कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

अश्विनको शतकमा भारत बलियो

आश्विन ३, २०८१
अश्विनको शतकमा भारत बलियो

चेन्नई — रविचन्द्रन अश्विनको आक्रामक शतकमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टको पहिलो दिन बिहीबार बलियो सुरुआत लिएको छ । दिनको खेल सकिँदा भारतले ६ विकेटमा ३ सय ३९ रन बनाएको छ । यसअघि बंगलादेशी तीव्र गतिका बलर हसन मोहमदुले ४ विकेट लिएर भारतमाथि दबाब सिर्जना गरेका थिए ।

पहिलो घण्टाको खेलपछि भारत ३४ रन बनाउँदासम्म ३ विकेट गुमाएर दबाबमा थियो ।

दिनको दोस्रो सेसन सकिँदा भारत ६ विकेट गुमाएर १ सय ४४ रनको स्थितिमा पुगेको हो । अश्विनले १ सय २ र रवीन्द्र जडेजाले ८६ रन बनाए । उनीहरूले १ सय ९५ रनको नटआउट साझेदारी गरिसकेका छन् । बंगलादेशी कप्तान नजमुल हुसेन सान्टुले वर्षाको सम्भावनाबीच पहिले बलिङ गर्ने निर्णय गरेका थिए र त्यसलाई सही साबित गर्दै हुसनले सुरुमै ३ विकेट लिए । लञ्चपछि उनले थप एक विकेट हात पारे ।

पाकिस्तानविरुद्ध २–० को ऐतिहासिक टेस्ट शृंखला जितेर उत्साहित बंगलादेश अहिले भारतमा छ । तर, टोलीले भारतविरुद्ध अहिलेसम्म टेस्ट जित निकाल्न सकेको छैन । दिउँसोको सेसनपछि चेन्नईमा जन्मेका अश्विनले जडेजासँग मिलेर बंगलादेशी बलरलाई निराश पारे । संयोगले दुवैको पहिलो जिम्मेवारी स्पिन बलिङ छ । तर उनीहरूको आक्रामक ब्याटिङले चेन्नईका घरेलु समर्थक भने खुसी रहे । दिनको खेलपछि ओपनर यशस्वी जयसवालले टिमले आराम महसुस गरिरहेको बताए ।

उनले भने, ‘हामीसँग खेल कसरी अगाडि बढाउने भनेर योजना हुन्छ । अश्विन र जडेजाले ब्याटिङ गर्दा हामीले आराम महसुस गरिरहेका थियौं ।’ आफ्नो छैटौं टेस्ट शतक पूरा गर्ने क्रममा ३८ वर्षीय अश्विनले १ सय ८ बल खेलेर १२ चौका प्रहार गरे । हसनले भने भारतको माथिल्लो क्रमलाई आफ्नो सिकार बनाए । उनले कप्तान रोहित शर्मा र विराट कोहली दुवैलाई समान ६ रनमा आउट पारे र बंगलादेश सहज स्थितिमा देखिएको थियो ।

जयसवालले भने अर्का बायाँहाते ब्याटर ऋषभ पन्तसँग ६२ रनको साझेदारी गरे । यहींबाट भारतको प्रतिरोध सुरु भयो । हसनले पन्तको विकेट लिँदै त्यो साझेदारी तोडे । भारतीय विकेटकिपर/ब्याटर सन् २०२२ को सवारी दुर्घटनापछि पहिलो पटक टेस्ट खेलिरहेका थिए । उनले ३९ रन बनाए र त्यसमा ६ चौका सामेल थियो । जयसवाल आफैं ५६ रन बनाएर नयाँ पेस बलर नाहिद रानाको बलमा आउट भए । स्पिनर मेहदी हसनले भने केएल राहुललाई १६ रनमा आउट पारे ।


प्रकाशित : आश्विन ३, २०८१ २२:१५
×