कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

साइन्स फिक्सनमा महाभारत

 २८९८ एडीमा विधर्मीको राज छ । पवित्र गंगा नदी सुकिसकेको छ, पानीको हाहाकार छ, सदियौंदेखि वर्षा भएको छैन, पृथ्वी मरुभूमिमा परिणत भइसकेको छ । 
कल्की जन्माउन तम्तयार सुमतीलाई साम्बालासम्म लैजान अश्वत्थामाले सघाउँछन्
सुशील पौडेल

महाभारतलाई मूलतः पाण्डव र कौरवबीच भएको १८ दिनसम्मको भयानक कुरुक्षेत्रको लडाइँका लागि बढी सम्झिइन्छ । सत्ता र शक्ति प्राप्तिका लागि भाइ–भाइबीच भएको विध्वंसकारी उक्त युद्ध भलै पाण्डवले जिते, तर कौरव पक्षका एक योद्धा अस्वत्थामा त्यो मान्न तयार थिएनन् ।

साइन्स फिक्सनमा महाभारत

उनले देखेका थिए, पाण्डवहरूको छलकपट, श्रीकृष्णका षड्यन्त्र । अस्वत्थामालाई सायद लाग्थ्यो, यति नगरेको भए पाण्डवले सोझो अर्थमा कौरवविरुद्ध युद्ध गरेर विजय पाउने थिएनन् । महाभारत केवल युद्ध थिएन, धर्मयुद्ध थियो । सूर्यास्तपछिको शंखनादसँगै हतियार बिर्साइन्थे, निहत्थामाथि युद्धकै क्रममा पनि हतियार चलाइँदैन थियो । अथवा, भनौं युद्ध चल्दै गर्दा पनि धर्मको ख्याल गरिन्थ्यो । तर पनि फसेको रथको पाङ्ग्रा निकाल्न झरेका धनुर्धर कर्णको निहत्था अवस्थामा अर्जुनले वध गरिदिएका थिए ।

उता, आफ्नै गुरु द्रोणाचार्यविरुद्ध लडिरहेका पाण्डवका लागि कुरुक्षेत्रको युद्ध जित्नु कठिन थियो । यही बुझेका कृष्णले युद्धबाट द्रोणलाई पन्छाउने प्रपञ्चस्वरूप अस्वत्थामा मारिएको हल्ला फिँजाए, त्यो पनि सत्यवादी युधिष्ठिरबाट । अस्वत्थामा द्रोणका पुत्र हुन् । अस्वत्थामा नामक आफ्नै हात्तीलाई मारेर द्रोण–पुत्र अस्वत्थामा मारिएको झैं गरी फैलाइएको हल्लाको भ्रममा द्रोण परे । पुत्र शोकले विह्वल बनेका उनले शस्त्र बिसाए । त्यही मौका छोपेर बसेका पाण्डवले धृष्टद्युम्नमार्फत निःशस्त्र द्रोणको वध गराए र कुरुक्षेत्रको लडाइँ जिते ।

प्रदर्शनरत तेलुगु फिल्म ‘कल्की २८९८ एडी’ को पहिलो शृंखला कुरुक्षेत्रको लडाइँ सकिएपछि सुरु हुन्छ । बाबु द्रोणको हत्याबाट क्षुब्ध बनेका अश्वत्थामा रातको समय पाण्डवको शिविरमा लुकेर पुग्छन् र पाण्डव ठानेर द्रौपदीका पाँच सन्तानको सुतेको अवस्थामा वध गरिदिन्छन् । क्रुद्ध बनेका अर्जुनले अस्वत्थामालाई मार्न ब्रह्मास्त्र छोड्छन् । द्रोण–पुत्रले पनि प्रतिउत्तरमा ब्रह्मास्त्रले हमला गर्छन् । दुई ब्रह्मास्त्रको टकरावले पृथ्वी नै ध्वस्त हुने भयले ब्रह्माले त्यसलाई रोक्छन् र दुवैलाई ब्रह्मास्त्र फिर्ता लिन आदेश दिन्छन् । अर्जुनले अस्त्र फिर्ता लिए पनि अस्वत्थामाले आफ्नो अस्त्रको दिशा बदलेर अर्जुनका छोरा अभिमन्युकी गर्भवती पत्नी उत्तराको कोखमा खसाल्छन् । उक्त हर्कतबाट क्रोधित कृष्णले महादेवको वरबाट निधारमा मणि लिएर जन्मेका अस्वत्थामालाई कहिल्यै नमर्ने, तर आफ्नै मरणको भीख माग्दै जिन्दगीभर तड्पिनुपर्ने श्राप दिँदै मणि खोस्छन् । तत्काल गल्तीको महसुस गरेका अस्वत्थामाले कृष्णसँग प्रायश्चितका लागि मौका दिन आग्रह गर्छन् । कृष्णले आफैंलाई मार्न तम्सेका अस्वत्थामा कालान्तरमा आफ्नै बचाउमा आउने बताउँछन् ।

