अध्ययन, जिज्ञासा र सिकाइको अविरल यात्रा

मेरो जेलजीवनको अध्ययन कुनै प्रश्नको उत्तर दिन या कक्षा उक्लिन अथवा पेसा–व्यवसाय गर्नका निम्ति थिएन । आफ्नो अन्तर्मनलाई प्रज्वलित गर्नका लागि मात्रै थियो ।
केपी शर्मा ओली

नयाँ पुस्तासामु आफ्नो समय, अनुभव र संघर्षका कुरा गर्ने क्रममा यसअघि मैले जीवन र मृत्यु, अनि जेलजीवनबारे केही सन्दर्भ स्मरण गरेको थिएँ । यस पटक आफ्नो अध्ययन, ज्ञानप्राप्ति, जिज्ञासा र सिकाइजस्ता कुराको चर्चा गर्नेछु । त्यसो त राजनीतिक बन्दीका रूपमा गोलघरमा थुनिँदा समय बिताउनकै लागि पनि अध्ययन गर्थें । त्यहाँ रहँदा आफूले गरेको अध्ययन र सिकाइ अरूमा हस्तान्तरणको प्रयास पनि गर्थें ।

जेलजीवनमा खासै कुनै अनिवार्य काम हुँदैन । र, मन पनि स्थिर रहँदैन । जेलमा बस्नु भनेको एक प्रकारले पराधीन हुनु हो । अरूको नियन्त्रणमा बाँच्नुपर्ने अवस्था हो त्यो, हरदम स्वतन्त्रताको हनन र विभिन्न प्रकारका बन्धन; अपमान भइरहेको हुन्छ त्यहाँ । त्यस्तो अवस्थामा कुनै ठूलो तपस्या वा गम्भीर अध्ययन हुन कठिन पर्छ, चित्तलाई एकाग्र बनाउनै गाह्रो हुन्छ ।

यसरी अनेक कुराको अनिश्चितताका बीच अध्ययनको मौका मिल्दा पनि कति नै गर्न सकिन्छ र ! तथापि, जेलमा समय गुजार्न र दुनियाँ बुझ्नकै लागि पनि अध्ययन गर्ने व्यक्ति पनि हुन्छन् । मैले जेलमा बस्दा ज्ञान र सूचनाका लागि अध्ययन गर्ने आदत बसाएँ । अध्ययन दिनको उज्यालोमा मात्र हुन सक्थ्यो, किनकि त्यस बखत गोलघरमा बत्ती थिएन । गोलघरको अवस्था कस्तो थियो भने, मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई पनि त्यहाँ राखिएको थियो अनि व्यवहार, बोलीवचनमा अश्लीलता त सामान्य थियो; साथमा दुर्गन्धले बसिसक्नु हुँदैनथ्यो । तर म अध्ययनमा जब डुब्छु, तब छेउछाउमा हुँदै गरेका क्रियाकलाप र गफले मलाई असर गर्दैनन् । यही स्वभावका कारण पनि मैले जेलमा रहँदा अध्ययन गरेर समय व्यतीत गर्न सकें ।

जेलमा रहँदा मैले किन, के प्रयोजन र कतिसम्म अध्ययन गरें भन्ने प्रश्न कसैले मलाई सोध्न सक्छ । मैले त्यो अध्ययन ज्ञान र सूचना प्राप्त गर्नका लागि गरेको थिएँ । औपचारिक शिक्षा जागिर, व्यवसाय वा कामका लागि लिइन्छ भने ज्ञानको विकास जीवन सहज बनाउनका लागि गरिन्छ । मैले जेलमा गरेको अध्ययन जागिर, व्यवसाय वा कुनै काम पाउनका लागि थिएन, थियो त केवल ज्ञान र सूचना पाउनका निम्ति ।

मेरो बुझाइमा ज्ञानप्राप्तिको उद्देश्यले गरिएको अध्ययनले मानिसलाई आन्तरिक रूपमा ‘इनलाइटन’ गर्छ । शिक्षाले इनलाइटन गर्छ कि गर्दैन, म भन्न सक्दिनँ । मेरो जेलजीवनको अध्ययन कुनै प्रश्नको उत्तर दिन या कक्षा उक्लिन अथवा पेसा–व्यवसाय गर्नका निम्ति थिएन । आफ्नो अन्तर्मनलाई प्रज्वलित गर्नका लागि मात्रै थियो । म जेलमा रहेका साथीभाइलाई अध्ययन गर्न प्रेरित गरिरहन्थें, केहीले त विभिन्न डिग्री पनि जेलमा पढेरै लिए । आफूले अध्ययन गरेका कुरा साथीभाइसँग बाँड्दा मलाई आनन्द लाग्थ्यो, आफ्नो ज्ञान नै बढेको महसुस हुन्थ्यो ।

