कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रिमाल विश्वकै महानतम् कविमध्येका हुन् : युयुत्सु शर्मा

कवि युयुत्सु शर्माको नेतृत्वमा काठमान्डुमा जेठ १० देखि न्युयोर्क राइटर्स वर्कसप आयोजना हुादै छ । शर्माकै पहलमा १४ र १५ मा हिमालयन लिटरेचर फेस्टिबल पनि हुनेछ, जहाा विदेशी–नेपाली लेखकहरू अन्तर्क्रिया गर्नेछन् । वर्कसप र फेस्टिबलको सेरोफेरोमा शर्मासाग वार्ता :

रिमाल विश्वकै महानतम् कविमध्येका हुन् : युयुत्सु शर्मा

न्युयोर्क राइटर्स वर्कसप काठमाडौंमा कसरी ?

वर्कसपका आयोजकहरू मेरा पुराना मित्र हुनुहुन्छ । न्युयोर्कमा मैले दुई दशकसम्म यात्रा गरें, न्युयोर्क विश्वविद्यालयमा पढाएँ । त्यस दौरान मैले टिम टमलिन्सनलाई चिनें । मैले देखे उहाँ कहिले स्पेन, कहिले ग्रिस गइरहेको । यसपालि कहीं अन्तै जाने कार्यक्रम थियो उहाँहरूको । मैले भनें– नेपालजस्तो उत्कृष्ट, रहस्यमयी देश कहाँ छ ? यहीं आउनुस्, यहाँ संस्कृति, कला, विविधता छ । वास्तवमा यो कार्यक्रमको योजना कोभिड महामारीअघिकै थियो, तर रोकियो । अहिले मौका आएको छ, गरौं भन्ने लाग्यो ।

यो वर्कसप र हिमालयन लिटरेचर फेस्टिबल नेपाली कवि गोपालप्रसाद रिमालप्रति समर्पित छ । रिमाल नै किन ?

मलाई के लाग्यो भने नेपालमा रिमाल जस्ता महान् कवि ओझेलमा परेका छन् । उनको अवमूल्यन भइरहेको छ । उहाँ वास्तवमै मौलिक र नेपाली माटो सुहाउने कवि हुनुहुन्छ । यहाँको विधिविधान, यो राष्ट्रको इतिहास र प्रजातन्त्रका लागि उहाँको जीवन भिजेको छ । त्यसको आधारमा उहाँले सम्पूर्ण लेखन निर्मित गर्नुभएको छ । उहाँलाई हामीले कविताको एक महान् नायकका रूपमा हेर्नुपर्छ । लाग्यो, काठमाडौंमा मात्रै होइन लस एन्जलस, बेइजिङदेखि लन्डनसम्मका मानिसले उहाँबारे थाहा पाउनुपर्छ । रिमाललाई विश्वको कुनै पनि महानतम्कविसामु राख्न सकिन्छ । त्यसैले मैले उहाँलाई केन्द्रमा राखें । फेस्टिबलमा उहाँको अनुवाद पनि विमोचन गर्ने तरखरमा छौं । हाम्रो फेस्टिबल उहाँमाथि समर्पित छ । ‘रिमेम्बरिङ रिमाल’ भन्ने कार्यक्रम नै गर्नेछौं, उहाँका कविता र केही अरू नेपाली कविको कविता मिसाएर, जसमा उहाँहरूका कविता मञ्चन हुनेछन् । उद्घाटनमै रिमालका छोरा मदन रिमालज्यूले बुबाका केही सम्झना बाँड्नुहुनेछ । हरेक फेस्टिबलमा एक कवि सम्झिनेछौं– अर्को वर्ष देवकोटा वा सिद्धिचरण वा अरू कुनै हुन सक्छन् ।

के अर्थमा यो वर्कसप र लिटरेचर फेस्टिबल अरूभन्दा पृथक् छ ?

यो वर्कसप रचनात्मकताको उद्गम र अभ्यास हो, जहाँ सहभागीहरूले आफ्नो रुचिअनुसार लेखन गर्नेछन् । हामी वर्कसपमा विभिन्न विषयमा अन्तर्क्रिया गर्नेछौं, जस्तो कि झाँक्री पेसा, योगा, आख्यान, संस्मरण, कविता, फोटोग्राफी, अनुवाद आदि । र, त्यसबाट निस्केको उत्पादनलाई हिमालयन लिटरेचर फेस्टिबलमा प्रस्तुत गर्नेछौं । यो फेस्टिबल मात्रै नभई एउटा रिट्रिट सहित लेखन डिस्कोर्स पनि हो । यसमा शिक्षकले गाइड गर्छन् र सहभागीको पाण्डुलिपिलाई पूर्णता दिन्छन् । यो प्रयोगात्मक प्रक्रिया पनि हो । यहाँ भाषण मात्रै हुँदैन, लेखनको प्रयोगात्मक, व्यावहारिक विषयमा छलफल पनि हुन्छ । ३० लेखक नेपाल आएका छन्, उहाँहरू ‘राइटर्स ब्लग’ मा हुनुहुन्छ वा कुनै एकान्त ठाउँमा गएर हप्ता दिन आफ्ना पाण्डुलिपिमाथि काम गर्न चाहनुहुन्छ पनि हामी त्यसमा सहयोग पुर्‍याउँछौं । यसमा लेखकहरूलाई उत्प्रेरणा दिने, रचनात्मक करिअरलाई अगाडि बढाउने काम हुनेछ ।

तपाईं विभिन्न देशमा कविता सुनाएरै जीविका चलाउन सक्ने विरलै कवि हुनुहुन्छ । नेपालप्रति अन्य देशका लेखकको दृष्टिकोण कस्तो पाउनुभयो ?

नेपालबारे सौहार्दपूर्ण छवि छ । नेपाललाई मन पराउने, महान् मान्ने, श्रद्धा राख्ने मानिस विश्वभरि छन् । सगरमाथा, नेपाली संस्कृतिक विविधता हेर्न मान्छेहरू हुरुक्कै हुन्छन् । मैले पनि सगरमाथा र हिमालको स्तुतिगान गर्दागर्दै नेपालको जनजीवन र नेपाली मानिसको जनजीवनको स्तुतिगान गरें । नेपालका हिमालबारे हजारौं किताब लेख्न सकिन्छ । रचनात्मकताको महान् मुहान हो हिमाल ।

यो वर्कसप र हिमालयन लिटरेचर फेस्टिबलमा कस्ता पृथक् कार्यक्रम रहन्छन् ?

अमेरिका, युरोप, भारत, अस्ट्रेलियादेखि पाँचै महाद्वीपबाट लेखक आउँछन् । लगभग १०० विदेशी लेखक सहभागी हुनेछन् । लेखकहरूको भेटघाट एउटा कुम्भमेला र महान् उत्सवजस्तो हुनेछ । अन्तर्क्रिया, प्यानल विमर्श, पुस्तक विमोचनहरू हुनेछन् । अनुवाद, राष्ट्र, करिअर, संस्कृतिका कुरा हुनेछन् । यो बहुआयामिक स्तरमै हुनेछ । मेरो विचारमा यसमा हरेक नेपाली लेखक आउनुपर्छ ।

प्रकाशित : जेष्ठ १२, २०८१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×