कल्की भगवान् विष्णुको दसौं तथा अन्तिम अवतार मानिन्छ । नाग आश्विनको लेखन तथा निर्देशन रहेको फिल्म ‘कल्की २८९८ एडी’ को पहिलो शृंखला कुरुक्षेत्र युद्धको ६ हजार वर्षपछि र कल्कीको जन्म हुनुअघिको कलियुगको समयमा केन्द्रित छ । महाभारतमा अन्यायमा परेको पात्र अस्वत्थामालाई नै केन्द्रमा राखेर निर्देशकले पहिलो शृंखलाको डिजाइन गरेका छन् । उक्त पात्रमा अभिनीत अमिताभ बच्चनका कारण पनि ‘कल्की २८९८’ को पहिलो भाग अस्वत्थामामा केन्द्रित छ ।

२८९८ एडीको समय, पृथ्वीमा विधर्मीको राज छ । पवित्र गंगा नदी सुकिसकेको छ, पृथ्वीमा पानीको हाहाकार छ, सदियौंदेखि वर्षा भएको छैन । पृथ्वी मरुभूमिमा परिणत भइसकेको छ । अन्तिम सहरका नाममा काशी मात्र बचेको छ, जहाँ यास्किनको आफ्नो छुट्टै एक ‘कम्प्लेक्स’ छ । त्रिभुज आकारको हावामा तैरिरहेको उक्त ‘कम्प्लेक्स’मा पृथ्वीबाट जल, जंगललगायत सबै प्राकृतिक स्रोतको दोहन गरी वैभव खडा गरिएको छ । विशिष्ट मानवका लागि मात्रै उपलब्ध उक्त ‘कम्प्लेक्स’मा प्रवेशका लागि मात्रै पनि चर्को धनराशी तिर्नुपर्छ ।

यास्किनको भूमिकामा रहेका कमल हसन ‘कम्प्लेक्स’मा रहेको प्रयोगशालामा गर्भधारणको क्षमता भएका स्वस्थ महिला, युवतीलाई बन्दी बनाई सिरमको खोजीमा छ । १ सय ५० दिनभन्दा बढी गर्भधारण गर्नेको शरीरबाट झिकिएको सिरमको प्रयोगबाट २ सय वर्षको वृद्ध बनिसकेको यास्किनले पुनः शक्ति र जवानी हासिल गर्नेछ । उसलाई आफ्नै प्रयोगशालामा हुनेमध्येकै एकबाट कल्कीको जन्म हुने पनि थाहा छ, त्यसैले सेनापतिलाई निगरानी उच्च बनाउन निर्देशन दिएको छ ।

फिल्ममा अर्को शक्तिशाली पात्र छ, भैरव । सुरुवातमा यास्किनका लागि ‘बाउन्टी हन्टर’ (कसैलाई पक्रेर बुझाएबापत इनाम लिने व्यक्ति) का रूपमा देखिएको भैरव नै पछि कर्णका रूपमा विस्तारित हुन्छ । प्रभासले चरितार्थ गरेको उक्त पात्र ‘कम्प्लेक्स’मा छिरेर ऐशको जिन्दगी बिताउनका लागि पैसाको पछि कुदिरहेको छ । उसले ‘कम्प्लेक्स’बाटै कवाडीमा फालिएको यन्त्र जोडजाड गरेर आफ्नो अत्याधुनिक सवारी यान बुज्जी पनि बनाएको छ । युद्ध कौशलमा पोख्त भैरव पैसाका लागि ‘कम्प्लेक्स’को प्रयोगशालाबाट भागेकी सुमती पक्रेर ल्याउने चक्करमा छ ।