मलाई औपचारिक शिक्षा असाधारण महत्त्वको विषय हो भन्ने लाग्दैन । प्राणीहरूमा मानिस श्रेष्ठ हुनुको मुख्य कारण उसको मस्तिष्क र ज्ञान नै हो । होमोसेपियन्स अर्थात् मानिसको उत्पत्ति भएदेखि नै उसलाई उछिन्ने मानसिक श्रेष्ठता भएको कुनै प्राणी यो जगत्मा पैदा भएन । यही कारण नै मानिसको विकासको गतिले तीव्रता लिन सकेको हो ।

स्मरणशक्ति र सृजनशीलता मानिसको महत्त्वपूर्ण सम्पत्ति हो । यही नै ज्ञान हो । झन्डै १७ हजार वर्षअघिसम्म त मानिस र अन्य जनावरको अवस्था उस्तै थियो । अब मानिस यति ज्यादा सृजनशील र कल्पनाशील भइसक्यो कि यसलाई जित्न कुनै पनि प्राणीले सक्दैन । गाई–भैंसीका अघिल्तिर घाँसको मुठो र डलर राखिदिँदा त्यसले घाँस नै चुन्छ, खान्छ । तर मानिस ? यही फरक छ मानिस र जनावरमा । त्यो फरकपना मानिसभित्रको ज्ञान, सोच्ने शक्ति र बुझ्ने क्षमताका कारण विकसित भएको हो । जनावरमा पनि ज्ञान हुन्छ, तर त्यो ज्ञान उसको जीवन बाँच्ने कुरासँग मात्रै सीमित हुन्छ । त्यसपछिका यावत् सन्दर्भमा जनावरलाई कुनै सरोकार छैन ।

हामी मानिसलाई बाँचेर मात्र पुग्दैन । हामीलाई उन्नति गर्नु छ, ख्याति कमाउनु छ । १७ हजार वर्षपछिका दिनहरूमा नै मानिसले आर्जन गर्दै आएको ज्ञानका कारण अन्य जीवलाई कज्याउने, शासन गर्ने अवस्थामा पुग्यो । त्यसपछि नै पशुपालन, कृषिको बाटो हुँदै नयाँनयाँ आविष्कारसम्म मानिस आइपुगेको हो । यो सब ज्ञानका कारण सम्भव भएको हो । आज त मानिसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समेत विकास गरेर कतिपय काम त्यसैमार्फत गराउन थालिसकेको छ ।

म फेरि आफ्नो अध्ययनको सन्दर्भ यहाँ जोड्न चाहन्छु । हो, विषम अवस्थामा मैले राजनीति सुरु गरेको हुँ । त्यस बखत अध्ययन, शिक्षा आर्जन कठिन थियो । तर मेरो स्वभावका कारण ज्ञानप्राप्तिको अध्ययनलाई कहिल्यै मर्न दिइनँ । म जेजति पढ्छु, त्यो बुझेर मात्र पढ्छु । म त्यति धेरै अध्ययनशील मानिसचाहिँ होइन । मसँग राजनीति गरेका र जेलजीवन बिताएका कतिपय साथी मभन्दा धेरै पढ्थे । कतिपय साथी पढ्न समय बढी दिने, तर एकाग्र हुन नसक्ने खालका थिए । धेरै पढ्ने, थोरै बुझ्ने बढी थिए ।

सानै छँदा म शिक्षकले पढाउँदा एकाग्र भएर सुन्थें, हेर्थें र त्यसलाई दिमागमा बसाउँथें । घर पुगेपछि शिक्षकले पढाएका कुरा पुस्तक पल्टाएर दोहोर्‍याउँथें । त्यसपछि त्यो कुरा म बिर्संदैनथें । तर मैले जिन्दगीमा बाल्यकालदेखि किशोरावस्थामा पुग्दासम्म पनि एकाग्र भएर पढ्ने अवसर उति विधि पाइनँ । कहिले बसाइँसराइ भएको छ त कहिले अर्कै विद्यालय पुगिएको छ । पढाइ टुट्दै, फेरि जोडिँदै आएको अवस्था मैले भोगें । मैले नियमित औपचारिक शिक्षा छोड्नुपर्ने बाध्यता त रह्यो, तर ज्ञानप्राप्तिको अध्ययनलाई भने कहिल्यै छोडिनँ । पाठ्यपुस्तक पठन कम भए पनि बाह्य पुस्तक अध्ययनको नियमितता अद्यापि कायम छ । त्यस बखत खास गरी शास्त्रीय रचनाका पुस्तकहरू बढी उपलब्ध हुन्थे । धर्मग्रन्थहरू सहज उपलब्ध हुन्थे भने ज्ञान–विज्ञानका पुस्तकहरू पनि पाइन्थे ।

