कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पञ्चायतको अँध्यारोमा आँटिला ‘मायाहरू’

उबेला कुरीतिविरुद्ध बोल्ने साहस भएका महिला पाउन मुस्किल थियो, तर समाजलाई नै चुनौती दिँदै केही महिला अग्रमोर्चामा उभिए र राजनीति हाँके 
पर्वत पोर्तेल

पूर्वी पहाड तेह्रथुम, केबुकबाट बर्मा (म्यानमार) जाँदा माया गुरुङ जम्माजम्मी दुई महिनाकी शिशु थिइन् । आमाको पिठ्युँमा मजेत्रोले बाँधिएर करिब १ हजार ५ सय किलोमिटर यात्रा पार गर्दै पूर्वोत्तर बर्मा पुग्दा दोस्रो विश्वयुद्ध उत्कर्षमा थियो । सन् १९४३ देखि १९४५ सम्म जारी विश्वयुद्धमा मायाका बुबा ब्रिटिस सेनाका रूपमा जापानविरुद्ध लडेका थिए । 

पञ्चायतको अँध्यारोमा आँटिला ‘मायाहरू’

बर्मामा सन् ६० को दशकमा एउटा गीत खुबै चर्चित थियो, ‘फर्क है फर्क नेपाली’ । त्यही गीतमार्फत प्रवासमा रहेका नेपालीलाई घर फर्किन राजा महेन्द्रले आह्वान गरेको ठान्थे बर्मेली नेपालीहरू । एकपटक राजकीय भ्रमणमा महेन्द्र बर्मा पुगे । उनले त्यहाँबाट औपचारिक रूपमै

आह्वान गरेपछि बर्मेली नेपाली पुरानो थातथलो फर्किन जुर्मुराए । माया पनि बाआमालाई सोधिरहन्थिन् ‘हाम्रो नेपाल कहाँ छ ?’

त्यही मेसोमा मायाको परिवार पनि नेपाल फर्किने निर्णयमा पुग्यो । सात दिन, सात रात पानी जहाजको यात्रा गरेर उनीहरू कोलकाता हुँदै पूर्वी नाकाबाट नेपाल छिरे । वि.सं. २०२० को दशकमा आएका बर्मेलीहरू जंगल फाँड्दै बस्ती बसाउन थाले । माया गुरुङको परिवार भने धुलाबारीतिर मोडियो ।

गुरुङ परिवारका सुरुआती दिन कष्टकर थिए । होटलमा भाडा माँझेर परिवार पाल्ने जिम्मेवारी वर्मामै म्याट्रिक पास गरेकी मायाको काँधमा आइलाग्यो । एक दिन होटलमा भाडा मस्काउँदै गर्दा धुलाबारीका रैथाने चन्द्रकुमार श्रेष्ठ (राइटर बा) ले जिज्ञासा राखेछन्, ‘नानी घर कहाँ हो ? कति पढेकी छौ ?’ आत्मविश्वासी मायाले भनिछन्, ‘बर्माबाट आएकी, उतै मेट्रिक पास गरेकी छु ।’ अनि चन्द्रकुमारले भनेछन्, ‘मेट्रिक गरेको मान्छे यसरी भाँडा मस्काएर बस्ने हो त ? हिँड स्कुलमा पढाउने काम लगाइदिउँला ।’

राइटर बासँगको भेटपछि मायाको जीवनले नयाँ मोड लियो । धुलाबारी निमाविमा शिक्षकका रूपमा भर्ती भइन् । मिठो अंग्रेजी बोल्ने, नाच्न र गाउन पनि उस्तै माहिर माया शिक्षकमाझ छोटै समयमै परिचित भइहालिन् । शिक्षणकै क्रममा छिमेकी ज्यामिरगढी प्राविका शिक्षक भरत गुरुङसँग घरजम गरिन् ।

राजनीतिमा लाग्न उनलाई एउटा घटनाले प्रेरित गर्‍यो । तत्कालीन प्रधानपञ्च सीताराम भट्टराईले पटक–पटक सरुवा गरेर हैरान पार्थे । त्यही घटनापछि राजनीतिमा लाग्न इख पलाएको उनी सुनाउँछिन् । शिक्षण गर्दागर्दै राजनीतितिर झुकाव बढाएकी उनी २०२७ सालमा महिला संगठनको धुलाबारी गाविसकी सभापति नै बनिन् ।

चुलोचौकामा मात्रै सीमित त्यो बेलाका महिलालाई राजनीतिमा आउन कम कठिन थिएन । तर, पति भरत र शुभेच्छुकको हौसला, प्रेरणाले राजनीतिमा लाग्न सघायो । आठ वर्षदेखि गर्दै आएको शिक्षणलाई बिट मार्दै राजनीति कोर्स सुरु गरिन् ।