सुमती, जो कल्कीलाई जन्म दिन लागेकी छे, पाँच महिनाको गर्भसहित याक्सिनका सेनामेनालाई चक्मा दिएर ‘कम्प्लेक्स’बाट भाग्न सफल हुन्छे । दीपिका पादुकोण अभिनीत उक्त चरित्र ‘कम्प्लेक्स’बाट भाग्ने क्रममा केही विद्रोहीले सहयोग गर्छन् भने त्यहाँबाट साम्बालासम्म लैजान अश्वत्थामाले सघाउँछन् । ‘कल्की २८९८ एडी’ को दोस्रो भाग कल्कीको बचाउमा लागेका अस्वत्थामा र पक्रन खोजिरहेका भैरवबीचको संघर्षमा बढी केन्द्रित छ । दोस्रो शृंखलालाई थप प्रतीक्षित बनाउने गरी फिल्मले बिट मारेको छ ।

३८ वर्षीय निर्देशक नाग आश्विन रेड्डीले फिल्म निर्देशन थालेको नौ वर्षको अवधिमा बनाएको ‘कल्की २८९८ एडी’ चौथो फिल्म हो । यसमा उनले पौराणिक कथालाई ‘साइन्स फिक्सन’को माध्यमले आधुनिकीकरणमा मिहिनेत गरेका छन् । त्यसो त ‘कल्की २८९८ एडी’ को पहिलो भाग अझै कथामा छिरिसकेको छैन, तर यसले पछिका कथाको एउटा पृष्ठभूमि भने तयार पारेको छ । फिल्मको अधिकांश समय यही पृष्ठभूमि निर्माणमा खर्चिएकाले पनि केही निरस लाग्न सक्छ । दर्शकमा त्यही नैराश्यता नजागोस् भनेर निर्देशक आश्विनले भरमग्दुर प्रयास नगरेका भने होइनन् । उनले अतिथि भूमिकामा ब्रह्मानन्दम्लाई ल्याएर मात्र होइन, स्वयं प्रभासलाई पनि ‘कमेडी सिक्वेन्स’मा बलजफ्ती प्रयोग गरेका छन्, तर ती सबै प्रयास व्यर्थ लाग्छन् ।

त्यसबाहेक निर्देशकले प्रभास र दिशा पटानीबीच ‘लभ सिक्वेन्स’को जोरजाम पनि गरेका छन्, तर त्यसले कथासँग भने कुनै तालुक नराख्दा फिल्म प्रभावी हुन सकेको छैन । त्यसबाहेक आश्विनले केही निर्देशक, कलाकारलाई पनि अतिथि भूमिकामा खेलाएर दर्शकलाई ‘सरप्राइज’ दिन खोजेका छन् । तर, फिल्मको टेलरदेखि नै हाइप सृजना गरेको फिल्ममा यस्ता सतही मसलाले दर्शकलाई रिझाउने पक्कै थिएन । कल्की नाम जोडिसकेपछि दर्शकले अवश्य पनि कलियुगसम्मको कथालाई सोचेर हलसम्म जान्छन् भन्नेमा निर्देशक केही गम्भीर हुनुपर्ने हो । तर, निर्देशकले सबै कथालाई ‘सिक्वेल’का लागि छोडेको भान हुन्छ ।

