कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने दलहरुबीच सहमति

काठमाडौँ — शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति जुटेको हो ।

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने दलहरुबीच सहमति

यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । उनले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए ।

‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो । भोलिको सदनको विषयलाई लिएर छलफल भयो । सकारात्मक रुपमा नै अघि बढ्छ । समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धाराणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ,' लेखकले भने, 'कानुनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ । संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ ।’

प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतबार बनाउने बताए । समिति बन्ने भएसँगै आइतबारको संसद् सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x