मभित्र अध्ययनको भोक जगाउन परिवारको पनि हात छ । मेरा हजुरबुवा–बुवाले घरमा रुद्री, चण्डी, रामायण, महाभारत लगायत पढिरहनुहुन्थ्यो । उहाँहरूले ती ग्रन्थहरू वाचन गरिरहेको म बडो रुचिपूर्वक सुन्थें । बाल्यकालमा सुनेका ती ग्रन्थका कतिपय श्लोक अहिले पनि मलाई याद छन् । आवश्यक परेको बेला म कण्ठ सुनाउन सक्छु । यसरी ज्ञान बढाउने, त्यसलाई मस्तिष्कमा राख्ने र बाँड्ने परम्परा मैले परिवारबाटै सिकें ।

म मोटोघाटो थिइनँ, त्यसैले शारीरिक परिश्रम गरेर खान सक्ने तागत थिएन । सायद त्यही कारण मलाई परिवारले पढ्नतिर प्रेरणा दिइरह्यो । म जन्मेको साल २००८ मै मेरो गाउँमा मिडिल स्कुल खुलिसकेको थियो । त्यहाँ औपचारिक शिक्षा लिएर छोरो अघि बढोस् भन्ने मेरा अभिभावकको चाहना थियो । उक्त स्कुलमा मलाई पढाउने शिक्षकहरू दार्जिलिङमा अध्ययन गरेका, अंग्रेजी जान्ने खालका थिए । उनीहरूमध्ये अधिकांश राणाविरोधी र परिवर्तन–पक्षधर पनि थिए । हामी शिक्षकहरूलाई एमए सर, बीए सर, आईए सर भन्थ्यौं; त्यस्तो नाम उनीहरूले लिएको औपचारिक शिक्षाका आधारमा दिइएको थियो ।

म सम्झन्छु, पढ्नुपर्छ भन्ने ज्ञान मलाई २०१२ सालको सरस्वती पूजाको दिनदेखि नै भयो । उक्त दिन एक जना ढुंगेल थरका गुरुले मलाई औपचारिक रूपमा अक्षर चिनाएका थिए । गुरुले मलाई किताब पढ्न सुरु गर्दा र अन्त्य गर्दा ढोग्नुपर्छ भनेर सिकाएका थिए । कथंकदाचित् खुट्टाले किताब छोयो भने क्षमायाचना गर्दै ढोग्न पनि उनैले सिकाएका थिए । बाल्यकालमा मेरो पढाइ तेज नै थियो, किनकि म जे पढ्थें त्यसमा एकाग्र हुन्थें । म जुन किताब पाए पनि दोहोर्‍याएर–तेहर्‍याएर पढ्थें, विद्यालयका मात्रै होइन ।

म असाध्यै जिज्ञासु स्वभावको छु । मेरो जिन्दगी जिज्ञासामै बित्नेछ भन्ने मलाई थाहा छ । खगोलशास्त्र, अन्तरिक्ष, ग्रह–नक्षत्रबारे ममा केही ज्ञान छ भने यही जिज्ञासाकै कारण छ । दर्शन, सृष्टि, प्रलय के हुन् भन्ने जिज्ञासा राख्छु । मेरो बुझाइमा, मानिस प्रकृतिको सबैभन्दा पछिल्लो रचना हो । मानिस लगायतका जीवहरू सुरुमा ठूला थिएनन् । पहिला साना थिए र ती समयक्रममा वातावरणीय प्रभावसँगै ठूलो आकारका हुँदै गए ।

मान्छेको दिमाग एकदमै मुलायम कोशिकाहरूबाट बनेको हुन्छ । दिमागलाई सोही अनुरूपको खाना दिन वा व्यायाम गराउन सकिएन भने त्यो कुँजो हुन्छ । त्यसकारण अध्ययन अनिवार्य छ । र, जो राजनीतिक वा अन्य कुनै कारणले भूमिगत हुन्छ, त्यसले त अध्ययन गर्नु झनै अनिवार्य छ । भूमिगत अवस्थामा पनि अध्ययन नगर्ने मानिसले जीवनको अर्थ नै बुझेको हुँदैन । जेलजीवनमा गरेको अध्ययनले कसैलाई महाविद्वान् त बनाउन नसक्ला, तर जेल अध्ययन गर्ने महत्त्वपूर्ण थलो भने पक्कै हो । जेल शरीर तन्दुरुस्त पार्ने ठाउँ होइन, तर मस्तिष्क सक्रिय राख्ने स्थान अवश्य हो । अध्ययन गरेन भने जेल बस्ने मानिसको जीवन बरबाद हुन्छ ।

