मेरो जेल अनुभव र नयाँ पुस्ता

गोलघरमा राख्नुको अर्थ मृत्युको फैसला सुन्नु मात्रै हुन्थ्यो । हामी गोलघरमा मृत्यु पर्खेर बसेका थियौं । आफूलाई मारिने दिन कुर्दै बसेका थियौं ।
केपी शर्मा ओली

यो आलेखमा म जेलबारे कुरा गर्दै छु । 
जेलबारे चर्चा त पछि पनि होला । तर हाम्रोजस्तो अनुभवचाहिँ अब पछिल्लो पुस्ताले गर्न पाउनेछैन । समयले अब समाजलाई त्यस स्थितिमा फर्कन दिँदैन । समाज धेरै अघि बढिसकेको छ । तसर्थ, भोगाइको हिसाबले हाम्रो पुस्ता नै अन्तिम हो भन्दा हुन्छ । 

आजको नयाँ पुस्ताले जेल र यातनाबारे अनुभूति कसरी गर्छ कुन्नि ? आगोले पोलेको भोगाइ र अरूको कुरा सुनेर पोलेको महसुस गर्नु असाध्यै फरक अवस्था हो ।

०००

हामीलाई राज्य विप्लवको आरोपमा मुद्दा चलाइएको थियो । फाँसी र मृत्युदण्डको सजाय माग गरिएको थियो । गोलघरमा थुनिएको थियो । मृत्युदण्ड पाउने बन्दीलाई अन्य बन्दीसँगै राख्नुहुँदैन भनेर गोलघरमा राखिएको थियो ।

गोलघरमा पूर्वपट्टि देब्रे र दाहिनेतिर ढोका छ, दुईवटा लामा घर पनि छन् । बीचमा ठूलो स्पेस छ । त्यो खुला ठाउँमा एउटा चारकुने घर छ । त्यहीबीचमा फेरि एउटा चोक छ । चोकको छेउछेउमा ससाना फलामका ढोका हालिएका ससाना कोठा छन् । त्यहाँ असाधारण अपराधी, मानसिक सन्तुलन गुमाएका वा मृत्युदण्ड सुनाइएका राजनीतिक बन्दीलाई राखिन्छ । मलाई पनि त्यहीँ राखिएको थियो । गोलघरमा राख्नुको अर्थ मृत्युको फैसला सुन्नु मात्रै हुन्थ्यो । तपाईंहरूलाई अहिले यो कुरा थाहा पाउँदा कस्तो लाग्छ कुन्नि ? हामी गोलघरमा मृत्यु पर्खेर बसेका थियौं । आफूलाई मारिने दिन कुर्दै बसेका थियौं ।

यस्तो अवस्थामा बस्नुपर्दा मानिसमा धेरै किसिमले प्रभाव पार्दो रहेछ । पहिले त जैविक हिसाबले प्रभाव पर्ने भैगयो । मर्ने भइयो भन्ने लाग्दो रहेछ । त्यसपछि राजनीतिक प्रभाव पर्दो रहेछ । जेल परेको छु । मुद्दा चलेको छ । म सत्ताविरोधी भएकैले मेरो ज्यान लिने अप्राकृतिक, अमानवीय र तानाशाही प्रहार भएको छ भन्ने एक किसिमको आक्रोश पनि हुँदो रहेछ । एउटा जैविक परिवेशभन्दा माथि उठेर समाज परिवर्तनको नायक, अभियन्ता, मार्गदर्शकको रूपमा अडिग रहनुपर्छ भन्ने भाव आउँदो रहेछ । त्यसपछि जीवन के हो ? मृत्यु के हो ? मलाई फाँसी दिने फैसला गरेको मान्छे मभन्दा पहिला मर्छ कि पछि मर्छजस्ता गम्भीर प्रश्नहरू दार्शनिक कोणबाट आउँदा रहेछन् । जब जैविक भावबाट दार्शनिकतामा पुगिन्छ, त्यसपछि मृत्यु भन्ने कुरा त्यति ठूलो विषय बन्दो रहेनछ । मृत्यु सम्झँदा पनि शरीरमा काँडा नउम्रने रहेछ । बरु, जतिजति दिन बित्दै जान्छ, आज तानाशाहीको एउटा दिन छोट्टियो भन्ने अनुभूति हुँदो रहेछ ।

