कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

मेरो जीवनमा सर्वाधिक प्रभाव पारेका पाँच व्यक्ति

केपी शर्मा ओली

मेरो जीवनमा सर्वाधिक प्रभाव पार्ने पाँच जनालाई यतिखेर म स्मरण गर्न चाहन्छु । पृथ्वी, समाज, जीवनजगत्, स्वर्ग–नर्क, भगवान्–राक्षस, परिवर्तन, राजनीति, अर्थनीति लगायतका विषयमा जसले मलाई पहिलो जानकारी दिनुभयो, उहाँहरूका बारेमा चर्चा गर्नु आफ्नो कर्तव्य ठान्दछु । उल्लिखित विषयहरूलाई चिन्न, बुझ्न र विश्लेषण गर्न पनि उहाँहरूले नै सिकाउनुभयो । त्यही विश्लेषणबाटै मलाई अगाडि बढ्न र अप्ठेराहरूको सामना गर्न सहज भयो ।

मेरो जीवनमा सर्वाधिक प्रभाव पारेका पाँच व्यक्ति

१. मेरी हजुरआमा

मैले सदा सम्झने पहिलो व्यक्ति मेरी हजुरआमा हुनुहुन्छ । हजुरआमाबाटै मैले पृथ्वीका बारेमा सुन्न पाएको हुँ । देवीदेवता, राक्षस अर्थात् दानव, भूतप्रेत, परीहरूका कुरा पनि मैले उहाँबाटै सुन्न पाएको हुँ । जीवजन्तु, जलचर, सरीसृपका कुरा उहाँ गर्नुहुन्थ्यो । महाभारत, रामायण, भगवद्गीता अनि ब्रह्मा, विष्णु, महेश्वर को हुन् भन्ने पनि उहाँले नै बताउनुभएको हो । राजा–महाराजा, ठूला मान्छे, साना मान्छेका बारेमा हजुरआमाले भनेका कुरा म बडो चाखपूर्वक सुन्थें र मनन गर्थें । हजुरआमा असत्यसँग कहिल्यै नझुक्न र सत्यप्रति सधैं निष्ठावान् हुन सिकाउनुहुन्थ्यो । नराम्रो काम नगर्न र दुर्व्यसनमा नलाग्न पनि उहाँ सिकाउनुहुन्थ्यो । म त्यही मार्गमा हिँड्न प्रेरित भइरहें ।

मेरी आमा म सानै छँदा बित्नुभएको थियो । त्यसैले मेरो लालनपालन गर्ने, हुर्काउने काम हजुरआमाले नै गर्नुभएको थियो । हजुरआमाबाटै मैले नारीमा हुने स्नेह, प्रेम, वात्सल्य, ममता, सहनशीलताजस्ता गुण बुझ्न पाएको हुँ । उहाँ अत्यन्त दयालु, ममतामयी, दृढ विश्वासी, सत्यवादी त हुनुहुन्थ्यो नै, आफूले बुझेका र जानेका कुरा सम्प्रेषण गर्न पनि निकै सिपालु हुनुहुन्थ्यो । यसरी मेरो जीवन हजुरआमाका सोचविचार, चिन्तन, मूल्य–मान्यता आदिबाट निर्देशित छ । उहाँको समय यस्तो थियो, जतिखेर थुप्रै खालका अन्धविश्वास, धारणा, परम्परा समाजमा व्याप्त थिए । उहाँ शास्त्रमा लेखिएका कुरालाई प्रमाण मान्नुहुन्थ्यो । त्यो समय अहिलेको जस्तो विकसित थिएन, त्यसकारण उहाँका कतिपय परम्परागत धारणा मैले अनुसरण गर्न सक्ने कुरा भएन ।

एक दिन पण्डितजी पुराणवाचन गर्दै थिए । उनले यस्तो कथा सुनाए, जुन विश्वास गर्नै सकिँदैनथ्यो । मैले पण्डितजीलाई यस्तो कसरी हुन्छ र भनेर प्रश्न सोधें । पण्डितजी खुबै रिसाए । ‘शास्त्र भनेकै प्रमाण हो’ भन्न थाले । तर मभित्र भने शास्त्र र ती पण्डितजीप्रति नै शंका बढ्दै गयो ।