म जेलमा रहँदा किताब प्राप्त गर्न सहज थिएन । केही यस्ता साथीभाइ थिए, तिनले किताब ल्याइदिन्थे । सेन्ट्रल जेलमा त एउटा ससानो लाइब्रेरी थियो, त्यहाँका सबै किताब मैले एक–डेढ वर्षको अवधिमा पढिसकेको थिएँ । यो विषय पढ्छु, यो पढ्दिनँ भन्ने थिएन । त्यहाँ जे भेटियो, त्यो पढ्थें । हामीले पढेको कुनै पनि किताब काम नलाग्ने भन्ने हुँदैन, समयक्रममा सबै काम लाग्छन् । जेलमा बस्दा म आफूले पढेका किताबमा पेन्सिलले हल्का चिनो लगाउने गर्थें । तपाईंले त्यहाँ अहिले गएर ती किताब पाउनुभयो भने त्यो देख्न पनि सक्नुहुन्छ होला ।

सही अध्ययनले मानिसलाई घमन्डी बन्न दिँदैन । घमन्ड भन्ने तत्त्व जब मानिसको दिमागमा पस्छ, त्यसले मस्तिष्क ‘अकुपाई’ गर्छ र अरू चीज पस्नै दिँदैन । घमन्ड दिमागमा पसेपछि समग्र दिमागलाई त्यसले ‘इन्फेक्टेड’ गरिदिन्छ । जुन दिन मानिसको दिमागमा घमन्ड प्रवेश गर्‍यो, त्यही दिनदेखि त्यसको पतन आरम्भ भयो ।

म अहिले पनि औपचारिक शिक्षा लिएका अनेक भाइबैनीलाई भेट्छु । कतिपयले मास्टर्स वा पीएचडी सिध्याएका हुन्छन्, तीमध्ये अधिकांशले आफ्नो पढाइ सकिएको बताउँछन् । म तिनलाई भन्ने गर्छु— तिम्रो पढाइ सकिएको छैन, सिक्ने र अध्ययन गर्ने क्रम कुनै डिग्री लिँदैमा सकिँदैन । ज्ञानप्राप्ति भन्नु निरन्तर चलिरहनुपर्ने कुरा हो । यो कहिल्यै सकिँदैन, यसको अन्त्य छैन । ज्ञानप्राप्ति एकपल्ट गरिसकेपछि नवीकरण गर्नु नपर्ने ‘नागरिकता’ जस्तो होइन । हामीले शास्त्र मात्र पढेर हुँदैन, त्यसलाई प्रज्ञामा परिणतसमेत गर्न सक्नुपर्छ ।

मैले जेलमा बस्दाबाहेक किताब पढिसकेपछि कहिल्यै पाना पट्याउने गरिनँ । जेलमा बस्दा पनि महत्त्वपूर्ण अनुच्छेद वा वाक्यमा मात्रै हल्का ढंगमा पेन्सिलले अन्डरलाइन गर्थें । मलाई यस्तो लाग्थ्यो, आफूले कहाँसम्म पढें वा कहाँ–कति पृष्ठमा पुगें भन्ने नै थाहा पाइँदैन भने पढियो के त ? पाना पल्टाउनासाथ म थाहा पाइहाल्थें— यतिसम्म पढिसकेको छु, अब यहाँबाट सुरु गर्नुपर्छ । मैले कहिल्यै फोहोर हातले किताब छोइनँ । थुक लगाएर कहिल्यै किताब पल्टाइनँ । पढ्नुअघि सधैं हात धोएर सफा पार्नुपर्छ भन्ने बुझेको थिएँ । आफूले अध्ययन गर्ने पुस्तकप्रति सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा अहिले पनि छ । पुस्तकले ज्ञानलाई सधैं ‘ट्रान्सफर’ गर्छ । गहना हालेको बाकस र गहनामा भिन्नता छ । किताब गहना हालेको बाकस हो ।

मेरो विचारमा ज्ञान भनेको प्रकृतिको वास्तविक नियममा रहेर त्यसभित्र रहेको सम्भावनालाई बुझ्नु, उजागर गर्नु, सदुपयोग गर्नु, विकास गर्नु, अभिवृद्धि गर्नु र त्यसबाटै नयाँ केही सृजना गर्नु हो । यो यथार्थ ज्ञान हो, कुनै बनिबनाउ वा कथिएको कथा (फिक्सन) होइन । पानीबाट बिजुली निस्कन्छ, यो कुनै कथा होइन । बादलबाट पानी पर्छ, यो ज्ञान हो । त्यो पानी कतै इन्द्र भगवान्ले पार्छन्, कतै अर्कै भगवान्ले पार्छन् — त्यो कथा हो । हिन्दु धर्मावलम्बीका मतमा सृष्टि ब्रह्माले गर्छन्, अरू धर्मावलम्बीले सृष्टि अर्कैले गरेको देख्छन् — यी कथा हुन् । तर आज संसारमा मानिस परिकल्पित ईश्वरबिना आफ्नो अस्तित्व नै नदेख्ने अवस्थामा पुगेको छ । मानिसले ईश्वरलाई जबर्जस्ती निर्माण गरिदिएको छ । दुर्भाग्य त के भइदियो भने, आफैंले निर्माण गरेको ईश्वरबाट मानिस आज भयभीत छ ।

मानिसले नै विकास गरेको रोबोट वा एआईबाट आफ्नो रोजगारी गुम्ने भयले अचेल संसार त्रस्त छ । त्यो दिन नआउला भन्न पनि सकिँदैन । स्वयम्ले निर्माण गरेको अदृश्य ईश्वरबाट कायल मानिस रोबोट र एआईबाट किन नडराओस् !