२०२९ सालमा राइटर बा र पति भरतले धुलाबारी गाउँ पञ्चायतको उपप्रधान पञ्च उठ्न हौस्याए । नभन्दै माया उठिन् र अत्यधिक मतले विजयी भइन् । उप प्रधानपञ्च उठ्दा विपक्षीहरूले ‘पोथी बास्यो’ भन्दै व्यंग्य गरेका थिए । माया विगत सम्झिँदै हास्छिन्, ‘विपक्षीले त्यसरी मेरो प्रचार नगर्देको भए मैले जित्ने रैनछु ।’

उपप्रधानपञ्च हुँदा लोकप्रिय काम गरेकी माया २०३६ सालमा प्रधानपञ्च बनिन् । त्यो बेला पुरुष प्रतिद्वन्द्वीलाई पन्छाएर जित्नु कठिन थियो । विद्रोही र निडर स्वभावका कारण तत्कालीन प्रशासनले उनलाई कहिले झापा विद्रोहलाई सघाएको त कहिले कांग्रेसलाई सुराकी गरेको आरोप लगाउँथ्यो, पटकपटक पक्राउ पनि परिन् ।

ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मेचीनगरकी ‘टिके’ उपप्रमुख बनिन् । लोकतन्त्रपछि राजेन्द्र लिङ्देनलगायतका पञ्चलाई मोसो दलियो । तर, उनलाई कसैले चलाएन । ‘एक पटक माओवादीहरू मोसो दल्न भनी आएका थिए, मैले सक्छस् भने एक्लै आइज भनेपछि उनीहरू लाखापाखा लागे,’ माया भन्छिन्, ‘नडराउनु नबिराउनु ।’


देशकै पहिलो महिला प्रधानपञ्च हुन्, झापा बुधबारेकी भागिरथा नेउपाने । २०२९ साल कात्तिकमा बुधबारे गाउँ पञ्चायतबाट विजयी भएर उनले इतिहास रचेकी थिइन् ।

प्रधानपञ्च हुनुअघि २०२६ जेठ २ मा उपप्रधानपञ्च जितेकी थिइन् । त्यही उत्साहले प्रधानपञ्चमा उठिन् र बहुमत पाएर विजयी भइन् ।

वि.सं. १९८० मा इलामको कन्याममा जन्मिएकी भगिरथाको १० वर्षको उमेरमा बिहे भयो । वि.सं. २०१० सालमा त उनी विधवा भइन् । पति प्रजापतिको आकस्मिक मृत्युपछि २ छोरा र ४ छोरी हुर्काउने जिम्मा उनको कलिलो काँधमा आयो । पतिवियोगले पहाडमा बस्न गाह्रो भएपछि उनी बुधबारे बसाइँ झरेकी थिइन् ६ लालावाला च्यापेर ।

पारिवारिक, सामाजिक थिचोमिचो र अन्याय सहँदै उनी अचानक राजनीतिमा उदाइन् । ‘उहाँ औंठा छाप भए पनि निडर, स्वाभिमानी र प्रस्ट वक्ता हुनुहुन्थ्यो,’ माइला छोरा कुलप्रसादले सुनाए, ‘त्यही कारण उहाँलाई जनताले मन पराएर दुई पटक पञ्चायतमा जिताए ।’

खासमा २०१७ सालको राजनीतिक परिवर्तनले भागिरथाका लागि राजनीतिक ढोका खुल्यो । महेन्द्रको ‘कु’ विरुद्ध आन्दोलन भइरहेका बेला उनी पञ्चायतको पक्षमा उभिइन् ।

०२० सालतिर भागिरथा महिला संगठनको सभापतिमा जब निर्वाचित भइन् तब सक्रिय राजनीतिमा प्रवेश गरिन् । त्यसपछि पञ्चायत पक्षधर स्थानीय तथा जिल्ला संघसंस्थामा आबद्ध भई जिल्ला स्तरीय नेता तथा बौद्धिक वर्गको सान्निध्यमा पुगिन् ।

२०२४ सालमा पञ्चायती व्यवस्थाले ल्याएको ‘गाउँ फर्क अभियान’ अन्तर्गत झापा जिल्लालाई ९ भागमा विभाजन गरिएको थियो, जसको नेतृत्व रामबाबु प्रसाईंले गरेका थिए ।

