कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५
मेड इन नेपाल

७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म

अहिले काठमाडौंको रञ्जना गल्ली, बिजेश्वरी र चितवनमा रञ्जना सोडा बिक्री हुन्छ, २ पैसाबाट बेच्न सुरु गरेको सोडा अहिले १ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ
सीमा तामाङ

काठमाडौँ — चर्को गर्मीमा सबैको रोजाइमा पर्छ– चिसो पेय पदार्थ । त्यसमाथि न्युरोड पुग्ने जोकोहीले चिसो पेय पदार्थ भन्नासाथ सोडा नै रोज्छन् । न्युरोडको रञ्जना गल्ली अर्थात् ‘रञ्जना सोडा पसल’ मा अहिले मानिसको भीड नै लाग्ने गरेको छ– सोडा पिउन ।

७७ वर्षदेखि रञ्जना सोडा : काठमाडौंदेखि दोहासम्म

वि.सं. २००३ देखि सुरु भएको रञ्जना गल्लीको सोडा पसलको नाम नै ‘रञ्जना सोडा पसल’ बन्न पुगेको हो । बीचको केही समय यो पसल रञ्जना गल्लीबाट भूगोल पार्कमा सरेको थियो । अहिले रञ्जना गल्लीमै दुईवटा यस्ता सोडा पसल छन् । रञ्जना सोडा पसलको छुट्टै विरासत छ । घरमै सोडा बनाएर बेच्न थालेदेखि नै यसले आफ्नो छुट्टै पहिचान दिएको थियो ।

न्युरोडका बुद्धिराज सुवालले १९९८ सालमा घरमै सोडा बनाएर बेच्थे । उनले आफ्नै घरमा सोडाको ‘फ्याक्ट्री’ नै खोलेका थिए । सुवालले घरमा आउने ग्राहकदेखि विभिन्न पसलसम्म सोडा पुर्‍याएर बेच्थे । बुद्धिराजले २००३ सालदेखि मात्रै व्यावसायिक रूपमा सोडा पसल सञ्चालनमा ल्याएको सुवालका जेठा छोरा सुरेशले बताए ।

बुद्धिराज सुवाल ।

त्रिदेव गुरुङले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘लगभग २००९ तिर शनिबारको अर्थ : खेलकुद र साथीहरू हुन्थ्यो । हामी बास्केटबल वा फुटबल रोज्थ्यौं । फुटबलका लागि टुँडिखेल घरेलु मैदानजस्तै थियो । खेल सकिएपछि प्रख्यात रञ्जना गल्लीको सोडा पिउने प्रचलन नै थियो ।’

गुरुङले भनेजस्तै रैथाने न्युरोडवासी धेरैले कुनै न कुनै माध्यमबाट रञ्जना गल्लीको सोडा पसललाई सम्झने गर्छन् । न्युरोडदेखि काठमाडौं उपत्यकामा जन्मेहुेर्केका जोकोहीका लागि ‘रञ्जना सोडा पसल’ विगत सम्झाउने र वर्तमानमा गर्मी छल्ने उपयुक्त माध्यम बन्दै आएको छ । उक्त पसलमा पुग्दा सोडा खानेको लाइन अझै पनि उस्तै देखिन्छ । लेमन, कोला, लिच्ची, आँप, ब्लुबेरी, मसलासम्मका विभिन्न प्रकारका सोडा यहाँ पाइन्छन् । पछिल्लो समय मोजितो, किबी, लस्सी, आइसगोला, आइसक्रिमदेखि पिच, ब्लुबेरी, कच्चा म्याङ्गो, ग्रेप्स, पिचसम्मका सोडा ग्राहकका लागि सर्भ गर्न लागिएको छ । जुन मौसमअनुसार पनि हुने गरेको छ । यद्यपि, सामान्यतया लेमन सोडा, कोला नै अधिकांश ग्राहकको रोजाइमा पर्छ ।

बुद्धिराज सुवालले आफ्नै चाहना र चासोमा भन्दा पनि राणा शासनकालमा निःशुल्क मेसिन पाएपछि सीप सिकेर पसल सञ्चालन गरेको स्थानीयहरू बताउँछन् । ‘दुई–चार पैसामै पाइने सोडा त्यसबेलाको महत्त्वपूर्ण पेय पदार्थ थियो,’ न्युरोडका बासिन्दा ७८ वर्षीय डिल्लीरत्न शाक्यले भने, ‘म त अहिले पनि गर्मी महिनामा दिनकै त्यही लेमन सोडा पिउँछु ।’ अन्य चिसो पेय पदार्थभन्दा यो सस्तो र नेपालमै उत्पादन गरिएकाले आफ्नो रोजाइमा पर्ने गरेको उनले सुनाए ।