जेलमा रहँदा म बिहानै उठेर नित्यकर्म सकेपछि अलिकति व्यायाम गर्थें । पढ्ने कुरा केही छ भने पढ्थेँ । जेलमा बिहान सबेरै खाना खाने चलन थियो, ८/९ बजेतिरै खाना खाइसकिन्थ्यो । त्यसपछि प्रायः कोठामै बस्थेँ । पढ्न पाउने समय पढ्यो, लेख्न पाउँदा केही लेख्यो र चिन्तन गर्‍यो । एवम्रीतले दिन गुज्रन्थ्यो । त्यहाँका मानिसहरू अक्सर रूखो बोल्थे । उनीहरूको रूखो बोलीसँग मेरो टक्कर परिरहन्थ्यो । उनीहरू सम्मानहीन ढंगले, हेपेर, अभद्र ढंगमा बोल्ने गर्थे । बोलीमा उनीहरूभित्र रहेको कुण्ठा र त्यसले उत्पन्न गरेको चिड्चिडाहट देखिन्थ्यो ।

साधारणतया घाम नअस्ताउँदै बेलुकीको खाना खाइसक्नुपर्थ्यो । साँझ चार–पाँच बजेतिरै खाना आइपुग्थ्यो । वर्षायाममा सारै ढिलो खाँदा ६ बजेसम्म खाना खाइसकिन्थ्यो । खाजा वा चियानास्ता गर्न पाइँदैनथ्यो । त्यसका लागि पैसा नै पुग्दैनथ्यो । जम्माजम्मी डेढ माना चामल र ६०/७५ पैसा दिइन्थ्यो । त्यसबाटै दैनिकी चलाउनुपर्थ्यो । दाउरा, तेल, दाल, नुन, मञ्जन, साबुन, जुत्ता चप्पल, तरकारी सबै त्यति पैसाले पुर्‍याउनुपर्थ्यो । जेलमा खाना आफैं बनाउनुपर्थ्यो । तर राजनीतिक बन्दीहरूको भने ‘मेस’ थियो । हामी पैसा उठाएर एकै ठाउँमा राख्थ्यौं । अनि त्यही पैसाले किन्थ्यौं । त्यसले हामीलाई दैनिकी चलाउन सजिलो पार्थ्यो ।

प्रायः बन्दीहरू कठिनाइभित्र पनि रमाइलो गर्थे । दालको कथा अहिले सम्झँदा पनि मलाई रमाइलो लाग्छ । त्यो दिन खाना खाने बेला भएको थियो । कुनै एक जनाले खाना बनाउने व्यक्तिलाई भन्यो— यो बेसार–पानीजस्तो के बनाउनुभएको हो ?

खाना बनाउने व्यक्तिले भन्यो— दाल हो ।

उसले फेरि सोध्यो, दाल भएको भए त गेडागुडी फेला पर्नुपर्ने नि त !

खाना बनाउने व्यक्तिले भन्यो— यो काँचो दाल होइन, पकाएको दाल हो । पकाएपछि दाल पग्लिन्छ ।

३५ जनाको हाम्रो मेसमा जम्मा आधा चौथाइ दाल पाक्थ्यो । त्यति थोरै दाल त्यत्रो जनाले खाँदा त्यसको गेडा कसरी भेट्नु ? त्यही पग्लिएको दालको झोलसँग पनि हामी खाना खुसी भएर खान्थ्यौं । त्यस्तो परिस्थितिमा खानाको महत्त्व बुझिन्छ । अहिले भोकाएपछि खाना खाने चलन छैन । भोक लाग्नै नपाई, अथवा अलिकति पेट खाली भएको महसुस हुनासाथ खाइहाल्छौं । भोक हामीले चिनेकै छैनौं ।

