले बताए ।

समितिका सचिव दिलबहादुर गुरुङका अनुसार सभामा उपस्थितले गत वर्षदेखि पाप नगरेको, वर्षभर आफू र परिवारले नियम उल्लंघन नगरेको, कसैमाथि नराम्रो नसोचेको, अधर्म नगरेको, नराम्रो काम नगरेको भनी खुकुरी र पाती राखिएको ताउलो छोएर कसम खाए । नियम नमान्ने र जरिवानासमेत नतिर्नेलाई गाउँसमाजबाट हुने सबैखाले सहयोग बन्द गरिन्छ । समितिका उपाध्यक्ष फटकबहादुर गुरुङले सभामा वर्षभरि छिन्न नसकेका मुद्दासमेत छिन्ने काम हुन्छ । लमजुङको पर्यटकीय भुजुङ गाउँ, जहाँ ३३ घरमा होमस्टे सञ्चालित छ ।

‘सभाले बनाएको कानुन गाउँभित्र लागू हुन्छ । बाहिरी मानिस गाउँ पस्नासाथ यो नियमभित्र बस्नुपर्छ,’ उनले भने । समितिका सल्लाहकार संयोजक समेत रहेका वडाअध्यक्ष नारायण गुरुङले ‘भदौ सभा’ गाउँलेको नितान्त आन्तरिक मामिला भएको बताए । ‘परम्परागत मूल्य–मान्यता, संस्कार–संस्कृति, चालचलनलाई मध्यनजर गरेर ‘भदौ सभा’मा नियम बनाइन्छ,’ वडाअध्यक्ष गुरुङले भने, ‘सरकारले निर्माण गरेका नियम तथा कानुनसँग सकेसम्म नबाझिने गरी गाउँलाई एकताबद्ध राख्न र आन्तरिक रूपमा गाउँ सञ्चालन गर्न सभा गर्ने गरिएको हो ।’ उनका अनुसार सभाका लागि समितिले आफैं कार्यविधि बनाएको छ ।

यस वर्षका लागि भदौ सभाले दैनिक उपभोग्य वस्तुको मूल्यमा पनि फेरबदल गरेको छ । लोकल कुखुरा गत वर्ष प्रतिशेर २ सय रुपैयाँ रहेकामा यस वर्ष ३ सय रुपैयाँ कायम गरिएको छ । ८ शेर बराबर १ धार्नी (साढे २ किलो) हुन्छ ।

गत वर्ष स्थानीय मदिरा प्रतिबोतल १ सय रुपैयाँ रहेकामा यस वर्ष पनि त्यति नै मूल्य कायम गरिएको छ । यस्तै, राँगाको मासु प्रतिधार्नी ६ सय रुपैयाँ रहेकामा यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको छ । खसीको मासु यसअघि १ हजार १ सय रुपैयाँ प्रतिधार्नी रहेकामा आगामी वर्षका लागि १ हजार २ सय रुपैयाँ तोकिएको छ । ज्यालादारीमा काम गर्नेका लागि दक्ष कामदारका लागि दैनिक ६ सय ५० रुपैयाँ, अर्धदक्षका लागि ६ सय, ढुंगामाटो बोक्नेका लागि ५ सय, गोरुसहित जोत्नेका लागि १ हजार, असारे पर्म खाजासहित ५ सय, हिउँदे पर्म ५ सय रुपैयाँ कायम गरिएको छ ।

यसै गरी धान, मकै, कोदो प्रतिपाथी २ सय ५० रुपैयाँ रहेको छ । घ्यु प्रतिमाना (कुरुवा) ६ सय रुपैयाँ, स्याखु राम्रो १ हजार ५ सय, स्याखु नछाएको १ हजार, नाम्लोसहित डोको ८ सय, थुन्से ९ सय, मान्द्रो प्रतिहात ४ सय रुपैयाँ कायम रहेको छ । मर्दापर्दा घ्याब्रेलाई फेटा ५ हजार रहेकामा यस वर्ष ८ हजार रुपैयाँ कायम गरिएको छ । यस्तै पच्युको ४ हजार रहेकामा ६ हजार पुर्‍याइएको रीतिथिति व्यवस्थापन समितिले जनाएको छ ।

‘भदौ सभा’ सञ्चालनका लागि गठन हुने समितिमा टोलबाट छनोट भएका प्रतिनिधि, मनोनीत प्रतिनिधि, आमा समूह, युवा क्लबका प्रतिनिधिका साथै वडा सदस्यहरू पदेन रहने गरी २५ जना चुनिएर आएका हुन्छन् । तिनै चुनिएर आएका प्रतिनिधिबाट अध्यक्षसहित पदाधिकारी र सदस्य निर्वाचित हुन्छन् । यसमा पदेन सदस्य रहेका आमा समूह, युवा क्लबका प्रतिनिधिका साथै वडा सदस्यहरू पदाधिकारीमा बस्न पाउँदैनन् ।

हरेक ५ वर्षमा हुने अधिवेशन अन्तर्गत समितिको निर्वाचनमार्फत यस वर्ष पुनः अध्यक्षमा कालबहादुर गुरुङ, उपाध्यक्षमा फटकबहादुर गुरुङ र सचिवमा दिलबहादुर गुरुङ दोहोरिएका हुन् । कोषाध्यक्षमा चारबहादुर गुरुङ, सहसचिव पित्रमान गुरुङसहित सदस्यहरू निर्वाचित भएका छन् । समितिको सल्लाहकार संयोजकमा वडाअध्यक्ष नारायण गुरुङका साथै सदस्यमा खिमबहादुर गुरुङ र बृजबहादुर गुरुङ चुनिएका छन् ।

प्रकाशित : भाद्र ३१, २०८१ १९:१०
x
×