कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

प्रकाश र उषालाई उपाधि

पोखरा — राष्ट्रियस्तरको तेस्रो पोखरा साइक्लिङ प्रतियोगिताको उपाधि गोरखाका प्रकाश थापामगर र उषा खनालले जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरामा सम्पन्न प्रतियोगिता उपाधि जित्दै उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाश र उषालाई उपाधि

पोखरा १७ र २१ भित्र तय गरिएको निर्धारित २८ किमि दूरी प्रकाशले एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले २० किमि एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गरेका थिए । एक घण्टा ३९ मिनेट २३ सेकेन्डसहित एपीएफका सुरज रानामगर दोस्रो र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डबाट त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा तेस्रो भए । काभ्रेका अच्युतकृष्ण खरेल चौथो र एपीएफका लक्ष्मण मल्ल पाँचौं भए । अच्युतले एक घण्टा ४८ मिनेट १० सेकेन्ड र लक्ष्मणले एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दुरी पूरा गरे ।

महिलातर्फ हुमी बुढा मगर दोस्रो र इन्द्रकुमारी तामाङ तेस्रो भए । हुमीले एक घण्टा ४० मिनेट ११ सेकेन्ड र इन्द्रकुमारीले एक घण्टा ५९ मिनेट १ सेकेन्डमा २० किलोमिटर दूरी पार गरे । पोखराका सोफिया बिक चौथो र प्रेमा परियार पाँचौं भए । सोफियाले २ घण्टा २१ मिनेट १२ सेकेन्ड र प्रेमाले २ घण्टा ३९ मिनेट ३ सेकेन्ड दुरी पूरा गरेका थिए ।

प्रतियोगितामा दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३० र २० हजार प्राप्त गरे । चौथो र पाँचौं हुनेले १० हजार र ५ हजार पाए । पुरुषतर्फ अनिल बिक र महिलातर्फ सोफिया बिक पोखरा च्याम्पियन बने । उनीहरूले १०–१० हजार पाए ।

पोखरा महानगरपालिका–१७ र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना र नेपाल साइक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पुरुष, महिला र रन फर फन विधामा गरेर एक सय जनाभन्दा बढी खेलाडी सहभागी थिए । पावर हाउसबाट सुरु दौड महतगौंडा–दोबिल्ला झोलुंगे पुल, पोखरा–२१ फेदीपाटन–खर्स्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस पुगेर टुंगिएको थियो । कास्की जिल्ला साइक्लिङ संघ र नेपाल साइक्लिङ संघको पहलमा प्रतियोगिताको लागि यो नयाँ रुट तय भएको हो । विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ की अध्यक्ष राधिका शाही योगी, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीलगायतले पुरस्कार हस्तान्तरण गरे ।


प्रकाशित : जेष्ठ ५, २०८१ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x