कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मेयर्स कप महिला क्रिकेट : सुदूरको साहसलाई रोक्दै एपीएफ च्याम्पियन

मेयर्स कप महिला क्रिकेट : सुदूरको साहसलाई रोक्दै एपीएफ च्याम्पियन

काठमाडौँ — कविता जोशी र लक्ष्मी साउदको साहसलाई पन्छाउँदै नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता जितेको छ ।

उनीहरूले ८० बलमा छैटौं विकेटका लागि १ सय ४ रनको साझेदारी गरे पनि एपीएफले शनिबार फाइनलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले हरायो ।

एपीएफले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर २० ओभरमा ४ विकेट गुमाई १ सय ५५ रन बनायो । जवाफमा सुदूरपश्चिमले ५ विकेट गुमाई १ सय ५३ रनमात्र बनाउन सक्यो । एपीएफले प्रतियोगिताको चारै संस्करण अपराजित रहेर जितेको हो । टोलीले सुदूरपश्चिमलाई नै तीन पटक फाइनलमा हराएको छ ।

सुदूरपश्चिमले सातौं ओभरमा खेल पुग्दा ४९ रनमा ५ विकेट गुमाइसकेको थियो । कविता र लक्ष्मीले अविश्वनीय रूपमा सुदूरलाई जित नजिक पुर्‍याएका थिए । कविताले १९ औं ओभरमा राजमति ऐरीलाई ३ छक्कासहित २१ रन प्रहार गरेपछि सुदूरपश्चिमलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो । तर। रेखा रावलले अन्तिम ओभरमा ३ रनमात्र खर्चेर एपीएफलाई विजेता बनाइन् ।

कविताले ४५ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गर्दै ६७ रन बनाई अविजित रहिन् । लक्ष्मीले ३५ बल खेल्दै २ चौकासहित २९ रन बनाइन् । रुबि पोदार ५, सावित्री धामी १२, सम्झना खड्का १०, कप्तान विन्दु रावल १९ र रितु कनोजिया शून्यमा आउट भए । एपीएफकी करुणा भण्डारीले ४ ओभरमा २० रन खर्चेर २ र सुमन विष्टले १ विकेट लिए ।

यसअघि एपीएफबाट कप्तान सीता रानामगर र राजमतिले अर्धशतक बनाए । उनीहरूले १३ ओभरमा ९१ रनको साझेदारी गरे । प्लेयर अफ द फाइनल सीताले ५५ बलमा ८ चौकासहित ७४ रन बनाइन् । राजमतिले ४६ बलमा ७ चौकासहित ५० रन बनाइन् । इन्दु बर्मा ९, रोमा थापा ६ रनमा आउट भए । ममता चौधरी १० र सरिता मगर १ रनमा अविजित रहे । सुदूरपश्चिमकी रितु, विन्दु र राधिका पुजाराले १–१ विकेट लिए ।

सुदूरपश्चिमकी सम्झना खड्का उत्कृष्ट ब्याटर र ललितपुर मेयर्स ११ की कृतिका मरासिनी उत्कृष्ट बलर चुनिए । सम्झनाले ५ खेलमा सर्वाधिक १ सय ५६ र कृतिकाले ४ खेलमा सर्वाधिक ११ विकेट लिएका थिए । १ सय ४२ रन बनाउनुका साथै ४ विकेट लिएकी एपीएफकी सीता प्लेयर अफ द सिरिजमा चुनिइन् ।

प्रकाशित : जेष्ठ ५, २०८१ २२:०६
×