राणाकालमा सुवाल दरबारमा काम गर्ने कुनै सुबेदारको घरका सहयोगी थिए । तत्कालीन राणा शासकले विदेशीको सिको गर्दै जर्मनीबाट सोडा मेसिन ल्याएका थिए । ‘त्यसबेला राणाहरूले मदिरामा सोडा मिसाएर खाने चलन थियो रे,’ बुबाको भनाइ स्मरण गर्दै जेठा छोरा सुरेशले भने, ‘पछि राणाहरूले ती मेसिन भारदार वा नातेदारलाई उपहार दिन थाले । त्यही बेला दरबार निकट एक जना सुबेदारले पनि उपहारमा सोडा मेसिन पाएका रहेछन् ।’

सुरेशका अनुसार तिनै सुबेदारको घरमा उनका बुबाले पनि काम गर्थे । ‘ती सुबेदारले जसोतसो सोडा बनाउँथे र बुबालाई पनि सोडा बनाउन उनैले सिकाएका हुन्,’ सुरेशले भने, ‘बुबासँग सोडा बनाउने मेसिन थिएन, तर सुबेदारले मेसिनले बनाएको सोडाभन्दा बुबाले हातैले बनाएको सोडा मिठो भएपछि उनैले बुबालाई सोडा मेसिन दिएका रहेछन् ।’ ती सुबेदारले ‘हरेक महिना मलाई गुरुदक्षिणा दिनू’ भन्दै सोडा मेसिन बुबालाई सुम्पिएको बुद्धिराजले आफ्ना छोराहरूलाई सुनाएका थिए । सुबेदारले भनेअनुसार हरेक महिना केही रकम बुझाउने गरेको सुरेश अहिले पनि सम्झन्छन् । सुरुसुरुमा त बुद्धिराजले सोडा बनाउँदै खर्पनमा लगेर मेला–महोत्सवमा बेच्थे । फ्याक्ट्रीमा सोडा बनाएर अन्य पसलमा पुर्‍याउँथे । २००३ सालपछि भने व्यावसायिक रूपमै सोडा बेच्न थालेको सुरेशको स्मरणमा ताजै छ ।

बुबासँगै सोडा बनाउन सिकेर उनका दुवै छोरा सुरेश र नरेश अहिले न्युरोडस्थित रञ्जना गल्लीमै सोडा बेचिरहेका छन् । रञ्जना गल्लीमै नरेशले सोडा बेच्छन् भने सोही गल्लीको भित्रपट्टि सुरेशले सोडा पसल सञ्चालन गरेका छन् । सुरेश र नरेशले बुबाबाट सिकेको सीपलाई आफ्ना छोराहरूमा हस्तान्तरण गरेका छन् । अहिले बुद्धिराज सुवालको नाति पुस्ताले पनि सोडा बेचिरहेको छ ।

‘एक पटक त बुबाले मातातीर्थ पुगेर दिनमा एउटा सोडा मात्रै बिक्री गरेर पनि आउनुभएको रहेछ, एउटा सोडा बेच्दा पनि उहाँ सन्तुष्ट हुनुहुन्थ्यो,’ बुद्धिराजका माइला छोरा नरेशले भने, ‘बुबाको त्यही कुरा हामीलाई गर्व गर्न लायक लाग्छ । सोडा व्यवसायमा टिकाउने माध्यम पनि त्यस्तै प्रेरणा हो भन्ने लाग्छ ।’ कोभिड–१९ को महामारीमा पसल बन्द हुँदासमेत बुबाको त्यही कुरा सम्झना आउँदा थप काम गर्न प्रेरित गर्ने गरेको उनले सुनाए ।

मेला, महोत्सव र जात्रामा पुगेर सोडा बेच्ने बुद्धिराजले २००३ तिर जनसेवा सिनेमा भवनको छेउमा सानो पसल भाडामा लिएर व्यवसाय सुरु गरेका थिए । व्यवसाय चलिरहेकै थियो । फिल्म हेर्न आउने धेरैको रोजाइमा सोडा पर्ने गर्थ्यो ।

