कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

‘संस्कृति कहिल्यै बोझ हुँदैन’ 

५० वर्षदेखि नेपालको संस्कार–संस्कृतिमाथि अध्ययन–अनुसन्धान गरिरहेका हाइडेल्बर्ग् विश्वविद्यालय जर्मनीका प्रोफेसर आक्सेल मिखायेल्स भन्छन्– नेपालीले सांस्कृतिक सम्पदा, परम्परा, चाडपर्व, गुठी–भोजलाई जीवित राख्नुपर्छ । 
नेपालका चार्डपर्व थिएटरहरूमा प्रदर्शन गरिने फिल्म होइनन्, आदिवासीको जरोसँग जोडिएका धमनी हुन् 

सन् १९७१, भारत–पाकिस्तान युद्ध चरमोत्कर्षमा थियो । त्यही वर्ष स्थलमार्ग हुँदै आफ्नै सवारीसाधनमा भारत भ्रमणमा निस्किएका जर्मनीका आक्सेल मिखायेल्स बनारसका पण्डित अम्बिकादत्त उपाध्यायसँग संस्कृत–भाषा र भारतीय संस्कृति अध्ययन गरिरहेका थिए । युद्ध झन् चर्किंदै गएपछि उनी आफूले चढेर आएको सवारी बेचेर पुनः जर्मनी फर्किने सोचमा पुगे ।

‘संस्कृति कहिल्यै बोझ हुँदैन’ 

भारतमा सवारी बेच्न सम्भव नभएपछि उनी रक्सौल हुँदै काठमाडौं आए । सवारी मात्रै बेचेनन्, नेपालमाथिको गहिरो प्रेम लिएर जर्मनी फर्किए ।

जर्मनी पुगेर सन् १९७८ मा ह्याम्बर्ग् विश्वविद्यालयबाट ‘शूल्वसूत्र’ मा विद्यावारिधि गरेपछि उनका शोध परीक्षकले उनलाई ‘नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजना अन्तर्गत रहेर नेपाल जाने हो ?’ भन्ने प्रस्ताव राखे । उनले तत्कालै स्वीकारोक्तिको भावमा टाउको हल्लाए । ‘त्यो दिनको त्यो निर्णयप्रति म कदापि पछुताइनँ,’ प्रोफेसरको त्यो सुनौलो प्रस्ताव सम्झँदै उनी भन्छन् ।

नेपाल आएपछि आफू नेपाली भाषा जान्न एक शिक्षककोमा जाने गरेको सम्झँदै उनले सुनाए, ‘त्यसताका म लक्ष्मीनाथ श्रेष्ठसँग नेपाली पनि सिकिरहेको थिएँ । उनलाई म सम्झिरहन्छु । नेपाली गजबसँग पढाउँथे । उनको रोचक पक्ष के थियो भने पढ्न सुरु गरेको दिनदेखि नेपालीबाहेक अर्को भाषा बोल्न नपाइने । जति जानिन्छ नेपालीमै भन्नुपर्ने । केही सातापछि नै सामान्य नेपाली बोल्न थालिसकेको थिएँ । पढ्न थालेको ३ सातापछि नै एउटा कार्यक्रममा सुरुदेखि अन्तिमसम्मै नेपाली भाषामा आफ्नो भनाइ राखेको थिएँ । त्यो मेरा लागि गौरवपूर्ण क्षण थियो ।’

उपर्युक्त परियोजनाका लागि नेपाल आएपछि मिखायेल्सको जिन्दगीले छुट्टै मोड लियो । हस्तलिखित ग्रन्थहरूसम्बन्धी अध्ययन गर्दै जाँदा उनले सोचिसकेका थिए– अब नेपालमै रहेर केही गर्नुपर्छ । नेपालमा भएका ऐतिहासिक पुरातात्त्विक एवं धार्मिक हस्तलिखित ग्रन्थबारे अध्ययन र संरक्षण नगरे कुनै दिन ती हराएर जानेछन् ।

खोजीपस्दा नेपालका पुराना हस्तलिखित ग्रन्थबारे थप जान्ने उत्सुकता र लगावले उनलाई नेपाल रिसर्च सेन्टर र नेपाल–जर्मन हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाको निर्देशक बनायो । उनले आफ्नो नेतृत्वमा नेपालका विभिन्न स्थान पुगेर हजारौं हस्तलिखित ग्रन्थका छविचित्र (माइक्रोफिल्म) बनाए र त्यसलाई विद्युतीकरण (डिजिटाइजेसन) समेत गरे । जर्मनीकै युनिभर्सिटी अफ् किल्मा सहायक प्राध्यापक छँदा उनले नेपाल अनुसन्धान केन्द्रको निर्देशकको भूमिकामा काम गरे । त्यहाँ काम गर्दा नेपालको अनौठो सामाजिक–सांस्कृतिक–धार्मिक एवं ऐतिहासिक विषयलाई संसारले जान्नुपर्छ भन्ने आफूलाई लागेको उनी सम्झन्छन् ।