म जेल परेको पहिलो ६ वर्ष कसैसँग भेट्न दिइएन । त्यति लामो समय कसैले भेट्न नपाएपछि परिवारका सदस्यहरूमा पनि जेलमा भेट्न जाने आदत नै हराइसक्या हुन्थ्यो ।

त्यति हुँदाहुँदै पनि यस्सो दुई–चार जना कहिलेकाहीँ भेट्न आउँथे । आफन्तलाई देख्न पाउँदा खुसी लाग्थ्यो । भेटघाट गर्न त के पाउनु र ! देखादेखजस्तो मात्रै हुन्थ्यो । भित्र र बाहिर बसेर, सरकारी जासुस छेउमा राखेर कुरा गर्नुपर्थ्यो । आत्मीय ढंगले कुरा गर्न पाइँदैनथ्यो, मनका कुरा खोल्न पाइँदैनथ्यो ।

म बस्ने कोठा कस्तो थियो भनेर सायद अहिलेको पुस्ताले अनुमान पनि गर्न सक्दैन । त्यो ६ फिट लामो, ४ फिटजति चौडा कोठा थियो । चारैतिर धेरै नै मोटो पर्खाल थियो । पर्खालबाट पानी पलाउँथ्यो । कोठामा घाम कहिल्यै आउँदैनथ्यो । खुट्टा पसार्न पनि गाह्रो, मान्छे बस्न मिल्ने तर उभिन नमिल्ने खालको कोठा थियो ।

जेलमा शौचालय थिएन । कोठामा सानो प्वाल पारिएको थियो । त्यसमै दिसापिसाब गर्नुपर्थ्यो । त्यो प्वालमा मुसाहरू खेल्थे । निदाउन खोज्यो, मुसाले दिसा ल्याएर सिरकमाथि छरिदिन्थ्यो ।

राति मुख सुक्थ्यो, तर कोठामा पानीको थोपो हुँदैनथ्यो । साँझ चार–पाँच बजे खाना खाएपछि बिहान नहुन्जेल पानी पिउन पाइँदैनथ्यो । काकाकुल भएर बिहान ८ बजेसम्म कुर्नुपर्थ्यो । मैले एक दिन पानी खान सुराही चाहियो भनेँ । तर ‘सुराही फुटाएर घाँटी रेटेर मर्‍यौ’ भने के गर्ने भन्दै दिएनन् । मैले भनेँ, ‘म मर्न परे गोली खाएर मर्छु, तर आत्महत्या गर्ने कायर म हैन । माटाको खपटाले रेटेर कहीँ घाँटी छिन्छ र मानिस मर्छ ?’ तर मेरो कुरा कसैले सुनेन । कुनै एउटा भाँडामा त पानी देऊ भन्दा पनि दिएनन् । मैले दूधको प्याकेटमा भए पनि पानी देऊ भनेँ । ‘प्याकेट घाँटीमा अड्केर मर्‍यौ’ भने के गर्ने भन्न थाले । उनीहरूको उद्देश्य नै निहुँ खोज्ने र ‘हुँदैन’ भन्ने मात्रै हुन्थ्यो । तर हामीले पछि अनशन बस्ने, खाना नखाने गरेर २०३५ सालतिर पानी खाने सुराही लिइछाड्यौं ।

त्यसबखत हाम्रो मनस्थिति अलि बढी एग्रेसिभ थियो, दुःख दिने मान्छे देख्दा रिस उठ्थ्यो । आफूलाई मानसिक रूपमा सन्तुलित राख्न सहज थिएन त्यो ठाउँमा । त्यहाँको वातावरण नै त्यस्तै खालको हुन्थ्यो । मसँगै जेलमा मानसिक सन्तुलन गुमाएका बन्दीहरू पनि थिए । उनीहरूको व्यवहार अनौठो हुन्थ्यो । कोही राति सुतिरहेका हुन्थ्ये त कोही रातभरि जाग्राम बसेर बिहानपख सुत्थे । राति ननिदाएको व्यक्तिले मस्त सुतिराखेको व्यक्तिलाई तथानाम गाली गर्थ्यो । फेरि ऊ सुतेपछि त्यसलाई अर्कोले सराप्न थाल्थ्यो ।

