कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

डम्बरसिं राई

खोटाङ — जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफीसम्बन्धी १० दिने आधारभूत तथा क्षमता विकास तालिम दिन थालिएको छ ।

पत्रकारलाई भिडियो र फोटोग्राफी तालिम

घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा एभरेष्ट फिल्म एकेडेमी काठमाडौंको प्राविधिक सहयोगमा हिमालय इन्स्टिच्युट दिक्तेल खोटाङले शनिबारदेखि फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरेको हो । प्रविधिको विकाससँगै पत्रकारलाई समयानुकूल दक्ष र आत्मनिर्भर बनाउन फोटो तथा भिडियोग्राफी तालिम आयोजना गरिएको आयोजक हिमालय इन्स्टिच्युटका सञ्चालक अजय बस्नेतले बताए । तालिममा जिल्लास्थित फोटो स्टुडियो व्यवसायीलाई पनि सहभागी गराइएको छ । ‘जिल्लाका सीप तथा तालिमको अभावमा युवापुस्ता विदेशिनु पर्ने बाध्यता छ, हामीले जिल्लाका हरेक युवालाई प्रविधिमैत्री बनाउँदै आफ्नै ठाउँमा बसेर व्यावसायिक काम गर्ने वातावरण सिर्जना गर्न विगत ४ वर्षदेखि तालिम आयोजना गर्दै आएका छौं,’ बस्नेतले भने, ‘यस पटक पत्रकार र फोटो स्टुडियो व्यवसायीका लागि फोटो तथा भिडियोग्राफीसम्बन्धी आधारभूत तथा क्षमता विकास तालिमको आयोजना गरिएको हो, यसले फोटो तथा भिडियोग्राफीमै भविष्य खोज्नेहरुको लागि थोरै भए पनि सहयोग पुग्नेछ भन्ने आशा राखेका छौं ।’

फोटो तथा भिडियोग्राफीसम्बन्धी तालिममा जिल्लामा क्रियाशील पत्रकार र फोटो स्टुडियो व्यवसायी गरी २५ जना सहभागी छन् । तालिमको सहजीकरण एभरेष्ट फिल्म एकेडेमीका फोटो तथा भिडियोग्राफर विकास सिटौला र सौगन्ध डंगोलले गरिरहेका छन् ।

तालिम उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र एभरेष्ट फिल्म एकेडेमीका अध्यक्ष सुनिल थापाले पानसमा बत्ती बालेर संयुक्त रूपमा गरेका छन् ।

कलाकार सुनिल थापाले तालिममा सहभागीहरूमध्ये उत्कृष्ट एक जनालाई एकेडेमीमा निःशुल्क एड्भान्स् तालिम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ५, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x