देशको चिन्ता, पार्टीको जिम्मेवारी, व्यस्तताजस्ता अवस्थामा पनि म घटीमा आधा घण्टा अहिले पनि पढ्छु । समय मिल्दा दुई–तीन घण्टासम्म पढ्छु । मलाई रातको समयमा पढ्दा आनन्द आउँछ ।

प्रकाशित : वैशाख ११, २०८० ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको यौनिकताले टालेको इज्जत

हामीले महिला यौनिकताले टालिएको इज्जतको खोल ओढेर आडम्बरी समाजको प्रतिरक्षा गर्नुभन्दा के बुझ्नु जरुरी छ भने, सकम्बरीहरूलाई यौन र गैरयौन श्रम शोषण गर्नेमा जातीय, वर्गीय र सांस्कृतिक रूपले सुकिलामुकिला र समाजको पर्दाभित्रका ‘सज्जनवृन्द’ भनिएकाहरू नै धेरै भेटिन्छन् ।
मीना पौडेल

नेपाली समाज, त्यसमा पनि खास गरी काठमाडौं खाल्डो, गत सातादेखि सकम्बरीका चोटिला प्रश्नहरूले रन्थनिएको छ । अनि त्यो रन्थनिएको मनोविज्ञानले एउटा वर्ग र तप्कालाई नराम्ररी डसेको भान हुन्छ, सामाजिक सञ्जालका भित्ताहरू पढ्दा र चियागफहरू सुन्दा । ती प्रश्नहरूमध्ये प्रमुख हुन्— कहाँ लेखेको छ र दाइ इज्जत छोरीमान्छेको मात्रै जान्छ भनेर ? तपाईं (पुरुष) हरूको चाहिँ इज्जत जाँदैन ?...

म सिनेमा नहेर्ने र काल्पनिक उपन्यास नपढ्ने मान्छे हुँ र पनि जीवनमा दुईवटा लामा सिनेमा भने संयोगले हेरेकी छु— ‘वासुदेव’ र ‘बलिदान’ । काल्पनिक उपन्यास त एउटा पनि पढेकी छैन, तर समाज, राजनीति, अर्थ, संस्कृति बुझाउने पुस्तकहरू मेरा प्राज्ञिक रोजाइमा पर्छन् । संसारमा समाज बदल्न रगत, पसिना र पूरै जिन्दगी दिएका व्यक्तिहरूका जीवनी खोजीखोजी श्रद्धासाथ पढ्छु, अनि ‘बदला बरिलै’, ‘पीर’, ‘मेरो पनि हैन र यो देश’ र ‘सकम्बरी’ जस्ता म बाँचेको समाजको आडम्बरी पर्दा च्याती समाजलाई जबरजस्ती बिउँझाउन प्रयास गर्ने सामग्री हेर्छु, सुन्छु र संग्रह पनि गर्छु ।

यी उल्लेख गरिएका सामग्री मानवता गुमेको हिंस्रक समाजले बेचेका, ‘भद्र भलादमी’ ठानिएका ‘सज्जनवृन्द’ हरूले यौन र गैरयौन श्रम शोषण गरी हुत्त्याइएका, बेचिएको ठाउँबाट फुत्केर आए पनि परिवाररूपी विषाक्त संरचनाले बहिष्कार गरेका, जिउँदै काजकिरिया गरिएका र राज्यरूपी पाखण्डी पितृसत्ताको धमिरा लागेका कानुनका दफाहरूले अनागरिक बनाइएका हजारौं सकम्बरीका जीवन पढ्न र समाज बुझ्न सहयोगी हुन्छन् ।

किनकि मलाई आफ्नो अनुसन्धानद्वारा सकम्बरीहरूको आँसु मात्र होइन, उनीहरूको जीवन जिउने सपना, सामाजिक दायित्व र आफैंलाई बहिष्कार गर्ने पारिवारको इज्जत जोगाउन केसम्म गर्न बाध्य पारिन्छन् भनेर बुझ्ने हुटहुटी हुन्छ । अनि जति सकिन्छ, नीतिगत तहमा झिनो सुधारको गुन्जायस हुन्छ कि भनेर प्रयास गर्न मन लाग्छ । त्यसो त मैले काम गरेका कतिपय मुलुकमा मेरा यी प्रयासहरूले सकारात्मक नतिजा पनि दिएका छन् ।