मानसिक अवस्था निकै खलबलिएका पूर्ण कुमाल नाम गरेका एक व्यक्तिसँग जोडिएको एउटा रमाइलो कहानी छ । त्यसबखत त्यो घटना दुःखपूर्ण थियो, तर अहिले सम्झँदाचाहिँ रमाइलो लाग्छ । एक दिन मलाई बाहिरबाट मासु–भात आयो । यस्सो अलिकति खाएको मात्रै थिएँ, ‘भात मलाई देऊ’ भन्दै उनले मलाई तथानाम गाली गर्न थाले । मैले खाना खानै सकिनँ । त्यसपछि मैले उनैलाई खान दिएँ । खाइसकेपछि उनी रुन थाले । भने, ‘माड्साप, मान्छे कतिसम्म गिर्न सक्दो रहेछ, मैले अघि भात त खाइसकेको थिएँ । तपाईं भोकै हुनुहुन्छ । त्यसै पनि तपाईं सारै कम खानुहुन्छ । आज त झन् भोकै पर्नुभयो । मैले मन थाम्न सकिनँ र तपाईंलाई खानै दिइनँ । म आफैंले खाएँ, म कति तल झरेँ । म आजदेखि मान्छे नै रहिनँ ।’ उनी धेरै बेर रोए त्यो दिन ।

केही दिनपछि फेरि मेरो लागि बाहिरबाट मासु–भात आयो । कुमालले फेरि त्यसै गरे । यस पटक त सुरुमै तथानाम गाली गर्दै मासु–भात मागे । मैले आफूलाई भोक लागेको बताएँ । तर उनले मान्दै मानेनन् । त्यस दिन पनि मैले मासुभात उनैलाई दिएँ । भात खाइसकेपछि खाना ल्याउने मान्छेलाई उनले भने, ‘म मन थाम्न सक्दिनँ, मासुभात ल्याएको दिन बाहिर लगेर खुवाऊ । भित्रै दिए उसले खान पाउँदैन ।’ अर्को एउटा कुरा पनि सम्झन्छु, ती कुमालसँग बागचाल खेल्न भने सकिँदैनथ्यो ।

अहिले पनि धेरैले मलाई सोध्नुहुन्छ— जेलमा छँदा निद्रा लाग्थ्यो भनेर । जेलभित्र मात्र होइन अहिलेसम्म पनि मलाई निद्राको समस्या कहिल्यै परेन, बिरामी हुँदाबाहेक । किनकि, म चिन्ता गर्दिनँ । गोलघरमा हुँदा एक दिन मैले कालीप्रसाद रिजालको कविता भेट्टाएँ । ‘फेरि एउटा बेकार दिन खेर गयो’ भन्ने आशयको थियो त्यो कविता । उनी कवितामा खेर गएको दिनको चर्चा गर्छन् । आज केही पनि भएन, एउटा बेकार दिन खेर गयो । यस्तैयस्तै भाव थियो कवितामा ।

म त्यो भावभन्दा अलिकति पृथक् थिएँ । मलाई रिजालको कविता मन परेको हो । तर मेरो जिन्दगी अलि भिन्न थियो । म अलि फरक ढंगले सोच्थेँ । मेरा हरेक दिन व्यर्थका हुँदैनथे, म दिनलाई व्यर्थ जान दिँदैनथेँ । म केही विचार गरिराखेको हुन्थेँ, केही न केही गरिरहन्थेँ । सुरुसुरुमा चुरोटका खोलमा कविता लेख्थेँ । पछि सादा पानामा लेख्न थालेँ । किताबहरू पढ्न थालेँ । मेरो धेरै समय चिन्तनमा बित्थ्यो ।