बुधबारे, धाइजन, धुलाबारी, नकलबन्दा, शान्तिनगर र बाहुनडाँगी गाउँ पञ्चायतमा महिला संगठनको तर्फबाट प्रतिनिधित्व गर्दै भागिरथाले बाटो, पैनी, स्कुल तथा समग्र समाज विकास र चेतना विकासमा सक्रिय निर्वाह गरेको छोरा कुलप्रसादको भनाइ छ । ‘त्यही राजनीतिक सक्रियतापछि उहाँ २०२६ सालमा उपप्रधानपञ्च र २०२९ मा प्रधानपञ्चमा निर्वाचित हुनुभएको हो,’ कुलप्रसाद भन्छन् ।

२०३९ सालमा वर्गीय संगठनको जिल्लास्तरीय चुनावमा महिला संगठनको जिल्ला सभापतिमा निर्वाचित उनी जिल्ला पञ्चायतको पदेन सदस्य थिइन् । २०४३ को आम निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा भने उनी पराजित भएकी थिइन् ।

भागिरथाले बुधबारेमा व्यवस्थित बसोबास मात्रै गराइनन्, आफ्नो क्षेत्रमा पहिलो पटक बिजुली बालेर सबैलाई चकित पारिन् । २०३४ तिर पुष्प भण्डारी इन्जिनियर भएर बुधबारेको बिजुली अड्डामा आएका थिए । त्यहीबेला भागिरथाले बुधबारेलाई झिलिमिली पारिन् । पञ्चायत पतनपछि राजनीतिबाट रिटायर्ड भएकी उनी २०४८ पुसमा बितेकी थिइन् ।


त्यो बेला महिलाहरू विरलै राजनीतिमा सक्रिय थिए । आफ्नो बलबुतोले राजनीतिमा लाग्नु कल्पनाबाहिरको विषय थियो । त्यसैले धेरैजसो महिला संयोगले राजनीतिमा आए । भागिरथाझैं निरक्षर जोगमाया थापाको जीवनमा पनि राजनीतिक संयोग जोडियो । उनी २०३३ सालमा सीमावर्ती ज्यामिरगढी गाउँ पञ्चायतकी प्रधानपञ्च बनिन् ।

२०२८ देखि सुरु भएको ‘झापा विद्रोह’ बारे लेखिएको पुस्तक ‘२०२८ ः झापा विद्रोहको अन्तरकथा’ का लेखक निरोज कट्टेलका अनुसार, २०२८ जेठ २ गते विद्रोहीको पहिलो निसाना बनेका थिए, कर्णबहादुर गौतम । उनी तत्कालीन प्रधानपञ्च बलबहादुर थापाका छिमेकी पनि थिए । लोकप्रिय प्रधानपञ्च बलबहादुर भूमिगत रूपमा कम्युनिस्ट पार्टीमा पनि संलग्न थिए, जिल्ला तहकै नेता थिए । ‘तत्कालीन सत्ताले जमिनदार रघुवीर बुढाथोकीका कारोबारी कर्णबहादुर गौतम हत्याको आरोपमा धेरैलाई पक्राउ गरेको थियो,’ कट्टेलले सुनाए, ‘त्यो पंक्तिमा प्रधानपञ्च थापालाई परे ।’

माइला छोरा प्रदिपका अनुसार, जोगमाया त परिस्थितिले नेता बनेकी हुन् । बुबा जेलमा भएका बेला जनताले बुबाको बदला आमालाई उम्मेदवार बनाउने निधो गरेका थिए । निरक्षर जोगमागाले नेता बन्ने सपना कहिल्यै देखिनन् सायद । तर, कहिलेकाहीँ मान्छेको जीवनमा नसोचेको भइदिन्छ । उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन जोगमायालाई रातभरि घरको भित्तामा कोइलाले नाम लेख्न सिकाइयो ।

बुबाको ठाउँमा आमालाई उम्मेदवार बनाउन सिंगो गाउँ नै उर्लिएको दृश्य बालक प्रदिपले नजिकबाट नियालिरहेका थिए । उनले भने, ‘भित्तामा कोइलाले किन कोरेको होला जस्तो लाग्थ्यो, आमाले नाम लेख्न सिकेको पछि मात्रै थाहा भयो ।’

ज्यामिरगढी कम्युनिस्टहरूको आधार इलाका पनि थियो । मेची पारिबाट कम्युनिस्ट नेताहरू आउजाउ गरिरहन्थे । राधा, सीपी, गोपालकृष्ण प्रसाईंजस्ता अगुवा कम्युनिस्टहरूको ‘सेल्टर’ नै थियो ज्यामिरगढी । त्यही कम्युनिस्ट जनाधारको बलमा २०२६ सालमा बलबहादुरले पञ्चायत चुनाव जितेका थिए ।

