कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०५

सुनकोशी र भेरी बबई सिँचाइ डाइभर्सन आयोजना : सुरुङमा प्रगति, अन्यमा सुस्त गति 

सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको सुरुङ खन्ने काम अन्तिम चरणमा, भेरी बबईमा सुरुङ निर्माण सकियो, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम निराशाजनक
दुवै आयोजनामा लोडसेडिङले गर्दा काम गर्न समस्या भइरहेको निर्माण कम्पनीको दाबी

काठमाडौं, सिन्धुली — राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ०७६ वैशाख ३ मा ‘ब्रेक थ्रु’ गरियो । १२.२ किमि दूरीको उक्त सुरुङको निर्माण ०७२ जेठ २१ मा थालिएको थियो । ०७६ चैत १५ मा सक्ने गरी १० अर्ब ५६ करोड ९७ लाखमा ठेक्का भएको सुरुङको ‘ब्रेक थ्रु’ भने ०७६ वैशाखमै भयो ।

सुनकोशी र भेरी बबई सिँचाइ डाइभर्सन आयोजना : सुरुङमा प्रगति, अन्यमा सुस्त गति 

यसको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले लिएको हो । ०७४ कात्तिक २० बाट यसले टीबीएम प्रविधिमार्फत सुरुङ खन्ने काम थालेको थियो, जसले गर्दा सुरुङ खन्ने काम छिटो सकिएको आयोजनाले जनायो ।

०७८ चैत २४ मा सुरुङको काम सकिएका कारण पर्फर्मेन्स सर्टिफिकेटसमेत जारी भइसकेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर पवन अधिकारीले बताए । अहिले सुरुङ प्रयोगमा छैन, कारण अन्य पूर्वाधार निर्माणको काम सकिएकै छैन । अन्य पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । तर पनि छिटै सकिने छाँट नरहेको आयोजना स्रोतको भनाइ छ । आयोजनाको हेडवर्क्स, पावरहाउसलगायतका काम सकिएका छैनन् ।

हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम पनि सकिएको छैन । हेडवर्क्स, पावर हाउस, सर्ज–साफ्टको ठेक्का वाङदोङ युआनतियन–रमण जेभीले लिएको हो । वाङदोङ युआनतियन चिनियाँ कम्पनी हो । यसको ठेक्का सम्झौता ०७६ साउन १३ मा भएको हो । सम्झौताअनुसार हेडवर्क्स, पावर हाउसको काम ०८० साउन २९ भित्र सकिसक्नुपर्ने हो । आयोजनाका अनुसार हेडवर्क्सको करिब ६० र पावर हाउसको ३८ प्रतिशत प्रगति छ । समयमै काम नसकिने भएपछि ०८१ भदौ १ सम्म म्याद थप गरिएको छ ।

‘तीन वर्षसम्म बाढीले गर्दा समस्या भयो, कोभिडको असर पनि काममा पर्न गयो,’ सिनियर डिभिजनल इन्जिनियर अधिकारीले भने, ‘जसले गर्दा समयमै काम नसकिने देखिएपछि म्याद थपिएको हो ।’ यसको सुरु ठेक्का रकम ६ अर्ब १६ करोड ५२ लाख रुपैयाँ हो । ‘हेडवर्क्सको डिजाइन र ड्रइङमा आएको परिवर्तनले यसको लागत बढेको छ,’ उनले भने, ‘६ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।’ पावर हाउसको केही ड्रइङ अझै फाइनल हुन बाँकी रहेको उनले बताए । सबै काम आर्थिक वर्ष ०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि स्रोत साधनको कमी र निर्माण व्यवसायीको कमजोर व्यवस्थापनका कारण उक्त अवधिभित्र काम नसकिएको आयोजनाको दाबी छ ।

‘फेरि थपिएको मितिमा पनि काम सकिने देखिन्न,’ आयोजना स्रोतले भन्यो, ‘म्याद थपेर काम सक्नुको विकल्प छैन ।’ यही आयोजनामा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी निर्माण तथा जडानको काम पनि सकिएको छैन । आयोजनाका अनुसार हाइड्रोमेकानिकलको प्रगति ३७ प्रतिशत छ । यसको निर्माणको काम चिनियाँ कम्पनी जेजिआङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीले ०७८ मंसिरमा २ अर्ब १३ करोड ७४ लाखमा लिएको हो । ३ वर्षभित्र काम सक्ने गरी ठेक्का भए पनि उक्त समयभित्र काम सकिने देखिन्न । इलेक्ट्रोमेकानिकलको काम पनि यही कम्पनीले लिएको छ, जसको ठेक्का रकम ३ अर्ब २८ करोड रुपैयाँ हो । सम्झौता ०७९ साउन १९ मा ठेक्का भएको हो । तीन वर्षभित्र सक्नुपर्नेमा अहिलेसम्म भौतिक प्रगति ३१ प्रतिशत मात्र छ ।

आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यस्तै भेरी नदीबाट ४० क्युमेक पानी बबई नदीमा लगिने र ४६.८ मेगावाट विद्युत् उत्पादन गरिनेछ । तर निर्माण थालिएका काम समयमै नसकिँदा भने लक्ष्य हासिल गर्न समस्या भएको आयोजना स्रोतले जनायो ।

