कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सहकारी ठगी छानबिन गर्न सहमति : प्रधानमन्त्रीलाई संसद्‌बाट विश्वासको मत लिन सहज

गंगा बीसी

काठमाडौँ — विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिनामाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्बाट विश्वासको मत लिन सहज वातावरण बनेको छ । संसदीय समिति बनाउनेबारे सत्तपक्ष र प्रमुख प्रतिपक्षबीच विवादले संसद् अवरुद्ध भएपछि दाहालले विश्वासको मत लिन अन्योल भएको थियो ।

सहकारी ठगी छानबिन गर्न सहमति : प्रधानमन्त्रीलाई संसद्‌बाट विश्वासको मत लिन सहज

दाहालले विश्वासको मत लिएपछि जेठ १ मा संसद्‌मा प्रस्तुत हुने सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बाटो खुल्ने छ ।

सरकारको नीति तथा कार्यक्रम पारित भएपछि संसद्‌मा जेठ १५ गते आगामी वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्नुपर्छ । सहकारीको रकम हिनामिनामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संलग्न भएको विषयमा कांग्रेसले उनीमाथि छानबिन समिति गठनको माग गर्दै एक महिनाभन्दा अघिदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा जेठ १ को पहिलो बैठक चले पनि उनलाई धन्यवाद दिन बसेको बैठक अवरुद्ध गरिएको थियो । बिहीबार संसद्‌ बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष सांसदबीच धकेलाधकेल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल संसद् खुलाउन सक्रिय भएका थिए । उनी सक्रिय हुनुको मुख्य कारण थियो, जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनु । सरकार अल्पमतमा नपरे पनि उनले सुविधाजनक बहुमत भएको पुष्टि गर्न सोमबार विश्वासको मत लिने कार्यतालिका छ ।

माओवादी सचिव एवं संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले संसद्‌को गतिरोध अन्त्य गरी प्रधानमन्त्रीले विश्वासको मत लिन सहज वातावरण बन्न लागेको बताए । ‘संकटग्रस्त सहकारीमाथि छानबिन गर्ने सहमति भएपछि सत्तापक्ष र प्रतिपक्ष ‘विन विन’ अवस्थामा पुग्छन्,’ उनले भने, ‘त्यसपछि संसद्‌बाट प्रधानमन्त्रीज्यूले विश्वासको वातावरण बन्छ । त्यसका साथै सरकारको नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याउने तयारी हुन्छ ।’

हाल सरकारको पक्षमा एमाले ७८, माओवादी ३२, रास्वपा २१, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी ७ र नागरिक उन्मुक्ति पार्टी ५ गरी १५३ सांसद छन् । सरकारलाई आवश्यक बहुमत संख्या १३८ हो ।

कांग्रेसले सहकारीमा भएको ठगीको विषयलाई लिएर गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न समिति गठनको मागलाई चर्काउँदै सत्तारुढ दलमाथि दबाब सृजना गर्‍यो । सरकारको नीति तथा कार्यक्रम र बजेटको मुखमा लगातार संसद् अवरुद्ध भएपछि सरकार दबाबमा पर्‍यो । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले सत्ता समीकरणलाई असर गर्ने गरी छानबिन समिति बनाउन नमानेपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच द्वन्द्व बढेको थियो । लामिछानेको नामै तोकेर विगतमा संलग्न सहकारीमाथि छानबिन गरे सरकार नै संकटमा पर्ने आभास पाएपछि प्रधानमन्त्री दाहाल मध्यमार्गी समाधानको खोजीमा लागेका थिए ।

कांग्रेससित गठबन्धन भत्काएर फागुन तेस्रो साता एमाले र रास्वपासँग मिलेर समीकरण बनाएका दाहाल हरहालतमा रास्वपालाई बिच्काउने पक्षमा छैनन् । अर्को समीकरण बनाउन सक्रिय भएपछि जसपा विभाजन गरी अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट बाहिर जान बाध्य पारेका सत्तारुढ दलहरु सरकार लामो समय टिकाउने कसरतमै लागेका छन् । यद्यपि दाहाल र एमाले अध्यक्ष ओलीसँग सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट छन् । एकीकृत समाजवादी सरकारलाई विश्वासको मत दिने पक्षमा भए पनि नेपाल खुलेर सरकारको समर्थन गर्न सक्ने अवस्थामा छैनन् । बेलाबेला उनले सरकारको भविष्यमाथि आशंका गर्दै आएका छन् । तर प्रधानमन्त्री दाहालले सोमबार चौथोपटक विश्वासको मत पाउनेमा भने ढुक्क छन् ।

उनले शनिबार आफ्नो सरकारले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । शनिबार माओवादी पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले जेठ ७ गते आफूले चाौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै आगामी दिनमा पनि विश्वासको मत लिन सक्ने आशंका गरे । एकीकृत समाजवादी सरकारबाट बाहिरिन सक्नेतर्फ संकेत गर्दै उनले फेरि पनि विश्वासको मत लिन तयार भएको बताए ।

‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौंथो पटक लिनु परेकोले पाँचौं, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ,’ उनले ढुक्कसाथ भने, ‘तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ ।’

त्यही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको टिप्पणी गर्दै आगामी राजनीतिक कोर्स अनिश्चित भएको बताए । उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको गुनासो गरे ।

‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्तै व्यस्त हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा उहाँभन्दा बढी व्यस्त कोही पनि छँदै छैन होला । हामी त खाली तमासा हेरेर बस्ने मान्छे हो । हामी यी सबै घटनालाई नियालिरहेका छौं । अवलोकन गरिरहेका छौं । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो ?,’ नेपालको टिप्पणी थियो, ‘हामी चाहन्छौं । यो देशमा स्थायित्व कायम होस् र वामपन्थीहरुको कम्युनिष्टहरुबीचको एकता र समझदारी नयाँ उचाईमा पुगोस् ।’

प्रकाशित : जेष्ठ ५, २०८१ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×