सन् १९८३ देखि १९८४ सम्म मिखायेल्स जर्मन रिसर्च फाउन्डेसनसँगको सहकार्यमा नेपालमा दीक्षा परम्पराबारे अध्ययन गर्ने एक परियोजनामा सामेल भए । त्यसले उनलाई नेपालका विभिन्न प्रकृतिका दीक्षा संस्कारबारे जान्ने अवसर मिल्यो । उनका त्यसपछिका दिनहरू सधैंजसो हस्तलिखित पुराना ग्रन्थहरूको माइक्रोफिल्म्को व्यवस्थापन र नेपाल रिसर्च सेन्टरका लागि विभिन्न लेक्चरहरूको व्यवस्थापनमै बिते । ‘केही थोरै लेखकहरूले लेखेका भए पनि नेपालमा यस्ता विषयवस्तुहरू छन्, जसबारे न पूर्णरूपमा लेखिएको छ न तत्–तत् समुदायबाहेक कसैलाई यस्ता संस्कृति, रीतिरिवाज, रहनसहनबारे थाहा छ,’ यस्ता विषयमाथि सामूहिक रूपमै विशेषज्ञबाट गहिरो अध्ययन भयो भने आउने पिढीले पनि सांस्कृतिक–पुरातात्त्विक विषयको जानकारी पाउनबाट वञ्चित हुनुनपर्ने विचार छ उनको ।

नेपाल अनुसन्धान केन्द्रमा काम गर्दा मिखायेल्स् र संस्कृतिविद् गोविन्द टण्डनले पशुपति क्षेत्रबारेको अध्ययनपछि एक अनुसन्धानात्मक पुस्तक ‘पशुपतिक्षेत्र’ प्रकाशित गरे, जसमा पशुपतिनाथ वरिपरिको परिवेश र संस्कार–संस्कृति समेटिएको छ । त्यसपछि सन् १९९२ देखि १९९६ सम्म युनिभर्सिटी अफ बेर्नमा रेलिजियस स्टडिज् (धार्मिक अध्ययन) विषयमा प्राध्यापन गरे ।

सन् १९९६ देखि उनी सन् १३८६ मा स्थापना भएको जर्मनीको सबैभन्दा पुरानो विश्वविद्यालय हाइडेल्बर्ग् विश्वविद्यालयअन्तर्गतको दक्षिण एसियाली अध्ययन संस्थान (साउथ एसिया इन्स्टिच्युट) मा पूरा विद्या (क्लासिकल इन्डोलोजी) विषयमा प्राध्यापकका रूपमा प्रवेश गरे । सन् १९९९ देखि २००२ सम्म उक्त संस्थानको निर्देशकका रूपमा कार्यभार सम्हाले । त्यसबेला हाइडेल्बर्ग् विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थान नेपालमय हुने गर्थ्यो । यसको कारण थियो– मिखायेल्सको नेपाल अध्ययन र अनुसन्धानप्रतिको गहिरो लगाव । ‘उहाँ यस संस्थानको निर्देशक र क्लासिकल इन्डोलोजी विषयको विभागाध्यक्ष हुँदा यो संस्थानमा निरन्तर रूपमा नेपालसम्बन्धी कुनै न कुनै कार्यक्रम भइरहन्थ्यो,’ हाइडेल्बर्ग विश्वविद्यालयबाट नेपालको १९१० को मुलुकी ऐनबारे विद्यावारिधि (डिफिल–डक्टर अफ् फिलोसोफी) गरेका राजन खतिवडाले भने ।