यता सुनकोशी–मरिण डाइभर्सनअन्तर्गतको सुरुङ खन्ने काम पनि अन्तिम चरणमा पुगेको छ । बीचमा कुनै समस्या आइनपरे वैशाख २६ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी छ । १३.३ किलोमिटरमध्ये सुरुङ निर्माणको ९९ प्रतिशत काम सकिसकेको छ । आयोजनाको प्रवेशद्वार कुसुमटारबाट सुरुङ खन्ने टीबीएम प्रविधिको मेसिन सुनकोसी नदी किनार कानढुंग्रीबाट बाहिर निस्किएपछि ‘ब्रेक थ्रु’ हुने आयोजनाका प्रमुख मित्र बरालले बताए । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीसम्म हो । सुरुङ खन्न २२ महिनाको लक्ष्य लिइएकामा ६ महिनाअगावै सम्पन्न हुँदै छ । एकै दिन ७२ मिटरसम्म सुरुङ खनिएको आयोजनासँग रेकर्ड छ ।

०७९ असोज २८ बाट सुरु भएको सुरुङ खन्ने काममा ६ पटक अवरोध भएको थियो । सुरुङभित्र सुक्खा पहिरो खस्ने, लेदोसहित पाखै खस्ने हुँदा सुरुङ खन्ने टीबीएम मेसिन अगाडि जान नसक्दा काम रोकिएको थियो । उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुंग्रीस्थित सुनकोसी नदीमा ३० मिटर उचाइ र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूमेस पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको हो । नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेशका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजनाको कुल लागत ४९ अर्ब ४२ करोड रुपैयाँ छ ।

तर सुरुङको ‘ब्रेक थ्रु’ हुनै लाग्दा आयोजनाको अन्य काम भने सुस्त छ । सुनकोशी नदीमा बाँध निर्माणको कामले गती लिन सकेको छैन । जुन आयोजनाको मुख्य कामभित्र पर्छ । बाँध बाँध्ने ठेक्का पटेल–रमण जेभीले लिएको हो । पटेल भारतीय कम्पनी भए पनि काम नेपाली कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ । तर प्रगति सोचेअनुरूप छैन । सुनकोशी र तामाकोशीको संगमस्थलभन्दा ९ सय मिटर तल कानढुंग्रीस्थित सुनकोशीमा बाँध निर्माणको काम सुरु भएको छ । १६ महिनाअघि ०८४ असोजमा सम्पन्न गर्ने गरी सुनकोसीमा बाँध निर्माणलगायत काम गर्न १२ अर्व रुपैयाँमा ठेक्का भएको हो । अहिलेसम्म निर्माण कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

ठेक्का प्रक्रिया ढिलो र मौसम अनुकूल काम गर्नुपर्ने भएकाले सुरुङको जधस्तो कामले गति नलिएको आयोजनाको दाबी छ । सुनकोशीमा बाँध बाँध्ने कामअन्तर्गत अहिलेसम्म कफर ड्याम जमिनमुनिको पिल्लर राख्ने काम सकिएको छ । हिउँदको ६ महिना मात्रै कोशीभित्र काम हुने र अन्य समयमा बाढी आउने भएकाले काम रोकिने गरेको आयोजना प्रमुखको भनाइ छ । अब डेढ महिना बाँधको काम चल्ने र नदीमा पानीको बहाव घट्न फेरि अर्को हिउँद पर्खनुपर्नेछ । बाँध निर्माणको काममा ७ प्रतिशत मात्र प्रगति छ ।

आर्थिक वर्ष ०८०/८१ मा बाँध निर्माणको काम १८ प्रतिशत सक्ने लक्ष्य लिइएकामा चैत मसान्तसम्ममा ७ प्रतिशत मात्र पुगेको हो । सुरुङबाट पानी मरिण खोलामा खसालिने स्थान कुसुमटारदेखि वाग्मतीसम्मको ४४ किमिलाई ७ वटा प्याकेज बनाएर नदी नियन्त्रणको काम हुँदै आएको आयोजनाले जनाएको छ । आयोजनाको काममध्ये इलेक्ट्रो मेकानिकलको खरिद प्रक्रिया सुरु भएको छ भने ट्रान्समिसन लाइनको आईई अन्तिम चरणमा रहेको प्रमुख बरालले बताए । समग्र आयोजनाको भौतिकतर्फ प्रगति ३० र वित्तीय २८ प्रतिशत छ । हालसम्म आयोजना निर्माणमा ११ अर्ब ९१ करोड १९ लाख खर्च भएको छ ।

दुवै आयोजनामा अहिले लोडसेडिङले गर्दा काम गर्न समस्या भइरहेको रमण कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक रमण महतोको भनाइ छ । ‘भेरी बबईमा कोभिडले गर्दा समयमै काम सक्न समस्या भयो, ३ वर्ष सम्म कोभिडले गर्दा काम गर्न किठनाइ भयो । फेरि सुरुङ र हेडवर्क्स, पावर हाउसलगायतको ठेक्का एकैचोटि भएको पनि होइन,’ उनले भने, ‘डिजाइन परिवर्तनले गर्दा एक वर्ष काम गर्न पाइएन ।’ अहिले दुवै आयोजनामा काम भइरहेको उनले सुनाए । ‘सबै मेसिन परिचालन गरेर काम गरेका छौं । तर परामर्शदाताका कारण पनि काममा ढिलाइ भएको छ,’ उनले भने, ‘अबको साढे दुई वर्षभित्र हामीले लिएको ठेक्का सक्ने लक्ष्य छ ।’

प्रकाशित : वैशाख १४, २०८१ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?