कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नगर अस्पतालले उपचारमा सहज

प्रकाश बराल

बागलुङ — यहाँको गलकोट नगरपालिका गठन भएको आठ वर्ष भयो । गाउँका बजार मिलाएर बनेको नगरपालिकामा दुई वर्षअघि नगर अस्पताल संचालनमा आएको छ ।नामाकरण ४ वर्षअघि भए पनि दुई जना डाक्टरसहित स्वास्थ्यकर्मी राखेर अस्पताल संचालनमा आएको दोस्रो वर्षमा ३० हजार जनाले उपचार गराएका छन् ।

नगर अस्पतालले उपचारमा सहज

आर्थिक बर्ष २०८०/०८१ मा मात्रै ३० हजार १ सय बिरामीले उपचार गरेको अस्पताल प्रमुख डा. राजेश पौडेलले बताए ।

अस्पताल संचालनको पहिलो वर्ष यहाँ झण्ढै १० हजार हाराहारीले उपचार लिएका थिए । यहाँ भिडियो एक्सरे, ल्याब, ओपिडी, सुरक्षित सुत्केरी सेवा, पोष्टमार्टमलगायतको सेवा संचालनमा आएपछि सेवाग्राही बढेका हुन् । यहाँ एमजिडिपीसहित दुई डाक्टरको व्यवस्था गरिएपछि स्थानीयले गलकोटमै उपचार सेवा पाएका हुन् । घरछेवैमा उपचार पाउँदा अस्पतालमा सयौं बिरामी आउने गरेका हुन् ।

सदरमुकामको धौलागिरि अस्पताल पछि यो नगर अस्पतालमा धेरै बिरामीको उपचार हुने गरेको हो । अस्पतालले सेवा प्रवाहमा डिजिटल प्रविधिको थालनी समेत गरिसकेको छ । अस्पतालमा उपचारसेवा गुणस्तरीय भएकोले गलकोट नगरसहित ताराखोला, बडिगाड, ढोरपाटन, निसीखोला र तमानलगायत छिमेकी गुल्मीको मुसिकोटका बासिन्दा पनि सेवा लिने गरेका छन् ।

अस्पतालका अनुसार एक वर्षमा यहाँका १२ हजार १ सय ३३ जनाले ल्याब सेवा पाएका छन् । ४ हजार ५८ जनाले एक्सरे, १ सय ८५ जनाले दन्त सेवा, १ सय १ जनाले निशुल्क एम्बुलेन्स र १ हजार ५५ जनाले बिपन्न उपचार सेवा पाएका थिए ।

अस्पतालले हरेक दिन आउने बिरामीको रोगको प्रकृति समेत देखिने गरी डिजिटल बिधि पनि अपनाएको छ । टिकट काट्ने बित्तिकै बिरामीको विवरण र रोगको प्रकृति अनलाइनमा प्रविष्ट गरिन्छ । नगरपालिकाले पनि सबै वडाका स्वास्थ्य चौकीबाट अनलाइन डाटा संकलन गर्छ । यसरी संकलित डाटा नगरले अद्यावधिक गर्दा तथ्यांक संकलन सहज भएको छ । त्यसबाहेक औषधिको व्यवस्थापनलाई पनि चुस्त बनाउन सकिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।

यहाँ औषधि बिक्री तथा टिकट शुल्क पनि अनलाइन बिलबाट तिरिन्छ । धौलागिरि अस्पतालले समेत गर्न नसकेको पद्दति गलकोट नगरअस्पतालले सुरु गरेको हो । यो पद्दतिले काम छिटो, पारदर्शी र व्यवस्थित बनेको नगर स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले बताए ।

भिडियो एक्सरे, सुरक्षित सुत्केरी सेवा, एम्बुलेन्स सेवा, आँखा उपचार, इमरजेन्सीसहित १५ शय्याको व्यवस्थापन भएपछि अस्पतालमा बिरामी आउने क्रम पनि बढेको हो । सामान्य समस्या पर्दा सदरमुकाम धाउनुपर्नेहरुले नगर अस्पतालबाट सेवा सहजै लिन सकेको बताए । ‘सानो समस्या पर्नासाथ सदरमुकाम जानुपर्थ्यो,’ गलकोट–५ का तुलसी निउरेले भने, ‘अब त घरछेवैमा सुबिधा सम्पन्न अस्पताल बनेको सजिलो भयो ।’ निजी क्लिनिकमा जानुपर्ने बाध्यता भएकाहरु पनि अस्पतालबाट सेवा पाएकोमा खुसी छन् ।

नियमित डाक्टर बस्दा यहा पोष्टमार्टम सेवाबाट धेरैले राहत पाएका छन् । अस्पतालको तथ्यांकमा गत आर्थिक बर्ष मात्रै यहाँ २७ वटा पोष्टमार्टम भएका हुन् । पोष्टमार्टमकालागि सदरमुकाम जानुपर्दा ५० हजार बढी खर्च लाग्ने बाध्यता हटेको हो । नगरपालिकाले मध्यपहाडी लोकमार्गको हटियाबजारदेखि अस्पतालसम्मको ५ किमी सडक स्तरीय बनाएको छ ।

एमडिजीपी डाक्टर राजेश पौडेलले अस्पतालमा अपरेशन सेवा पनि संचालनको तयारी गरेको बताए । नगरपालिका र जापानमा बस्ने गलकोटबासीले लाखौं सहयोग गरेपछि आवश्यक उपकरणले अस्पतालको सेवा पनि चुस्त भएको हो ।

प्रकाशित : श्रावण १०, २०८१ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×