मिखायेल्सले नेपालसम्बन्धी दर्जनौं पुस्तक एवं अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् भने दर्जनौं अनुसन्धानात्मक पुस्तक सम्पादन । पुरातात्त्विक र ऐतिहासिक विषय उजागर गर्न तत्कालीन समयमा प्रयोग गरिने भाषा अध्ययन हुनु महत्त्वपूर्ण भएको भन्दै उनी त्यस्ता भाषामा नेपाली, संस्कृत, नेपाल (नेवारी) मुख्य हो भन्छन् । ‘संस्कृत र नेपाल भाषाको अध्ययन यसकारण पनि अपरिहार्य छ कि भाषा विज्ञान, हिन्दु धर्म मात्र नभई बौद्धधर्मबारे जान्न पनि यी माध्यम–भाषा बनेका छन् किनभने यसका मूल ग्रन्थहरू मुख्यतः यिनै दुई भाषामा लेखिएका छन्,’ उनी भन्छन् । भाषा तथा संस्कृतिविद् मिखायेल्स् नेपालमा त्यस्ता धेरै विषयवस्तु र महत्त्वपूर्ण अभिलेख रहेकोमा तिनको संरक्षणको प्रयास भए पनि पूर्ण रूपमा सदुपयोग र संरक्षण गर्न नेपालले नसकिरहेकोमा चिन्ता व्यक्त गर्छन् ।

अहिले उनको नेतृत्वमा दुई ठूला परियोजना ‘पूर्वआधुनिक नेपालको ऐतिहासिक दस्तावेज’ र ‘नेपाल पुरातात्त्विक सम्पदा अभिलेखीकरण परियोजना’ (एन्एच्डीपी) सञ्चालन भइरहेका छन् । पूर्वआधुनिक नेपालको ऐतिहासिक दस्तावेजले नेपालमा भएका, तर खासै चासो नदेखाइएका त्यस्ता ऐतिहासिक दस्तावेज ग्रन्थहरूलाई मेटाडेटाबाट सबैका लागि पहुँचयोग्य बनाउने काम गर्छ । यो परियोजनामार्फत नेपालिज्–जर्मन म्यानुस्कृप्ट क्याटालगिङ् प्रोजेक्टले बनाएका ऐतिहासिक दस्तावेजहरूको छविचित्रलाई मेटाडेटाका रूपमा डिजिटल प्लाटफर्ममा प्रकाशन गरिन्छ । डकुमेन्टा नेपालिका नामको सिरिजमा पुस्तकहरूको सिरिज नै निकालेको छ । त्यस सिरिजमा नेपालसम्बन्धी अध्ययन गरिएका अनुसन्धानात्मक पुस्तकलाई डुकुमेन्टा नेपालिका सिरिजअन्तर्गत हाइडेल्बर्ग् विश्वविद्यालयले नै प्रकाशित गर्छ । अहिलेसम्म यस सिरिजअन्तर्गत ‘स्टडिज् इन् हिस्टोरिकल डकुमेन्ट्स फ्रम् नेपाल एन्ड इन्डिया’, ‘द मुलुकी ऐन अफ १८५४’, ‘स्लेभरी एन्ड अन्फ्री लेबर इन नेपाल’, ‘ड्रम्मिङ् इन भक्तपुर’, ‘होमिसाइड ल इन नाइन्टिन्थ सेन्चुरी नेपाल’ लगायतका अनुसन्धानात्मक पुस्तक प्रकाशित भइसकेका छन् ।