बदल्नुपर्ने कतिपय कुरा बदल्दै म अघि बढें, अनुसरण गर्नुपर्ने सबै कुरालाई मैले आफ्नो जीवनपद्धति बनाएँ । यसरी मेरा लागि हजुरआमा प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म बन्न पुग्नुभयो । हजुरआमामा विभिन्न विषयमा यस्तो विलक्षण ज्ञान थियो, जुन मेरा निम्ति मात्र होइन, तत्कालीन समाजका अन्य व्यक्तिका निम्ति पनि अत्यन्त उपयोगी रहन गयो ।

२. रामनाथ दाहाल

म करिब १५ वर्षको थिएँ, रामनाथ दाहाल नामका व्यक्तिसँग मेरो विशेष किसिमको भेट भयो । म उहाँलाई पहिलादेखि नै चिन्दथें, तर त्यो दिनको भेट बेग्लै हुन गएकाले ‘विशेष’ भनेको हुँ । त्यो दिन मैले उहाँसँग ठूलै जिज्ञासासहित भेटेको थिएँ । त्यो भेटले मेरो जीवनमा अर्कै मोड र परिवर्तन ल्याइदियो । उहाँलाई २०२९ साल मंसिर २६ गते सत्ताले गिरफ्तार गरेको थियो र फागुन २१ गते गोली हानेर मारिएको थियो । गिरफ्तारीको अघिल्लो दिनसम्म पनि म उहाँसँगै थिएँ, हामीबीच घनिष्ठता बढिसकेको थियो ।

विद्यालयमा मैले शिक्षक–शिक्षिकासँग विभिन्न विषय पढें । त्यो विषयगत पढाइ थियो । तर मैले जब रामनाथ दाहाललाई भेटें, तब थाहा पाएँ उहाँसँग कुनै एक–दुई विषय मात्र होइन, विविध विषयमा अथाह ज्ञान रहेछ । कुनै शिक्षक वा अन्य साथीभाइ भेट्दा म ज्ञानको कचौरा मात्र भेट्थें, सीमित विषयमा जानकारी भएका । तर रामनाथ दाहाल ज्ञानको विशाल भण्डार हुनुहुन्थ्यो । मैले उहाँलाई एउटा प्रश्न गरेको थिएँ, जसको उत्तर उहाँले विविध कोणबाट दिनुभएको थियो । छोटो समयमा उहाँले दिनुभएको ज्ञानले मलाई आश्चर्यचकित बनाएको थियो । उहाँले दिनुभएको उत्तर, मलाई देखाउनुभएको दुनियाँ र दृश्य असामान्य थिए । यति सीमित समयमा यति धेरै ज्ञान कसरी लिन सकिएला भनेर म चकित पनि थिएँ ।

उहाँले ज्ञान सम्प्रेषण गर्ने शैली नै विचित्रको थियो । त्यसको प्रभावले मलाई जिन्दगीमा धेरै थोक बुझ्ने त बनायो नै, जीवनलाई नै नयाँ मार्गमा प्रवेशसमेत गराइदियो । म हजुरआमाको दर्शन–चिन्तनबाट प्रभावित मानिसलाई रामनाथ दाहालसँगको भेटले असान्दर्भिक र अव्यावहारिक दर्शनचिन्तनबाट मुक्त गराउँदै बेग्लै संसारमा लगिदियो । रामनाथ दाहालले जीवनजग्त मात्र होइन, अन्य थुप्रै कुरालाई विज्ञानसम्मत ढंगले मलाई बुझाइदिनुभयो । ती ज्ञान सबै उहाँले विकास गर्नुभएको होइन, अध्ययनबाट प्राप्त ज्ञानलाई उहाँ आफ्नै आविष्कारजसरी प्रस्तुत गर्नुहुन्थ्यो । जीवन र समाजसँग जोडेर बुझाउनुहुन्थ्यो । सृष्टि, लय, प्रलय, जन्म, मृत्यु, वनस्पतिका हुर्काइबढाइ, धनी–गरिब हुनुका कारण, न्याय–अन्याय, विश्व मान्यता लगायतका विषयमा उहाँको दृष्टिकोण अभूतपूर्व थियो । यो समाज र सत्ता ठीक छैन, यहाँ अन्याय छ, थिचोमिचो छ र यसलाई परिवर्तन गर्नुपर्छ भनेर मैले उहाँबाटै सिकेको हुँ । समान हक र जीवनशैली कसरी प्राप्त गर्ने, अन्धकार समाजलाई उज्यालो कसरी बनाउने भन्ने कुरा पनि उहाँलाई सुनेर नै जानेको हुँ । मैले उहाँको दर्शन–चिन्तनबाट संसारलाई हेर्ने फराकिलो र नूतन दृृष्टिकोण प्राप्त गरें ।

