कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

गुलशनको कीर्तिमान, तर रोकिएन नेपालको हार

आश्विन ४, २०८१
गुलशनको कीर्तिमान, तर रोकिएन नेपालको हार

काठमाडौँ — गुलशन झाले अर्धशतक बनाउनुका साथै ५ विकेट लिएर कीर्तिमान बनाए पनि नेपाल बुधबार राति विश्वकप क्रिकेट लिग २ मा ओमानसँग १ विकेटले पराजित भएको छ । अन्तिम ब्याटर कलिमुल्लाहले २ बलमा २ रन चाहिँदा सोमपाल कामीको बलमा चौका प्रहार गरी ओमानलाई नाटकीय विजय दिलाए । 

टोरन्टोको किङ सिटीस्थित म्यापल लिफ नर्थ वेस्ट मैदानमा अन्तिम ओभरमा ओमानलाई विजयनिम्ति ८ रन चाहिँदा कलिमुल्लाह र सकिल अहमदले सोमपालको बलमा १–१ चौका प्रहार गरे । निकै महँगा साबित सोमपालले ७.५ ओभरमा ६० रन खर्चेर कुनै विकेट लिएनन् । नेपालको लगातार दोस्रो हार हो । सोमबार क्यानडाले नेपाललाई १ सय ३ रनले हराएको थियो । लिग २ का ६ खेलमा नेपाल ५ हार भोगिसकेको छ । ८ राष्ट्र सहभागी प्रतियोगिताको अंकतालिकामा नेपाल सातौं स्थानमा छ ।

नेपाली इनिङ्समा अर्धशतक बनाएका गुलशनले ५ विकेट लिएर नेपाललाई खेलमा फर्काए । उनले १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ५ विकेट लिए । ब्याटिङमा उनले ५३ रन बनाए । एकै एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउनुका साथै ५ विकेट लिने गुलशन नेपालको पहिलो र विश्वका २४ औं खेलाडी हुन् ।

कश्यप प्रजापती र जतिन्दर सिंहले १६ ओभरमा पहिलो विकेटका लागि ७५ रन जोड्दा २ सय २१ रनको लक्ष्यमा ओमानले सजिलो विजय हात पार्ने सम्भावना देखिएको थियो । तर गुलशनले असाधारण बलिङ गर्दै नेपाललाई खेलमा फर्काए । उनले एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा पहिलो पटक ५ विकेट लिएका हुन् । करण केसीले १० ओभरमा २७ रन खर्चेर २ तथा आरिफ शेख र सन्दीप लामिछानेले १–१ विकेट लिए ।

जतिन्दरले ओमानबाट ४१ रन बनाए । ३ चौका र १ छक्का प्रहार गरे । प्रजापतीले ४ चौकासहित ३६ रन बनाए । कप्तान अकिब इल्यास २९, प्रतिक अथाभाल र शोएब खानले समान २६ तथा खालिद कैलले १७ रन बनाए ।

यसअघि नेपालको सुरुआत राम्रो हुन सकेन । पहिलो ३ विकेट सुरुमै गुमाएको नेपाल २५ ओभर समाप्तिमा ६२–३ को स्थितिमा थियो । अर्जुन साउद ५ तथा आसिफ शेख र भीम सार्की समान ११ रनमा आउट भए । कप्तान रोहित पौडेल र आरिफले चौथो विकेटमा २४ ओभरभित्र ८३ रनको साझेदारी गरी इनिङ्स उकासेका थिए । प्रशिक्षक मोन्टी देसाईले कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीलाई बेञ्चमा राखेर जोखिम लिएका थिए । उनीहरूको स्थानमा आएका आरिफले ८८ बलमा १ चौकासहित ३५ रन बनाए ।

रोहितले ७२ बलमा २ चौका र ४ छक्कासहित ६० रन बनाए । ३१ बलमै अर्धशतक पूरा गरेका गुलशनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले ओमानका कप्तान इल्यासको एकै ओभरमा २ छक्का र २ चौकासहित २३ रन बटुले । अनिल साह ३, करण केसी १ रनमा आउट भए । सोमपालले इनिङ्सको अन्तिम ओभरमा १३ जोडेपछि निर्धारित नेपाल ५० ओभरमा ९ विकेट गुमाई २ सय २० रन बनाउन सफल भयो । सोमपालले ८ बलमा २ छक्कासहित २० रन बनाए । सन्दीप ११ रनमा अविजित रहे । ओमानबाट कलिमुल्लाह, इल्यास र फायज बटले २–२ विकेट लिए ।

प्रकाशित : आश्विन ४, २०८१ ०५:५८
×