सतिश पाण्डेले सन् २०२१ को अक्टोबरमा ‘रञ्जनाको पुरानो सोडा पसल’ भन्दै तस्बिर पोस्ट गरेपछि त्यसको जवाफ दिँदै फोटो पत्रकार विकास रौनियारले लेखेका छन्, ‘सन् १९८० को अन्त्यतिर हरेक शनिबार हामी रञ्जना हलमा फिल्म हेरेपछि रञ्जनाको गुच्चा सोडा र आरसी मोमो खान्थ्यौं ।’

२०१८ भदौमा जनसेवा सिनेमा भवनमा आगलागी भयो । केही मानिस राजनीतिक प्रतिशोधका कारणले आगलागी भएको बताउँछन् । त्यसपछि दयाराम भक्त माथेमाले पुनः निर्माण गर्न चाहेनन् । त्यसपछि बुद्धिराजले आफ्नो सोडा पसललाई भूगोलपार्कमा सारे । ‘भूगोलपार्कमै केही कुर्सी राखेर बुबाले सोडा व्यापार गर्न थाल्नुभयो,’ सुरेशले भने, ‘बुबाको मिहिनेतबाट खडा भएको त्यही रञ्जना सोडालाई अहिले हामी दुई छोरा र हाम्रा तीन सन्तानले निरन्तरता दिइरहेका छौं ।’

जनसेवा हल (हाल विशाल बजार भवन) बन्द भएपछि न्युरोडको रञ्जना गल्लीमा ‘रञ्जना हल’ खुल्यो । हल खुलेपछि फिल्म हेर्नेहरूको चहलपहल बढ्न थाल्यो । त्यसपछि बुद्धिराज भूगोलपार्कबाट रञ्जना हलतिर सरे र उनले हलअगाडि भुइँतलामा सोडा बेच्न थाले । त्यतिबेला आफू ६/७ वर्षको मात्रै रहेको सुरेश सम्झन्छन् । आफ्नै घर नहुँदा बुद्धिराज सुवालले अनेकौं दुःख व्यहोर्नुपर्‍यो । सोडा पसललाई रञ्जना गल्लीमै चारवटा घरमा सार्नुपरेको थियो । तर रञ्जना गल्ली छोडेनन् । २०२३ सालदेखि बुबालाई सघाउन थालेका थिए, सुरेशले । २०४१ सालदेखि सुरेश आफैंले पसल सञ्चालन गरेका हुन् ।

हाल रञ्जना गल्लीको भित्रपट्टि सुरेश र रञ्जना गल्लीमै नरेशले सोडा पसल सञ्चालन गरिरहेका छन् । २०६९ सालयता उनीहरूले यिनै घरबाट सोडा बेचिरहेका छन् । सुरुमा अनार, कागती र सुन्तलाका स्वादमा मात्रै सोडा पाइन्थ्यो । न्युरोडकै व्यापारीले ‘कोला’ सोडा बनाएर बेच्न सुझाए । साँच्चिकै कोला सोडा हरेकको रोजाइमा पर्न थाल्यो । त्यसपछि सुरेशले सोडाको ‘फ्लेभर’ (स्वाद) मा पनि काम गर्न थाले । त्यसकै बाबजुद अहिले दर्जनौं स्वादका सोडा बजारमा आइरहेका छन् । सुरेशका अनुसार २ पैसाबाट सोडा बेच्न थालेका उनले अहिले १ सय ५० रुपैयाँसम्ममा सोडा बेचिरहेका छन् ।

बुद्धिराजका तीन छोरामध्ये दुई छोरा सुरेश र नरेशले अहिले आ–आफ्नै सोडा पसल सञ्चालन गरिरहेका छन् भने एक छोराले रेस्टुरेन्ट सञ्चालन गर्छन् । कतिपयले आफूहरूले उत्पादन गरेका सोडा कीर्तिपुर, पाटन, भक्तपुर, कपनलगायत क्षेत्रमा लगेर पनि बेचिरहेको नरेशले सुनाए । ‘न्युरोड आउन नसक्ने व्यक्तिले पनि सोडा खान पाउनुपर्छ भनेर सोडा व्यवसाय गर्न चाहनेलाई हामी सघाइरहेका छौं,’ उनले भने, ‘आफैं व्यवसाय गर्न चाहनेलाई सिकाउँछौं पनि ।’ उपत्यकामा भएका रेस्टुराँ, बार र क्याफेमा समेत रञ्जना सोडा सप्लाई हुने गरेको नरेशले बताए ।

