कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

मातृभाषा संरक्षणका लागि मगर भाषा प्रशिक्षण

सम्झना रसाइली

तनहुँ — मगर समुदायको बहुल्यता रहेको तनहुँमा मगरहरुको मातृ भाषाको बोलीचाली हराउँदै गएको छ । आयातीत संस्कृतिको प्रभावका कारण मगर समुदायको परम्परागत संस्कार संस्कृतिसंगै बोलीचालीको भाषा समेत हराउँदै गएको छ । 

मातृभाषा संरक्षणका लागि मगर भाषा प्रशिक्षण

मगर समुदायको मातृभाषालाई संरक्षणका साथै नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले जिल्लाको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा मगर भाषा सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । पुरक पाठ्यक्रममा मगर समुदायको मातृ भाषा समावेश गरी क्याम्पसले प्रशिक्षण सुरु गरेको हो ।

१८ जना क्याम्पसका विद्यार्थी र १२ जना समुदायका गरी ३० जना मगर समुदायका युवायुवतीलाई प्रशिक्षणमा सहभागी गराइएको छ । मगर भाषा बोल्न र सिक्न इच्छुक भएकाले प्रशिक्षणमा सहभागी भएको भानु नगरपालिका–६ गैराथोककी १९ वर्षीया बिनिता थापा बताउँछिन् । ‘मगर समुदायमा जन्मिए, हुर्किएपनि मगर भाषा नबुझ्दा र बोल्न नआउदा म आफुलाई एक्लो महशुस गर्दथे’, उनले भनिन्, ‘अहिले मगर भाषामा सामान्य कुराकानी गर्न सक्ने भएकी छु ।’

गैराथोकका ३३ घरपरिवार मगर समुदायको भएपनि बोलीचालीमा मगर भाषाको प्रयोग नहुने उनले बताइन् । उनले भनिन्, ‘बुहारीहरुले मगर भाषामा बोल्ने गर्थे । उनीहरुले गरेको कुराकानी नबुझेर घरमा आएर हजुरआमालाई सोध्ने गर्दथे । अब त यो प्रशिक्षण लिएपछि म पनि उनीहरुसंग मगर भाषामै कुरा गर्ने सक्ने हुन्छु होला ।’

यस्तै, प्रमाणपत्रका लागि भाषा पढ्न आएको चौकुने गाउँपालिका–१ सुर्खेतका ५७ वर्षीय मनबहादुर बगाले मगर बताउँछन् । ‘आधैभन्दा बढि मगर समुदायले आफ्नो भाषा बुझ्दैनन् र बोल्दैनन् । अहिलेका युवा पुस्तालाई मातृ भाषा हस्तान्तरण गर्नुपर्छ र मगर भाषा जोगानपर्छ भन्ने अभियानमा छु’, उनले भने, ‘यहि अभियानकै क्रममा दमौलीका केही साथीहरुसंग चिनजान बढेको थियो । उनीहरुमार्फत यहाँ मगर भाषाको पढाई हुँदै छ भन्ने थाहा पाएर पढ्न आएको हुँ ।’

स्थानीय सरकारले विभिन्न भाषा संरक्षणका लागि बजेट छुट्याउने गरेको र यससम्बन्धी कार्यक्रम हुन नसकेको बताउँदै उनले भने, ‘यहाँ सिकेको ज्ञानको म आफ्नो ठाउँका मगर समुदायलाई भाषा सिकाएर प्रयोग गर्नेछु ।’

यस्तै मगरहरुको अख्खालिपी नआउने हुँदा सोही अख्खालिपीको बारेमा जान्न आएको व्यास नगरपालिका–१ की २५ वर्षीया विनिता थापामगरले बताइन् । उनले भनिन्, ‘भाषाबाटै संस्कृति जोडिएको र भाषा जानेपछि आफै अन्य संस्कार संस्कृतिमा पनि चासो बढ्दै जान्छ । त्यसैले हामीले हाम्रो भाषाको जगेर्न गर्नुपर्छ ।’

पुरक पाठ्यक्रमको प्रशिक्षण क्याम्पसले गत आइतबारबाट सञ्चालन गरेको छ । यो प्रशिक्षण ४८ घण्टा सञ्चालन हुने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । उनका अनुसार छ जना मगर भाषाका विज्ञहरूले प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका छन् । उनले भने, ‘तनहुँको सबैभन्दा बढी जनसंख्या भएको मगर जातिको भाषा, संस्कार, संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउन पुरक पाठ्यक्रम निर्माण गरी प्रशिक्षण गरिएको छ । उनीहरुलाई पहिलो, दोस्रो र एड्भान्स गरी तीन चरणमा प्रशिक्षण सञ्चालन गरिने छ ।’

मगरभाषा सिकाउने नेपालमै पहिलो क्याम्पस रहेको उनले दाबी गरे । मगर भाषा मात्रै नभई कलेजले गुरुङ, बोटे, दरै भाषाको पनि पुरक पाठ्यक्रम दिने तयारी गरेको उनले बताएका छन् । क्याम्पसले आदिवासी जनजाति भाषा तथा संस्कृति सम्बर्द्धन एवं विकास समिति गठन गरी यो कार्यक्रमको व्यवस्थापन गरेको बताएको छ । प्रशिक्षणको सम्पूर्ण खर्च क्याम्पसले व्यवस्थापन गरेको छ । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सहभागी हुन पाउने क्याम्पसले जनाएको छ ।

करिब ३ हजार १ सय जना विद्यार्थी रहेको उक्त क्याम्पसमा ९ सय जना मगर समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित : श्रावण ११, २०८१ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×