नेपाल पुरातात्त्विक हस्तलिखित ग्रन्थ परियोजना (एन्एच्डीपी) ले नेपालमा रहेका धार्मिक एवं सांस्कृतिक सम्पदाहरूको खोजी गरी ती सम्पदाबारे सम्पूर्ण जानकारी ‘नेपाल हेरिटेज डकुमेन्टेसन प्रोजेक्ट’ को वेबसाइट र ‘हेरिटेज वाक’ नामक एप्लिकेसनबाट दिने गर्दछ । यी सबै परियोजना नेपाल सरकारको प्रत्यक्ष सहकार्यमा सञ्चालन गरिएका हुन् । पूर्वआधुनिक नेपालको ऐतिहासिक दस्तावेज परियोजनाले नेपाल सरकारको नेपाल राष्ट्रिय अभिलेखालयसँग समन्वय गरेर ऐतिहासिक दस्तावेजहरूमाथि अनुसन्धान तथा प्रकाशन गरिरहेको छ । नेपाल पुरातात्त्विक हस्तलिखित ग्रन्थ परियोजना (एन्एच्डीपी) ले नेपाल सरकारको पुरातत्त्व विभाग काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टको समन्वयमा सम्पदा संरक्षणमा काम गरिरहेको छ । मिखायेल्स् भन्छन्, ‘यस्ता किसिमका वैज्ञानिक अनुसन्धानले नेपाल विश्वइतिहासको अध्ययन अनुसन्धानको मानचित्रमा प्रत्यक्ष रूपमा जोडियोस् भन्ने हाम्रो ध्येय हो । सामान्यतया पाश्चात्य विश्वविद्यालयहरूमा इन्डोलोजी भन्नासाथ भारतसँग मात्रै जोडेर हेर्ने गरिएको छ । तर, मेरो उद्देश्य भनेकै इन्डोलोजीको अध्ययन तथा अनुसन्धानमा नेपालको एउटा छुट्टै विशिष्ट स्थान छ, नेपाललाई प्रत्यक्ष रूपमा कसैले पनि औपनिवेशीकरण गर्न सकेन त्यसैले दक्षिण एसिया एवं वरिपरिका अन्य औपनिवेशीकृत देशहरूभन्दा नेपाल सामाजिक, धार्मिक, आर्थिक एवं राजनीतिक अभ्यासका दृष्टिले मौलिक पहिचानका साथ अगाडि बढिरह्यो । जस्तो कि– कुनै पनि औपनिवेशिक शक्तिको संलग्नताबिना नै सन् १८५४ मै मुलुकी ऐनजस्तो संविधानकै झलक दिने किसिमको एवं १८–१९औं शताब्दीको नेपाललाई ऐनाजसरी नै स्पष्ट देखाइदिने बृहत्तर कानुनी दस्तावेज आउनु र कानुनका रूपमा प्रयोग हुनु आफैंमा दक्षिण एसियाको कानुनी इतिहासकै विशिष्ट उदाहरण हो । यति हुँदाहुँदै पनि मुलुकी ऐनलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । त्यो समयको विशिष्ट कानुनी दस्तावेज हुँदाहुँदै पनि मुलुकी ऐनले जातीय संरचनालाई कानुनी दस्तावेजमार्फत नै कार्यान्वयन गर्नुले भने नेपालमा जात व्यवस्थाले अझ दह्रोसँग जरा गाड्यो, जसलाई सरकार तथा समाजका विभिन्न प्रयासका बाबजुद अहिलेसम्म पनि निर्मूल गर्न सकिएको देखिँदैन । तर, अनुसन्धानका हिसाबले भने १९ औं शताब्दीको कानुनी दस्तावेजलाई ऐतिहासिक दस्तावेज मानेर विवेचना भने गर्न सकिन्छ । दक्षिण एसियाको कानुनी इतिहासमा मुलुकी ऐन ब्रिटिस इन्डियाको पेनाल्कोटभन्दा पनि ६ वर्षअघि नै आउनुले तात्कालिक नेपालका शासकहरूको कानुनी चेत भने दर्शाउँछ ।’

नेपालसम्बन्धी यस्ता दर्जनौं परियोजना सञ्चालन गर्नुका साथै उनले दर्जनौं पुस्तक प्रकाशित गरेका छन्– ‘नेपालिकभूपवंशावली,’ ‘नेपालः अ हिस्ट्री फ्रम अर्लिएस्ट टाइम् टु द प्रिजेन्ट’, ‘द मेकिङ् अफ अ स्टाचूः लस्ट्–वाक्स् कास्टिङ् इन नेपाल’, ‘हिन्दुइजम् : पास्ट् एन्ड प्रिजेन्ट्’,

‘ह्यान्डलिङ् डेथ’, ‘होमो रिचुआलिस्’, ‘गेटिङ म्यारिड’, ‘शिव इन ट्रबल’, ‘ग्रोइङ् अपः हिन्दू एन्डड बुद्धिस्ट इनिसिएसन् रिचुअल्स् अमङ् नेवार चिल्ड्रेन इन भक्तपुर’, ‘द प्राइस अफ प्युरिटी’ । सन् १९७१ देखियता नेपाल कति पटक पुगें भन्नेबारे उनलाई हेक्का छैन, न हेक्का छ नेपालसम्बन्धी लेखेका एकेडेमिक लेख कति लेखें भन्ने । उनले नेपालका सांस्कृतिक सम्पदा संरक्षण, ऐतिहासिक हस्तलिखित ग्रन्थ संरक्षण र डिजिटाइजेसनलगायत विषयमा गरेको अनुसन्धानलगायत अन्य शैक्षिक गुणवत्ता तथा योगदानको कदरस्वरूप हाइडेल्बर्ग् विश्वविद्यालयले अहिले उनलाई सिनियर प्रोफेसरको उपाधि दिएको छ । जर्मनीकै प्रतिष्ठित लाउटेनस्लेगर अनुसन्धान पुरस्कारजस्ता दर्जनौं सम्मान पाइसकेका छन् ।