म लोकस्रष्टा प्रकाश सपूतलाई व्यक्तिगत रूपमा चिन्दिनँ र उनको फेसबुके फ्यान पनि होइन तर उनका माथि उल्लेख गरिएका सामग्री नेपाली र नेपालजस्तै पाखण्डी समाज र त्यस समाजका सज्जन, सभ्य बुज्रुकहरूलाई लैंगिक, जातीय, वर्गीय, धार्मिक र सांस्कृतिक सीमान्तीकृत पारिएकाहरूको सकम्बरीको जस्तो बाध्यात्मक स्थितिको समाजशास्त्र बुझ्न निकै सहयोगी भएको पाएकी छु र त विषय–सन्दर्भ अनुरूप उपयोग पनि गर्छु । अनि थुप्रै एसियाली, अफ्रिकी र युरोपेली सकम्बरीहरूलाई गत साताकी नेपाली सकम्बरीले जस्तै चोटिलो प्रश्न गर्न प्रोत्साहित पनि गर्छु, ‘के महिला यौनिकता विषाक्त सामाजिक संरचना (परिवार, समुदाय, श्रम बजार र राज्य) को च्यातिएको इज्जत टाल्ने टालो हो ?’

यो मेरो विगत ३० वर्षदेखिको प्राज्ञिक अध्ययन, अनुसन्धान, विभिन्न निकायहरूमा खाएको नीतिगत तहको जागिर र लेखन सब थोक हो । त्यसैले सकम्बरीहरू मेरा लागि समाज बुझ्ने ज्ञानका भण्डार हुन्; राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक शक्ति र स्रोतको दोहन गरी तिनै सकम्बरीहरूलाई यौन बजारमा वस्तुकरण गरी व्यापार गर्ने ‘सज्जनवृन्द’ हरूलाई प्रश्न गर्ने हौसला हुन् । किनकि त्यो यौन बजारको निर्माण गर्ने, चलायमान बनाउने, नियन्त्रण गर्ने, सकम्बरीहरूलाई बेची नाफाको व्यापार गर्ने र बेलाबेला सहरको इज्जत जोगाउने टालो चाहिएमा सकम्बरीहरूका विरुद्धमा छापामार शैलीमा प्रहरीका डण्डा चलाउने प्रक्रियाहरू हाम्रो राजनीतिक पद्धति र त्यसको अर्थनीतिले तय गरेको छ, अनि ती राजनीतिक पद्धति र आर्थिक नीतिका निर्णय प्रक्रियाहरूमा सकम्बरीहरूको कुनै भूमिका हुँदैन ।

म के कुरामा प्रस्ट छु भने, सकम्बरीहरू नेपाली समाजमा केहीले सामाजिक सञ्जाल र एकदुई मूलधारे पत्रिकामा हताश टिप्पणी गरेझैं २–४ सयमा होइन, हजारौंमा छन् अनि समाजको विभेद र उनीहरूको यौनिकतालाई यसरी नै नैतिकताको असन्तुलित तराजुमा राखेर तौलिने क्रम नरोकिए लाखौंको संख्यामा हुनेछन् । किनकि हाम्रो समाज नै सकम्बरी उत्पादन गर्ने पुँजीवादी कारखाना मात्र होइन, सकम्बरीहरूलाई भूमिगत रूपमा घचेटेर इज्जत नामक मुकुण्डोले छोपी निसासिने गरी पुरिदिने संरचना पनि हो । प्रकाशले आश्चर्यजनक ठूलो केही गरेका होइनन्, त्यो मुकुण्डो उतार्ने झिनो प्रयास मात्र गरेका हुन् । यस अर्थमा प्रकाश उनी आफैं र सकम्बरीहरू निसासिएर बाँचेको समाजलाई आलोचनात्मक चेतले बुझ्ने लोकस्रष्टा हुन् । तर विडम्बना, नेपाली समाज यति पाखण्डी छ कि उसलाई प्रकाश सपूत होइन, ‘छोरीभन्दा आमा तरुनी’ जस्ता लैंगिक रूपमा विषवमन गर्ने कुमार बस्नेतजस्ता गायकहरू चाहिन्छन् अनि ‘तिम्रा पाउहरूमा म सधैं झुकिरहन्छु’ जस्ता महिलालाई पितृसत्ताको दासका रूपमा चित्रण गर्ने चाँदनी शाहजस्ता गीतकारहरूलाई पुज्नु छ । अनि ‘पोइल जान पाम्’ भन्नेजस्ता महिलाको पहिचान र अस्तित्वलाई नै धावा बोल्ने तिनै चाँदनी शाहकी भक्त ‘कामरेड’ कोमल वलीहरूलाई राष्ट्रिय स्रष्टा भनी सम्मान गर्नु छ । यी त केही उदाहरण मात्र हुन्, नेपाली गीत–संगीत र साहित्यमा भेटिने अनेकौं विडम्बनामध्ये ।

