१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा असंवैधानिक : कांग्रेस

कास्की — गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भनेर सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभामा गरेको घोषणा असंवैधानिक भएको भन्दै विरोध जनाएको छ । प्रदेशसभाको बैठक लगत्तै कांग्रेसले सभामुखले गरेको असंवैधानिक निर्णयलाई अस्वीकार गर्दै कानूनी उपचारको बाटोमा जाने जनाएको छ । 

मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा असंवैधानिक : कांग्रेस

आइतबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोमा उनको पक्षमा एमाले र माओवादी केन्द्रका ३० सांसदले मत दिए । बैठकमा उपस्थित ५९ सांसदमध्ये कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे भने ३ जना तटस्थ रहे ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीलाई बहुमतका लागि ३१ सांसदको मत आवश्यक हुन्थ्यो । तर प्रदेशसभाका सभामुख धितालले कांग्रेसको अवरोधका बीच सर्वोच्च अदालतको फैसला बमोजिम मुख्यमन्त्री अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

लगत्तै बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा असंवैधानिक भनेको हो ।

बैठकपछि प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बहुमत पाउन नसकेका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी सभामुखले गरेको घोषणा पूर्ण रुपमा असंवैधानिक, संसदीय अभ्यास र परम्परा विरुद्ध रहेको बताए । 'सभामुख जस्तो तटस्थ भूमिकामा रहेर संविधान र प्रदेश सभा नियमावलीको अधिनमा रही यसको कार्यान्वयन र पूर्ण पालना गर्नुपर्नेमा संवैधानिक निकायमा रहनुभएका, तटस्थ भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवार ब्यक्तिहरुबाट दलीय पक्षधरताको आधारमा कसैलाई सत्तामा पुर्‍याउनका लागि संविधानको खिलापमा कार्य हुनु दुःखद विषय हो,' बैठकपछि प्रमुख सचेतक न्यौपानेले भने, 'यसतर्फ नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यनाकर्षण भएको छ ।'

प्रदेशसभा ६० सदस्यीय रहेको भन्दै कांग्रेसले विश्वासको मतका लागि निम्ति ३१ सदस्यको समर्थन आवश्यक पर्ने दाबी गरेको छ ।

प्रकाशित : वैशाख २३, २०८१ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?