त्यसबेला अध्ययन–अनुसन्धानको क्षेत्र नेपाल नै रोज्नुको पछाडि यहाँको आतिथ्य सत्कार र भारतको तुलनामा धेरै कम रूपमा व्यक्तिको जात र पृष्ठभूमि हेर्ने परिपाटी भएको बताउँदै उनले भने, ‘त्यसबेला भारतमा नेपालको तुलनामा धेरै नै जातजाति र व्यक्तिको पृष्ठभूमि हेर्ने गरिन्थ्यो । अझ बाहिरी देशबाट आउनेहरूलाई त ‘म्लेच्छ’ मान्ने गरिन्थ्यो । अशुद्ध मान्ने गरिन्थ्यो । तर, नेपालमा त्योभन्दा तुलनात्मक रूपमा कम थियो । मेरो अध्ययन तथा अनुसन्धानको विषय विशेषगरी चाडपर्व, परम्परा र संस्कारबारे भएकाले नेवारहरूसँग बढी सम्बन्ध विकास हुन्थ्यो त्यसैले पनि त्यति धेरै ‘तँ म्लेच्छ’ होस् भन्ने आरोप खेप्नुपरेन ।’

मिखायेल्स्लाई नेपालको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेकै यहाँको धार्मिक एवं सामाजिक विविधता हो भन्ने लाग्छ । ‘नेपालको विविधताभित्रको एकता लोभलाग्दो छ । विविध धर्म, सम्प्रदाय, फरक–फरक जीवनशैली नेपालका लागि महत्त्वपूर्ण विषय हो । नेपालको इतिहास झनै चाखलाग्दो छ । मौलिक संस्कृति र परम्पराले यहाँको सौन्दर्य बढाएको छ । अझ अर्को अनौठो र महत्त्वपूर्ण सौन्दर्य भनेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूको एकात्मता हो । यस्तो अनौठो फ्युजन विश्वमा विरलै देख्न पाइन्छ । यस्ता थुप्रै विषय छन्, जसमाथि राम्रोसँग अध्ययन–अनुसन्धान हुन पाएकै छैन । यी सबै विषय, अझ भनौं नेपाल जान्न एउटा मात्र जीवन पर्याप्त हुँदैन,’ उनी भन्छन् ।

नेपालमा दिन प्रतिदिन पाश्चात्य संस्कृति सिको गर्दै जाँदा मौलिक संस्कार, संस्कृति हराउँदै गएको भन्ने कुरा बेलाबखत आइरहे पनि सम्पूर्ण रूपमा यो सत्य नभएको उनी बताउँछन् । ‘अहिले त्यो बेलाको भन्दा परिस्थिति केही फरक त पक्कै छ । तर, परम्परा, संस्कृतिहरू त्यति धेरै लोप हुँदै गएका छन् जस्तो मलाई लाग्दैन । अहिले संख्यात्मक रूपमा धेरै पर्यटकले त्यस्ता चाडपर्व, जात्रा अवलोकन गर्छन्, आधुनिकता पनि आयो । मुख्य कुरा ती चाडहरू अहिलेसम्म मनाइँदै आइएको छ । यस्ता पर्वहरू कुनै थिएटरमा देखिइएका फिल्म होइनन्, यी त त्यहाँका आदिवासीहरूको जरोसँग जोडिएको विषय हो,’ उनले भने, ‘त्यसैले पहिलाको तुलनामा परिवर्तन हुने कतिपय कुरा छाडेर हेर्दा त्यो बेला मनाउने गरिएका चाडपर्व, रीतिरिवाजहरू अझै जीवित छन् लाग्छ । पर्व नै नासिएको छ भन्ने लाग्दैन । हुनसक्छ एक अथवा दुईवटा सामान्य जात्राचाहिँ सायद अहिले मनाइँदैनन्– जस्तै गंगामाई जात्रा । तर, कतिपय जात्रा त पहिलेभन्दा अझै ऊर्जाका साथ मनाइएका छन् । यी विषय पहिचानसँग पनि जोडिएका छन् । त्यसैले पनि संरक्षण गर्नुपर्छ ।’

पाश्चात्य संस्कृतिको प्रभावले कतिपय परम्परा, संस्कृतिहरू परिमार्जन हुँदै त कतिपय परम्पराहरू मासिँदै पनि गइरहेका छन्, यस्ता संस्कृति–परम्पराहरू समयसँगै परिवर्तन हुनु अथवा हराउँदै जानु अथवा भनौं समयसँगै विकास हुँदै जानु राम्रो हो ? उनी भन्छन्, ‘नेपालीले सांस्कृतिक सम्पदा, परम्परा, चाडपर्व, गुठी–भोजजस्ता विषय जीवित राख्नुपर्छ । संस्कृतिलाई बोझको रूपमा कहिल्यै लिनु हुँदैन ।’

प्रकाशित : जेष्ठ ५, २०८१ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×