यहाँ म हाम्रा गीत–संगीत र र यस्तै मनोरञ्जन साहित्य फाँटका समाजप्रति आलोचनात्मक चेत राख्ने स्रष्टाप्रति सम्मान गर्दै के भन्न बाध्य छु भने, हाम्रो मनोरञ्जन साहित्य लैंगिक, सामाजिक र जाति–समुदायविशेषप्रति साँघुरो छ । त्यसैले त हामी समीक्षा अधिकारीलाई निरन्तर पीडा दिन्छौं तर पल शाहहरूलाई सम्मान गर्छौं । अनि गौशाला–२६ माथि दोष थुपारी सामाजिक बहिष्करणतिर धकेलिदिन्छौं तर बलात्कार आरोपित सन्दीप लामिछानेलाई सफाइको रातो कार्पेट ओछ्याउन अदालतको प्रयोग गर्छौं । अनि महिला यौनिकताका आधारमा रचिएको इज्जतको मुकुण्डो उतारी छोरी भएबापत सामाजिक, आर्थिक र राजनीतिक रूपले हुत्त्याइएका सकम्बरीहरूको नियतिलाई सतहमा ल्याउन प्रयास गरी विभेदी समाजलाई प्रश्न गर्न झिनो प्रयास गर्ने प्रकाश सपूतहरूलाई गाली गर्छौं । यही होइन हाम्रो समाजको चरित्र ?

अब नेपाली समाजको इज्जतको मुकुण्डो उतार्न ढिलो भैसक्यो, त्यसैले गत साता सांगीतिक फाँटमा उदाएको सकम्बरी काठमाडौं खाल्डोका ‘सभ्य’ र सामाजिक सञ्जालमा पहुँच हुनेले मात्र होइन, समाजका कुना काप्चामा रहेका, आन्तरिक र बाह्य आप्रवासनमा रहेका सबैले हेर्नु, सुन्नुपर्छ । र, प्रकाशकी पात्र सकम्बरीले जस्तै हाम्रा लामो दूरीका सडकहरू लगायत हाम्रा गाउँबस्ती, सहर, बजारहरू जहाँ पनि भूमिगत रूपमा लुकाइएका, दबाइएका, थिचिएका सकम्बरीहरूले प्रश्न गर्न थाल्नुपर्छ, ‘के महिला यौनिकता विषाक्त सामाजिक संरचना (परिवार, समुदाय, श्रम बजार र राज्य) को च्यातिएको इज्जत टाल्ने टालो हो ?’

मेरो यो लेख सकम्बरी निर्माण टोलीको समीक्षा होइन, तर त्यो गीत हेर्दा–सुन्दा खट्केको एउटा प्रश्नचाहिँ, किन प्रकाशले सकम्बरीलाई यौन शोषण गर्नेमा धनाढ्य र आफू रहेको भूमिकाका पुरुष पात्रलाई मात्र प्रस्तुत गरे ? किनकि आन्तरिक र बाह्य आप्रवासनमा अनुसन्धानले पुस्टि गरेको र आप्रवासनलाई नजिकबाट नियाल्ने सबैलाई थाहा भएको कुरा के हो भने, आर्थिक दायित्व, पारिवारिक–सामाजिक र लैंगिक हिंसा, जातीय–सांस्कृतिक अपहेलनाजस्ता साङ्लाले जेलिएर सकम्बरीहरू रोजगारीको सम्भावनाको खोजीमा नजिक र अलि परको सहरबजार पस्छन्, कतिपय सिमाना पार गर्छन् पनि, कति एक्लै र अधिकांश आफ्नै चिनजानका छिमेकीहरूसँग या त गाउँघरमा डुल्ने रोजगार दलालहरूमार्फत ।

आफ्नो सृजनामा प्रकाश चिनेजानेको दाइका रूपमा रोजगार दलालकै भूमिकामा देखिन्छन् । अनि परिस्थितिले बाँधिएका सकम्बरीहरूमाथि प्रायः यौन हिंसाको शृंखला तिनै दलालहरूले सुरु गर्छन् जुन प्रकाशले आफ्नो भूमिकामार्फत यात्राको सुरुआतमै गरेका छन् । उनले सकम्बरीलाई आश्वस्त पनि त्यसरी नै पार्छन्, अनेक झुटा आश्वासन दिएर । यो धेरै सकम्बरीहरूको नियति हो, चाहे आन्तरिक आप्रवासनका क्रममा होस् या वैदेशिक रोजगारीमा अनौपचारिक रूपमा दलालमार्फत लगिँदा होस् । कतिको प्रतिरोध सफल हुन्छ तर कति प्रतिरोध गर्दागर्दै पनि बाटैदेखि हिंसामा पर्छन्; यो हाम्रो समाजको चरित्रको पाटो हो ।

