कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘ट्रायथलनमा प्राविधिक सहयोग थप्छौं’

नेपालको ट्रायथलन विकासप्रति विश्व ट्रायथलनकी अध्यक्ष खुसी 

काठमाडौँ — विश्व ट्रायथलनकी अध्यक्ष मारिसोल कासाडोले नेपालमा ट्रायथलनको विकास र विस्तारले आफू प्रभावित रहेको बताउँदै थप विकासलाई अझ बढी सहयोग गर्ने बताएकी छन् ।

‘ट्रायथलनमा प्राविधिक सहयोग थप्छौं’

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको पब्लिक अफेयर्स एन्ड सोसियल डेभलपमेन्ट कमिसनकी सदस्य रहेकी कासाडो बिहीबार तीन दिने भ्रमणका लागि नेपाल आइपुगेकी हुन् ।

पोखरामा शनिबार हुने एसियन कप एन्ड साउथ एसियन ट्रायथलन च्याम्पियनसिपमा उनी मुख्य अतिथि हुनेछिन् । कान्तिपुरसँगको कुराकानीमा ६७ वर्षीया कासाडोले भनिन्, ‘पोखरा पर्यटकीय नगर मात्र नरहेर ट्रायथलनका लागि असाध्यै उपयुक्त गन्तव्य हो । नेपालमा ट्रायथलन विकासका लागि हामी विशेषतः प्राविधिक सहयोग बढाउने प्रयासमा छौं ।’

नेपाल दक्षिण एसियाली ट्रायथलनमा सबैभन्दा ठूलो शक्ति रहेको छ । पछिल्लो १३ औं दक्षिण एसियाली खेलकुदमा ट्रायथलनमा सबैभन्दा उच्च प्रदर्शन गरेको थियो । नेपालले सन् २०१५ देखि साउथ एसियन ट्रायथलन र सन् २०१९ देखि एसिया ट्रायथलन कपको निरन्तर आयोजना गर्दै आएको छ ।

पोखरामा यसपल्ट हुने प्रतियोगितामा १५ देशका ६५ भन्दा बढी खेलाडीको सहभागिता रहनेछ । यो वर्ल्ड ट्रायथलनको मान्यताप्राप्त आधिकारिक प्रतियोगिता हो । यो स्प्रिन्ट डिसिप्लेन हुनेछ । यसमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड हुनेछ । स्ट्यान्डर्ड डिसिप्लेनमा भने यी सबै दोब्बर दूरीमा हुने गर्छ ।

ट्रायथलनको आयोजना आफैंमा जटिल प्रक्रिया रहे पनि नेपालमा त्यसका लागि चाहिने प्राविधिक जनशक्ति पुग्दो छ । नेपालमा पछिल्लो समय ट्रायथलनको विकास र विस्तारले प्रभावित कासाडो सद्भावना भ्रमणका लागि नेपाल आएकी हुन् । सन् ९० को दशकदेखि नेपालमा ट्रायथलनको प्रतिस्पर्धा सुरु भएको मानिन्छ ।

सन् २०११ मा नेपाल ट्रायथलन संघको स्थापनापछि भने यो खेलले गति लिएको हो । खेलकुदमार्फत महिला सशक्तीकरणमा जोड दिँदै आएकी कासाडोले आफू अध्यक्ष भएयता ट्रायथलनमा महिलाको सहभागिता कम्तीमा २० प्रतिशत हुनै पर्ने नियम बनाएकी थिइन् । सिड्नीमा भएको सन् २००० को ओलम्पिकमा ट्रायथलनले पहिलोपल्ट प्रवेश पाएको थियो ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र कासाडोबीच बिहीबार नै खेलकुद मन्त्रालयमा भेट भएको थियो । भेटमा नेपाली ट्रायथलनको विकास तथा ट्रायथलनको विकासका लागि हुनसक्ने सहयोग र सम्भावना विषयमा पनि छलफल भएको थियो । अन्तर्राष्ट्रिय लगानी, खेल पर्यटनको प्रचुर सम्भावनाको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो १६ वर्षदेखि विश्व ट्रायथलनकी अध्यक्ष पदमा रहेकी कासाडोको यो तेस्रो नेपाल भ्रमण हो । उनी १० वर्षअगाडि नेपाल आएकी थिइन् । विश्व ट्रायथलनका महासचिव एन्टोनियो अरिमानी पनि शुक्रबार नेपाल आइपुग्ने छन् ।

प्रकाशित : वैशाख १४, २०८१ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?