३. माओ त्से–तुङ

मलाई जीवनमा सर्वाधिक प्रभाव पार्ने तेस्रो व्यक्तिको जन्म र मेरी हजुरआमाको जन्म संयोगले एकै दिन पर्न गएको थियो । १८९३ डिसेम्बर २६ का दिन जन्मिनुभएको थियो उहाँहरू दुवै । र, यी तेस्रा व्यक्तिको मृत्युचाहिँ १९७६ सेप्टेम्बर ९ मा भएको थियो । मेरी हजुरआमाको मृत्यु भने १९९१ फेब्रुअरी १५ मा भएको थियो ।

माओ त्से–तुङले विशाल चीनको निर्माण गर्नुभएको थियो । सनयात सेनले राजतन्त्र फालेर गणतन्त्र ल्याएलगत्तै सन् १९१४ देखि नै चीनमा विग्रह पैदा भइसकेको थियो । चीन टुक्रने र जोडिने क्रम चलिरहेको थियो । एकीकृत चीनलाई कुनै पनि नेता र सेनाले थाम्न सकिरहेका थिएनन् । सनयात सेनले शासन छाडेपछि चीनमा थुप्रै जर्नेलले आफूलाई देशको शासक घोषणा गर्दै सत्ता चलाउन थालेका थिए । चीन टुक्राटुक्रा भएको थियो । त्यस्तो अवस्थामा छ युवा मिलेर नयाँ पार्टी स्थापना गरे । सुरुसुरुका दिनमा सनयात सेनको पार्टी कोमिनताङसँग मिलेर उनीहरू अघि बढेका थिए । उत्तरी अभियान नामक एकीकरणको क्रान्ति सञ्चालन गरिएको थियो । एकदम व्यवस्थित ढंगमा यो अभियान १९२४ मा सुरु भएको थियो । १९२७ मा समाप्त भएको यो अभियानको बीचमै अर्थात् १९२५ मा सनयात सेनको मृत्यु भइसकेको थियो । यो अभियानविरुद्ध र माओ त्से–तुङका विपक्षमा च्याङकाई सेकले अनेक षड्यन्त्र गरिरहेका थिए । सोही समय जापानले चीनमा आक्रमण गरेको थियो । ती सबैलाई परास्त गर्दै विशाल चीन निर्माण गर्न सफल हुनुभएको थियो माओ त्से–तुङ ।