यी घटना, भोगाइ र व्यवहारलाई समग्रतामा हेर्नुपर्छ भन्ने लाग्छ मलाई । पुरानो पुस्ताले गरेको दुःख सहज थिएन । त्यो कुनै रोमाञ्च वा रमाइलो थिएन । त्यो कष्ट थियो, जीवनमरणको आन्दोलन थियो । तर पनि हामी आफूलाई ऊर्जाशील राख्न सधैं प्रयत्न गर्थ्यौं । हामी निराश थिएनौं, जस्तोसुकै अवस्थामा पनि आफूलाई उत्साही बनाइरहन्थ्यौं ।

पछिल्लो समय ‘डिप्रेसन’ भन्ने शब्द खेलाँचीजस्तो बन्न पुगेको छ । यसो सानातिना समस्या वा असफलता मिल्यो कि म त डिप्रेसनमा जाने भएँ भन्ने गरेको सुनिन्छ । अहिले आत्महत्या निकै बढिरहेको छ । आत्महत्या गर्छु भनेर ताली खाएर हिँडिरहेका मानिस पनि देख्छु । युवाहरू आत्महत्या गर्न तयार छन् भनेर ‘प्रोभोक’ गरिएको पनि छ ! दुरुत्साहन गर्ने स्वार्थी तत्त्व हुन् । तिनलाई हामीले हतोत्साही गर्नुपर्छ । युवालाई त परिस्थितिसँग जुध्न पो सिकाउनुपर्छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

महिला आन्दोलनको दशा र दिशा

महिला आन्दोलन कहिले दल, कहिले संघसंस्था त कहिले अधिकारकर्मीको मात्र आन्दोलन बनेको देखिन्छ । सत्ता प्राप्तिमा समस्या पर्‍यो भने दलहरूले महिलाको मुद्दा छाड्ने गर्छन् ।
रीता साह

नेपालमा महिला आन्दोलनको इतिहास सय वर्ष पुरानो छ । प्रायः राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरूसँगै महिला आन्दोलन पनि अगाडि बढेको देखिन्छ । व्यवस्था परिवर्तनपछि महिला आन्दोलनको माग पनि पूरा हुने मान्यता व्याप्त भए पनि त्यो कुरा व्यवहारमा लागू भएको छैन ।

२०४६ सालपछि विभिन्न महिलावादी संघसंस्थाहरूले पैतृक सम्पत्तिमा हक, वैवाहिक बालात्कारजस्ता मुद्दामा आन्दोलन गर्नुपरेको थियो । यसको अर्थ सय वर्षमा महिला आन्दोलनले केही उपलब्धि नै हासिल नगरेको चाहिँ होइन । नेपालको संविधानमा महिलाको हक, समानताको हक र सामाजिक न्यायको हक स्थापित भएका छन्, जस अनुसार महिलालाई राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था भएको छ । त्यस्तै, सामाजिक रूपले पछि पारिएको समुदायका लागि विशेष व्यवस्था छ । परिणामतः संघीय ससंद्मा ३३, प्रदेशमा ३४ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व सम्भव भएको छ । निजामती सेवामा २६ प्रतिशत महिला प्रतिनिधित्व पुगेको छ । बालविवाह, बोक्सी प्रथा, घरेलु हिंसा, यौन हिंसा लगायतका सामाजिक कुरीतिहरू रोक्नका लागि कानुनहरू बनेका छन् जसले महिला हिंसालाई न्यूनीकरण गर्न मद्दत गर्छन् । तर पछिल्लो समयमा कतिपय प्राप्त उपलब्धि गुम्ने क्रममा छन् । किन यस्तो भइरहेको छ ? महिला आन्दोलनले दिशा बिराएको हो कि ? यदि हो भने महिला आन्दोलनको दिशा के हुने हो ?