हामीले महिला यौनिकताले टालिएको इज्जतको खोल ओढेर आडम्बरी समाजको प्रतिरक्षा गर्नुभन्दा के बुझ्नु जरुरी छ भने, सकम्बरीहरूलाई यौन र गैरयौन श्रम शोषण गर्नेमा जातीय, वर्गीय र सांस्कृतिक रूपले सुकिलामुकिला र समाजको पर्दाभित्रका ‘सज्जनवृन्द’ भनिएकाहरू नै धेरै भेटिन्छन्, यौन बजारका गौंडाहरूमा, रात्रि क्लबहरूका चोकहरूमा, सहरका गल्लीहरूमा । अनि ती ‘सज्जनवृन्द’ भनिएकाहरूको राजनीतिक पहुँच र हैसियत के र कहाँसम्म हुन्छ भन्ने पक्ष त छर्लंगै छैन र हामीलाई ? धेरै टाढा जानैपर्दैन, अनेकमध्ये सम्झन सकिने एउटा दृष्टान्त हो— गृह मन्त्रालयले २०५० को दशकको मध्यतिर ठमेलमा गरेका छापामार शैलीका कारबाहीहरू । हामीले किन र कहिलेसम्म दोहोरो–तेहरो मापदण्ड बोकेर समाजलाई गिजोलिरहने ? प्रकाशले राजनीतिक पक्षलाई पनि उजागर गर्नुपर्थ्यो र सकम्बरीले राजनीतिक ‘सज्जनवृन्द’ लाई पनि तीखा प्रश्नहरू गर्नुपर्थ्यो, जसरी उसले दाइ भनिएको पात्रलाई गरेकी छ ।

सायद अघिल्लो सृजना ‘पीर’ मा प्रस्तुत गरिएको राजनीतिक आयामप्रतिको प्रतिक्रियाले प्रकाशलाई झस्काएको हुन सक्छ सकम्बरीको नियतिमा राजनीति नमिसाउनुमा, जुन हाम्रोजस्तो राजनीतिक माहोलमा स्वाभाविक देखिन्छ । तर स्वदेशी र विदेशी श्रम बजारमा सकम्बरीहरूले भोग्ने नियतिमा सबैभन्दा बढी प्रभाव पार्ने पक्ष नै राजनीति हो, चाहे नेपाली बजारका होऊन् वा मध्यपूर्वमा झुक्याएर बेचिएका सकम्बरीहरू होऊन् वा पछिल्ला वर्षहरूमा अफ्रिका, युरोप र संसारका अन्य सहरमा पुर्‍याइएका किन नहोऊन् । मैले ती थुप्रै सकम्बरीसँग भेटेकी छु जागिर र प्राज्ञिक अनुसन्धानका क्रममा । र तिनका विकल्पहीन र बाध्यात्मक परिवेशका निर्णयहरू सुनेकी छु;

आफ्ना लागि मात्र होइन, आफैंलाई हिंसा गर्ने परिवारलाई पाउजु र टोपीको जोहो मात्र होइन बिहानबेलुका चुलो बाल्ने जिम्मेवारी पनि वहन गरेको भेटेकी छु । अनि तिनै सकम्बरीको यौन र गैरयौन श्रमको आर्जनबाट बाँचेको परिवारले सकम्बरीहरू फर्केर घर आउँदा इज्जत राखिदिन नसकेको भनेर सामाजिक बहिष्कार गरी जिउँदै किरिया गरेको पनि प्रशस्तै देखेकी छु, पर्दाभित्र रमाएको नेपाली समाजमा ।

मेरो विचारमा सकम्बरीले आफ्नो मूल प्रश्नमार्फत समाजमा अनुत्तरित थुप्रै प्रश्नको जवाफ खोज्न आग्रह गरेकी छन् र ती प्रश्नमध्ये केही हुन्— हामीले समाजलाई कहिलेसम्म पर्दाभित्र राख्ने ? कहिलेसम्म संरचनागत इज्जतलाई महिलाको यौनिकताको टालोले छोप्ने ? अनि कहिलेसम्म हामीविरुद्धका विषालु ज्वालालाई चुपचाप निलेर जिउने ?

त्यसैले आउनुहोस्, पूर्वाग्रहबिना हामी बाँचेको समाजलाई खोतलौं र बुझ्ने प्रयास गरौं— किन सकम्बरीहरू विश्वास गरेका आफ्नै छरछिमेकका ‘दाइ’ हरूबाट धोका खान्छन् ? किन जिउने आशामा हिंसामा धकेलिन्छन् तर पनि समाजलाई प्रश्न गर्छन्, ‘कहाँ लेखेको छ र दाइ इज्जत छोरीमान्छेको मात्रै जान्छ भनेर ? तपाईं (पुरुष) हरूको चाहिँ इज्जत जाँदैन ?’ हामी पनि प्रयास गरौं, सकम्बरीले जस्तै प्रश्न गर्न जबसम्म चित्तबुझ्दो उत्तर भेटिँदैन ।

प्रकाशित : वैशाख ११, २०८० ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×