‘कल्की २८९८ एडी’ कथा, पटकथाका लागि खासै सम्झनुपर्ने फिल्म होइन, जति यसको प्राविधिक पक्षमा सम्झन सकिन्छ । ६ सय करोड भारु खर्चेर बनाइएको यो फिल्म हालसम्मको सर्वाधिक बजेटको फिल्म पनि हो । त्यसअनुरूप यसको प्राविधिक पाटोमा लगानी पनि दिल खोलेरै गरिएको छ । भैरवले प्रयोग गर्ने बुज्जी होस् वा काशीका लागि आएका केही मान्छेलाई बोकेको हावामा उड्ने कार होस्, बनाउनका लागि निर्देशकले सीजी (कम्प्युटर ग्राफिक्स) को सहायता लिन पनि सक्थे, तर उनले यसलाई तुलनात्मक रूपमा बढी विश्वसनीय दिन वास्तविकमा नै दक्ष इन्जिनियर टोलीद्वारा बनाउन लगाएका थिए । निर्देशकको मान्यता थियो कि त्यसले भविष्यको अत्याधुनिक यानको प्रक्षेपण देओस् । किनभने यो फिल्मको समयकाल कलियुगको उच्चतम् बेला थियो, जुन आजको समयभन्दा ८ सय ७५ वर्ष अझै पछिको थियो, अर्थात् २८९८ एडीको ।

तैपनि फिल्मलाई ‘भीएफएक्स र सीजीआई’मा केही हलिउड फिल्मबाट अधिक प्रभावित भएको आरोप पनि चर्को छ । चार वर्ष लगाएर महँगो खर्चमा बनाइएको यस्तो फिल्मका लागि प्रभावित वा चोरीको ट्याग लाग्नु आफैंमा सुखद भने होइन, भलै त्यो हलिउडका नामी ‘म्याड म्याक्स ः फ्युरी रोड, स्टार वार्स, ड्युन वा मार्भल मुभिका भ्युजुअल इफेक्ट्स’सँग तुलना गरिएको किन नहोस् । निर्देशक आश्विनले पनि एक अन्तर्वार्तामा आफू स्टार वार्सबाट बढी नै प्रभावित रहेको स्वीकार गरेका छन् । खैर, निर्देशक आश्विनको दृश्यात्मक परिकल्पना उच्चकोटीको छ । भैरव र अश्वत्थामाबीचको भिडन्तलाई उनले यति सजीव र भीमकाय बनाइदिएका छन्, दर्शक त्यसको सयरमा रोमाञ्चित हुन्छन् नै ।

अभिनयमा फिल्मभर अमिताभ बच्चन हाबी छन् । ८१ वर्षका यी वयोवृद्धको ऊर्जा तारिफयोग्य छ भने उनको आगमनपछि नै फिल्मले पनि गति लिएको भान हुन्छ । त्यसो त प्रभासलाई फिल्मको प्रमुख कलाकार मानिएको छ, तर उनको ‘बाउन्टी हन्टर’ चरित्रलाई स्थापित गर्नै निर्देशकले अधिक समय खर्चेका छन्, र पनि दर्शकलाई आश्वस्त पार्न चुकेका छन् । बरु एकाध दृश्यमा मात्र देखिएका भए पनि कमल हसनले यास्किनको चरित्रमा प्रभावशाली छाप छोडेका छन् । अबको ‘सिक्वेल’ उनकै चरित्रका कारणले पनि प्रतीक्षित बनाइदिएका छन् । दीपिकाले अभिनय देखाउने खासै धेरै ‘स्क्रिन स्पेस’ र भूमिका यसमा पाएकी छैनन् । आफ्नो गर्भको सुरक्षाका लागि यास्किनको आँखा छलेर बसेको उक्त चरित्र फिल्मभर डर, त्रासको भावभंगीमा छ ।

फिल्मलाई ८० प्रतिशतभन्दा बढी समीक्षामा तारिफ मिलेको छ भने बक्स अफिसमा उछाल ल्याएको छ । ‘कल्की २८९८ एडी’ ले प्रदर्शनको चार दिनभित्रै विश्वव्यापी पमा ४ सय ८५ करोड भारु ‘ग्रस कलेक्सन’ गरेको थियो भने ११ औं दिनसम्म ८ सय करोडको व्यापार गरिसकेको छ । यसअघि ‘आदिपुरुष’ बाट चर्को असफलता व्यहोरेका प्रभासका लागि पनि यतिबेला ठूलो राहत मिलेको छ भने हिन्दु पौराणिक ग्रन्थमा आधारित भएर बनाइएको महत्त्वाकांक्षी ‘बिग बजेट फिल्म’ले पाएको सफलताले भारतीय फिल्मको दायरालाई पनि बढाइदिएको छ ।

प्रकाशित : श्रावण ५, २०८१ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×