कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो  

देउखुरी (दाङ) — लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक सबै जिल्लामा हिउँदे (चैते) धान खेती हुन्छ । हरेक वर्ष चैते धान खेती गर्नेको क्षेत्रफल घट्दो छ । उत्पादन पनि वृद्धि हुन सकेको छैन । 

लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो  

गतवर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफल खेती भएकोमा यसवर्ष घटेर २ हजार ६ सय ७७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ । यो वर्ष ४ सय ११ हेक्टर खेती घट्यो । लुम्बिनी प्रदेशको सबैभन्दा धेरै चैते धान खेती बर्दियामा गतवर्ष १ हजार ४ सय ५० हेक्टरमा भएकोमा यसवर्ष घटेर एक हजार २ सय १ हेक्टरमा मात्रै रोपाई हुन पुगेको छ ।

पाल्पामा गतवर्षमा ७ सय हेक्टर भएकोमा यो वर्ष ६ सय ३० हेक्टर, गुल्मीमा ३ सय ४० हेक्टर क्षेत्रफबाट यो ३ सय १९ हेक्टर क्षेत्रफलमा घटेको छ अर्घाखाँचीमा गतवर्ष २ सय हेक्टरमा भएको यसवर्ष १ सय ७० हेक्टर, रुपन्देहीमा गतवर्ष ६० हेक्टर क्षेत्रफल र अहिले ५४ हेक्टरमा रोपाई भएको छ । कपिलवस्तुमा गतवर्ष १० हेक्टरमा भएकोमा यो वर्ष ५ हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ ।

प्युठानमा गतवर्षमा गतवर्ष ४० हेक्टरमा भएकोमा यसवर्ष ५५ हेक्टरमा, नवलपरासीमा गतवर्ष ५ हेक्टरमा भएकोमा यसवर्ष ७ हेक्टरमा, दाङमा गतवर्ष १ सय ९८ हेक्टरमा भएकोमा यो वर्ष २ सय हेक्टरमा र बाँकेमा गतवर्ष ३५ हेक्टरमा खेती भएको यो वर्ष ३६ हेक्टरमा चैते धान रोपाई गरिएको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

लुम्बिनीका १० जिल्लामा चैत महिनाको पहिलो र देस्रो सातादेखि चैते दुई, चैते पाँच, चैते छ र हर्दिनाथ जातको धान खेती गरिन्छ । ‘हिउँदे (चैते) धान खेतीमा क्षेत्रफल घट्नुको मुख्य कारण युवा जनशक्ति गाउँमा नहुनु, वैदेशिक रोजागारीमा जानु र खेतीप्रति आकर्षित नहुनु हो,’ लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख रामप्रसाद पाण्डेले भने, ‘तराईमा विजुली मोटरले पानी तानेर खेती गर्दा लागत धेरै हुने भएकाले खेती कम हुन थाल्यो । पाल्पा, गुल्मी, अर्घाखाँचीमा, प्युठान, कालीगण्डकी, बढीखोला, रिडी खोला, मथुरा लगायतका स्थानमा व्यापक खेती भएपनि युवा जनशक्ति अभावले खेती गर्ने भएनन् ।’

पहाडमा अहिले गाउँबाट युवा जनशक्ति देश बाहिर र स्वदेशको पनि सहरमुखी भएका छन् । कृषिबाट भन्दा अरु पेशाबाट आकर्षक आम्दानी हुने भएकाले युवाहरु खेतीबाली लगाउन विस्तारै छाड्दै गएको उनले बताए ।

‘हजुरबाको पालामा २० रोपनी थियो, खेती गरेपछि आम्दानी हुन्थ्यो,’ उनले भने, ‘बाको पालामा १० रोपनीमा झर्‍यो । छोरा र नातीसम्म आइपुग्दा ४/५ रोपनीमा झरेको छ ।’ चैते धान खेती घट्दै गएपछि प्रदेश सरकारले उत्पादनमा आकर्षण ल्याउने कार्यक्रम सञ्चालन गरिरहेको पाण्डेले बताए ।

यस वर्ष पाल्पा र रुपन्देहीमा चैते धानमा १२/१५ कठ्ठामै गर्ने गरी प्रदशन कार्यक्रम अघि सारेको उनले बताए । अर्कोवर्ष अलि धेरै मात्रामा कार्यक्रम सञ्चालन गरिने पाण्डेको भनाई छ ।

यसरी धान रोप्ने काम घट्दो हुनुको अर्को कारण प्रयाप्त सिचाई नहुनु हो । भएका सिचाई योजना पनि बिग्रपछि मर्मत सम्भार गरेर खेतीमा सिचाई गर्न उपभोक्ताले गर्न नसक्ने र बिजुलीले पानी तान्दा महंगो पर्ने भएकाले समस्या भएको हो ।

सतह सिचाई भएको ठाउँमा उत्पादनमा वृद्धि ल्याउने कार्यक्रम निर्माण गर्ने गरी तयारीमा रहेको पाण्डेले बताए । जलवायु परिवर्तनले गर्दा धान पाकेर काट्ने बेला आकाशबाट पानी परिरहेर कुहिने समस्या पनि रहेको छ ।

‘खेतमा चैते धान खेती गर्ने क्षेत्रफल घटेपनि पछिल्लो समय हिउँदे मकै खेती गर्नेको संख्या बढ्दो छ,’ पाण्डेले भने, ‘तराइमा चैते धान भन्दा मकै उत्पादन बढ्दो छ । मकैको घुँघा बेचेरै लगानीको दोब्बर आम्दानी भएपछि सहर नजिकैको तराइमा चैते धान छाडेर मकै खेती भइरहेको छ ।’

प्रकाशित : जेष्ठ ५, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×