महिला आन्दोलनको दशा

कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन मुद्दा, संगठन, नेतृत्व र वैचारिक पक्षमा स्पष्टताको खाँचो पर्छ । २००७ सालअघि र पञ्चायतकालमा विभिन्न दलमा लागेका महिला नेताहरूले नै महिला आन्दोलन पनि हाँकिरहे । २०४६ सालपछि राजनीतिमा लागेका महिला नेताहरूसँगसँगै महिलाका नाममा खुलेका संघसंस्थाहरू, अघिकारकर्मीहरूले पनि विभिन्न अभियान र आन्दोलन चलाए । जस्तै, आमाको नाममा नागरिकता, सम्पत्तिमा महिलाको अधिकार सम्बन्धी अभियानहरूलाई लिन सकिन्छ । यसरी उठान गरेका मुद्दाहरू सम्बोधन भएपछि आन्दोलन सेलाएर जान्थे । दलहरूमध्ये सबैभन्दा स्पष्ट रूपमा माओवादी आन्दोलनले महिला मुद्दाको उठान गरेको थियो । परिणामतः २०६३ सालको अन्तरिम संविधानमा आमाको नाममा नागरिकता, राज्यको हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको अधिकार लेखियो । सत्ताको राजनीतिमा गएपछि माओवादीहरूले पनि बिस्तारै महिलाको मुद्दा छाड्दै गए । २०६३, २०६४ र २०७२ सालमा मधेशमा भएका आन्दोलनहरूले पनि मधेशी लगायत सीमान्तीकृत महिलाको मुद्दा उठान गरे । २०७२ सालको संविधानमा केही मुद्दाहरूको सम्बोधन पनि भयो । अहिले भने मधेशी दलको प्राथमिकतामा पनि महिलाका मुद्दा पर्न छाडेको छ । समग्रमा हेर्दा महिला आन्दोलन कहिले दल, कहिले संघसंस्था त कहिले अधिकारकर्मीको मात्र आन्दोलन बनेको देखिन्छ । सत्ता प्राप्तिमा समस्या पर्‍यो भने दलहरूले महिलाको मुद्दा छाड्ने गर्छन् । उदाहरणका लागि वैवाहिक अंगीकृत नागरिकतामा माओवादीले आफ्नो अडान छाडेको देखियो । त्यस्तै विभिन्न संघसंस्थाले पनि दातृ निकायबाट सहयोग पाउन्जेल महिलाका मुद्दामा आन्दोलन चलाउने र सहयोग बन्द भएपछि छाड्ने गरेका छन् । कतिपय अवस्थामा संस्थाको उद्देश्य मिल्ने अवस्थामा आन्दोलनमा साथ दिने नभए मौन बसिदिने पनि देखिँदै आएको छ । विभिन्न दलका महिला नेताहरूले पनि यस्ता मुद्दामा पार्टीभित्र दबाब बढाउन सकेका छैनन् । पाटीको समर्थन छ भने आवाज उठाउने, छैन भने पाटीको लाइनविरुद्ध बोल्ने जोखिम नलिने प्रचलन छ । समग्रमा महिला आन्दोलन दिशाहीन, ढुलमुले र मौसमी बन्दै गएको छ ।