साओसान भन्ने ग्रामीण र दुर्गम इलाकामा सामान्य परिवारमा जन्मेका माओले त्यो विशाल चीनको एकीकरण गर्नुभएको थियो । उहाँले १९४९ अक्टोबर १ का दिन तियानमेन स्क्वायरबाट चीनमा जनगणतन्त्रात्मक शासन प्रणाली लागू भएको घोषणा गर्नुभएको थियो । त्यस बखत उहाँसँग न कुनै सेना थियो न त पैसा नै । उहाँसँग चीनमा परिवर्तन ल्याउनुपर्ने र जनताको शासन स्थापना गरिनुपर्ने दृढ संकल्प मात्रै थियो । उहाँको त्यही दृढ संकल्पले नै चीनका सारा गरिब तथा किसानलाई एकजुट बनायो र परिवर्तनको आन्दोलनमा सरिक गरायो । माओ त्से–तुङले आन्दोलन चलाइरहेका बखत चीन नेपालभन्दा पछौटे थियो । नेपालमा दासप्रथा उन्मूलन भइसकेको थियो, तर चीनमा कायमै थियो । त्यहाँ असमानता, गरिबी, भोकमरी थियो । नेपालमा असमानता त थियो, तर भोकमरी थिएन । त्यस्तो अवस्थाको चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना र नेतृत्व गर्दै २५ वर्ष लडेर माओ त्से–तुङले जनताको राज्य घोषणा गर्नु सामान्य कुरा थिएन । ‘केही नभएको चीन’ लाई ‘सब थोक भएको चीन’ मा परिवर्तन गर्ने जग निर्माणको कार्य माओबाटै भएको थियो । आफूसँग भएको क्षमता चिन्ने, जनतालाई संगठित र परिचालित गर्ने असाधारण क्षमता माओमा थियो । माओका बारेमा सुरुमा मैले रामनाथ दाहालबाटै सुनेको हुँ, पछि गएर उहाँका बारेमा मैले आफैं अध्ययन गर्न थालें । प्रतिभा, क्षमता, संकल्प र लगन सबै कुरामा असाधारण व्यक्तित्व हुनुहुन्थ्यो माओ त्से–तुङ ।

सामान्य गाउँका मानिसलाई संगठित गरेर सरकारी सेना तथा विदेशी आक्रमणलाई परास्त गर्ने तहमा पुर्‍याउनु चानचुने कुरा हुँदै होइन । विश्वकै धेरै जनसंख्या, गरिबी र भोकमरीले आक्रान्त देशलाई समृद्ध पार्दै नयाँ चीन निर्माण गर्ने माओ त्से–तुङको सपना, चिन्तन तथा विचारबाट म अत्यधिक प्रभावित छु । उहाँकै दर्शनको प्रभावले मलाई आन्दोलनकारी बन्न र परिवर्तन ल्याउने बाटामा लाग्न प्रेरित गरेको हो । म आन्दोलनमा लाग्दा देशमा राजाको शासन थियो, निरंकुश पञ्चायती व्यवस्था थियो । ती सबैलाई फालेर लोकतान्त्रिक गणतन्त्र ल्याउने सपना देख्न सक्ने र नेतृत्वसमेत गर्न सक्ने सामर्थ्य मभित्र माओका विचारले प्रवाहित गरिदिएका हुन् ।

४. लेनिन

मेरो जीवनमा माओ त्से–तुङले जस्तै गरी प्रभावित पार्ने चौथा व्यक्ति हुनुहुन्छ— भ्लादिमिर इल्यिच उल्यानोभ लेनिन । उहाँले सन् १९१७ मा रुसलाई अक्टोबर क्रान्तिका माध्यमबाट ‘नयाँ रुस’ मा रूपान्तरित गर्नुभएको थियो, समाजवादी देश बनाउनुभएको थियो । मलाई उहाँबाट परिवर्तन सम्भव छ, अघि बढ्दा सफलता मिल्छ भन्ने प्रेरणा मिलेको छ । उहाँले सधैं पुँजीवादी वा पुँजीपति, धनाढ्यहरूको राज्य हुँदैन जनताको पनि हुन्छ भन्ने सत्य स्थापित गरिदिनुभएको छ । ससाना संगठनहरू (सोभियत) स्थापना गरेर त्यसको बलमा विशाल सोभियत संघ निर्माण गर्नु र सम्पूर्ण अधिकार जनतामा ल्याउनु ठूलो सफलता हो । समान जनता, मजदुर र किसानको राज्य स्थापना उहाँको चिन्तन र संघर्षको देन हो । समय परिवर्तनशील छ, प्रकृति परिवर्तनशील छ, तर समाज परिवर्तन त्यसै हुँदैन, त्यसका लागि संघर्ष आवश्यक पर्छ । लेनिनले कछुवाको गतिमा भइरहेको परिवर्तनलाई तीव्र पार्न आन्दोलनको गाडीमा पांग्रा हालिदिनुभयो, टाउकामा इन्जिन राखिदिनुभयो र शरीरमा पखेटा जडिदिनुभयो । आन्दोलनले गति पक्रियो, परिवर्तन भयो । साम्राज्यवादी तथा औपनिवेशिक शक्तिबाट रुस र त्यहाँका जनताले मुक्ति पाए ।