नरेशका छोरा प्रज्वल, सुरेशका छोरा मेकलक र सुमेरुले पनि आफ्ना हजुरबुबाकै पेसालाई अँगालिरहेका छन् । नरेशका छोरा प्रज्वल दैनिक रञ्जना गल्लीको पसलमा भेटिन्छन् । उनी हरेक दिन उपभोक्ताले इच्छाअनुसारका सोडा बनाउन व्यस्त हुन्छन् । उनी १२ कक्षाको अध्ययन पूरा गरेपछि सोडा पसलमा लागेका हुन् । ‘बच्चैदेखि पसल आउने भए पनि यसको जिम्मेवारी बोकेर हिँडेको केही वर्ष मात्रै भयो,’ उनले भने, ‘पहिला भने बुबा र ठूलोबुबालाई सघाउँथें । अहिले आफैं हेर्छु ।’

ग्राहकको इच्छाअनुसार सोडा बनाएर बेचिरहे पनि सोडाका लागि आवश्यक विभिन्न फ्लेभर भने सुरेशले नै बनाउँदै आएका छन् । गर्मीलाई लक्षित गरी यस पटक ग्रेप्स, पिच, ब्लुबेरी र कच्चा म्याङ्गो गरी चार नयाँ फ्लेभर बजारमा ल्याएको सुरेशका माइला छोरा सुमेरुले बताए । कच्चा म्याङ्गो फ्लेभर भने पहिलो पटक ल्याइएको उनको दाबी छ । अन्य तीन फ्लेभर भने झन्डै १७ वर्षपछि बजारमा ल्याइएको सुमेरुको भनाइ छ । ‘बुबा (सुरेश) ले मात्रै फ्लेभर बनाउनुहुन्छ, उहाँले धेरै पछि यो गर्मीलाई लक्षित गरी ग्रेप्स, पिच, ब्लुबेरीको फ्लेभर ल्याउनु भएको हो, त्यस्तै कच्चा म्याङ्गो पनि ल्याउनु भएको छ,’ उनले भने, ‘हामीलाई फ्लेभर बनाउन आउँदैन, यो काम अहिले पनि उहाँले गर्ने हो ।’

अन्य समयको तुलनामा यस पटक ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको सुरेशका जेठा छोरा मेकलक बताउँछन् । ‘व्यापारले राम्रै पिकअप लिएको छ, गर्मी बढेकाले पनि हुन सक्छ,’ उनले भने, ‘सोडामा अन्य वर्षभन्दा यस वर्ष नयाँ नयाँ फ्लेभर पनि आएका छन् ।’

अहिले काठमाडौंको रञ्जना गल्ली, बिजेश्वरी र चितवनमा रञ्जना सोडा बेचिरहेको उनको भनाइ छ । ‘रञ्जना गल्लीमा बुबा र म आफैं हुन्छौं, भाइबुहारी (सुमेरु) को बिजेश्वरीमा पसल छ, चितवनमा फ्रेन्चाइज दिएका हौं,’ उनले भने, ‘सुरुमा त रञ्जनाको सोडालाई काठमाडौंभरि फैलाउने योजना हो । तर त्यसमा पूर्ण रूपमा सफलता पाउन सकेका छैनौं ।’ आगामी दिनमा अस्ट्रेलियालगायत विभिन्न मुलुकमा ‘रञ्जना सोडा’ पुर्‍याउने योजना रहेको मेकलकले बताए ।

खाडीको गर्मीमा पनि

कतारको राजधानी दोहा सहरमा स्थानीय मोहमल अलीले रञ्जना सोडा बेचिरहेका छन् । काठमाडौं आउँदा नेपालको चिनोका रूपमा लैजाने भनेर खोजी गर्ने क्रममा उनी रञ्जना सोडा पसलमा आइपुगेको नरेश सुवालले सुनाए । ‘सोही क्रममा रञ्जनाबाट झन्डै १९ बक्स सोडा लिएर दोहा फर्केका थिए,’ उनले भने, ‘नेपालबाट लगेको सोही सोडा त्यहाँको फुड फेस्टिभलमा पहिलोसमेत भएको अलीले सुनाए ।’

तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ

दोहामा नेपाली सोडा पुरस्कृत भएपछि अली दोहोर्‍याएर नेपाल आए । ‘त्यसपछि उनलाई सोडा बनाउन सिकायौं,’ नरेशका छोरा प्रज्वलले भने, ‘भारतबाट मेसिनसमेत किनेर पठाएपछि अलीले अहिले दोहामा रञ्जना सोडा बनाएर बेचिरहेका छन् ।’ अलीले फ्लेभरदेखि सबै काम आफैं गरेर रञ्जना सोडा दोहामा बेचिरहेको उनले सुनाए ।

प्रकाशित : असार २, २०८१ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x