मुद्दा र संगठन ः राणाकालमा महिला आन्दोलनको नारा बालविवाह र बहुविवाहको विपक्षमा र बालिका शिक्षाको पक्षमा थियो । प्रजातन्त्र आएपछि मतदानको अधिकार, राजनीतिक प्रतिनिधित्व, पैत्रिक सम्पत्तिमा समान अधिकार र समान कामको समान ज्यालाजस्ता विषयमा महिला आन्दोलन केन्द्रित थियो । गणतान्त्रिक व्यवस्थामा नागरिकतामा लैंगिक समानता, राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व लगायतका मुद्दामा महिला आन्दोलन केन्द्रित रहँदै आएको छ । राणाकालदेखि गणतन्त्र अघिसम्म महिला आन्दोलनका मुद्दाहरू राजनीतिक तथा संवैधानिक अधिकार प्राप्तिमा केन्द्रित थिए । ती अधिकारहरू प्राप्त भएपछि कतिपयले महिला आन्दोलन पूरा भएको सोच बोकेको पाइन्छ । तर अहिलेसम्मका नेपालको महिला आन्दोलनले महिलाभित्रका पनि सीमान्तीकृत महिलाको फरक मुद्दालाई उठान गरेका छैनन् । नेपालको महिला आन्दोलनले सबै महिलालाई एउटै बास्केटमा राखेर व्याख्या विश्लेषण गरेको पाइन्छ । सबै समुदायका महिलाको समस्या, भोगाइ र विभेद समान प्रकारका छैनन् । दलित महिलाले भोग्ने जातीय छुवाछुत अन्य महिलाले भोग्नु पर्दैन । मधेशी महिलाले रंग, भाषा र राष्ट्रियताको नाममा भोग्ने विभेद अन्य महिलाको भन्दा फरक छ । आदिवासी जनजाति र मुस्लिम महिलाले भोग्ने धार्मिक विभेद अन्य महिलाले भोग्नु पर्दैन । अपांगता भएको महिलाले शारीरिक रूपले विभेद भोग्दै आएका छन् । नेपालको मूलधारको महिला आन्दोलनले सीमान्तीकृत समुदायका महिलाको फरक सवाललाई आफ्नो मुद्दा कहिल्यै बनाएन, जसले गर्दा सीमान्तीकृत समुदायको महिलाहरू मुद्दागत रूपले विभाजित छन् ।

त्यस्तै, नेपालको महिला आन्दोलनले समाज र परिवारमा रहेको पितृसत्तात्मक सोच र उत्पीडनका विषयलाई आन्दोलनको मुद्दा बनाएको देखिँदैन । जबकि राज्यको हरेक संरचना पितृसत्तात्मक मूल्य, मान्यताबाट निर्देशित छ । पितृसत्तात्मक मूल्य, मान्यताका कारण महिलाले प्राप्त गरेका उपलब्धि खोसिने क्रम जारी छन् । उदाहरणका लागि हालै सम्पन्न उपराष्ट्रपतिको निर्वाचनलाई लिन सकिन्छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिमा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । दलहरूले गठबन्धन गरी फरक लिंगको सट्टा फरक समुदायको पुरुष नेतालाई निर्वाचित गरे । दलहरूले चाहेको भए महिलालाई पनि जिताउन सक्थे । त्यस्तै स्थानीय तहको चुनावमा पनि दलहरूले गठबन्धन गरी मेयर र उपमेयरमा फरक–फरक दलले पुरुष नेतालाई नै उम्मेदवार बनाएका थिए । यी दुवै बेला जानीजानी महिलालाई ‘बाइपास’ गरियो जसले दलभित्रको पितृसत्तात्मक मनोविज्ञानलाई उजागर गर्छ ।

गैरसरकारी संस्थामा आबद्ध महिलाहरू पनि विभाजित छन् । जस्तै, महिला हिंसाका क्षेत्रमा काम गर्ने संस्थाले महिला हिंसाको मात्र मुद्दा उठान गर्ने, वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मीले वैदेशिक रोजगारीका समस्या मात्र उठान गर्ने गरेका छन् । यसरी नेपालको महिला आन्दोलनको मुद्दा महिला नेता, संघसंस्था र अधिकारकर्मीहरूमा विभाजित हुने गरेको छ ।