ऊ बेलाको झापा आन्दोलनका नेता तथा वरिष्ठ अधिवक्ता लीला उदासीका अनुसार, गौतमको हत्यापछि प्रहरीले उनलाई समात्यो । उनी प्रधानपञ्च थिए । अर्को चुनाव आउँदा थापा जेलमै थिए । ‘अब कसलाई उठाउने भन्ने चर्चा भयो त्यही क्रममा श्रीमती जोगमाया थापालाई उठाइयो’, उदासीले भने, ‘उहाँले जित्नु पनि भयो ।’ उदासीका अनुसार, बलबहादुरले जित्दै आएको सिटमा जोगमायालाई उठाइयो । वामपन्थी प्रयत्न र वामपन्थी लहरबाटै उनले पनि जितिन् ।

लेखपढ गर्न नजान्ने भए पनि विकास निर्माणका काममा उनी अग्रसर थिइन् । प्रदिपका अनुसार, सत्तामा रहँदा पनि जोगमायाले आफ्ना लागि केही गरिनन्, न बुबाले नै गरे । उनीहरूले राजनीतिलाई सधैं सेवा सम्झे । दोस्रो पटक पनि उनी पुनः उम्मेदवार बनिन् । तर, पुरानो ज्यामिरगढीका केही वडा धुलाबारी र केही चन्द्रगढीमा गाभिएका कारण कम्युनिस्ट मत विभाजित भयो । अन्ततः नारायण ओलीले प्रधानपञ्चमा बाजी मारे । उनी २०५४ सालमा बितिन् ।

दिलकुमारी श्रेष्ठलाई सहकर्मीहरू ‘गाई आमै’ भन्थे । जिल्ला पञ्चायतको निर्वाचनमा उनको चुनाव चिह्न गाई थियो, त्यसैले । कालान्तरमा उनको अर्कै उपनाम जोडियो, मेची–आमा । त्यही चिह्नले उनलाई जिल्ला पञ्चायतको सभापतिमा निर्वाचित पनि गरायो ।

जतिबेला महिलाहरू समाजमा खुलेर बाहिर आउने, धक फुलाएर बोल्ने अवस्था थिएन, त्यही बेलादेखि दिलकुमारी महिला जागरण र महिला हकहितका सामाजिक गतिविधिमा सक्रिय बन्दै गइन् । उनी पनि निडर र हकी स्वभावकी थिइन् ।

भोजपुरको सिद्धेश्वर–५ दामाबजारमा वि.सं. १९७० कात्तिक २५ मा जन्मिएकी उनको चैनपुरका कृष्णप्रसाद श्रेष्ठसँग विवाह भएको थियो । २०६८ भदौ ८ गते ९८ वर्षको उमेरमा उनले संसार छाडिन् ।

२०१० सालतिरै उनको परिवार चैनपुरबाट मधेश झरेको थियो । भद्रपुर नगरपालिकालाई स्थायी थलो बनाएर उनी निरन्तर समाजसेवा र राजनीतिमा सक्रिय बन्न थालेकी थिइन् । २०१७ सालमा नारी शिल्पकला केन्द्र झापाको अध्यक्ष, २०१८ मा नेपाल महिला संगठन झापाको अध्यक्ष, २०१९ मा नेपाल महिला संगठन केन्द्रीय सदस्य भइन् ।

पञ्चायतप्रति झुकावकै कारण २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले राजसभा सदस्यमा मनोनीत गरेका थिए । ऊ बेला त्यो पदमा पुग्ने सम्भवतः उनी पहिलो महिला थिइन् । २०४० मा नेपाल महिला व्यावसायिक संगठनको केन्द्रीय अध्यक्ष बनेकी उनलाई वीरेन्द्रले नै २०४१ सालमा राजसभा स्थायी समिति सदस्य पुनः मनोनीत गरे ।

उनले सोभियत संघ, उत्तर कोरिया, चीन, बर्मा, हङकङ, थाइल्यान्ड, चेकोस्लोभाकिया जस्ता देश घुमिसकेकी थिइन् ।

एक समय झापामा महिला नेतृत्वको सदैव खडेरी थियो । तर, दिलकुमारी समाजलाई चुनौती दिँदै अग्रमोर्चामा उभिएकी थिइन्, विद्रोही पनि थिइन् । झापामै पहिलो पटक हलो जोतेर त्यो बेलाको समाजलाई चुनौती दिएकी थिइन् । मेची क्यापसका पूर्वप्रमुख चिन्तामणि दाहालले भने, ‘महिलाले हलो जोत्नु पाप ठान्ने समयमा उनले हलो जोतेर समाजलाई नै चुनौती दिएकी थिइन् ।’

प्रकाशित : फाल्गुन १२, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×