रुस एकीकृत तथा शक्तिशाली भएपछि अन्य मुलुकमा पनि आफ्नो स्वाधीनता र आत्मरक्षाका लागि आन्दोलन चल्न थाल्यो । हेपिएका, थिचिएका, विभेदमा पारिएका किसान, मजदुर र अन्य जनता मिलेर आन्दोलन गर्ने हो भने सुनौलो दिन अवश्य आउनेछ भन्ने प्रेरणा लेनिनबाट मिलेको छ । त्यसकारण पनि बीसौं शताब्दी परिवर्तन र विकासको शताब्दी बन्न सक्यो । त्यस समयअघि अचम्मलाग्दा राजनीतिक संक्रमणले ग्रस्त थिए विभिन्न मुलुक । विश्वमा जति पनि समानताका कुरा भए, त्यसपछि मात्रै सुरु भएका हुन् । राज्यको कानुनमै सबै नागरिक समान हुन् भन्ने घोषणा गर्ने पहिलो मुलुक सोभियत संघ बन्न पुग्यो । संयुक्त राष्ट्र संघ होस् या विश्व मानव अधिकार, सोभियत संघको संवैधानिक घोषणा र मान्यतालाई आधार मानेर नै सबै मानिसको समान अधिकारको कुरा गरेको देखिन्छ । बाह्रौं शताब्दीको म्याग्नाकार्टाले गरेको मानिसबीच तहगत विभेदको संस्थागत अन्त्य रुसी संविधानले गरेको स्पष्ट छ । रुसमा त्यस्तो संविधान ल्याउन क्रान्ति आवश्यक पर्‍यो । त्यो क्रान्ति शान्तिपूर्ण थियो, जसको नेतृत्व लेनिनले गर्नुभएको थियो । उहाँ १५ वर्ष निर्वासित भएर, विभिन्न देशको परिस्थिति बुझेर आफ्नै देशमा परिवर्तन गर्नुपर्छ र गर्न सकिन्छ भन्दै स्वदेश फर्कनुभएको थियो । यसरी लेनिनको नेतृत्वमा रुस स्वाधीन, सम्पन्न तथा जनताको शासन भएको देशमा रूपान्तरित हुन पुग्यो । र, जनताको तागत कस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्ने पहिलो देश रुस हुन पुग्यो । लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिले समाज परिवर्तन कस्तो हुन्छ भन्ने पाठ विश्वलाई सिकायो । मेरो जीवनलाई संघर्ष, परिवर्तन र क्रान्तिको बाटामा हिँडाउन लेनिनको प्रशस्त प्रेरणा मिलेको छ ।

५. कार्ल मार्क्स

मानवजाति विकासको पथमा लम्केको लामो समय भएको छैन । ऊ सामाजिक प्राणी भएको पनि उति लामो युग बितेको छैन । कृषियुगमा मानिस प्रवेश गरेको लगभग ११ हजार वर्ष भयो । त्योभन्दा केही हजार वर्षअघि मानिसले पशुपालन गर्न थालेको थियो । सर्वप्रथम मानिससँग नजिक हुन थालेको थियो, कुकुर । कुकुरलाई वफादार प्राणी मानिन्छ । त्यसै समयदेखि मानिसले वस्तु तथा सामान संग्रह गर्न थालेको हो । पेट भर्ने चिन्ताबाट मुक्त भएपछि उसले सोच्न र चिन्तन गर्न थालेको हो, आविष्कारतिर लागेको हो ।