नेतृत्व र वैचारिक पक्ष ः कुनै पनि आन्दोलनलाई सफलतामा पुर्‍याउन त्यसको नेतृत्वको ठूलो भूमिका रहन्छ । नेपालको महिला आन्दोलनको नेतृत्व पनि अस्थायी र मौसमी प्रकृतिको रहेको देखिन्छ । महिलाका मुद्दामा कहिले दलका महिला नेताले नेतृत्व लिए भने कहिले संघसंस्थाका अधिकारकर्मीहरूले । कहिलेकाहीँ कुनै मुद्दामा संयुक्त रूपले पनि नेतृत्व लिएको पाइन्छ । उदाहरणका रूपमा निर्मला पन्तको घटनामा महिला नेताहरू अधिकारकर्मीहरूसँगै सडक आन्दोलनमा थिए । त्यस्तै संविधान बन्ने बेलामा महिलाका मुद्दालाई देशको मूल कानुनमा स्थापित गराउन महिला नेता र अधिकारकर्मीहरूसँगै आन्दोलनमा थिए । तर संविधान जारी भइसकेपछि उनीहरूको सहकार्य निरन्तर रहेन ।

नेपालको महिला आन्दोलनलाई सही दिशामा अगाडि बढाउन यसको सैद्धान्तिक वा विचारधारात्मक पक्षको प्रस्टता उत्तिकै आवश्यक छ । जस्तो, विश्वव्यापी महिला आन्दोलनको पहिलो लहर १८ औं शताब्दीमा सुरु हुँदा उदारवादी नारीवादी धारबाट निर्देशित थियो । त्यसमा शिक्षामा समान अवसर, प्रजनन सम्बन्धी अधिकारहरू, समान श्रमको समान ज्यालाजस्ता मागहरू थिए । त्यस्तै महिला आन्दोलनको दोस्रो लहरले उग्र नारीवादी धारको अवधारणा अगाडि सार्दै महिला उत्पीडनको मूल कारण पितृसत्तात्मक सोच, मूल्य–मान्यता र अभ्यास हो भनेको थियो । महिला आन्दोलनको तेस्रो लहरले सबै महिलाको समस्या एकै प्रकारको हुँदैन, महिलाभित्र पनि विविधता छ भन्दै उत्तरआधुनिक नारीवादको अवधारणा अगाडि सार्‍यो । महिलाले केवल लिंगको आधारमा विभेद भोग्दैन बरु रंग, जात, वर्ग र इथ्निसिटीका आधारमा पनि विभेद भोगेको हुन्छ भन्यो ।

तर नेपालको महिला आन्दोलन सुरु भएको लगभग सय वर्ष पुग्दा पनि वैचारिक रूपमा प्रस्ट नहुनु यसको कमजोर पक्ष हो । आन्दोलनका अगुवाहरू स्वयंमा पनि अस्पष्टता रहनु समस्या हो । अहिले पनि कतिपयले आफूलाई महिला अधिकारकर्मी वा मानवतावादी हुँ तर नारीवादी होइन भन्छन् । जबकि महिला अधिकारकर्मी, नारीवादी वा महिलावादी भन्नु उस्तै–उस्तै हो । कतिपयले आफूलाई उदारवादी नारीवादी भन्न रुचाउँछन् । परिणामतः महिला आन्दोलनलाई सबैले आआफ्नै तरिकाले व्याख्या र विश्लेषण गर्ने गर्दछन् ।

आन्दोलनको अबको दिशा

पहिलो, नेपालको महिला आन्दोलनलाई सही दिशा दिनका लागि वैचारिक रूपले प्रस्ट हुनैपर्छ । कुन विचारधाराले महिला आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सकिन्छ, त्यसबारे बहस छलफल हुनुपर्छ । दोस्रो, महिला आन्दोलनको मुद्दालाई पुनर्परिभाषित गर्नुपर्छ । महिलाको साझा मुद्दा र सीमान्तीकृत समुदायका महिलाको फरक मुद्दालाई पनि सँगसँगै उठान गर्नुपर्छ । तेस्रो, महिला आन्दोलनको अबको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ ।वभिन्न दलभित्र पनि महिलाभित्रका विविधताका मुद्दाहरू बहसमा आउनुपर्छ । महिलाका मुद्दामा दलहरूबीच सहकार्यको माहोल बन्नुपर्छ । महिलावादी पुरुषहरूलाई पनि महिला आन्दोलनमा जोड्न सक्नुपर्छ ।

प्रकाशित : चैत्र १२, २०७९ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×