जीवन र जगत्लाई बुझ्ने, प्रकृतिका नियम बुझ्ने र परिकल्पना गर्ने काम मानिसले धेरै पछि थालेको हो । तर त्यो बुझ्ने काम अझै पूरा भएको छैन । त्यस्तो बुझ्नका लागि सहयोगी सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति कार्ल मार्क्सले मेरो जीवनमा अत्यधिक प्रभाव पार्नुभएको छ ।

उहाँको द्वन्द्वात्मक भौतिकवादी दर्शनले सारा संसारलाई सोच्ने र चिन्तन गर्ने नयाँ ढोका खोलिदिएको छ । उहाँले समाजलाई बुझ्न ऐतिहासिक भौतिकवादी आँखाले हेर्नुपर्ने सिद्धान्त तय गरिदिएपछि समाज परिवर्तनका आयामहरू थपिन थाले । समाज परिवर्तनशील र गतिशील छ, यसको भौतिक तत्त्व नै परिवर्तन हुने हो भन्ने मान्यतामा कसले विमति राख्न सक्ला र ! परिवर्तनशील चीजको द्वन्द्वात्मक नियम हुन्छ । अस्तित्व वा यथास्थितिमा रहिरहन चाहने र परिवर्तन हुन खोज्ने दुई तत्त्वबीच नै द्वन्द्व हुने गर्दछ । हरेक पदार्थभित्र गतिशील तत्त्व हुन्छन् र त्यसले उक्त पदार्थलाई परिवर्तन गरिदिन्छ । समाज पनि त्यसै गरी परिवर्तनशील छ भन्ने कार्ल मार्क्सको वैज्ञानिक व्याख्या अहिले पनि उत्तिकै सान्दर्भिक र व्यावहारिक छ ।

ब्रह्माण्डमा दुई चीज मात्र छन्— वस्तु र रिक्तता (भ्याक्युम) । जहाँ वस्तु छ, त्यहाँ परिवर्तन पनि छ । मार्क्सका विचारले समाजलाई अन्धकारबाट उज्यालो, अन्धविश्वासबाट विश्वासतिर र शास्त्रबाट विज्ञानतिर लग्न सर्वाधिक मद्दत गरेको छ । आज संसारले प्रविधिमा छलाङ नमारेको भए कार्ल मार्क्सको सिद्धान्त केवल ‘एकादेशको कथा’ मा सीमित हुन्थ्यो । प्रकृतिको नियममा टेकेर, विज्ञानसम्मत ढंगमा हरेक काम मानिसबाटै हुन सक्दछ भन्ने मान्यता बलियो पार्ने काम उहाँबाटै भयो । मानिसको चिन्तनलाई आविष्कारतिर डोर्‍याउन सकिने कुरा मार्क्सका सिद्धान्तले प्रमाणित गरिदिएका छन् । मार्क्सले आफ्नो चिन्तन सधैं परिवर्तन र सृजनामा खर्च गर्नुभयो, जसले अन्य मानिसलाई प्रेरणा दिइरह्यो । आफ्नो मस्तिष्कलाई सृजनात्मक कार्यमा लगाऊ, गतिशील बनाऊ भन्ने व्यक्तिलाई कसले बिर्सन सक्ला र ! आजका मितिसम्म पनि के भन्न सकिन्छ भने, १८१८ मे ५ का दिन जर्मनीमा जन्मेका कार्ल मार्क्स नै एक यस्ता व्यक्ति हुनुहुन्छ जसले संसारलाई सर्वाधिक प्रभाव पारेको छ । मानवजाति, मानवचिन्तन र बुझाइलाई नै नयाँ उचाइ दिन सफल व्यक्ति कार्ल मार्क्सको मेरो जीवनमा अत्यधिक प्रभाव परेको छ ।

मैले माथि उल्लेख गरेका पाँच व्यक्तिबाट म सर्वाधिक प्रभावित छु । आज म जे छु, त्यसमा उहाँहरूको उल्लेखनीय प्रेरणा छ । म उहाँहरूलाई नमन गर्दछु ।

प्रकाशित : भाद्र ११, २०८० ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?